नेपाली माटोको आवाज

डा. नवराज लम्साल

सबैलाई थाह भएकै कुरा हो; रेडियो नेपालको स्थापना वि.सं.२००७ साल चैत २० गते भएको हो । त्यसै दिन पहिलो पटक नेपाली भाषामा समाचार सम्पादन तथा वाचन गरे तारिणीप्रसाद कोइरालाले र मधुसूदन देवकोटाले पढे अङ्ग्रेजी बुलेटिन ।

सोही वर्ष चैत २५ गते हिन्दी समाचार पढे राजेन्द्र गुप्ताले र १ वैशाख २००८ मा नेवारी समाचार पढे गजाधर माथेमाले तर १ वैशाख २०२२ देखि हिन्दी र नेवारी भाषाका समाचार बन्द गरिए । २०१७ सालको राजनैतिक परिवर्तनपछिको प्रभावका रूपमा यसलाई टिप्पणी गर्ने गरिएको छ । १५ असार २०४७ देखि फेरि थपिए नेवारी र हिन्दी । यसरी थपिनुको कारण २०४६ सालको राजनैतिक परिवर्तन थियो । यसबाट प्रस्ट हुन्छ रेडियो प्रसारणको नीतिगत परिवर्तनमा राजनैतिक परिवर्तनको सीधा प्रभाव थियो र छ ।

समयक्रममा समाचार प्रसारण हुने भाषाको सङ्ख्या बढ्न थाल्यो । १७ पुस २०४९ देखि मैथिली भाषामा प्रसारण शुरु भयो । १ भदौ २०५१ बाट तामाङ, राई बान्तवा, लिम्बू, गुरुङ, मगर, भोजपुरी, अवधी, पुर्वेली थारु र पश्चिमा थारु थपिए । रेडियो नेपालले संस्कृत भाषालाई स्वागत ग¥यो २० चैत २०५१ बाट र शेर्पा र ऊर्दूले ठाउँ पाए १ भदौ २०५३ देखि ।

खाम मगर र डोटेली समाचार २०५७ असार ९ गतेदेखि शुरु भयो र २०५८ वैशाख १ देखि रानाथारु भाषाको समाचार आरम्भ भयो । सबैभन्दा पछि २०७२ कार्तिक १६ गतेदेखि मगही भाषामा समाचार प्रारम्भ भएको हो ।

वर्तमानमा केन्द्र र विभिन्न प्रादेशिक प्रसारण केन्द्रबाट समेत गरी रेडियो नेपालबाट २१ भाषामा समाचार प्रसारण हुन्छ र समाचारकर्मीहरूकै सञ्चालनमा संस्कृतबाहेक सबै भाषाका कार्यक्रमहरू पनि निरन्तर प्रसारण हुँदै आएका छन् ।समाचारबाहेक ती भाषाका कार्यक्रमहरूको प्रारम्भ भने २०६२/६३ को परिवर्तनपछि मात्रै भएको हो ।

२०६४ वैशाख १ गतेदेखि बालसमाचार प्रसारण आरम्भ भयो । सोही वर्ष भदौ २९ देखि बाल समाचार बालबालिकाकै स्वरमा प्रसारण हुनथाल्यो । विभिन्न बाल प्रसारकहरूले आआफ्ना प्रतिभा देखाए तर २०७२ को महाभूकम्पसँगै प्रसारण रोकियो र पछि बाल समाचारलाई बालबाटिका कार्यक्रममै समावेश गर्दा उपयुक्त हुने ठानी कार्यक्रम सञ्चालकलाई नै जिम्मा लगाएर यो क्रम रोकियो ।

स्वाभाविक हो; २००७ चैत्र २० को अवस्था आजको जस्तो थिएन । आजको जस्तो प्रविधियुक्त न्युजरुम थिएन, सम्वाददाताहरू थिएनन् र न्युज एजेन्सीहरू पनि थिएनन् ।

समाचारीय महत्व र त्यसको अन्तरवस्तुमाथिको विवेचनात्मक दृष्टिबोधको परिभाषा अलग होला तर तिनताकाका अन्तर्राष्ट्रिय रेडियो स्टेसनसँगको पहुँच पनि त्यति उल्लेख्य थिएन । थियो त केवल उत्साह थियो र प्रसारणलाई निरन्तरता दिनु थियो ।

