टुहुरेका गीत खुबै सुनिन्थ्यो कुनै बेला

सुशीला शर्मा

मानिसको नाम उनीहरुको असल कार्यले नै तय गर्दो रहेछ । यो कुरा मानिस जीवित हुँदामात्र नभएर मृत्यु भईसकेपछि पनि उनीहरुप्रति गरिने सत्कार र जयजयकारले प्रमाणित गर्ने गर्दछ । सामाजिक सञ्जाल अहिले जनवादी गायक जे.बि. टुहुरेको मृत्युमा शोकको श्रद्धाञ्जलीले भरिएको छ ।

टुहुरेलाई मैले नजिकबाट देखेको पनि छैन तर उनको गीत भने हामी किशोर अवस्थामा हुँदाखेरि खुब गुनगुनाउँथ्यौं । एकदुईवटा गीत त जिब्रोमै झुण्डिएको छ । अहिलेसम्म पनि उतिकै जागरणात्मक र उर्जा दिने झैं लाग्छ । हामीमा परिवर्तनको सोच पस्नुमा यस्तै प्रगतिशिल गायकहरुको गीतहरुको पनि योगदान छ । ती सोच भनेका महिलाहरुको विषयमा होस या सिमान्त जनमानस र उनीहरुका अधिकार ।

टुहुरेको वास्तविक नाम जुठ बहादुर खड्गी भन्नेसम्म पनि थाहा थिएन् । हामी केवल जे.बि. टुहुरे भन्ने जान्दथ्यौं । संविधानसभाका सदस्य टुहुरेले २०२४ सालमा पूर्वी कोशी प्रान्तीय कमिटीबाट राजनीतिमा प्रवेश गरेका थिए भन्ने कुरा टुहुरेसँगको पत्रकार जीवराम भण्डारीले गरेको अन्तरवार्ताबाट जानकारी भयो । उनको मनमोहन अधिकारीसँगको सामिप्यताबाट झण्डै ५१ वर्ष कम्युनिष्ट राजनीतिमा योगदान रहेछ । पछिल्लो समय उनी कम्युनिष्ट नेतृत्वबाट निकै निराश रहेछन् । टुहुरेले आफ्नो अनुभव बाँड्ने क्रममा उनको समयमा चीन सचित्र भन्ने चिनिया पत्रिकाको कतिपय कुराहरुले प्रभावित गरेको रहेछ । उनलाई लागेछ कि कम्युनिष्टहरुले किसान तथा गरीबहरुलाई माया र सम्मान गर्ने रहेछन र उनीहरुकै हितमा पो कुरा गर्ने रहेछन् । यही अवधारणाले आफ्नो भित्री आँखा खुल्दै गएर बामपन्थी राजनीतिमा लागेका रहेछन् टुहुरे ।

टुहुरेले आफूमा कलाकारिता अर्थात गायकीपन भएकोले धेरैले आफूलाई प्रयोग गरेको पनि बताएका रहेछन आफ्नो अन्तरवार्तामा । तर आफ्नो कलालाई आम जनताको न्यानो माया प्राप्त भएपछि दुःख सहन सक्ने क्षमता विकास भएको भन्ने उनको भनाईले पनि उनमा भएको गीत संगीतप्रतिको प्रतिवद्धता प्रष्ट हुन्छ ।

टुहुरे आफूसंगै देउसी भैलो खेल्दै हिडेका महिला साथीहरु कोही राष्ट्रपति भएकोमा, कोही महिला सभामुख पनि भईसकेका अन्य कतिपय तहहरुमा पुगेकोमा गौरवान्वित पनि भए ।

महिलाहरुलाई झकझक्याउने गीत “आमा दिदी बैनी हो”, जुन उबेलादेखि यो बेलासम्मै पनि उति नै चर्चित र जागरुक अनि वास्तविकताले भरिएको छ । यो गीतको पनि कथा नै रहेछ टुहुरेसँग । जे.बि. टुहुरेहरु झापा विद्रोहबाट आक्रान्त भएर ज्यान मुद्धा खेपिरहँदा मदन भण्डारीहरुको समूह भेट भएको र उनीहरुबाट चरी भरर भन्ने पुस्तक हात परेको रहेछ । सो पुस्तकमा थुप्रै परिवर्तनशिल कविताहरु रहेछन् । त्यही कविताको किताबभित्र एकदेव ज्ञवालीले लेखेका कवितालाई लय मिलाउँदै जाँदा गीत भएको रहेछ । यो गीतमा महिलाहरुको लागि केही नपुगे जस्तो लागेर गायक रामेशसँग मिलेर अझ मिलाएको र अन्तमा कवि बम देवानले यो गीतलाई पूर्णता दिएको कहानी रहेछ ।

जे होस यो “आमा दिदी बैनी हो” भन्ने गीतले महिला मुक्तिको बाटो देखाउन प्रमुख भूमिका खेलेको देखिन्छ । र, यो चेत बुझ्ने कलाकार जे.बि. टुहुरे साँच्चै नै एक सच्चा जनवादी कलाकार हुन भन्दा फरक पर्दैन् । महिलाहरुलाई उति ध्यान नदिने, गहिरिएर उनीहरुका समस्याहरु नबुझ्ने नेता लगायत थुप्रै शिक्षित विद्धानहरु छन हाम्रो समाजमा । यो मानेमा टुहुरेलाई दूरदर्शी गायक कलाकार भन्दा फरक पर्दैन् ।

उनका अधिकाँश गीतहरु जनतामा समर्पित रहेछ । जनताको गीत गाउनेले माया प्रेम नै नगर्ने होइनन् तर शिष्ट माया प्रेमप्रति सद्भाव जगाउने गीत आफूलाई मन पर्ने कुरा गर्दा रहेछन् टुहुरे ।

आफ्नो जीवनकालभर नै कम्युनिष्ट आस्थाप्रति दृढ भएर लागेका टुहुरेलाई कता कता कम्युनिष्टप्रति जनमानसको आस्था धरासायी हुने हो कि भन्ने डर रहेछ ।

उनी गुनगुनाउछँन्,

धेरै हिँड्यौ फरक बाटो, गन्तव्य भेटेनौ
मिलिजुली हिँडे पुग्छौं
फरक पदैन,फरकै पर्दैन् ।

उनका अन्य गीतहरु पनि युवाहरुलाई झकझक्याउने नै छन् ।

छोराहरु हो, छोरीहरु हो, बीर छोरा छोरी हो …

विदेशिएकाहरुको मर्म बोल्ने गीत

बसाई हिड्नेको ताँतीले
बस्नेको मन रुवाउँदछ
लाखौंको लागि उजाड छ यो देश
मुटठीभरलाई त स्वर्ग छ्र …

त्यस्तै यी हरफहरु पनि मन छुने छन् ।

दुःखको बोझ विसाउन
चौतारी बनाऊ है
एकले होइन, हजारौं मिलेर लौ न
एक भई जुटौं है …

आदरणीय जनगायक टुहुरेका यस्तै मन छुने र जागरुकता ल्याउने गीतको स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button