
हाम्रा गल्तीका कारण सन्तान-दरसन्तानले दुःख नपाउन्
सोमबार २५ साउन २०७८ । श्रावणशुक्लपक्ष प्रतिपदा तिथि । शुक्लपक्षको पहिलो, साउन महिनाको चौथो सोमबार परेको छ । अब चाडपर्व शुरु भयो । अबको पाँच दिनपछि नागपञ्चमी, १४ दिनपछि ऋषितर्पणी, रक्षाबन्धन, जनैपूर्णिमा आउने छ ।
साताको सबै बारको महत्व छ । त्यसमध्ये सोमवार शिवबार हो । साउन महिनाको सोमवारको विशेष महत्व रहेको छ । आज आमा, दिदीबहिनी र केही दाजुभाइहरुले पनि व्रत लिने गर्दछन् ।
श्रावण महिना शिवजीको प्रिय महिना हो । यो बर्षाऋतुको समयमा प्रकृति, स्वच्छ र पवित्र हुने भएकाले यो समयमा गरिएको यज्ञ, व्रत सिद्विदायक हुने भएकाले साउन महिना विशेष भएको हो ।
बिहान सूर्योदय ५ः३१ मा हुसनेछ भने सूर्यास्त ६ः४८ मा हुनेछ । विहान ७ः११ देखि ८ः५१ सम्म राहूकाल रहेको छ । ११ः४३ देखि १२ः३६ सम्म अभिजित मुहूर्तको समय रहेको छ । अश्लेषा नक्षत्र र वरीयान योग र चन्द्रमा कर्कट राशिमा रहेको छ ।
राहुकाल भएको समयमा शुभकाम नगर्न होला । कुनै नयाँ काम गर्नु छ भने अभिजित मुर्हूतमा गर्दा शुभफल प्राप्त हुनेछ । आजका देवता कुवेर र ग्रहदेव बृहस्पति हुन् ।
अश्लेषा नक्षत्रको अन्तिम चरणमा पर्ने योगका कारण आजको दिन साँझको समयमा कुनै शुभ कर्म नगर्दा राम्रो हुनेछ ।
आजको दिन पूर्व दिशा भएर यात्रा नगर्नु होला । आजको दिन चलायमान, छिटो हुने कारोबारको शुरुवात गर्न सकिन्छ । पारिवारिक मिलन, परिवारका सदस्यहरुसँग परिवारका सुख दुःखका कुरा गर्दै घरका कुनै सदस्य व्रत बस्नु भएको छ भने उहाँको काममा सहयोग गर्नु र व्रत बस्नेलाई फल उपहार दिनु होला ।
हिंसात्मक, निर्दयी र छुद्र कार्य नगर्नु होला । विलासिताका सामानहरु खरिद गर्ने योजना छ भने आज खरिद गर्न सक्नुहुन्छ । सुन, चाँदी खरिद गर्न सकिन्छ । आज बिहान घरको सरसफाई गर्दा निकै उर्जा प्राप्त हुन्छ । सोमबारको दिन घरलाई शिवालय बनाउने हो भने पहिले सरसफाई गर्नु पर्दछ ।
र, अन्त्यमा
अवश्यमेव भोक्तव्यं कृत कर्म शुभाशुभम् ।
नामुक्तं क्षीयते कर्म कल्पकोटिशतैरपि ।।
सनातन शास्त्र सिद्वान्त
अर्थातः हामीले गरेको काम अर्थात कर्मअनुसारका शुभ–अशुभ भोग्ने हामीले नैं हो । राम्रो काम गर्दा शुभ फल, नराम्रो गर्दा अशुभ फल भोग्नु नैं पर्दछ । कयौं कल्पसम्म पनि पुर्खाका कर्मका आधारमा सन्तानहरुले फल भोग्नु परेको हुन्छ । त्यसैले सत्कर्म गरौ, सत्कार्यमा मन लगाऔं, हाम्रा गल्तीका कारण सन्तानदरसन्तानले दुःख नपाउन् भनेर सोच्ने हो भने सधै सत्कर्म गर्न प्रयास गर्नुपर्दछ ।
….
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