सन् १९२० देखि नै युरोप र अमेरिकामा रेडियो प्रसारण प्रारम्भ भइसकेका थिए । कतिपय एशियाली मुलुकहरूमा पनि रेडियो खुलिसकेको थियो । रेडियोको संस्थापन पुस्तासँग राणाकालमै भोजपुर र विराटनगरबाट भएका अनौपचारिक प्रसारण वा प्रसारण प्रयासको अनुभव मात्र थियो ।

हातैले लेखेर समाचार वाचन गर्नुपर्दथ्यो । समाचारीय महत्वका हिसाबभन्दा पनि पदीय प्राथमिकतामा समाचारको क्रम निर्धारण हुन्थे । राम्रो अक्षर नभएको अवस्थामा र समाचारमा केरमेर भएको स्थितिमा समाचार वाचन गर्नु पनि सानो सानो युद्धै जितेजस्तो थियो ।

विदेशी रेडियो सुनेकै भरमा अनुवाद गर्नुको जटिलता आज अनुभव गर्न सकिन्छ । कतिपय अग्रजहरूका अनुसार कतिपय अवस्थामा त व्यक्तिलाई भेटेर र फोन माध्यम शुरू भएपछि फोनबाटै टिपेर समाचार तयार पार्नुपर्ने हुन्थ्यो । लेखन शैली र समाचार वाचनको तरिकालाई समेत विदेशी रेडियो सुनेर ‘शैली’ बनाउनुपर्ने अवस्था थियो । वनको ढुङ्गो वनकै चरी भनेजस्तो काम गर्दै, भोग्दै, सिक्दै जानुपर्ने र स्रोत साधनको अभावलाई उत्साहले जितेर जनरुचि पूरा गर्नुपर्दथ्यो । राष्ट्रिय समाचार समिति शुरु भएपछि पनि पातलो पेपरमा टाइप गरेर र कतिपय बेलामा धमिलो कार्वन पेपरमा आउने समाचार पढ्न बुझ्न थप जटिल हुन्थ्यो । अभावहरूमा भाव खोज्नुको जटिलतामा पनि मिठास भेटिन्थ्यो सायद ।

२०१० को कोलम्बो योजना शुरु भएपछि वैदेशिक तालिमको ढोका खुल्यो । २०११ मा ६ महिने तालिमका लागि प्रकाशमान सिंह र राजेन्द्रप्रसाद गुप्ता दिल्ली गएका थिए ।

अमेरिकी समाचार संस्था एपी, फ्रान्सेली समाचार समिति एएफपी, चिनियाँ समाचार समिति सिन्हवाआदिका समाचार भेट्न पनि रासस कुर्नुपर्ने स्थिति थियो ।

प्रारम्भिक दिनमा त पत्रिकाको नाममा एउटा गोरखापत्र मात्र थियो । त्यही गोरखापत्रले पनि रेडियो प्रसारण शुरु भएको समाचार छाप्थ्यो । कार्यक्रमहरूका बारेमा समाचार बनाउँथ्यो । न त आजजस्ता गोष्ठी, सेमिनार र उद्घाटनका समाचार हुन्थे न त जिल्ला जिल्लाका घटना, दुर्घटना र गतिविधिका समाचार आउँथे । सामाजिक गतिविधि नै पनि खासै हुन्नथे ।

रेडियो अष्ट्रलिया, बीबीसी, भ्वाइस अफ अमेरिका, भ्वाइस अफ जर्मनी, रेडियो नेदरल्याण्ड्सआदि अन्तरराष्ट्रिय रेडियोहरूसँगको सम्पर्क धेरैपछि भएको हो । एशिया प्यासिकफिक इन्ष्टिच्युट फर ब्रोडकाष्टिङ डिभलेपमेन्ट (एआइबिडी) सँगको सहकार्य पनि धेरैपछि हो । यी संस्थाहरूसँग जोडिएपछि भने प्रसारकहरूले त्यहाँ जाने, तालिम लिने र सिक्ने अवसर पाए । बिस्तारै समाचारको विषय, भाषा र नीतिमै सुधार हुन थाले । स्वदेशी तथा विदेशी भाषाविद्हरूसँग अन्तरक्रिया, गोष्ठी र सेमिनारहरू हुन थाले र समाचार माझिन, परिष्कृत हुन र जनरुचिमा केन्द्रित हुनथाल्यो । विकासको त्यो चरणमा जे जति काम भए त्यसका लागि अग्रजहरू धन्य छन् ।

