
मामाको गुनासोः मिडियाले मलबारे मन्त्रीले सुन्ने गरी समाचारै लेखेनन्
ब्राह्मणपुत्रको लकडाउन डायरी–४४
भरत शर्मा
जनतालाई घरभित्र (लकडाउन) मा बस्नु भनेर शासकहरुले रमिता देखाइरहेका छन् केन्द्र, प्रदेश र जिल्ला–जिल्लामा ।
मौसम विभागले हरेक दिन बिहान भारी बर्षा र मौसम परिवर्तन हुने सूचना जारी गरेको छ । असार महिना शुरु हुनु अगावै आकाश मडारिएर हरेक दिन बर्षा हुन थालेको छ ।
किसानहरु महामारीमा खेती कसरी लगाउने होला र विकासे मल समयमा पाउने कसरी हो भन्दै प्रश्न गर्न थालेका छन् ।
देश त कृषिप्रधान नैं हो । तर, समयमा विकासे मल, विउविजन नपाउने देश । आयात कम, निर्यात बढी हुने देश । रेमिटेन्समा चलेको देश । नेता धेरै तर नीति नभएको देश । यस्तै छ हाम्रो देश । कविता लेखेजस्तो भयो । सम्पादकले च्वाट् पारिदिन्छन् कि क्या हो ?
देश सानो, जनसंख्या कम, हिमालको हाँसो, पहाडको उचाई र तराई र चुरेको विविधताभित्र एकता भएको देशमा जनता दुःखी, देश गरिव हुने संकेत देखिदै छ ।
महामारीको चपेटामा लक–लुजडाउन फेरि असारको पहिलो सातासम्म थप डाउन हुनसक्ने खबर शुक्रबारदेखि नै छापिन थालेका छन् ।
आज ४४ दिन भयो । अझै केही साता जनता घरभित्रै बस्नु पर्ने छ, शासकको आदेश मानेर । महामारीको अचुक उपचार भनेको खोप रहेछ । शासक खोप खरिद गर्ने र उपहारमा पाएको खोपलाई पनि लगाउने तालिका परिवर्तन गरेर बसेको छ ।
पहिले–पहिले गाउँघरतिर घरमा बुहारी बसेको देखेपछि सासुले बुहारीलाई पेच पारेर भन्थे, ‘हाम्रो घरमा कस्तो रामराज्य आयो हैं ।
अहिले त घरमा सासु युट्युवमा लोकगीत सुन्दै र बुहारी फेसबुकमा च्याट गर्दै घरभित्र बसेका छन् । अहिले सासु बुहारी दुवै रामराज्य गर्दैछन् ।
प्रविधिको विकास भनौं कि के भनौं ? कति दिनसम्म यस्तो अवस्था रहने हो ? यसको उत्तर मैले त दिन सक्दिनँ, तपाईंहरुले पनि खै कुन्नी ? जनता प्रश्न गदैंछन्, शासक कान, आँखा र मुख बन्द गरेर मानमौजी ‘सत्ताको तुरुप’ खेलमा छ ।
असारले छ्वाप्पै छाप्नै लागिसक्यो । माना रोपेर मुरी फलाउने समय हो । यसपटक त शहरमा बसेका मानिसहरु महामारी छल्न गाउँ पुगेका छन् । मौसमले साथ दियो भने गैरी र टाँरी खेतहरुमा एकैसाथ धान रोपाई हुने सम्भावना छ ।
रोपाईमा हुँदा लाठे र रोपारहरुले असारे भाकामा कोरोना महामारीका कथा गाउने छन् । शहरदेखि गाउँसम्म पुगेर कोरोनाले दिएको दुःखका कथाहरु असारे मेलापातमा एक अर्कालाई सुनाउने छन् ।
किन हो कुन्नी, आज गाउँघरको याद आइरहेको छ । मैले त गाउँ छोडेर शहर पसेको २५ बर्ष हुन लागेछ । शहर पसेको २५ बर्षको अवसरमा रजत महोत्सव मनाउन शहरबाट गाउँ गएर बेशी खेतमा माटो मिलाउने (लाठे) मेलामा जाने पो इच्छा हुँदैछ ।
सायद तपाईंहरुलाई पनि यस्तो इच्छा जागेको होला, अनुमान मात्र गर्न सक्छु ।
सरकारले बुढीगण्डकी नदीबाट जलविद्युत निकाल्छौं भनेर मुआब्जा दिएको सरकारी खेत (ठुलोबेशी खेत)मा धमाधम रोपाइँ हुन शुरु हुन थालेको खबर आएको छ । खबरले शहरको एकान्तबास जीवनबाट फुत्त गाउँ जाऔं भनेको त मोटर बाटो बन्द छ भन्ने खबरले मन निराश भएको छ ।
तारे, माले गोरु, बाउसे गर्ने दाजुभाइ, धान रोप्ने रोपार्नी (दिदी, बहिनी, आमा) र सिमसिमे पानीमा रुझ्दै मुरी फल्ने खेतका गराहरुमा पानी छेक्ने आली लगाउँदाका ती दिनहरुलाई सम्झेर मलाई मात्र होइन, तपाईहरुलाई पनि गाँउ जाने मन भएको होला ।
लेखपढ् पनि कति गर्ने ? आज ४४ दिन भयो लकडाउन भएको । शरीरमा ब्यायाम छैन, घरभित्रको योगा र ध्यानले मात्र पुग्दैन ।
शुक्रबार बिहान चिकित्सक मित्रसँग ९ मिनेट कुरा भयो । उनी भन्दै थिए, ‘लकडाउनपछि अस्पतालमा विरामीको भीड लाग्ने छ ।’
‘कसरी डाक्टर साब ?’
