
‘म मर्दा कुनै पार्टीको झण्डा ओडाउनु पर्दैन, पत्रकार महासंघको झण्डा ओडाए पुग्छ’
चन्द्र भण्डारीः व्यक्ति एक, परिचय अनेक
तीर्थ सिग्देल
चन्द्र भण्डारीः ब्यक्ति एक, परिचय अनेक । यो शिर्षक जुराउन त निक्कै कठिन छ भने त्यो भूमिका निभाउन कति कठिन होला ? एउटा लेखक । साहित्यकार, अर्को गीतकार । संगीतकार । अर्को पत्रकार त अझ अर्को राजनीतिज्ञ । कहिले मंचहरुमा अभियन्ताजस्तो त कहिले स्टुडियो भित्र खरो पत्रकारजस्तो ।
भन्नेहरुले चन्द्र भण्डारीलाई जे सुकै भनुन् । तर, आम श्रमजिवी जनताको पक्षमा कहिले कलम त कहिले गिटार समाएर जागरण फैलाउने एउटा अग्लो मान्छेको नाम नै परिचय हो ।
तर, उहाँ आफ्नै बारेमा भने यसो भन्नुहुन्छः
खासमा म पत्रकार मात्र हो । अहिले मैले अरु केही गर्नेबारेमा सोचेको छैन । पत्रकारिता क्षेत्रमेै रमाउने मन छ । अब एउटा टिभी चलाउने मन छ । मर्यादित पत्रकारिता गर्ने हो । निष्पक्ष पत्रकारिता गर्ने हो ।
त्यो समय
एउटा कालखण्ड थियो, जहाँ पत्रकार भएर तत्कालीन ब्यवस्था बिरोधी भएर बाँच्न गाह्रो हुन्थ्यो । पंचायती ब्यवस्थाको कठोर समयमा एउटा मिसन पत्रकारिताको मियो समातेर ब्यवस्थाबिरुद्ध जनता जगाउने काम त झनै फलामको च्यूरा चपाउनुजस्तै थियो ।
०२५।०२६ सालतिर मेची अन्चलका पहिला पत्रकार बसन्तकुमार खड्काको सम्पादनमा सूर्योदय साप्ताहिक निस्कन्थ्यो । उहाँका दाजु तत्कालीन पत्रकार याम भण्डारीसँग खड्काको भेटले उहाँलाई पत्रकार बन्न प्रेरित गर्यो । खड्काले समाचार लेख्न आउँछ ? भनेर सोध्दै समाचार लेख्न अहएपछि उहाँले सर्सर्ती एउटा समाचार लेखिदिनुभयो । त्यही समाचारले उहाँलाई पत्रकार बनाएछ ।
पन्चायतको समय भएपनि उहाँले नेपाली पत्रकारिताकै इतिहासमा नाम आउने मातृभुमि र समाजजस्ता पत्रिकामा लेख्नुभयो । पछि ०४७ सालसम्म झापामा युगज्ञान प्रेस र साप्ताहिक पत्रिका चलाउनुभयो, जसले उहाँको लेखन क्षमतालाई अझै तिखार्दै लग्यो । लेखनसँगै बोल्ने कलामा पनि उहाँ अगाडि हुनुहुन्छ । त्यही वाक् शैली आज चन्द्र भण्डारीको परिचय बनेको छः त्यो आज पनि झापाको बिर्तामोडमा रहेको कंचनजंघा एफएमबाट निरन्तर गुन्जिरहेको छ ।
एउटै ब्यक्तिमा लेखन र वाक् कला दुबै कमैसँग हुन्छः त्यो उहाँमा छ । यतिसम्म कि यसरी निरन्तर आजसम्म जनताको पक्षमा उभ्याइरहने श्रष्टाहरु कमै होलान्ः त्यो उहाँ (चन्द्र भण्डारी) हो ।

संस्थापक महासचिब
०५३ साल जेठ २८ र २९ गते धरानमा तत्कालीन पत्रकार संघको बिधान अबिधेशन हुने भयो । यतिबेला उहाँ महासचिब हुनुहुन्थ्यो । त्यो बिधान अबिधेशनले पत्रकार संघलाई महासंघ बनायो ।
अध्यक्ष हरिहर बिरही र मलगायत महासंघ बनाऔं भन्ने पक्षमा थियौं । अरु केही केन्द्रीय समितिकै केही साथीहरु यो पक्षमा हुनुहुन्थेन । तैपनि हामीले महासंघ बनाइछाड्यौं, त्यो समय निक्कै कठिन थियो । महासंघ बनाएपछि पत्रकारहरुको गरिमा निक्कै बढ्यो । शिर उच्चो भयो, उहाँले त्यो दिन सम्झँदै भन्नुभयो, हलमा हुटिंग भयो । धेरैले हल छाडेर भेडेटारतिर घुम्न जाने भन्न थाले । त्यसपछि मैले माइक समातेर यहाँ दरबार र मण्डलेहरुको घुसपैठ छ । पैसाको पोको बाकेर यो अबिधेशन भाँड्न मान्छेहरु आएका छन् । पैसाको पक्षपाती हुने कि पत्रकारको पक्षमा उभिने ? भनेर कड्किएपछि बल्ल त्यो प्रस्ताव पारित भयो ।