परिवर्तनका केही चरण
स्वाभाविक हो समय गतिशील छ । सुधार ल्याउँछु, परिवर्तन गर्छु र रूपान्तरित हुन्छु नभने पनि कतिपय कुरा आफैँ हुनेरहेछन् । रेडियो प्रसरण आफैँमा एउटा समाचार थियो । २००७ साल चैत्र १७ गते शुक्रबार गोरखापत्रको पहिलो पृष्ठमा यस्तो सूचना प्रसारण भएको थियो –
समाचार प्रचार (बोडकाष्टिङ)
‘पर्सि चैत्र २० गतेका दिन काठमाडौंबाट समाचार प्रचार (बोडकाष्टिङ) शुरु हुने भएको छ । त्यसको विवरण आगामी संख्याको गो.प.मा प्रकाशन गरिने छ । — नेपाल प्रचार विभाग’
चैत २० गतेको गोरखापत्रमा रेडियो प्रसारण सम्बन्धी सम्पादकीय छापिएको थियो भने चैत्र २२ गतेको गोर्खापत्रमा यस्तो समाचार थियो —
‘ध्वनि विस्तार ।
काठमाडौं चैत २१ गते ।
प्रजातन्त्र नेपाल रेडियोबाट बिहान ८ बजेदेखि ९ सम्म र साँझमा ६ बजेदेखि ७ सम्म ४१ मिटरबाट खबर प्रसारित भइरहेको छ । आज नेपालका कवि संगीतकारहरुले आ—आफ्ना रचना आदि प्रसार गरिराखेको खबर छ ।’

२००७ पछिको अवस्थामा बिस्तारै सुधार आयो । २०१५ सालको आमनिर्वाचन र त्यसपछिको प्रजातान्त्रिक सरकारको चासो यस तर्फ बढेको पाइन्छ । त्यसो त रेडियोप्रतिको नेताहरूको रुचि स्थापनाकालदेखि नै थियो । २००७ को परिवर्तनपछि गृहमन्त्री भएका वीपी कोइरालाले सो पदबाट राजीनामा गर्दा रेडियो नेपालमा आएर आफ्नो राजीनामा आफैँले वाचन गरेको कुरा वीपी आफैँले कतिपय ठाउँमा उल्लेख गरेका छन् । यसबाट स्थापनाकालदेखि नै नेतृत्व तहको आकर्षण रेडियोप्रति विशेष थियो भन्ने बुझिन्छ ।

२०१७ को परिवर्तनपछि राजनैतिक चासोमा सत्ताको पनि चासो बढेको कुरा कतिपय पुराना प्रसारकहरूले बताएका छन् । २०१७ सालमा पञ्चायती व्यवस्था शुरु भएपछि समाचारको ढाँचा शैलीमा एक्कासी परिवर्तन आयो । २०२२ सालमा हिन्दी र नेवारी भाषाको समाचार बन्द हुनुले पनि यस परिवर्तनकोे संकेत गर्दछ ।

२०२८ सालमा ‘विकासका लागि सञ्चार’ भन्ने नाराका साथ सरकारले सञ्चार योजना ल्याएको थियो । रेडियो नेपालमा पनि त्यसको प्रभाव प¥यो नै । समाचारको समय थप गरियो । स्थानीय गतिविधि थप गरी जिल्ला समाचारलाई दैनिक दश दश मिनेटको दुई बुलेटिन बनाइयो । यसअघि ५ मिनेटको दैनिक एक बुलेटिनमात्र प्रसारण हुन्थ्यो । सामयिक चर्चाजस्ता कार्यक्रम थपिए । त्यतिखेर कुल प्रसारण समय नै दैनिक ८ घन्टाबाट बढाएर १२ घन्टा बनाइएको थियो ।

