जलस्रोत ‘एक्स्प्लोर’ गरे, बने ‘बिट ब्रान्ड’

एसएलसी दिएर कम्प्युटर चलाउन सिके । आईकम पढ्दै काठमाडौं पोष्टमा कम्युटर अपरेटर भए । लेख, समाचार आदि टाइप गर्दागर्दै पत्रकारितामा रस बस्न थाल्यो । सम्पादकीय र समाचार लेख्ने अवसर पाए । डेस्कमा समाचार सम्पादनको जिम्मेवारी पाए । दिवा डेस्क संयोजक भए । विराटनगरमा क्षेत्रीय रिपोर्टिङ संयोजक भएर दुई वर्ष पत्रकारिता गरे । काठमाडौं आएर मूलधारको रिपोर्टिङ गरे । त्यसपछि लगातार पत्रकारिता गरिरहे । गरिरहेका छन् ।
भन्छन्, ‘एउटा समाचारले कुनै व्यक्तिको जीवन बच्न सक्छ , शीतलहरको चपेटामा परेका समुदायको तत्काल उद्दार हुन सक्छ, व्यक्तिको घर भाँडिनबाट जोगिन सक्छ र एउटा समाचारले राष्ट्रियतालाई बलियो तुल्याउन मद्दत गर्छ ।’

कसैले नगरेको रिपोर्टिङ बिट जलस्रोतलाई एक्स्प्लोर गरे । र, एक्स्प्लोर गरिरहे त्यसका बहुआयाम, त्यहाँभित्रका अनेकानेक भित्रीबाहिरी तथ्य र रहस्यहरु । त्यसको भन्डाफोर र विश्लेषण गरिरहे । र, आफुले पत्रकारिता गरिरहेको बिटलाई विशेष बनाए । जलस्रोतलाई मात्र ब्रान्डिङ गरेनन्, उनी आफै ब्रान्ड भए । नियमित स्तम्भ पत्रकारलाई प्रश्नमा नेपालनाम्चा प्रस्तुत गर्छ, ‘बिट ब्रान्ड’ विकास थापा

किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो ?
एसएलसी दिएर कम्प्युटर चलाउन सिकें । आईकम पढ्दा काठमाडौं पोष्टमा कम्युटर अपरेटर माग्यो । लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण भइयो । कम्युटरमा सबै लेख, समाचार आदि टाइप गरेर पेज बनाउनुपथ्र्याे । टाइप गर्दागर्दै पत्रकारितामा रस बस्न थाल्यो । कम्प्युटर अपरेटर हुँदै मलाई सम्पादकीय लेख्न र समाचार लेख्ने अवसर तत्कालीन प्रधान सम्पादक योगेश उपाध्यायले दिनुभयो । पछि कान्तिपुरले संवादादाता÷उपसम्पादकको विज्ञापन ग¥यो । लिखित परीक्षा लियो । लिखित र अन्तर्वार्ता दुवै उत्तीर्ण भएपछि डेस्कमा समाचार सम्पादनको जिम्मेवारी दिइयो । पछि दिवा डेस्क संयोजक भइयो । त्यसको एक वर्षपछि विराटनगरमा क्षेत्रीय रिपोर्टिङ संयोजक भएर दुई वर्ष पत्रकारिता गरें । विराटनगरबाट रिपोर्टिङ गर्दा नै पहिचान बनिसकेको थियो । पछि काठमाडौं आएर मूलधारको रिपोर्टिङ गर्ने अवसर त्यतिबेलाका समाचार सम्पादक नारायण वाग्लेले दिनुभयो । त्यसपछि लगातार पत्रकारिता गरियो ।
त्यतिबेला लेख र समाचार हातले लेख्ने चलन थियो । सबैले कम्प्युटर जानेका थिएनन् । अरुले लेखेको समाचार र लेख, सम्पादकीय टाइप गर्दागर्दै मलाई पनि रुचि बढेर आयो । कम्प्युटर अपरेटर हुँदै लेख्न सुरु गरें । त्यतिबेला योगेश उपाध्याय, वासुदेव घिमिरे, कृष्णमुरारि भण्डारी, पुष्कर माथेमा, जिवेन्द्र सिंखडा, नारायण वाग्लेलगायतका अग्रजहरुले प्रोत्साहित गर्दै अवसर पनि दिनुभयो । उहाँहरुले अवसर नदिएको भए म आज पत्रकार हुन्नथें जस्तो लाग्छ ।
विराटनगरबाट काठमाडौं आएपछि कसैले नगरेको रिपोर्टिङ बिट जलस्रोतलाई एक्स्प्लोर गरेंजस्तो लाग्यो । जलस्रोत, जलविद्युत् र ऊर्जाभित्र पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिला जोडिएका विषयवस्तु उजागर हुन्छन् भन्ने उदाहरण नै स्थापित हुन पुग्यो । यही जलस्रोतभित्र राजनीति, कूटनीति, आर्थिक, सामाजिक, वातावरणीय लगायतका सबै मुद्दा जोडिएको हुनाले अरु बिटभन्दा यो भिन्न हुन पुग्यो ।
त्यतिबेला शेरबहादुर देउवा र शैलजा आचार्यबीच ठूला आयोजना बनाउने कि साना भन्ने एकप्रकारका विवाद-बहस थियो । उहाँहरुको अन्तर्वार्ता, समाचार हेर्दा नेपालले केही गर्न सक्ने क्षेत्र भनेको जलस्रोत नै हो भन्ने लाग्यो र रुचि बढ्न पुग्यो । पत्रकार हुनुअघि नै जलस्रोतबारे अध्ययन थालेको थिएँ ।

