विवाहमा गाइने लोपोन्मुख संगिनी गीत कृष्ण लीला

(इन्द्र कमल फूलका नि छहारीमुनि) २ ती रुने बालक कस्का होलान् ? ती बालक कस्का हुन् ?
(देवकीका बालक नि, बासुदेवका छोरा) २ कंशैसुरका भानिज होलान्, तिनै हुन कृष्ण जी
(केराको काइयो नि ,दहीको ठेकि) २ कंशैसुर मामा, निम्तो गर्न आए, म जान्छु निम्तैमा ।

(भलार मतिको, त्यो निम्तो होइन) २ नजाृऊ है निम्तैमा, कृष्ण बाला, नजाउ है निम्तैमा
(त्यहाँ बाट हिंडेका, ती कृष्ण बाला) २ निम्ता मान्न, पुगे है बाला, कंशैको घरमा ।

(कंशै सुर मामा, नि ज्यु कृष्ण भानिज) २ कंशैसुर मामाको, आसामी यज्ञ, मै आए निम्तैमा
(ए कृष्ण भानिज नि, ज्यु कंशै मामा) २ समुन्द्रको फिंजै बिना रहिगयो होम यज्ञ ।

(समुन्द्र माइजु नि, ज्यु कृष्ण भानिज) २ कंसैसुर मामाको, आसामी यज्ञ फिंज बिना रहिगयो
(कंशैसुर मामा त मारिदिनु भन्थे) २ छिटोमा छिटो उघाएर लैजाउ, अहिले आउँछ्न ती बाढी मामा मर्दिन्छन् तिमीलाई ।

(कंशैसुर मामा नि, ज्यु कृष्ण भानिज) २ समुन्द्रको फिंज, उघाइ ल्याए के बिना रैगयो
(ए कृष्ण भानिज नि ,ज्यु कंशै मामा) २ बघिनीको दूधै र बिना रैगयो होम यज्ञ ।

(त्यहाँ बाट हिडेका,ति कृष्ण बाला) २ बघिनीको दुधै लिन पुगे है बृन्दा बन
(बृन्दाबन ओढार कि ,बघिनी माइजु) २ कंसैसुर मामाको आसामी यज्ञ बघिनिको दूध बिना रहिगयो ।

(कसैसुर मामा त, मारिदिनु भन्थे) २ छिटोमा छिटो दोहेर लैजाउ अहिले आउछन् ती बाघ मामा मार्दिन्छ्न् तिमीलाई
(कंशैसुर मामा नि, ज्यु कृष्ण भानिज) २ बघिनिको दूध दोहेर ल्याए के बिना रैगयो ।

(ए कृष्ण भानिज नी, ज्यु कंशै मामा) २ कंशैसुर मामाको आसामी यज्ञ नागेश्वरीको फूलै बिना रैगयो
(यहाँबाट हिडेका, ती कृष्ण बालक) २ पुगे है बाला नागेश्वरीको बोटमा त्यो फूल टिप्नलाई
(नागिनी माइजु नी ज्यु कृष्ण भानिज) २ कंसैसुर मामाको आसामी यज्ञ फूल बिना रहिगयो ।

(कसैसुर मामा त, मारिदिनु भन्थे) २ झरेको परेको लैजाउ है कृष्ण अहिले जाग्छन् ती काली नाग मार्छन् है तिमीलाई ।

(झरेको परेको, म लान्न माइजु) २ मुल थुङा टिपी लानेछु माइजु मुल थुङा लानेछु
(मुल थुङा टिप्नलाई, चढेका कृष्ण) २ ति काली नाग जागेर आए बेरे है कृष्णलाई ।

(खुट्टा र कम्मर नि, कुम कुम सम्म) २ पुगे है शिरमा ती काली नाग कृष्णलाई बेरेर
(नमेरा माता नि, न मेरा पिता) २ गरुढ ज्यु सित मीत लाको कहाँ जानु भैगयो
(आउनु आउनु नि, गरुढ मीत) २ तपाईंको मित बन्धनमा परे यो ज्यान बचाईदेऊ ।

(कृष्णका बचन सुनेर गरुढ) २ हरमा हर उढेर आए टिपेर लगे ति काली नाग ओर्लिए कृष्ण जी
(कंशैसुर मामा नि, ज्यु कृष्ण भानिज) २ नागेश्वरिको फूल टिपि ल्याए के बिना रैगयो ।

(ए कृष्ण भानिज नि ज्यु कंशै मामा) २ लडाइँ नगरी मारौला भन्थे मेरो केहि लागेन
(दुई तिरबाट हानाहान भयो) २ एक पल्ट हान्दा अच्कल्टो भयो डरले थरथरि
(दुई पल्ट हान्दा नि, ठहरै भयो) २ मार्दिए कंशमामालाई आमा मार्दिए कंशैैलाई ।

(भलार मतिको, त्यो निम्तो होइन) २ नजाउ भन्थेऊ ए मेरी आमा मार्दिए कंसलाई
(त्यो पापी कंश नि, मारेछौ बाला) २ तिमी त बाला प्रतापी रहेछौ, तिमीलाई धन्यवाद ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button