२०४१ सालमा रेडियो प्रसार सेवा विकास समिति बन्नुअघि रेडियो नेपाल तात्कालीन प्रसार विभाग थियो । यो संरचनागत परिवर्तनपछि समाचारमा मात्र होइन, रेडियो नेपालको मूल प्रसारणमै पनि आमूल परिवर्तन आयो । सोही वर्ष रेडियो नेपाल सुधार तथा सुदृढीकरण योजना २०४१ घोषणा गरियो । विज्ञापन प्रसारणलाई मात्रै विकास समिति अन्तर्गत राख्ने कि समग्र रेडियो नेपाललाई भन्ने बहस निकै चल्यो । अन्ततः रेडियो नेपाल नै विकास समितिमा परिवर्तन भयो । रेडियो नेपालले आफैँ कमाएर खानुपर्छ भन्ने वाक्यांशको प्रयोग त्यही बेलादेखि भएको हो । विज्ञापन प्रसारणले थप गति लियो, प्रायोजित कार्यक्रमहरू प्रसारण प्रारभ्भ भए र ‘रेडियोको टोन’ केही हदसम्म फरक सुनियो ।

रेडियो नेपालमा देखिने परिवर्तन २०४६ पछि प्रारम्भ भएको हो । २०४७ मा छुट्टै रिपोर्टिङ युनिट शुरु भयो । रेडियो नेपालमा विभिन्न शाखामा कार्यरत कर्मचारीहरूलाई भेला पारेर रिपोर्टिङ युनिट बनाइयो । कृष्ण केसीले त्यसको अगुवाइ गरेका थिए । त्यसबेला उनको सक्रियातको चर्चा अहिले पनि सुनिन्छ । त्यसपछि आफ्नै सम्वाददाताले समाचार लेख्न थाले । २०४७ भदौदेखि‘यो ‘हप्ता’ नामको विश्लेषणात्मक कार्यक्रम शुरु भयो र यसैको विकसित रूप घटना र विचार हो, जुन कार्यक्रम विभिन्न उतारचढाब खेप्दै आजसम्म जीवित छ । केही हप्ता चलेको ‘यो हप्ता’पछि २०४७ आसोज २ देखि ‘घटना र विचार’ शुरु भएको हो । यसका संस्थापक सञ्चालक पुरुषोत्तम दाहाल हुन् । त्यसपछि जिल्ला जिल्लामा सम्वाददाता राख्न थालियो । रिपोर्टिङका लागि छुट्टै स्टुडियो खडा गरियो ।आज त्यही रिपोर्टि युनिट समाचार महाशाखा अन्तर्गतको सशक्त रिपोर्टिङ शाखा भएको छ । रिपोर्टिङका साथै राष्ट्रिय महत्वका पर्व, दिवस, घटना र अन्य उल्लेख्य सन्दर्भमा लाइभ अन्तर्वार्ता, बहस र विश्लेषणात्मक कार्यक्रमहरूले निरन्तरता पाएका छन् । कतिपयको भनाइमा २०४६ पछिको घटना र विचार र २०६२/६३ को परिवर्तनपछि शुरु भएको जनतासँग प्रधानमन्त्री दुई महत्वपूर्ण राजनैतिक परिवर्तनपछिका ‘बोल्डस्तर’का दुई प्रसारण हुन् । ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम सञ्चालनको दिन २०६५ असोज १५ एक ऐतिहासिक दिन हो । तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफैँ पनि निकै प्रसन्न देखिन्थे । उनले लेखेका छन् – ‘रेडियो नेपाल सरकारी सञ्चारी माध्यम भएकोले राजनैतिक नेतृत्वसँग अलि डराउने र जे भन्यो जीहजुरी गर्ने चलन छ भन्ने सुनेको थिएँ तर कार्यक्रम सञ्चालकले जुन किसिमले मेरा बारे, सरकारका बारे र मेरै पार्टीका बारेमा निर्भीक रूपमा प्रश्न राख्नुभयो र प्रस्ट गर्ने मौका जुराउनुभयो, त्यो पत्रकारमा हुनुपर्ने साहस थियो …. यसले सञ्चालक र रेडियो नेपालको मात्र होइन, सरकारी सञ्चार माध्यमकै इज्जत बढेको पाएँ ।’

