
मकवानपुरको मार्खुमा मन्त्रमुग्ध म
रुक्मिणी सापकोटा
चितवन
मार्खु, मकवानपुर जिल्लाको एउटा सुन्दर गाउँ हो । मार्खुबाट ७ किलोमिटरसम्म लम्बिएको संसारकै पहिलो मानव निर्मित इन्द्र सरोबर ताल सुरु हुन्छ । सहर बजारको कोलाहल र तनावबाट केही दिन मुक्ति चाहनेका लागि नजिकको उत्कृष्ट र सजिलो घुमफिरस्थल हो मार्खु ।
चितवनबाट गाडी वा मोटरसाइकलमा लगभग ५ घण्टामै पुग्न सकिने भएकाले पछिल्लो समय यहाँ पुग्नेहरु बाक्लिँदैछन् । यो अहिले महत्वपूर्ण पर्यटकीय क्षेत्र बनेको छ ।
पर्यटकहरु मार्खु पुग्छन्, कुलेखानीका माछा खान्छन्, इन्द्र सरोबरमा डुंगा चढ्छन्, भिरमौरी झरनामा आनन्द लिन्छन अनि इलामको जस्तै साना साना पहाडमा उम्रिएएका हरिया घासका थुम्काहरु (भेडा चौर)मा फोटो खिच्छन् र आनन्दित भएर फर्किन्छन् ।
चन्द्रागिरी पर्वतको काखमा अवस्थिति तालमा पुग्दा जो कोहीलाई पनि स्वर्गको एउटा भागमा पुगेजस्तो अनुभव हुन्छ । कञ्चन, शान्त र शितल यो तालमा आफ्नो समय विचरण गर्नु आफैमा अनुपम अनुभव हुन्छ ।
काठमाडौं नजिकैको तालमा डुंगा सयर गर्नु सबैको लागि नौलो नै हुन्छ । यस्तै वरपरको हरियाली, तालको वारीपारी चिटिक्क सजिएको मानव वस्ती पनि कम्ता सुन्दर लाग्दैनन् ।
मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित यो ताल जलविद्युत आयोजनाका लागि कुलेखानीमा ड्याम थुनेर बनाइएको हो । यो ताल नेपालको एक मात्रै पावर ब्याकअप पनि हो ।
यहाँ केजमा माछा पाल्ने पनि गरिएको छ । यही तालभित्रै जाल राखेर त्यसैभित्र माछा पालेर जीविकोपार्जन गर्नेहरु पनि धेरै छन् र हामीले चाहेको खण्डमा दिनको रु ५०० तिरेर माछा मार्न पनि सक्छौं । काठमाडौबाट जम्मा २ घण्टाको बाटो भएको हुनाले बिदाको दिन पारेर काठमाडौबाट माछा मार्न पनि आउँदा रहेछन् ।
मार्खुको प्राृकतिक सौन्दर्यसँग मन्त्रमुग्ध नहुने कमै होलान् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)