र, सोचेजस्तै गरिरहनु भएको छ ?
सोचेजस्तो त कसैको पनि हुँदैन होला । जे होस् पत्रकारिता गर्दा मुलुक र समाजप्रति आफ्नो पनि जिम्मेवारी छ है भन्ने कताकता अनुभूति हुँदो रहेछ । त्यही अनुभूतिले लेख्न प्रेरित गर्दै आएको छ र आजसम्म लेखिरहेको छु ।

पत्रकारिताका सुख के हुन् ?
पत्रकारिताको सुख नै आफूले लेखेको लेख, सम्पादकीय वा समाचारले समाज र नीति निर्माण तहमा ल्याउने परिवर्तन हो । आफूले उठाएका विषय नीतिगत रुपमा सम्बोधन हुँदा सबैभन्दा खुशी त्यो क्षण हुँदो रहेछ । उदाहरणका लागि माथिल्लो तामाकोसी (४५६ मेगावाट) स्वदेशी लगानीमा बनाउनुपर्छ भनेर कान्तिपुरमा लेखिरहें । प्रधानमन्त्री परिवर्तन भए, अर्थ मन्त्री फेरिए, जलस्रोत मन्त्री फेरिए । तर मेरो लेखाई फेरिएन । नेपालले आफ्नो लगानीमा २२ मेगावाटको चिलिमे बनाइरहेको थियो । त्यतिबेला माथिल्लो तामाकोसी ३०९ मेगावाटको थियो । यति ठूलो आयोजना नेपालले बनाउन सक्दैन भन्थे एकथरि । तर यसरी बनाउन सकिन्छ भनेर तथ्यांकसहित लेख्थें । लेख्दै जाँदा दोलखाका सबै राजनीतिक दल एकढिक्का भए । अन्ततः तामाकोसी बनाउने निर्णय भयो । त्यस्तै भारतले ३० वर्षदेखि रोक्दै आएको सिक्टा (बाँके) सिंचाइ नेपाल सरकारको लगानीमा बन्नुपर्छ भनेर लबिङ गरें । किनभने कुनै दाता आयो कि भारतले भड्काइदिहाल्थ्यो । तर आफ्नै पैसामा बन्यो भने त रोक्न सक्दैनथ्यो । सिक्टा सम्पन्न भएपछि तत्कालीन मध्य पश्चिमाञ्चल क्षेत्रको गरिबी निवारणमा उल्लेखनीय योगदान पु-याउँथ्यो । आफूले लेखेका यी र यस्ता विषय सम्बोधन हुँदा एउटा पत्रकार हुनुको सुख यसैमा छ जस्तो लाग्छ ।
पत्रकारिता आफैमा दुःखी पेशा हो । तर मेरो संयोग कस्तो प-यो भने मैले कान्तिपुर, अन्नपूर्ण पोष्टजस्ता राष्ट्रिय स्तरका प्रतिष्ठित संञ्चार माध्यममा काम गर्ने अवसर पाएँ । त्यतिबेलै नेपाल सरकारका सचिवको भन्दा बढी तलब थियो । लेख लेखे बापत छुट्टै पारिश्रमिक आउँथ्यो । उपत्यकाबाहिर रिपोर्टिङ गर्न कार्यालयले आफ्नै खर्चमा पढाउँथ्यो । अझ अन्नपूर्ण पोस्टमा हुँदा नेपाल भारत सचिव स्तरीय बैठकको रिपोर्टिङ गर्न मलाई दिल्ली पठाइएको थियो । समयमा तलब आउँथ्यो । पैसाको दुःख कहिले पनि भएन । अर्काेतर्फ, मेरो भाग्य नै त्यस्तो हो कि म कान्तिपुरमा हुँदा पनि र अन्नपूर्ण पोस्टमा हुँदा पनि मेरो रिपोर्टिङ बिट परिवर्तन गरिएन । अझ भनौं कुनै पनि सम्पादकले बिट परिवर्तन गरेनन् । एकनासले गरिरहने मौका पाएँँ, जसले गर्दा यो विषयमा आफूलाई अझ बढी तिखार्ने मौका पाइरह्यो । अरु साथीहरुको देख्छु, एउटा पत्रकारले एउटा विषयमा आफूलाई परिपक्व बनाउँदै लगिरहेको हुन्छ, फ्याट्ट बिट परिवर्तन हुन्छ । उसको क्षमता बढ्दै गइरहेका बेला पुनः अर्काे बिटमा जानु पर्दा कता कता विशेषज्ञता हासिल गर्न कठिन हुन्छ । यद्यपि पत्रकारले सबै बिटमा रिपोर्टिङ गर्न सक्नुपर्छ भन्ने मान्यता छ । तर विदेशका ठूला सञ्चार माध्यममा इन्जिनियरिङको रिपोर्टिङ गर्ने पत्रकार आफै इन्जिनियर हुन्छ । स्वास्थ्यको रिपोर्टिङ गर्ने पत्रकार आफै डाक्टर हुन्छ आदि ।
कहिलेकाहीं सम्पादक र प्रकाशकको आग्रहलाई मानिदिनुपर्ने हुन्छ । आफूले ब्रेक गरेको समाचारको फलो अप गर्न पाइँदैन । कहिलेकाहीं सम्पादकले समाचार र लेख नै रोकिदिन्छन् । यस्तोमा चाहिं बडो दुःख लाग्छ । समाचारको अंग नपुगेर, अवयव नपुगेर होइन विभिन्न कारणले । किनभने समाचार प्रकाशित गर्न स्रोतहरुले विभिन्न कागजपत्र, प्रमाण दिएका हुन्छन् । अध्ययन ग-यो, सम्बद्ध पक्षको पनि भनाइ हालेर सन्तुलित बनाउँ भन्दा त्यो पक्षले सम्पादक वा मालिकलाई पहिले नै फोन गरेर रोक्न लगाउँदो रहेछ । अनि यता समाचार नछापिने । उता स्रोतले जसको बारेमा समाचार दिइएको हो, उसैसँग मिलेर समाचार दमपच पारेको आरोप लगाउने अवस्था हुन्छ । यो बेलाजतिको पीडा अरु हुँदैन । किनभने वास्तवमा त्यो अभिव्यक्ति स्वतन्त्रता मरेको हुन्छ एउटा पत्रकारका लागि ।