समयक्रममा अरू पनि कति कार्यक्रम थपिए, कति बन्द भए । परिक्रमा, चिन्तनको चौतारी, सांसद फोनइन, मन्त्री फोनइन, जनतासँग सभासद, परिवेश, मार्गचित्रजस्ता कार्यक्रम बन्द भए तर प्रत्येक बिहान ६.३० मा प्रसारण हुने अन्तरसंवाद रेडियो नेपालको एउटा महत्वपूर्ण ‘टक शो’ हो । २०५४ देखि शुरु भएको अखबार कार्यक्रम अर्को महत्वपूर्ण कार्यक्रम हो । बिहान ६.०५ बजे अखबार र ६.३० मा अन्तरसंवाद आज पनि दैनिक छ, निरन्तर छ । ‘सम्पादकीय समीक्षा’ भनेर अखबारमूलक कार्यक्रमको शुरुवात २०१६ सालमै पनि भएको थियो तर त्यसले ३ महिनाभन्दा बढी निरन्तरता पाएन ।

तात्कालीन विकास क्षेत्रको अवधारणा अनुरूप २०५० सालमा क्षेत्रीय प्रसारण र २०५२ मा एफ.एम. प्रविधिको सुरुवात भयो । १०० मेगाहर्जमा रेडियो नेपाल एफ.एम. काठमाडौँकै जग टेकेर देशभरि एफ.एम. फैलिएका हुन् । २०५७ मा ल्भधक द्ययकक प्रणाली प्रारम्भ गर्ने निकै कोशिश भयो तर धेरै लगानी भएर पनि विविध कारणले सम्भव भएन । २०५९ फागुन ७ गतेदेखि अनलाइन प्रसारण र २०७३ भदौ १ गतेदेखि चौबीसै घण्टा प्रसारण हुँदै २०७४ भदौ ७ गतेदेखि रेडियो नेपाल प्रदेश प्रसारणको अभ्यासमा छ । चौबीसै घन्टा प्रसारण अन्तर्गत रात्रीकालीन सेवामा पनि घन्टाघन्टाको समाचार शुरु भयो । कोभिड १९ को प्रकोपपछि रात्रीकालीन समाचार बन्द गरिए र लामो समय रात्रीकालीन सेवामा समाचार सम्पादन र वाचन गरेका गिरीशा उपाध्याय र रमेश टमटा बेलुकी सेवामा कार्यरत छन् । प्रादेशिक प्रसारण शुरु भएयता बेलुकी सेवामा प्रदेश समाचारले समेत निरन्तरता पाएको छ । अङ्ग्रेजी र नेपालीबाहेक प्रत्येक भाषाका समाचार एकएक बुलेटिन प्रसारण हुन्छन् भने अङ्ग्रेजी भाषामा प्रत्येक दिन बिहान ८, दिउँसो २ र साँझ ८ बजे गरी ३ बुलेटिन प्रसारण हुन्छन् । नेपाली भाषामा बिहान ६ बजेदेखि ७, ९, १०, ११, १२, १, ३, ४, ५, ७, ९, १० र राती ११ बजेसम्म गरी १४ बुलेटिन छन् । यस बाहेक प्रदेश समाचार दैनिक प्रसारण हुन्छ ।

२०७३ सालमा रेडियो नेपालको व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना अनुरूप स्थानीय व्यक्ति, पात्र र प्रवृत्तिलाई समेटेर प्रसारणलाई स्थानीय स्तरसँग जोड्ने प्रयास गरिएको छ । मूल समाचारमा कम्तीमा दुई रिपोर्ट समावेश गर्ने गरिएको छ । यसै बीचमा समाचार तथा कार्यक्रमको मापदण्ड तथा समाचार निर्देशिका समेत लागु गरिएको छ । समाचार तथा कार्यक्रम मापदण्डमा उल्लेख छ –
–सत्यतथ्य र वस्तुपरक हुने
–तथ्यलाई नबङ्ग्याउने, नलुकाउने र तटस्थ रूपमा प्रस्तुत गर्ने
–समाचार तथा समाचारमूलक कार्यक्रममा कसैको विचार प्रस्तुत गर्दा घटनाको वास्तविकता तथा व्यक्तिगत विचारलाई प्रस्ट रूपमा छुट्याउने
–प्रकोप तथा अन्य आपतकालीन स्थितिमा तत्काल समाचार र जानकारी दिई नागरिकको जीवन रक्षा र प्रकोपको प्रभाव न्युनीकरणका लागि प्रयत्न गर्ने