आज पनि त्यो दिनको श्रेय उहाँलाई नै जान्छ, जसले कलात्मक तरिकाले हललाई बाँधेर राख्नुभयो । नत्र त्यो अबिधेशन भाँडिन सक्थ्यो भन्नेहरु धेरै छन् । जो उहाँका समकालीनहरु छन्, उनीहरुले नै भनिरहेका छन् कि त्यो दिन चन्द्र भण्डारीले तयो कलात्मकता प्रस्तुत नगरेको भए आजको महासंघ हुने नै थिएन ।
महासंघ बनाएर के भो त ? उहाँकै शब्दमाः
नेपाली पत्रकारहरुमा गर्बबोध भयो । त्यो निर्णयले नयाँ आयाम थपियो । हरेक बिधागत पत्रकारिताको प्रारुप खडा भयो । महासंघ बनेपछि पत्रकारिता क्षेत्र दु्रतगतिमा अगाडि बढ्यो । नेपाली पत्रकारहरुको पहिचान अन्र्तराष्ट्यि क्षेत्रमा पुग्यो । एउटा लहर आयो । हिजोसम्म पत्रकारिताजस्तो स्वतन्त्र पेशा सत्ताको छेउछाउका मान्छेले मात्र गर्दथे । त्यसपछि आम रुचिको बिषय बन्यो । संगठित हुने क्रम बढ्यो । नेपाल पत्रकार महासंघ एउटा पहिचानयुक्त संस्थाको रुपमा दरियो । प्रजातान्त्रिक शक्तिको रुपमा यो उदायो ।
मेचीको पहिलो रेडियो खोल्दा
पत्रकारिताको एउटा इतिहास बोकेर साहित्य र संगीतमा लिन हुँदा पनि चित्त नबुझेजस्तो । काठमाडौंतिर रहेर केन्द्रिय राजनीतिको घेरामा बसेर पनि केही नपुगेजस्तो । बिद्यार्थीको केन्द्रिय अध्यक्ष भइसकेको मान्छे, पत्रकार महासंघको महासचिब भइसकेको मान्छे त्यसपछि अचानक झापा झरेर रेडियो खोलेर बस्ला भनेर धेरैले कल्पना गरेका थिएनन् । तर, त्यो भयो ।
भण्डारीकै पहलमा बिर्तामोडमा मेची अन्चलकै पहिलो एफएम खुल्यो । त्यसबेला पूर्वान्चलमा पहिले रेडियो कोशी र दोस्रो सप्तकोशी मात्र थियो । कंचनजंघा एफएम पूर्वान्चलमै तेस्रो थियो । त्यसपछि झापामै धेरै रेडियो खुले । तर, कंचनजघाको पहिचान उही छ, चर्चा उस्तै छ ।
चन्द्र भण्डारीको एफएम खोलेर यतै रमाउने चाहनाको पछाडि के कारण थियो ? उहाँकै शब्दमाः
अबको जमाना द्रुत बिद्युतीय विकासमा आधारित छ भन्ने मलाई लागेको थियो । म आफैँ बोल्ने, लेख्ने मान्छे । मलाई आफ्नै परिवेश मन पर्छ । तसर्थ मैले कंचनजंघा एफएम खोलेर यतै रमाउने निर्णय लिएँ, आफ्ना कुरा सुनाउनका लागि ।
काठमाडौ.प्रति मेरो बितृष्णा छ । काठमाडौं बस्ने ठाउँ हैन । गाउँमै सेवा गर्नुपर्छ । गाउँमै काम गर्र्नुपर्छ । मलाई सिमान्त क्षेत्रमा बस्न मन लाग्छ, ताकि वारिपारिका मानिसहरुसँग सहजै भेटघाट होस् । खासगरी भारतको उत्तरप्रर्वी भारतका नेपाली भाषीहरुको मायाले मलाई तानिरहन्छ । उनीहरुको सामिप्यताले खिचिरहन्छ । मलाई उतातिर घुम्न जाँदा मन प्रफुल्लित हुन्छ ।
हुनतः काठमाडौं बस्दा पनि उहाँले आफ्नो पहिचानलाई कायमै राख्नुभयो । प्रकाश साप्ताहिकको अतिथि सम्पादक भएर स्तम्भ लेख्दा होस् वा सारांस नामक म्यागेजिनको परिकल्पना गरेर काम थाल्दा होस् । उहाँको नवीन कार्यशैली र सोच अनि उर्जा र जाँगरले आज पनि उत्तिकै काम गरिरहेको छ ।
जेलमै गीत संगीत
भण्डारीको लेखाई र बोलाई मात्र होइन, गीत संगीतमा पनि उत्तिकै रुचि छ । बिभिन्न मितिमा उहाँ जेलभित्रै ३ सय भन्दा बढी गीत लेख्नुभएको छ भने १ सय ५० भन्दा बढीको संगीत गर्नुभएको छ ।
