मेहनत नगरी कमाएको धनको मूल्य रहँदैन

आइतबार २४ साउन २०७८ । श्रावणकृष्णपक्ष अमावस्या (औशी) । हरेक महिना कृष्णपक्षमा औशी र शुक्लपक्षमा पूर्णिमा पर्ने गर्दछ ।

श्रावणकृष्णपक्षको अमावस्यालाई हरियाली औशी पनि भनिन्छ । प्रकृति नैं हरियाली हुने भएकाले यो महिनामा पर्ने औशीलाई हरियाली औशी भनिएको हो ।

आजको दिन वृक्षारोपणको निकै महत्व रहेको छ । आजको दिन घरमा, कुनै सार्वजनिक स्थानहरुमा कुनै पनि वृक्ष रोपण गर्नु निकै फलदायी हुनेछ ।

एक बर्षमा पर्ने २४ औशीमा पितृहरुको नाममा तर्पण गर्ने चलन छ । तर, आजको दिन विहानै स्नान गरेर आफना मृतक पितृहरुको नाममा सम्झना गरेर जल चढाउनु निकै फलदायी हुनेछ ।

आइतवार, पुष्य नक्षत्र, कंकट राशिमा चन्द्रमाको साथ हरियाली अमावस्या यो दुर्लभ संयोग परेको छ । अमृत, सिद्धि वा सर्वार्थ सिद्धि योग मे हरियाली अमावस्था आइतवारको दिन परेकोले आजको शुभ मातापिताबाट आशीर्वाद लिने दिन हो ।

आजको दिन बगीरहेको नदी, तलाउमा स्नान गर्नुको विशेष महत्व छ । यदि घरमा स्नान गर्ने हो भने कुनै पवित्र नदीबाट ल्याइएको जल मिसाएर स्नान गर्न पनि सकिन्छ ।

अमावस्थाको दिन पिपलको पूजा विशेष मानिन्छ । आजको दिन बिहान १२ बजेभन्दा अगाडि एकपटक भए पनि पिपलको वृक्षको परिक्रमा मात्र गरियो भने पनि शनिदशा अन्य ग्रहहरुको दोष निवारण हुनेछ ।

सूर्यास्त हुनुभन्दा पहिले पिपलको रुखको फेदमा बत्ती बाल्नुभयो भने त अझ आर्थिक पीडाबाट मुक्त हुने शास्त्रीय वचन छ ।

आजको दिन कुनै दृष्टिविहीन, अपाङ्गता भएका ब्यक्तिलाई केही अर्थदान, वस्त्रदान र अन्नदान गर्नु भयो निकै पुण्य प्राप्त हुन्छ ।

आजको दिन साँझ सूर्यास्त हुनुभन्दा पहिले घरको पूजा कोठामा र घरको तुलसीको मठमा, नदीको छेउमा तलाउमा दीप प्रज्वलन गर्नु भएका पितृदोषबाट मुक्ति पाइन्छ ।

साउन महिनाको औशीका दिन प्रकृतिदेवीको आराधना गर्ने दिन हो । त्यसैले आजको दिन देवी–देवतालाई खुसी बनाउने हो भने अमला, केला, बेल, अशोक वृक्ष, निम, अस्वगन्धा, पलास, ब्राह्मी, नीम पारिजात, मोगरा, गुलाफ आदि कुनै पनि बनस्पति र फूल रोप्नु भयो भने त्यो मनोकामना र सिद्धि प्राप्त हुनेछ ।

आज सूर्योदय विहान ५ः३० बजे र सूर्यास्त ६ः४८ मिनेटमा हुनेछ । आजका देवता हुन रुद्र र ग्रहदेव हुन राहू ।

औशीका दिन तन्त्रमन्त्र साधना गर्ने दिन हो । औशीको दिन शुभकर्महरु त्याज्य मानिएको छ । औशीको दिन नकारात्मक शक्तिको प्रवलता रहने हुनाले आध्यामिक र सकारात्मक शक्ति प्राप्तिको लागि देवताको शरणमा जानु पर्नेछ ।

नकारात्मक सोच हटाएर सकारात्मक कामहरु मात्र गर्नुपर्दछ । कुनै नयाँ काम नगरे पनि गरिरहेका काममा सूचारु चलाउन सकिन्छ । सरकारी काम सकेसम्म औशीको दिन नगर्दा राम्रो मानिन्छ ।

र, अन्त्यमा

न धैर्यण विना लक्ष्मी
न शौर्येण विना जय ।
न ज्ञानेन विना मोक्षो
न दानेन विना यश ।।

अर्थातः धन प्राप्तिको लागि मेहनत र धैर्य आवश्यक पर्दछ । मेहनत नगरी कमाएको धनको मूल्य रहँदैन । कुनै पनि काम गर्नका लागि व्यक्तिमा आत्मविश्वास अर्थात् वीरता चाहिन्छ । मोक्ष प्राप्तिका लागि ज्ञान मार्गमा हिँड्नु पर्छ । ज्ञानमार्गमा निरन्तरको साधना चाहिन्छ । धन कमाएर मात्र हुँर्दैन, प्राप्त धनमा यश प्राप्त गर्नका लागि सत्पात्र र सत्कार्यका निमित्त दान गरियो भने मात्र धनको महत्व बढ्दै जानेछ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button