
मैले पढाएको जुनसुकै विद्यार्थीले आफुलाई चिन्न सकोस्
विष्णुप्रसाद अघिकारी पेशाले शिक्षक हुन् । डोल्पाको छार्काताङ्गसोङ्ग गाउँपालिका-४ मा अवस्थित श्री तेन्जिङ नोर्गे आधारभूत विद्यालयमा कार्यरत अधिकारी विष्णु पादुकाको नाममा नियमित लेखन कार्यमा समेत सम्लग्न छन् । २०५२ देखि डोल्पाका विभिन्न क्षेत्रका विद्यालय हुँदै २०६१ देखि एउटै विद्यालयमा निरन्तर कार्यरत पादुकाको जन्म कास्कीको कास्कीकोट भए पनि उनी हाल कोहलपुर नगरपालिका-४, बाँकेका स्थायी बासिन्दा हुन् । उनको साइनो विधामा साइनो संग्रहको प्रथम कृति प्रकाशित छ । निरन्तर लेखनमा सकृय पादुकाका ‘सुसाइट नोट’ उपन्यास र ‘बिन्दुको बृत्त’ कवितासंग्रह प्रकाशोन्मुख छन् ।
नेपालनाम्चाको विशेष स्तम्भ ‘शिक्षकलाई सलाम’मा विष्णु पादुका ।
कालोपाटी अगाडि उभिएर तपाईंलाई पढाउने शिक्षकहरुबारे विद्यार्थी छँदा बेन्चमा बसेर के सोच्नु हुन्थ्यो ?
म विद्यालयमा पढ्दा मध्यम स्तरको विद्यार्थी थिएँ । त्यो बेलाको सरकारी स्कुलमा नियम कडा हुन्थ्यो । कुनै सरहरुले कक्षा नै नछोडे हुन्थ्यो जस्तो लाग्थ्यो । कुनै सर पढाउन नआए हुन्थ्यो जस्तो लाग्थ्यो । डर त हुन्थ्यो नै । सरहरुको आदर्शपन देखेर लोभ लाग्थ्यो मलाई । म उहाँहरुको अनुहारमा हराउँथेँ । संसारमा भएको सबैकुरा सरहरुलाई थाहा छ जस्तो लाग्थ्यो ।
भविष्यमा शिक्षक हुन्छु भन्ने त्यति बेलै तपाईंको सपना थियो ?
सरहरुको जीवन शैली देख्दा लोभ लागे पनि शिक्षक नै बनुँ भन्ने सपना थिएन । मलाई स्वास्थ्य विषय निकै संवेदनसिल लाग्थ्यो । मेरो रहर स्वास्थ्यकर्मी बन्ने थियो । पारिवारिक र आर्थिक हैसियतले त्यो अवसर जुर्न दिएन ।
शिक्षक भएर पहिलो पटक कक्षा छिर्दाको क्षण सम्झनु हुन्छ ? कस्तो लागेको थियो त्यो क्षण ?
मलाई पुरै याद छ, बाईस बर्ष अघि जब मैले निजिश्रोतमा सरकारी स्कुलमा पढाउन शुरु गरेँ । मसँग शैक्षिक तालिम थिएन त्यो बेला । कक्षा छ का केही विद्यार्थीमाझ एउटा कोरा शिक्षक भएर उपस्थित भएको थिएँ ।
मलाई एउटा कुरा स्पष्ट थियो कि आफुले पढाउने विषयमा पोख्त हुनैपर्छ । नत्र पेशागत र ब्यक्तिगत बेइज्जत व्यहोर्नुपर्ने हुन्छ । त्यसैले अन्य धक थिएन । मलाई तोकिएको समय हिजो पनि कम लाग्थ्यो र आज पनि ।
विद्यार्थी हुन सजिलो कि शिक्षक ? र, उस्तै प्रश्न विद्यार्थी हुन गाह्रो कि शिक्षक ?