नेपाली पत्रकारिताका राम्रा–नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
नेपाली पत्रकारिताका राम्रा पक्षको कुरा गर्दा २०५० पछि पढेलेखेका मान्छेको बाहुल्यता बढ्दै आएको छ । जसरी घरमा आमा शिक्षित हुँदा उनका सन्तान स्वतः शिक्षित हुन पुग्छन्, त्यसैगरी पढेलेखेका पत्रकारहरुले पत्रकारिता गर्दा आम जनतामा सूचना सम्प्रेषण हुन पुग्छ । पत्रकारसँग ठूला ठूला तानाशाह डराउँछन् । त्यही भएर बेला बेला मिडिया विधेयक ल्याउने चेष्टा गर्छन् । राजा ज्ञानेन्द्रले सेनालाई सम्पादक बनाएर पठाएका थिए । तर पछि सकेनन् । जनआन्दोलन २०६२÷६३ को सफलताका पछाडि आमसञ्चारको पनि ठूलो योगदान छ । आज जति पनि भ्रष्टाचारका काण्ड बाहिर आएका छन्, ती सबै मिडियाले उजागर गरेका हुन् । प्रधानमन्त्रीले बन्द कोठामा गरेका निर्णय जब सार्वजनिक हुन्छ, तब त्यसले जनधारणा बनाउँछ । सरकार आफू काम गर्न सक्दैन, भ्रष्टाचार गर्छ अनि शासकहरु पत्रकारहरुलाई दोष दिन्छन् । उनीहरुलाई कसरी ठीक पार्ने भन्नेबाहेक दिमागमा अरु हुँदो रहेनछ । एउटा असल पत्रकारले सामाजिक कुरीति, विसंगति र बेथितिबारे उजागर गर्दा त्यसले समाज परिवर्तनलाई ठूलो सघाउ पु-याउँछ । नेपाली पत्रकारिता परिपक्व बन्दै गइरहेको छ । पूर्ण हुन अझै केही समय त लाग्ला ।
नेपाली पत्रकारिताको नराम्रो पक्षको चर्चा गर्दा हाम्रो मुलुकको अर्थतन्त्र सानो छ । उद्योग, व्यवसाय, कलकारखाना अति कम छन् । झन्डै राष्ट्रिय बजेट बराबरको व्यापार घाटा छ । अर्थात् जे पनि आयात गर्नुपर्ने, किनेरै खानुपर्ने स्थिति छ । यहाँ कलकारखा र उद्योगधन्दा फस्टाउन नसकेको व्यापार घाटाले देखाउँछ । यसको सिधा असर पत्रकारितामा पनि पर्छ । किनभने मिडिया पनि व्यवसाय नै हो । अहिले कोभिड १९ का कारण उद्योगधन्दा र व्यापार चौपट हुँदा विज्ञापन घटेका छन्, जसको असर पत्रकारले पाउने तलबमा पनि परेको छ । पत्रकारिता पनि यही समाजको एउटा अंग भएकाले मुलुकको अर्थतन्त्रमा आउने उतारचढावको असर त परिहाल्छ नै । अर्थतन्त्रको आकार बढ्ने, उद्योग यहीं खुल्ने, रोजगारी यहीं मिल्ने अवस्था आएपछि बल्ल विज्ञापन बढ्न थाल्छ ।
अब आचार संहिताविपरीत गएर समाचार पुष्टि नगरी लेख्ने, व्यक्तिगत रीस इबी साँध्नकै लागि समाचारलाई हतियार बनाउने, विज्ञापन नदिए ‘ठोकिदिने’ जस्ता आम प्रवृत्ति पनि छन्, जुन नेपाली पत्रकारिताका नराम्रा पक्ष हुन् । अर्काे सबैभन्दा डरलाग्दो पक्ष भनेको राजनीतिक दलका कार्यकर्ताहरु पत्रकार भएका छन् । कुनै दल विशेष र त्यो दलको पनि निर्दिष्ट एउटा गुटको प्रतिनिधित्व गर्ने पत्रकारले कस्तो समाचार सम्प्रेषण गर्ला ? दलहरुको प्रवृत्ति पनि आफ्नो कार्यकर्ता नभए समाचार नै नदिने । दिए पनि आफ्नो गुटलाई पक्षपोषण हुने गरी मात्र दिने । अनि पत्रकारले नेताको चाकडी गर्ने भोलिको राजनीतिक नियुक्ति खानका लागि । नेताको फेर नसमातीकन यहाँ पत्रकार महासंघको केन्द्रीय सदस्य पनि नहुने परिपाटी छ । जब निर्दिष्ट नेताको चाकडी गरेर पत्रकारिता गर्छ, त्यसपछि उसले ठूलो पद प्राप्त गर्छ । यो नेपाली पत्रकारिताको सबैभन्दा विकृत पक्ष हो ।
पत्रकारहरु पहिले आफूले अध्ययन गर्नुप-यो । नेपाली पत्रकारितामा अध्ययन कम छ । अन्तर्वार्ता लिन बस्दा त्यो पत्रकारले गरेको प्रश्न सोधाइबाट उसको पढाई देखिन्छ । विषयवस्तुको गहिरो अध्ययन गरेको छ कि छैन ? ज्ञान राख्दछ कि छैन भन्ने प्रश्नबाटै झल्किन्छ । नेपाली पत्रकारितामा कसैको अन्तर्वार्ता प्रकाशन गराउनु वा टेलिभिजनमा प्रसारण गराउनुको अर्थ उसलाई खुसी पार्ननिम्ति भन्ने मान्यता र भ्रम छ । कतिपय अवस्थामा कुनै विषयबारे आमजनतालाई जानकारी दिलाउनु पनि पत्रकारको धर्म हो । तर के कस्तो जानकारी आवश्यक र सान्दर्भिक छ भन्ने चाहिं पत्रकारले थाहा पाउनुपर्छ । यो थाहा नपाईकन अन्तर्वार्ता गरेको अर्थ हुँदैन ।
नेपाली पत्रकारितालाई व्यवस्थित तुल्याउन अझै धेरै काम गर्न बाँकी नै छ जस्तो लाग्छ । यो सरकारले पत्रकारलाई कुनै मान्यता नै दिएको छैन । मन्त्रिपरिषद्ले गरेको निर्णय दरबारिया शैलीमा कयौं दिनसम्म गोप्य राखिन्छ । मन्त्रीहरुले आफ्ना कर्मचारीलाई पत्रकारसँग नबोल्न थर्काइरहेका छन् । कोभिड १९ ले थला परेको अर्थतन्त्रका कारण पत्रकारहरुको छाक काटिएको छ । आधा तलब लिएर काम गर्नुपर्ने बाध्यता छ । के पत्रकारको परिवार हुँदैन ? के तिनले छोराछोरी पाल्नु पर्दैन ? जस्ता अहम् सामाजिक प्रश्नको बीचमा हाम्रो पत्रकारिता छ । राज्यले लोक कल्याणकारी विज्ञापनका नाममा करोडौं रुपैयाँ सञ्चार संस्थालाई दिइरहेको छ । त्यही पैसाले पत्रकारको तलब दिए हुँदैन भन्ने सबाल पनि उठ्ने गरेको छ ।

पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
पत्रकारितामा लागेर राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दाप्रति साक्षात्कृत हुने मौका पाएँ । मुलुकको आर्थिक, राजनीतिक, सामाजिक सबै विषयको ज्ञान प्राप्त गर्ने अवसर मिल्यो । अन्तर्राष्ट्रिय घटना, परिवेश र त्यसले नेपाललाई पार्ने असर र प्रभावका बारेमा थाहा पाउने मौका पाएँ । पत्रकारिताबाटै मैले नाम कमाएँ । यसैमा गौरव लाग्छ । नेपालमा जलविद्युत् भन्ने पुस्तक लेखें । म पत्रकार नभएको भए यो किताब लेख्न सकिंदैनथ्यो होला ।
पत्रकारितामा लागेर केही केही त गुमाउनु परिहाल्छ । विभिन्न ठाउँबाट आएका क्यारियरसँग सम्बद्ध अवसरहरुलाई मैले गुमाएको छु । पत्रकारिता नै गर्छु, जागिर खान्न भन्ने मानसिकताले गर्दा । किनभने पत्रकारिता भनेको जागिर होइन । यो सिर्जनात्मक अभिव्यक्तिको एउटा कला हो । अध्ययन गरिरहनुपर्छ । विभिन्न घटनाहरुबारे आफूलाई अद्यावधिक राखिरहनुपर्छ । सधैं नयाँ कुरा लेख्नलाई पढ्नै पर्छ । त्यसैले यो कला हो र लघुसाहित्य पनि ।

