आजका देवता भूमिलाई नमस्कार

ब्राह्मणपुत्रको लकडाउन डायरी–९७

साउन महिनाको १९ गते मंगलबार- २०७८ । सूर्योदय विहान ०५ः२८ र सूर्यास्त ०६ः५२ । श्रावणकृष्ण दशमी दिउसो १ः१५ पछि एकादशी तिथि शुरु । रोहिणी–मृगशिरा नक्षत्र, धुव्र योग, चन्द्रमा बृष राशिमा रहेको छ ।

आजका देवता भूमि र ग्रहदेव केतु । आज बिहान उठेर सूर्यको नमस्कार र भूमिको स्पर्श गर्दै भूमिदेवतालाई नमन गर्दा तपाई, हाम्रो मनमा शान्ति, सद्भाव र चेतनाको स्तर बृद्वि हुन्छ । सधै बिहान उठेर भूमिलाई नमस्कार गर्नुपर्छ भन्ने सनातनीय कानुन छ ।

हामी भूमिलाई टेकेर हिँडिरहेका हुन्छौं । भूमि र आकाशबीचको सम्बन्ध छ । त्यसैले हामीले भूमिलाई टेक्दा सधै नमन गर्नु राम्रो हुन्छ ।

मंगलबार नाम नै काफी छ । मंगल भनेको शुभ हो । सत्कार्य गर्दा मंगल हुन्छ । मंगलबार आर्थिक उन्नतीका कामहरु शुरु गर्दा हुन्छ । चल–अचल सम्पत्तिको कारोबार र ऋणको कर्जा दिने काम सकेसम्म मंगलवार गर्नुभयो त्यो शुभ हुने मान्यता छ ।

गृहस्थ जीवनमा बसेका हामीले घरको निर्माणसम्बन्धी कार्य मंगलबार शुरु गर्न सकिन्छ ।

आज उत्तरबाहेक अन्य दिशातर्फ यात्रा गर्न सकिन्छ । मंगलबारको दिन पारिवारिक जमघट गर्नु शुभ मानिदैन । पुरानो चलनअनुसार मंगलबार माइत र मावली जान हुँदैन भन्ने पनि थियो । तर, अहिले यो कुरा पुरातन भयो भन्न पनि सकिन्छ ।

आजको नक्षत्रका आधारमा कुनै पनि नयाँ व्यापार ब्यबसाय शुरु गर्दा उत्तम दिन छ । आजको दिन वाहन खरिद विक्रीका लागि शुभ साइत रहेको छ ।

आजको तिथि, बार, नक्षत्र, योग र करण पञ्चाङ्गका सबै अंगहरुको आधारमा आग्रह गर्दछु, झगडा, विवाद, निर्दयी काम र घर, परिवार, मित्रमण्डली आफन्त कसैसँग पनि विवाद नगर्नु होला ।
र, अन्त्यमा,

अभिवादनशीलस्य नित्यं वृद्वोपसेविनः ।
चत्वारि सम्प्रवर्धन्ते आयुर्विद्या यशो बलम् ।।

विदुरनीति सप्तमोध्यायः श्लोकसंख्या–७५

अर्थात्ः गुरुजन, मान्यजन, अध्येता, ज्ञानीहरुलाई आदर र नित्य अभिवादन गर्ने तथा वृद्वको सम्मान, सेवा र वृद्व व्यक्तिका वचनलाई शिरोधार्य गर्ने, अनुभव र ज्ञानका कुरा सुन्ने, वृद्धको मनशान्ति हुने काम गर्ने व्यक्तिका आयु, विद्या, यश र बल चार कुराको वृद्धि हुन्छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button