
व्यक्तिको रिस, राग, द्वेषको भावना उसको आँखाबाट देखिन्छ
बिहिबार २८ साउन २०७८ । श्रावण शुक्लपक्ष चर्तुथी । सूर्योदय ५ः३२ मा र सूर्यास्त ६ः४५ मा ।
चन्द्रमा कन्या राशिमा छ । दिउँसो १ः४९ बजेबाट राहुकाल शुरु । ३ बजेर २८ मिनेटसम्म रहने छ । ११ः४३ देखि अभिजित मुर्हूत शुरु भएर १२ः३५ सम्म रहने छ ।
आजका देवता हुन् कार्तिकेय र ग्रहदेव केतु । उत्तरफाल्गुनी नक्षत्र, सिद्व योग रहेको छ । ज्योतिषशास्त्रमा सिद्वी र सिद्व योग हुन्छ । सिद्व योगमा कुनै पनि नयाँ काम र नयाँ कुरा सिक्नु परेमा त्यसको शुरुवात गर्दा शुभ हुनेछ । आजको दिन गुरुबाट मन्त्र दीक्षा लिने र कुनै नयाँ शैक्षिक योजना बनाएमा उत्तम योग परेको छ ।
अध्ययन, अध्यापन र अध्येताका लागि आजको दिन विशेष छ । कुनै नयाँ पुस्तक लेखन वा अनुसन्धानको काम शुरुवात गर्दै हुनुहुन्छ भने आजबाट विषयसूची तयार गरेर शुरुवात गरेमा छिटो पूर्णता प्राप्त हुनेछ ।
आज शैक्षिक क्षेत्रमा गरेको लगानीको प्रतिफल राम्रो हुन्छ ।
तिथिको आधारमा गृहस्थसँग सम्बन्धित कुनै पनि शुभ कार्यको लागि साइत दिन सकिँदैन । तन्त्रमन्त्र सिद्विको लागि आजको दिन उत्तम छ । आजको दिन सरकारी उच्च पदमा रहेका व्यक्तिहरुसँगको भेट गर्दा कार्य सफल हुनेछ । प्रशासकीय तथा व्यबस्थापकीय कार्यका लागि आजको दिन शुभ रहेको छ ।
आजको दिन कसैलाई ऋण दिनुभयो भने त्यो रकम समयमा प्राप्त हुन सक्दैन । त्यसैले आर्थिक कारोबार गर्दा विचार पु¥याउनुहोला ।
आज भुलेर पनि कसैसँग झगडा, कलह र विवाद भयो भने त्यो कालान्तरसम्म पनि क्लेस रहिरहन सक्छ । त्यसैले कलहको एउटा मात्र औषधि मौन रहनु हो । आजको दिन काम विशेषले कतै जाँदा अलिकति कडा शब्द पनि नबोल्नु ।
र, अन्त्यमा
अभ्यासाध्दार्यते विद्या कुलं शीलेन धार्यते ।
गुणेन ज्ञायते त्वार्यः कोपो नेत्रेण गम्यते ।।
अर्थातः अध्ययनबाट आर्जन गरेको विद्या जोगाइराख्ने हो भने निरन्तर अभ्यास भइरहनु पर्दछ । सद्चरित्र, सहयोगी भाव राख्ने ब्यक्तिलाई मात्र मान सम्मान मिल्दछ भने व्यक्तिको रिस, राग, द्वेषको भावना उसको आँखाबाट देखिन्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