यो निकै रोचक प्रश्न हो र दार्शनिक पनि । संसारका सबै मानिस विद्यार्थि पनि हुन् र शिक्षक पनि । रह्यो व्यवसायीक र सजिलो अफ्ट्यारोको प्रश्न ।
परिस्थितिलाई जहिल्यै रमाइलो रूपमा लिन जान्यो भने दुबै अवस्था सजिलो हो । तर विद्यार्थिलाई कृयाशिल नगराउने शिक्षाबाट दिक्षित हामीलाई झट्ट देख्दा शिक्षक हुन सजिलो लाग्छ । विद्यार्थीलाई रमाइलो वातावरणमा खेलाउँदै सिकाउन सकेमा दुबै पक्षलाई सजिलो हुन्छ । निश्चित फ्रेममा रहेर पढ्नुपर्छ भन्ने मान्यतामा पढियो । त्यो बेला विद्यार्थि काल कठिन लाग्थ्यो । दण्ड सजाय सुधारात्मक थिएन । आजको अवस्था भिन्न छ । ज्ञानको दायरा र दायित्व पनि फराकिलो छ । मलाई लाग्छ शिक्षक विद्यार्थी दुबैमा सजिलो वातावरणको अवस्था शिक्षकले सिर्जना गर्ने हो । त्यसो भएमा दुबै पक्षमा रमाइलो र चिरस्थायी सिकाइ हुन्छ । वातावरण निर्माणको जिम्मेवारी शिक्षकको नै देखिन्छ ।
शिक्षकभित्र विद्यार्थी कत्तिको हुन्छ ? के विद्यार्थीभित्र पनि शिक्षक हुन्छ ?
शिक्षकभित्र विद्यार्थी पस्न र बस्न नसक्दा एउटा घण्टी (पिरिएड) पनि बोझिलो हुन्छ शिक्षकको लागि । पूर्ण रुपले विद्यार्थी भएर उनीहरुको रुचि र क्षमता बुझेर पस्नु पर्छ कक्षामा । उनीहरुको आवश्यकता निर्धारण समेत एक्लै गर्नु हुँदैन ।
विद्यार्थीभित्र शिक्षक पस्नै पर्छ । भय रहित र दैनिक नौलोपनको सिर्जनाले विद्यार्थी उत्सुक भै रहनु पर्छ ताकी यो शिक्षकसँग धेरै बेर रहन पाउँ भन्ने भावना विद्यार्थिमा जागी रहोस् । शिक्षक र विद्यार्थी सिकाइको अवधिभर मात्र होइन, विद्यार्थिको जीवन पर्यन्त स्मरणीय रहनु नै शिक्षकको ब्यक्तिगत अनि पेशागत सफलता हो ।
शिक्षकका सपना र विद्यार्थीका सपनाहरु कति फरक र समान हुन्छन् ?
आफ्नो पेशाप्रती समर्पित शिक्षकको एउटा मात्र सपना हुन्छ कि मैले रोपेका फूल खुलेर फुल्न सकुन् । जुनसुकै पेशामा लागे पनि यो शिक्षकलाई स्मरण गरुन् सबै विद्यार्थी पुस्ताले । मैले देख्ने सपना यहि हो कि मैले पढाएको जुनसुकै विद्यार्थीले आफुलाई चिन्न सकोस् ।
विद्यार्थीका सपना भिन्न हुन्छन् । जसलाई एकै प्रश्नको उत्तरमा दिन कठिन हुन्छ किन कि एउटा विद्यालयमा अनेकौं सपना उमार्ने दायित्व हुन्छ शिक्षकको । बगैंचा न हो एउटा स्कुल । जहाँ धेरै फूलको बीउ रोपिएको हुन्छ । व्यक्तिगत रूपमा सफल हुनुपर्छ र सामाजिक रूपमा जीवन उपयोगी हुनुपर्छ भन्ने सपना मर्न पो दिनुहुन्न विद्यार्थीको बरु ।
शिक्षक जहाँको तहीँ रहन्छ तर विद्यार्थी पर शिक्षकभन्दा पर निकै उपल्लो दर्जामा पुगेको देख्दा कस्तो लाग्छ ?
संसारका यावत् पेशामाझ शिक्षण पेशा मात्रै त्यस्तो पेशा हो, जसमा आफूभन्दा अघि बढेको हेर्ने मात्र चाहना हुन्छ । त्यो यात्रुलाई थाहा होस् नहोस् माझिलाई मैले तारेको यात्रु भन्ने हेक्का हुन्छ कुनै अपेक्षा बिनाको । शिक्षण पेशा र शिक्षकको सर्बोच्च आदर्श यहि हो ।
कति विद्यार्थी कहिं पुग्दैनन् । न त पढाई न त पद । त्यस्तो अवस्थामा रहेका भूतपूर्व विद्यार्थी देख्दा, भेट्दा कस्तो लाग्छ ?
