यो रेडियो नेपाल हो, अब ‘नेपालनाम्चा’बाट समाचार सुन्नुहोस्
सन्दर्भः विश्व रेडियो दिवस
अशोक सिलवाल
पहाडमा जन्मेको र हुर्केको काठमाडौंमा । स्कुल बिदा हुँदा गाउँ जान्थेँ । गाउँको प्रश्न हुन्थ्यो, ‘काठमाडौंको हालखबर कस्तो छ ?’ काठमाडौं आउँथे, काठमाडौंको प्रश्न हुन्थ्यो, ‘गाउँतिर कस्तो छ ?’ गाउँबाट आउँदा गाउँको हालखबर बोकेर आउँथे र सहरमा सुनाउँथे । सहरबाट जाँदा सहरको खबर सुनाउँथे गाउँमा । आउँदाजाँदाका अनुभव सुनाउने रोमाञ्चकता अझ रमाइलो हुन्थ्यो । त्यसबाट के भयो भने सुन्ने–सुनाउने र बुझ्ने–बुझाउने जीवनशैली नजानिँदो पाराले मेरो प्रवृत्ति र आदत भइसकेछ ।
यद्यपि त्यतिबेला नियमित समाचार प्रवाहको सशक्त माध्यम रेडियो नै थियो । अर्थात रेडियो नेपाल ।
कुनै पनि कुराबारे धेरैभन्दा धेरै जान्ने उत्सुकता बालसुलभ विशेषता होला । म पनि त्यस्तै थिएँ । ‘बच्चा भएर खोजी र नीति चाहिने ! यो त पत्रकारजस्तै प्रश्न गर्छ ।’ बारम्बार अग्रजहरू मलाई त्यसै भन्थे र कतिपल्ट नराम्ररी झपार्थे पनि । यद्यपि त्यो मेरो नैसर्गिक स्वभाव भइसकेको थियो । त्यतिबेला मलाई के थाहा ? पत्रकारिताको ‘फाइभ डब्लु र वान एच ।’
बिदा हुन्थ्यो, गाउँ गइन्थ्यो । प्रजातन्त्र पुनस्र्थापनापछिका केही समययता पत्रकार पुरुषोत्तम दाहाल चर्किँदै हुन्थे, रेडियो नेपालमा ‘नमस्ते, कार्यक्रम घटना र विचारबाट ।’ हूल बाँधेर प्रत्येक साँझ त्यो कार्यक्रम सुन्नेको लर्को पिँढीदेखि आँगनसम्म हुन्थ्यो । म पनि त्यही लहरमा हुन्थेँ । मलाई पनि त्यस्तै बोल्न मन लाग्थ्यो । प्रेसमार्फत प्रजातन्त्र ।
प्रजातन्त्र पक्षधर प्रायः साप्ताहिक पत्रिका घरमा आउँथ्यो । स्कूल जान अबेर भइसकेको हुन्थ्यो । म भने स्कुल ड्रेस लगाएर पत्रिकाका समाचार हरफहरूमा छिटोछिटो आँखा दौडाइरहेको हुन्थे । धेरैपटक कक्षामा ढिला पुग्दा शिक्षकको पिटाइ खाएको सम्झना ताजै छ ।
कक्षा दशको कुरा । नेपाली विषयका शिक्षकले सम्पादकलाई चिठी लेख्न लगाए र त्यो छापिएमा अनि त्यसको कटिङ्ग देखाएमा परीक्षामा दश नम्बर हालिदिने भए । त्यसपछि स्कूल नजिकैको घरमा ठूलो आवाजमा क्यासेट बज्ने गरेको र त्यसबाट विद्यार्थीलाइं डिस्टर्व हुने गरेको बेहोराको चिठी गोरखापत्र सम्पादकलाई पठाएँ र छापियो पनि ।
एकजना दाइले म सानै छँदा एकपटक क्यासेट चक्कामा आफ्नो अंग्रेजी लवज र उच्चारण रेकर्ड गरे, समाचार पढेको शैलीमा । पत्रिका हेर्दै रेडियो नेपालमा अंग्रेजी समाचार पढेँझै गरे उनले । दिस इज रेडियो नेपाल र न्यूज रेड बाइ……। त्यसबाट पनि समाचारतर्फ मोहित भएजस्तो लाग्छ ।
यो अलि आत्मगत शैली भयो कि ? रेडियो नेपालको बारेमा केही लेख्न बस्दा म त आफ्नै विगत पो सम्झन थालेछु । तर म विगतको त्यही जगबाट नै पत्रकारितातिर तानिएँ । त्यो जगमा रेडियो नेपाल पनि थियो । र, धेरै त रेडियो नेपाल नै थियो । रेडियो नेपाल संचार सम्राट नै थियो, धेरै बर्ष ।