‘हेर्नुस, मानिस घरभित्र बसेर खाने काम मात्र भएको छ । यसले खानाले मोटोपन बढाउने छ । पेटभित्र अनेक समस्या आउने छ । घुडाँ दुख्ने समस्या थपिनेछ । आर्थिक समस्याले परिवारमा तनाव बढ्नेछ । बिहान–साँझ हिँड्न नपाउँदा सुगर, प्रेसर बढ्नेछ । तरकारीमा गेडागुडी मात्र खाँदा शरीरका अंङ्ग दुख्ने समस्या आउनेछ ।’
अहिले त मानिस अस्पताल जान डराएर घरभित्र रोग सहेर पनि बसेका छन् । तर लकडाउन र महामारी अन्त्यपछि विरामीको बढ्ने आँकलन गर्दै छु । यो बारे अनुसन्धान पनि भएको छ कि भनेर सोध्नु पर्ला भनेको । वल्र्डलिंकको नेट त्यति गतिलो छैन । बीचमा कुरा काटियो ।
डाक्टरले भनेको कुरा शुरुमा हो जस्तो लागेन । पछि मनन गर्दा हो जस्तो लाग्यो ।
डाक्टरले फेरि फोन गरेर भने, ‘तपाई त स्वास्थ्य पत्रकार पनि हो । त्यसबारे खोजी गरेर लेख्नु प-यो ?’
मैले भनेँ, ‘तपाई मेरो मित्र मात्र होइन, स्वास्थ्यका समाचार स्रोत दिने डाक्टर पनि हुनुहुन्छ कसरी नमान्नु म खोजी गर्छु ।’
केही बर्ष पहिले धादिङ जिल्ला अस्पतालमा बसेर विरामीको सेवा गरेका मित्र धादिङ जिल्लाका तत्कालीन ५० गाविससँग परिचित छन् ।
‘सल्यानटार हुँदै माथि बुढाथुम बसेरी जाने बाटोमा ठुलोबेशी छ । त्यहाँ तपाईको पनि खेत छ नि है ?’, उनले भने ।
ज्योतिषीले जन्मकुण्डली हेरेजस्तै मित्र डाक्टरले जन्मथलोको बारेमा बताएपछि म सिधै गाँउ र ठुलोबेशीमा खेत रोप्न जान थालेजस्तो भयो ।
गाउँबाट हिजो शिक्षक–किसानी मामाले फोन गरेर भने, ‘तल्लो खेतमा रोपाई गर्ने भनेको । खेत रोप्ने वित्तिकै राख्ने मल नैं आएको छैन । आरुघाट बजारमा जानु पर्ने । कोरोनाको पनि डर छ । बजारमा पनि मल आउँदै छ भन्ने सुनेँ । खेत रोप्नु पर्ने कहिले हो कहिले ?’
‘अहिले शहरमा मल पाइँदैन, गाउँघरतिर कहिले पुग्ला खै । सरकारले भारत–वंगलादेशसँग जिटुजी गरेर मल ल्याउने कुरा गरेको छ । हिजो मात्र नयाँ कृषिमन्त्री आएको जस्तो लाग्छ । अब मन्त्रालयका सचिव–मन्त्री मिलेर मल ल्याउने कुरा गर्छन् कि ?’, मैले भनेँ ।
‘मन्त्री, सचिवले सुन्ने, पढ्ने गरी शहरका पत्रिका र अनलाइनहरुले यो बर्ष पनि किसानले समयमा मल नपाउने समाचार नैं लेखेनन्’, मामा गुनासो गर्दै थिए, ‘हिजोआज मल होइन, सरकार परिवर्तन, नयाँ मन्त्रीमण्डल, चुरे दोहन गर्ने सरकारी नीतिमा केन्द्रित छ सञ्चारमाध्यम । किसानका कुरा प्राथमिकतामा परेको छैन, लेख्नु प¥यो नि तिमीहरु शहरमा बसेका पत्रकार भन्नेहरुले ।’
‘हाम्रो समस्या नलेख्ने तिमीहरु के काम !’ मामा कडकिए ।
मामाको अगाडि भान्जाले धेरै बोल्नु राम्रो मानिदैन । धेरै बोल्यो भने दसैंमा टिका लगाउँदा जाँदा दक्षिणमा कमी हुन सक्छ भनेर मामालाई सम्झाउदै भनेँ, ‘तपाईको माग जायज छ, मलको विषयमा अहिले सरकार मौन छ, म आजै कुनै राष्ट्रिय दैनिकमा काम गर्ने मित्रलाई भन्छु ‘मल खरिदमा सरकारी झेल’ बारे खोजी गरेर सरकारलाई तातो लगाउनु प¥यो ।’
म पनि किसानले किन मल पाएनन् भनेर केही न केही त लेख्छु भनेपछि मात्र बल्ल मामाजी अलि शान्त भए ।
gajjab. but finished the write up before further discussion on grievances of farmers in the immediate past in this country due to lock down and corruption.