
दिएर-लिएर नसकिने के हो ? पढ्नुहोस्
ब्राह्मणपुत्रको लकडाउन डायरी–९९
श्रावण कृष्णपक्ष बिहिबार, साउन महिनाको २१ गते, प्रदोषव्रत । हिजो एकादशी रहेको हुनाले आजको दिनलाई निकै शुभदिन मानिन्छ । प्रदोषका दिन गरिएको कामना, पूजा र आराधनाले मनमा शान्ति र कार्यसिद्वि हुने गर्दछ ।
सूर्योदय विहान ५ः३० बजे र सूर्यास्त ०६ः५२ बजे हुनेछ । चन्द्रमा मिथुन राशिमा रहेको छ भने आद्रा नक्षत्र, हर्षण योग परेको छ । विहान ११ः४४ देखि १२ः३७ को समय अभिजित मुहूर्त रहेको छ भने १ः५१ देखि ३ः३१ सम्म राहुकाल रहेको छ । देवता भग र ग्रहदेव सूर्य रहेको छ ।
हर्ष भनेको खुसी हो । हर्ष योग परेका हुनाले भेटघाट, अध्येताहरुसँग वार्ता र संवादको लागि आजको दिन उत्तम रहेको छ ।
नक्षत्रको आधारमा आजको दिनमा धार्मिक संस्कार, उत्सव र सम्मान कार्यक्रम नगर्दा हुन्छ । आजको दिन कुनै नयाँ व्यवसाय शुरु गर्न सकिन्छ । औषधि उपचार र वाहन खरिदका लागि पनि उत्तम तिथि मानिन्छ ।
बिहिबारको दिन दक्षिणदिशा तर्फको यात्राका लागि शुभ मानिएको छैन । अध्ययन, अनुसन्धानमा संलग्न शिक्षक, विद्यार्थीहरुले सरस्वतीको आराधना गरे मनोकाक्षा पुरा हुने शास्त्रीय आधार छ । शिक्षक–विद्यार्थीहरुले बिहिबारको दिन सकेसम्म शाकाहारी भोजन गर्नु पर्दछ ।
आज अर्थात बिहिबारको दिन धार्मिक कार्यको लागि मन्दिर र धार्मिक स्थलको यात्राका लागि उत्तम साइत रहेको छ । बिहिबारको दिन आर्थिक कारोबारको काम पनि गर्न सकिन्छ । बहुमूल्य धातुका सामानहरु खरिद गर्न सकिन्छ । सबै शुभ कामहरु गर्ने हो भने अभिजित मुर्हूत भएको समय छनोट गर्नुभयो भने उत्तम हुनेछ । हरेक दिन राहु समय पनि तोकिएको हुन्छ । राहूकालभित्र गरिएको काममा उल्झनहरु आउन सक्छन् ।
भनिन्छ नि, समय भनेको सबैभन्दा ठूलो सम्पत्ति हो । समयमा हरेक काम गर्न सकियो भने मात्र जीवनमा हरेक ब्यक्तिले सफलता प्राप्त गर्ने हो । समय नै शक्ति र धन हो । समयमा काम गर्न नसक्ने, आजको काम भोलि भनेर पन्छाउने व्यक्ति जीवनमा सधै पछि परेको र असफल भएका उदाहरणहरु छन् ।
आजको दिन देवीहरुको आराधना गर्नाले व्यक्तिमा आध्यामिक शक्ति थपिएर जानेछ । आजको दिन आफनो परिवारभित्रका बालकन्यालाई केही उपहार र मिठाइ दिनु राम्रो मानिन्छ । कन्यालाई भोजन, दक्षिणा दिएर कन्या पूजन पनि गर्न सकिन्छ । कन्या पूजनबाट व्यक्तिको जीवनमा खुसी, समृद्वि र आत्मिक शान्तिका साथै लक्ष्मीप्राप्तिको योग बन्नेछ ।
र, अन्त्यमा
अन्नदानं परं दानं विद्यादानमतः परम् ।
अन्नेन क्षणिका तृप्तिः यावज्जीवं च विद्यया ।।
सारमा विद्या भनेको दान दिएर पनि नसकिने र लिएर पनि नसकिने दान हो । र, दिने र लिने दुवै सत्पात्र हुन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



