
संयम गुम्यो भने जीवनमा दुःखको सागर बगेर आउँछ
ब्राह्मणपुत्रको लकडाउन डायरी-१००
आज शुक्रबार ०७८ साउन २२ गते । श्रावणकृष्णपक्ष त्रयोदशी पर्यन्त् चतुर्दशी, काठमाडौं उपत्यकाभित्र घण्टाकर्ण पर्व अर्थात् नेवारी परम्परामा गथामुगचन्हे पूजा मनाउने दिन हो ।
विहान सूर्योदय ५ः३० र साँझ ६ः५१ मा सूर्यास्त । विहान १०ः३० देखि १२ः१० सम्म राहूकाल रहेको छ । ११ः४४ देखि नै अभिजित मुहूर्त शुरु हुन्छ र १२ बजेर ३७ मिनेटसम्म रहन्छ । आद्रा नक्षत्र र चन्द्रमा मिथुन राशिमा रहेको छ । आजका देवता बरुण र ग्रहदेव चन्द्रमा हुन् ।
राहुकाल अशुभ समय हो । त्यसैले यस्तो बेला होसियार भएर काम गर्नुपर्छ । समय बलवान छ । हरेक दिन शुभ समयमा काम गर्दा दिन, हप्ता र पक्ष र महिना नैं सुखद रहन सक्छ ।
शुक्रबारको दिन सरकारी काम शुरुवात नगर्नुहोला । एकदिनमा सकिने काम छ भनेमात्र शुक्रबार सरकारी कामका लाग्नु होला । नत्र सरकारी संयन्त्रबाट दुःख दिने काम हुन्छ ।
औशीको अघिल्लो दिन आकाशमण्डलमा नकारात्मक तत्वहरु फैलने हुनाले समयमा घरमा आउने काम गर्दा राम्रो हुन्छ । औशी आउनुभन्दा दुईदिन अघिदेखि नैं आकाशमण्डल फोहोर हुने भएकाले त्यसको असर मानिसमा पनि पर्ने गर्दछ । औशीको छेउछाउको समयमा वातावरण अशुद्व हुने भएकाले होसियारीका लागि अनुरोध छ ।
र, अन्त्यमा
न स्वप्नेन जयेनिन्द्रां न कामेन जयते स्त्रियः ।
नेन्धनेन जयेदग्निं न पानेन सुरां जयेत ।। (विदुर नीति)
अर्थातः निन्द्रा भन्ने यस्तो चीज हो, मानिसले सुतेर निन्द्रालाई वशमा राख्न सकिँदैन । कामोपभोगबाट नारीलाई वशमा राख्न सकिँदैन, दाउरा राखेर अग्निलाई निभाउन सकिँदैन, मदिरापान गर्ने व्यक्तिलाई त्यो व्यवसनबाट वचाउन सकिँदैन । अर्थात् यी कुराहरुलाई अधिनमा राख्नका लागि प्रवृत्ति होइन, निवृति (संयम)को आवश्यकता पर्छ ।
मानिसको जीवनमा संयम भन्ने कुरा हरक्षण आवश्यक हुन्छ । हरेक कर्म गर्दा आवश्यक पर्ने पहिलो चीज नै संयम हो । संयम गुम्यो भने जीवनमा दुःखको सागर बगेर आउँछ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



