भोलिपल्ट आठ पेजको गोरखापत्र

२०७२ वैशाख १२ विशेष

कमल रिजाल

पाँच वर्षअघि नेपालीहरूको मन मुटु हल्लाएको दिन, हल्लिएको दिन ।

वैशाख बाह्र आज ।

भत्केका कति मठमन्दिर कति बने होलान् बितेको पाँच वर्षमा । कति बन्दै होलान् अहिले पनि । धरहरासमेत ठडियो झण्डै तेब्बर आकारको तर मनमन्दिर भने अझै सङ्लिसकेको छैन, चसक्क गर्छ कतै झसक्क हुने बित्तिकै ।

दैनिक घटना कति हुन्छन् कति जीवनमा । मनले जुध्नुपर्छ तीसँग, खेल्नुपर्छ तीसँग । प्रायः चेतन मनसित सम्बन्धित हुन्छन् तिनीहरू । अनि त्यतिमै सीमित हुन्छन् पनि तिनका विशेषता । मनले एकछिन खेलाउँछ, खेल्छ, बिर्सिदिन्छ । कतिपय घटना यस्ता हुन्छन्, जसले अवचेतन मनलाई समेत छोएको हुन्छ । केही दिन वा केही वर्षसम्म पनि रहन सक्छन् यस्ता घटनाका सम्झना तर कतिपय यस्ता जब्बर घटना पनि हुन्छन्, जसले अचेतन मनलाई समेत हल्लाएको हुन्छन् । यस्ता घटना भने मरिकाटे बिर्सन सकिन्न । जति बिर्सन खोज्यो उति ताजा भएर आउँछन् मानस पटलमा । वैशाख १२ को महाभूकम्प यस्तै किसिमको घटना हो मेरा लागि । अरूहरूका लागि पनि हुनुपर्छ सायद । अलिकति हल्लिने बित्तिकै कडैसँग अत्याउँछ अहिले पनि । एकाधपटक औषधी नै सेवन गर्नुपरेको छ मलाई ।

त्यस दिनको घटना धेरै किसिमले सम्बन्धित छन् मेरा जीवनमा, जसको उल्लेख गर्दै गरौँला अरू नै कुनै बेला । पेशागत क्षेत्रलाई उठाउने जमर्को गरेको छु अहिलेका लागि भने । त्यतिबेला गोरखापत्र दैनिकको प्रबन्ध सम्पादकको जिम्मेवारीमा थिएँ म । शनिवारको दिन स्कुल, क्याम्पस, सरकारी अफिस सबै बन्द तर पत्रकारका लागि कुरा गर्ने हो भने विदा भन्ने नै हुँदैन । त्यसमाथि प्रधान सम्पादक र प्रबन्ध सम्पादकका लागि विदा भन्ने कुन चराको नाम हो भन्नुपर्ने अवस्था हुन्छ । खाना खाएर अफिस जाने तरखर गर्दैै थिएँ सदा झ्यैँ नराम्रोसँग हल्लायो एक्कासी । पहिले जस्तै एक छिनमा रोकिन्छ होला भनेर खासै ध्यान दिइएन सुरुमा । जब तरङ्ग लम्बिन थाल्यो त्यसपछि भने मन आत्तियो । बैठक कक्षबाट बाहिर निस्केँ चिच्याउँदै । के भनेर चिच्याएँ त्यो भने अहिलेसम्म थाहा छैन आफैँलाई तर चिच्याउन भने ठूलै आवाजमा चिच्याएको थिएँ ।

पूर्णाङ्गिनी सरस्वती रिजाल, छोरी शारदा रिजाल, ज्वाइँ विमल गौतम, सानो नाति संवित गौतम, छोरा डा. सुशील रिजाल र दुई जना पाहुनासमेत थियौँ सँगसँगै बैठक कोठामा । अत्यासको बेला आफूबाहेक कसैको हेक्का नहुँदो रहेछ क्यारे सायद । थाहा छैन सबैलाई हो कि मलाई मात्रै, भयो त्यस्तै । बाहिर आएर हेर्दा पो थाहा पाएँ कोही पनि छैनन् साथमा । बाहिर बसेर चिच्याउन थालेँ आओ आओ भन्दै तर कोही पनि आएनन् । हुनसक्छ सुनेनन् पनि । उभिन खोजेँ तर सकिएनँ । कहिले यता हुत्याउँछ, कहिले उता । के गर्ने गर्ने । एउटा सानो फूलको बोट समातेर अडिने प्रयास गरेँ तर त्यसले पनि साथ दिन सकेनँ धेरै बेर । एकदुई झड्का पछि उत्तानो प-यो आफैँ ।

ठूलो झट्का रोकिएपछि बाहिर आए परिवारका सदस्यहरू पनि । सबै सकुशल देखेपछि केही राहत महसूस भएको थियो तर मन न हो कहाँ मान्दो रहेछ र । अफिसको चिन्ताले सताउन थाल्यो तत्कालैदेखि नै । गोरखापत्र त निस्कनै पर्छ भोलि जसरी पनि । सबैले दिनेछन्, यति ठूलो घटनाका समाचार आफूहरूले मात्र दिन सकिएन भने मरेकै जुनी हुनेछ तर निकाल्ने कसरी । साथीहरू कता होलान्, अवस्था कस्तो होला । आफिस आएका होलान्, नहोलान्, आउलान्, नआउलान्, आउन सक्लान्, नसक्लान् यस्तैयस्तै चिन्ता गर्दै सम्पादकलाई फोन लगाउन थालेँ मरिकाटे लाग्या होइन । महाप्रबन्धको अवस्था त्यस्तै ।