०२७ सालमा झापाको सुन्दर पहाडी गाउँ शान्तिनगरमा पढ्दा उहाँले लेखेको गीत आजपनि उत्तिकै सान्दर्भिक लाग्छ ।
देउराली भिर पाखाले वीर सपुत खोइ भन्छ
ती लडेका रणभूमिले हाम्रो झण्डा खोइ भन्छ
आज समय फेरियो । मान्छेको सोच फेरियो । मान्छेको लय र धुन फेरियो । तर, परिस्थिति उस्तै छ । दुःख उस्तै छ । देशमा ब्यवस्था फेरियो । तर, माटो उही छ । माटोको सुगन्ध उही छ । समाज फेरियो । तर, सामाजिक परिवेश र समाजको अन्तरकलह उस्तै छ ।
उहाँले लेख्नुभएको अधिकांस गीत कालजयी छन् । ती गीत कहिल्यै मदैैनन् । जनताका गीत, प्रगतिशील गीत र आज जागरण गीत । गीतको बुझाई अलग भएपनि ती गीतहरुले दिने सन्देशले एउटै कुरा भन्छ । जतिबेला उहाँ नख्खु जेलमा हुनुहुन्थ्यो, तयोबला समाएको गीटार आज पनि उहाँसँग छ । त्योबला रचिएका गीत र संगतिका भाका आज पनि उहाँको जिब्रोमा छ ।
९ वर्ष ८ महिनाको जेल जीवन र ७ महिना हिरासतमा बिताउनु चाननुने कुरा थिएन । एउटा झर्झराउँदो यूवावयमा त्यसरी आज कोही यसरी जेलको चिसो छिँडीमा बिताउन सक्छ ? गाह्रो छ । तर, उहाँले जेलको कठोर समयलाई सदुपयोग गर्नुभयो र गीत संगीतको माध्यमबाट आफुलाई भुलाउनुभयो ।
पैरखी तिम्रा हातहरुले रोपेका चियाका बुट्टाहरु
कलिला तिम्रा नानीहरुले फाँडेका भष्मे र पाखाहरु
यो गीत केवल गीत मात्र थिएन । एउटा समयको आवाज थियो । कालजयी समयको कथा थियो । मानिसहरुका दुःखको प्रतिम्बि थियो । नेपाली समाजको चित्रण थियो । र, आजपनि उत्तिकै सान्दर्भिक लाग्छ ।
यस्तै यस्तै अरु धेरै गीतहरुका सर्जक भण्डारीले ०३५। ०३६ सालतिर नख्खु जेल बस्दा धेरै गीत लेख्नुभयो । ती मध्ये ३ बटा एल्बम् निस्कियो । अरु गीत यसै छन् । धेरै देउसी गीत छन्, जुन गीतले जनतालाइ जगाउँछ । जनबादी उभार ल्याउन मद्दत गर्छ । एउटा समय यस्तो थियो, जतिबेला गीतको माध्यमबाट जनता जगाइन्थ्यो । बरु, त्यो बेला उहाँका गीतहरुको मुल्य थियो ।
२०१३ साल फागुन २२ गते झापाको शान्तिनगरमा १३ भाइहरु र २ दिदिहरुका सबैभन्दा कान्छो सन्तान चन्द्र भण्डारीका २ छोरा र १ छोरी छन् । श्रीमति लीना भण्डारी । आमा ललीता र बुवा पद्यप्रसाद ।
साहित्य, संगीत र पत्रकारिता एउटै कर्म बनेको बेला चन्द्र भण्डारीको राजनीतिक जीवन केही ओझेलमा परेकोजस्तो देखिन्छ । ०५४ सालमा मेचीनगर नगरपालिकाको उप प्रमुख भएपनि त्यसपछि उहाँ राजनीतिक मैदान भन्दा बाहिर नै रमाएकोजस्तो देखिनुहुन्छ । पन्चायतको उत्तरार्धतिर नेपालकै ख्यातिप्राप्त बिद्यार्थी संगठन अनेरास्वबियुको केन्द्रिय अध्यक्षको जिम्मेवारी प्राप्त मान्छे आज किन ओझेलमा छ त ?
उहाँकै शब्दमाः
हुनतः कुनै समयमा मैले राजनीतिको शिर्षभागमा थिएँ । यसको अर्थ यो होइन, मैले लदको आँखाबाट मात्र देश र समाजलाई हेर्नु हुँदैन । मेरो अन्तिम सपना नै पत्रकारका रुपमा बाँच्ने हो ।
कुराकानीकै क्रममा उहाँले भावुक भएर भन्नुभयो, म मर्दा कुनै पार्टीको झण्डा ओडाउनु पर्दैन । म मर्दा पत्रकार महासंघको झण्डा ओडाए पुग्छ ।
(प्रदेश १ का अग्रज पत्रकारहरुको अनुभव र चिनारी समेटिएको पुस्तक ‘मेरो पत्रकारिता’बाट)