यदि तपाई पत्रकारितामा नभएको भए कहाँ हुनुहुन्थ्यो ?
पत्रकारितामा नलागेको भए के बन्थें भनेर त यसै भन्न सकिंदैन । किनभने म व्यवस्थापन र वाणिज्यशास्त्र पढेको विद्यार्थी हुँ । आईकम पास गरेपछि नेपाली सेनाको सेकेण्ड लेफ्टीनेन्टमा एकपटक प्रयास गरेको थिएँ । आई.क्यू. र लिखित पास गरें । तर जीटीओ (जेनरल टेक्निकल अब्सट्याकल्स) मा फेल भएँ । पुनः प्रयास गरिनँ । पत्रकार नभएको म प्राध्यापन गर्थें होला ।

अरु केही ?
पत्रकारिता चुनौतीपूर्ण तर पवित्र पेशा हो । एउटा समाचारले कुनै व्यक्तिको जीवन बच्न सक्छ । एउटा समाचारले शीतलहरको चपेटामा परेका समुदायको तत्काल उद्दार हुन सक्छ । एउटा समाचारले व्यक्तिको घर भाँडिनबाट जोगिन सक्छ । एउटा समाचारले राष्ट्रियतालाई बलियो तुल्याउन मद्दत गर्छ । त्यसैले यो पेशा गम्भीर हो । सिधै जनता, राष्ट्र, राष्ट्रियता, मानव अधिकार र लोकतन्त्रसँग जोडिएको छ । यस्तो पेशामा कटिबद्ध र व्यावसायिक अनि पढेलेखेका व्यक्तिहरु आउनुपर्छ । अहिलेको स्थितिमा यो क्षेत्रमा रुचि घट्दै गइरहेको देखिन्छ विभिन्न कारणवश । पत्रकारिता जति सबल हुन्छ, राष्ट्र र राष्ट्रियता पनि बलियो हुन्छ । यसका लागि राज्यले पनि नीतिगत तवरले सुधार गर्दै जानुपर्छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button