करीव तीन बजेतिर फोन सम्पर्क भयो बल्ल महाप्रबन्धकसित । उहाँ पनि आत्तिरहनुभएको रहेछ । भन्दै हुनुहुन्थ्यो– ‘लौन कमलजी ! बित्यास प-यो । के गर्ने सोच्नै सकिरहेको छैन, आफिस कसरी जानेँ, पत्रिका कसरी निकाल्ने भोलि’ यस्तैयस्तै । प्रतिउत्तरमा भनेँ– ‘न आत्तिनुस् जिएम साहब ! जसरी भए पनि भोलिको गोरखापत्र निस्कन्छ, निकाल्छौँ, भलै दुईपेजकै किन नहोस् । सम्पादकसित फोन लागेको छैन, प्रयास गर्दै छु । आइसक्नुभएको होला सायद अफिसतिर । आइनसक्नुभएको भए पनि भरेसम्म आउनुहोला । अफिस हिड्ने तरखर गर्दै छु । साथीहरू पनि केही आइसक्नुभएको हुन सक्छ । बाँकी पनि भरेसम्म कोही न कोही पक्कै आउनुहुनेछ । सम्भव हुन्छ तपाईँ पनि आउनुहोला, नभए पनि केही छैन । प्रेसका साथीहरूलाई भने खबर गरिदिनुहोला ।’

मोटर साइकल लिएर निस्केँ महाप्रबन्धकसित त्यति कुरा भएपछि तर गइसाध्ये भए पो जानु । घर भत्केका छन् कतै, परखाल भत्किएका छन् कतै, भत्केका पर्खालले बाटो छेकेका छन् कतै । अबरोध पन्छाउँदै, बाटो खोज्दै भद्रकालीसम्म पुगेँ जेनतेन तर धरहरा ढलेका कारण भद्रकालीमै छेकेका रहेछन् सहिद गेटतिर लाग्ने बाटो सुरक्षा कर्मचारीले । पार्किङ्को व्यवस्था दशरथ रङ्गशालामा गरिएको छ भन्ने थाहा पाएपछि लागेँ त्यतैतिर सिंहदरवार, माइतीघर, थापाथली हुँदै । रङ्गशालामा मोटर साइकल राखेर अफिस पुगेँ पैदलै । लेखरचना शाखा र समाचार शाखाका केही साथी आइसक्नुभएको रहेछ । एकैछिनपछि जिएम साब पनि आउनुभयो । प्रेसका केही साथी पनि आइपुग्नुभयो तर त्यतिबेलासम्म पनि अत्तोपत्तो थिएन सम्पादकको भने । आफैँले निर्णय गर्नुपर्ने भएपछि फिचरको ठाउँमा फोटो फिचर राख्ने निधो गरी काम थालियो । केही साथी जिल्ला समाचार सङक्लनतिर लाग्नुभयो, केही केन्द्रका समाचार टिप्न र केही फोटो सङ्लनतिर । आठ पेजको म्याटर तयार भयो बेलुका १० बजेसम्म । त्यसपछि प्रेसका साथीहरूलार्ई जिम्मा दिएर रुट मिल्ने साथीहरूका साथमा घरतिर लागेँ अफिसको गाडीमा । घर पुग्दा एघार बजिसकेको हुनुपर्छ जस्तो लाग्छ । छिमेकीको आँगनमा शरण लिन पुगेका रहेछन् परिवारका सदस्यहरू । धन्य त्यति ठूलो विपत्तिमा पनि कतैबाट ल्याएर आलु उसिन्न भ्याएका रहेछन् । उनीहरूले खाए, खाएनन् कुन्नि चारवटा रहेछ मेरो भागमा । त्यही खाएर सुतियो निद्रा नलागे पनि । भोलिपल्ट आठ पेजको पत्रिका निस्क्यो ।

तारन्तार भवन हल्लिरहेको छ, बसेको कुर्ची हल्लिरहेको छ, मन हल्लिरहेको छ, परिवारको अवस्था कस्तो छ थाहा छैन । त्यस्तो अवस्थामा पनि कुन मुडले काम गरियो होला, साथीहरूले कुन मुडले काम गर्नुभयो होला आश्चर्य लाग्छ अहिले पनि सम्झेर ल्याउँदा । साथीहरूले जुन हौसला दिनुभयो, जुन हौसलाले काम गर्नुभयो त्यसप्रति साथीहरूप्रति आभारी छु तर उनीहरूकै निम्ति भने केही गर्न सकिएन । पछिसम्म पनि विपत्तिको क्षणमा काम गर्ने साथीहरूलाई केही गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो जिएम साब । उहाँले नाम माग्नुभएको पनि थियो, मैले टिपाएको पनि थिएँ तर के भएछ कुन्नि, उहाँहरूका निम्ति छुट्टै केही गर्न सकिएन । यसबारे भने थक्कथक्क लागिरहेको छ अहिले पनि ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button