हो, यस्तो अवस्था छ । कोहि कहिँ पुगेकै भए पनि चित्तबुझ्दो अवस्था नहुन सक्छ । आत्मग्लानी हुन्छ कतै मेरो दोष त छैन यसो हुनुमा ? प्रश्न सोध्छ मनले बेला बेला तर यसो हुनुमा धेरै कुराको प्रभाव मिसिने हुँदा खिन्नता पाल्नु हुँदैन । आत्मसाक्षी राखेर दिएको ज्ञान जीवनोपयोगी होस् भनेर सचेत हुन आग्रह गर्छन् यस्ता पात्रहरुले ।
शिक्षक कस्तो हुन्छ ? र, असल शिक्षक भनेको के हो ?
उसो त शिक्षकका परिभाषा अनेकौं छन् संसारमा । तर म मेरै भोगाइको उत्तर दिन्छु । कर्तव्यनिष्टता सबैभन्दा ठूलो गहना हो शिक्षकको । युग सापेक्ष (अपडेट) हुनु उसको आवश्यकता हो । विषयगत दक्षता, बाल मनोबिज्ञानको राम्रो ज्ञान र समयको माग अनुसार चल्न सक्नुपर्छ । आफ्नो बृत्त (विद्यार्थी र विद्यालय) को लागि आफ्नो जीवन समर्पण गर्न सक्ने हुनुपर्छ । एउटा मैन हो शिक्षक आफू जलेर सकिएको थाहा नहोस् । जल्नुको आनन्द उज्यालोमा रमाउनेले लिएको देखेर गर्वानुभुती होस्, बस् ।
विद्यार्थी कस्तो हुन्छ ? र, असल विद्यार्थी भनेको के हो ?
भिन्न भिन्न बीउ (डि एन ए – भनुँ अझै) आएर छरिएका हुन् एउटा ब्याडमा । कुनै गुलाफ कुनै दुवो हुन सक्छन् । कोहि असल खराब होइन । हुन सक्दैन । खराबी मेटाएर असलकुराको विकास गराउनु शिक्षकको दायित्व हो । कमसल शिक्षाको उत्पादन नै खराव विद्यार्थी या एउटा व्यक्ति हो । प्राकृतिक रूपमा गुलाफ र दुबोको उपयोगिता स्पष्ट पारिदिनु शिक्षकको दायित्व हो ।
शिक्षकको दुख के हो ? सुख के हो ?
हरेक सिक्काका दुई पाटा हुन्छन् । माथी उल्लेख्य प्रश्नको जवाफमा आएका सपनाहरू भत्किनु दुखद पक्ष हो । आफुले पढाएका विद्यार्थि सफल हुनु सुखद पक्ष हो । एउटा ब्यक्ती असल बनिदिनु उपलब्धि हो । अपबाद भन्ने पनि हुन्छ संसारमा, विद्यार्थीसँग हुने बैरभाव शिक्षकको लागि सबैभन्दा दुखको कुरा हो ।
अरु पनि धेरै प्रश्नहरु छन् । उत्तरहरु पनि । अहिलेलाई यत्ति सोध्छु, जाँदाजाँदै अरु केही भन्नु छ ?
एउटा सानो बृत्तमा रहेको सानो विद्यालयको सानो शिक्षकलाई आफ्नो मनका केही कुरा राख्ने अवसर दिनु भयो । आभारी छु । शिक्षक पेशा आफैमा एउटा त्याग हो । सिमित घेराभित्र रहेर पनि जीवनका सबै घेरा तोड्न र जोड्न सिकाउने कर्तव्यबोधले भिज्न पाएको छु । खुशी छु । घर अपायक र दुर्गमका पीडा भुलेर हेर्दा सानो मान्छेको सानो परिचयलाई सार्वजनिक गरिदिनु भयो । हार्दिक धन्यवाद ।
…
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