साथै कला, साहित्य, संस्कृति र इतिहास, शैक्षिक, बालबालिका, महिला र जेष्ठनागरिक, कृषि, स्वास्थ्य, वातावरण र विज्ञान प्रविधि तथा खेलकुल र मनोरञ्जनका विषयलाई कसरी समेट्ने भनेर पनि मापदण्डमा प्रस्ट उल्लेख छ । हिंसा, यौन, द्वन्द्व र भेदभावका विषयमा अपनाउनु पर्ने संयम र होशियारीआदि विषयमा पनि मापदण्ड प्रस्ट छ । यसलाई सजगताका साथ परिपालन पनि गरिएको छ ।

समाचारमा बाइट प्रयोगको चलन २०५१ देखि प्रारम्भ भएको हो । आवश्यकता अनुरूप समाचारमा भक्स पप सेग्मेन्ट समेत प्रयोग हुने गरेको छ । आर्थिक र खेल समाचारको नियमित सेग्मेन्ट छ भने केही समय कृषिका लागि पनि छुट्टै सिग्मेन्ट थियो । जनरुचि र चासोसँग सम्बन्धित जनजीवनका हरेक विषय समाचारमा समेटिने गरेको छ । देशको ७७ जिल्लामा स्थानीय सम्वाददाता छन् र उनीहरूलाई रिपोर्टिङ शाखाले सीधै सम्पर्क र परिचालन गर्ने गरेको छ ।
आजको युग मल्टी मिडियाको युग हो । रेडियो नेपालको ध्यान त्यसतर्फ पनि गहिरो रूपमा आकर्षित भएको छ र रेडियो नेपालको अनलाइन न्युजपोर्टल पनि निकै लोकप्रिय हुँदै आएको छ । यसका लागि व्यावसायिक सीप र शिल्प सहितको एउटा जुझारी टिम सक्रिय छ ।

२१ भाषामा समाचार प्रसारण र २० भाषामा कार्यक्रम यो आफैँमा गौरवको कुरा हो तर भाषा केवल भाषा मात्र होइन, यससँग भूगोल, इतिहास, जाति, संस्कृति र पहिचानका अनेकौँ पाटाहरू छन् । भाषिक बहुलता र परिचयको यस शृङ्खलामा रेडियो नेपालले आफूलाई खरो रूपमा प्रस्तुत गर्दै आएको छ । भाषाको प्रयोग केवल समाचारमा मात्र होइन, भाषाका प्रसारकहरू सम्बन्धित भाषामा कार्यक्रम पनि सञ्चालन गर्छन् ।

सातै प्रदेश अन्तर्गत सुदूर पश्चिम प्रदेश अन्तर्गत राना थारु र डोटेली भाषामा समाचार र कार्यक्रम प्रसारण हुन्छ । यसै गरी कर्णाली प्रदेशबाट नेपाली भाषामा, लुम्बिनी प्रदेशबाट अवधि, पश्चिमा थारु र खाम मगर भाषामा र गण्डकी प्रदेशबाट मगर र गुरुङ भाषामा समाचार तथा कार्यक्रमहरू प्रसारण हुन्छन् । यसै गरी वागमती प्रदेशबाट ऊर्दू, शेर्पा र तामाङ भाषा तथा प्रदेश नं. २ बर्दिबासबाट मगही, भोजपुरी र मैथिली भाषामा समाचार र कार्यक्रमहरू प्रसारण हुने गरेको छ । यही मैथिली समाचार एकै समयमा केन्द्रीय प्रसारणबाट पनि प्रसारण हुन्छ । यसका साथै केन्द्रबाट नेपाली, अङ्ग्रेजी, संस्कृत, नेपाल भाषा (नेवारी) र हिन्दीमा प्रसारण हुने गरेको छ । प्रदेश १ बाट राई वान्तवा, लिम्बू र पूर्वीय थारु भाषामा प्रसारण हुन्छ । सम्बन्धित प्रादेशक प्रसारण केन्द्रबाट नेपाली भाषामा पनि समाचार र समाचारमूलक कार्यक्रमहरू प्रसारण हुँदै आएका छन् । यसरी समाचारले कुनै नकुनै रूपमा सम्पूर्ण देशलाई छोएको छ । त्यसैले रेडियो नेपाल भन्छ – आवाजले छुने सम्पूर्ण नेपाल रेडियो नेपाल, नेपाली माटोको आवाज रेडियो नेपाल ।

