लालदेउसा राईलाई पत्रकारिता दीर्घ सेवा पुरस्कार
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले नेपालमा पत्रकारिताको अध्यापन थालनी गराउने लालध्वज देउसा राईलाई ५१ हजार १ सय ११ रुपिंया राशीको ‘पत्रकारिता दीर्घसेवा पुरस्कार’ प्रदान गर्ने भएको छ ।
झण्डै आधा शताब्दी अनवरत रूपमा पत्रकारिता विषयको प्राध्यापनमा संलग्न रहँदै आएका पत्रकारिता गुरु राईले प्राध्यापकले कहिल्यै पनि अवकाश लिँदैनन् भन्ने उक्तिलाई चरितार्थ गरेका छन् । हातखुट्टा लागेसम्म र दक्षिणाका रूपमा बसभाडा पाएसम्म पढाउन जान छोड्दिनँ भन्ने राईको दृढ अठोटबाट हजारौँ विद्यार्थी र अध्यापकहरूलाई प्रेरणा मिलेको छ ।
पत्रकारिताका गुरु राईप्रति अझ सम्मान व्यक्त गर्दै पुरस्कारको राशीमा थप गर्न संस्थागत वा व्यक्तिगत इच्छा भएमा इञ्जा सहकार्यका लागि समेत तयार रहेको इञ्जा निर्देशक किशोर सपकोटाले बताए ।