इतिहासतिर फर्कँदा
मोहन शमशेर राणा श्री ३ महाराज भएपछि भोजपुरमा आकाशवाणी स्थापना गरेका थिए । त्यहाँ केही उपकरण थिए । विश्वयुद्धका बेला प्रसारण उपकरण सम्बन्धी तालिम लिएका नारदमुनिले सहकर्मी श्रीपाल राईसँग केही सल्लाह गरे । त्यतिखेर नेपाली काँग्रसले राणा विरुद्ध संघर्ष गरिरहेको थियो । प्रथम र द्वितीय विश्वयुद्ध लडेर आएका कतिपय लडाकु मुक्ति सेनामा संलग्न थिए र भोजपुरकै एउटा विद्यालयमा जयेन्द्र थपलिया शिक्षक थिए । एक दिन शनिवारे हाट लागिरहेको बेला रामप्रसाद राईसहित यो समूहले नक्कली धामी र नक्कली विरामी भएर धामी नाच प्रदर्शन गर्दै गर्दा सिपाहीहरू मन्त्रमुग्ध भएर हेरिरहेका थिए । त्यही मौका पारेर सिपाहीका सबै हतियार खोसे । यसरी खोसिएको हतियार साथमा राखेर आकाशवाणीको उपकरण प्रयोग गरी रेडियो सञ्चालन गरे ।

एकदिनको समाचारमा मुक्तिसेनाले धनकुटामा आक्रमण गर्ने समय र स्थानको सूचना समेत प्रसारण गरिदिनाले धनकुटामा रहेका राणा पक्षका सिपाहीबाट पाख्रीवासमा रहेका सात जना भोजपुरेलाई मारिदिए । यसबाट समाचार प्रसारणमा हुनुपर्ने सेन्सर र सूचनाको गोपनीयताबारे पनि थाहा भयो । उनीहरू थप सचेत हुन थाले । समाचारीय चेतनाका लागि यो महत्वपूर्ण घटना हो ।

यो प्रसारण उत्साहका साथ माघसम्म चल्यो । विद्रोह आफ्नै गतिमा थियो र विद्रोहीहरूसँगको सम्पर्क निरन्तर थियो नै । तात्कालीन आवश्यकता र औचित्य हेरी अब प्रसारण विराटनगर झर्ने भयो । सबै कुरालाई विशेष निगरानी गरिरहेका तारिणीप्रसाद कोइराला नेतृत्वको समूहले विराटनगरको एउटा जुटमिलबाट प्रसारण प्रारम्भ गर्ने व्यवस्था मिलाए ।

काठमाडौँले पनि धेरथोर रेडियोको स्वाद पहिले नै पाइसकेको थियो । नेपालमा वि.सं. १९८० तिरदेखि नै रेडियो सेट भित्रिन थालेका थिए । नेपाली सैनिकहरू विश्व युद्धहरूमा समेल भएका थिए । त्यसरी युद्धमा सामेल भएर विदेशी भूमिमा पुगेका नेपालीहरूले घर फर्कँदा रेडियो ल्याउने गरेका थिए तर त्यसरी ल्याइएका रेडियो र ती रेडियोहरूमा बज्ने सूचना समाचारबाट नेपालीहरू विज्ञ होलान् र राणा विरुद्ध आन्दोलन गर्लान् भनेर राणाहरूले रेडियो सेट जफत गरेका थिए । बाहिरी संसारबाट नेपालीहरूलाई विमुख गराउने अभिप्रायले यसो गरिएको भए पनि श्री ३ पद्मशमशेर राणा प्रधानमन्त्री भएपछि २००३ सालमा यसलाई खुकुलो पारियो । जनताले रेडियो सेट राख्न पाए र काठमाडौँको रत्नपार्क नजिकै रहेको विजुली अड्डाबाट केही समय अनौपचारिक रूपमा प्रसारण समेत प्रारम्भ भएको थियो ।

२००७ को जनक्रान्ति सफल भयो । तारिणीप्रसाद कोइराला समूह काठमाडौँ आयो । यहाँ आइसकेपछि उनीहरूले ठाउँको खोजी गरे । धेरै मान्छेहरूको भेला गरे र बैठकहरू चलाए । पहिलो बैठक सुब्बा ऋद्धिबहादुर मल्लको जोर गणेश प्रेस रहेको पाको पोख्ःल्याङमा बसेको थियो । त्यो बैठकमा बालकृष्ण सम, हिक्मत बहादुर मल्ल, समरबहादुर मल्ल, मुरारीकृष्ण शर्मा, सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु, श्यामदास वैश्णवआदि उपस्थिति थिए ।

अन्ततः २० चैत २००७ मा रेडियो नेपालको औपचारिक प्रसारण आरम्भ भयो । तारिणीप्रसाद कोइरालले भने – यो प्रजातन्त्र नेपाल रेडियोको आवाज हो । ४१ मिटर ब्याण्डमा हामी काठमाडौँबाट बोलिरहेका छौँ । उनले समाचार वाचन गरे । त्यसपछि हरिप्रसाद रिमालले गीत गाए – मेरो दिल टुक्रा पारेर आँखाको बाटो हुँदै बहने छ । यस गीतका रचनाकार शङ्कर लामिछाने हुन् ।

आजको नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल हो । सार्वभौम जनताका प्रतिनिधिले बनाई जारी गरेको संविधानले समावेशीकरण र समानुपातिक प्रतिनिधित्वलाई स्थापित गरेको छ । मुलुकको यो वास्तविकता र तथ्य समेतको प्रवद्र्धन हुने गरी रेडियो नेपालको समाचार प्रसारण केन्द्रित छ । न्युज रुमलाई व्यावसायिक र सशक्त बनाई अझ बढी प्रभावकारी प्रसारण बनाउन र केन्द्र र जिल्ला जिल्लामा रहेका सम्वाददातालाई अझ व्यावसयिक र राष्ट्रिय दायित्वबोध सहितको जिम्मेवारी पूरा गर्ने गरी समक्ष बनाउन बेलाबेला विभिन्न तालिम, गोष्ठी र अन्तरक्रियाहरू हुने गरेका छन् । यो अझै सत्य हो कि तिनलाई उपयुक्त वातावरण, उपकरण र सुविधा उपलब्ध गराउन बाँकी नै छ । कतिलाई सीप सिकाउनु छ र कतिसँग भएको उच्च सीपको पूर्ण सदुपयोग गर्न अझै बाँकी छ ।

रेडियो नेपाल प्रसारणका हिसाबले राष्ट्रिय रेडियो मात्र होइन, दायित्व र जिम्मेवारीबोधका हिसाबले पनि राष्ट्रिय धरोहर हो । आवेग र उत्तेजना होइन, उत्सुकता, जनआवश्यकता, तथ्यपूर्ण सामग्री र राष्ट्रिय दायित्वबोध हाम्रा प्रसारणका खास महत्व र मूल्य हुन् । सूचना, सन्देश, सकारात्मकता र सन्तुलन रेडियो नेपालका मूल मन्त्र हुन् । रेडियो नेपालका प्रसारक कार होइनन् जो बनिबनाउ बाटोमा मात्रै सप्रेम कुदोस्, यी त डोजर हुन् जो आफ्नो बाटो आफैँ बनाउँदै कुद्दै थिए, छन् र कुदिरहनेछन् तर आफैँभित्रको पूर्ण जोश र होशलाई सम्हालेर ।

(रेडियो नेपाल समाचार महाशाखाका प्रमुख डा.लम्सालको यो लेख रेडियो नेपालको झङ्कारमा प्रकाशित छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button