…
केही बर्षअघि प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपाललले आफ्नो स्टुडियोमा अन्नपुर्ण पोष्टका सम्पादक जिवेन्द्र सिम्खडा, नेपाल समाचारपत्रका सम्पादक पुष्करलाल श्रेष्ठ र मलाई वक्ताको रुपमा आमन्त्रण ग-यो, प्रजातन्त्र र प्रेसको सम्बन्धबारे प्रत्यक्ष प्रसारणमा बोल्न । त्यहाँ अरु थुप्रै कुरा भए, तर त्यसमध्ये एउटा कुरा अहिले पनि सम्झन्छु । मैले भनेको थिएँ, प्रजातन्त्र स्थापनार्थ भएको सात सालको क्रान्ति उत्कर्षतिर जाँदै थियो । त्यही क्रान्तिको गर्भबाट रेडियो नेपाल जन्म्यो । त्यो घटनाले प्रेस र प्रजातन्त्रको सम्बन्धबारे बोल्नु वा लेख्नु पर्दा एउटा ऐतिहासिक प्रसंग पनि दियो । त्यो संयोग मात्र होइन, साँच्चै खुशीको कुरा पनि हो, परिवर्तन, स्वतन्त्रता र चेतनाको उज्यालोलाई प्रेम गर्नेहरुका लागि ।
जन्म सन्दर्भलाई मात्र सम्झने हो भने पनि रेडियो नेपाल परिवर्तनको बाहक हो । यद्यपि सरकार नियन्त्रित संचार संस्था हुनुका आफ्नै सीमा र बाध्यता होलान् । तर, रेडियो नेपाल आधुनिक नेपालको संचार मात्र होइन, संस्कृति पनि हो । त्यसका आफ्नै कारण छन् । जस्तो कि ः ‘यो रेडियो नेपाल हो । अब …..बाट समाचार सुन्नुहोस् । पहिले आजका प्रमुख समाचार… ’ यो नुसन्ने सायद को नेपाली होला र ! बिहान रेडियो नेपालको धार्मिक कार्यक्रमबाट सुरु हुने दिन रातीको समाचारबाट निन्दामा बदलिन्थ्यो ।
टुट् टुट् टुउँट… । प्रत्येक नयाँ घण्टाको सुरुवात रेडियो नेपालको यही आवाजबाट हुन्थ्यो । धेरैको हातमा घडी थिएन । रेडियो नेपाल समयको संकेत थियो । दश बज्यो, एघार बज्यो, बाह्र बज्यो, एक बज्यो….. । समय बदलियो । हिजोको स्थिति उस्तै रहेन । तर, विगतमा रेडियो नेपाल नेपालीको घडी पनि थियो ।
…
समाचार बज्नुअघि जुन धुन बज्थ्यो, त्यसले समाचारको कस्तो मजाले संकेत गथ्र्यो । धार्मिक कार्यक्रम आउनुअघि एउटा धुन बज्थ्यो । बाल कार्यक्रमको पनि आफ्नै धुन थियो । र, थुप्रै कार्यक्रमहरु थिए, थुप्रै धुन थिए । कृषि कार्यक्रम र जेटिए बाबु । शनिबारका रेडियो नाटक । चौतारी र पाण्डव सुनुवार । साहित्यिक कार्यक्रम र दाहाल यज्ञनिधी । मधुवन र नवराज लम्साल । बासुदेव मुनाल र बाल कार्यक्रम । सुर्यकुमारी पन्त, प्रवीण गिरी र अरु थुप्रै आवाज । तिनको सम्झना स्वर बनेर अहिले पनि गुजिन्छ, मनमा । संगीतका फर्माइस र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका स्रोताका नामहरु । त्यो पनि देश चिन्ने र चिनाउने एउटा तरिका थियो । रेडियोबाट बज्ने शास्त्रीय संगीत सानो छँदा हामीलाई पट्यारलाग्दो लाग्थ्यो तर त्यसले हामीलाई त्यसप्रति कति मोहित गरेको रहेछ, अहिले थाहा हुँदैछ । त्यसैले शास्त्रीय स्वादका गीत सुन्दा आन्नदको उत्कर्षमा पुगे जस्तो त्यसै लागेको होइन, अहिले ।
अर्को एउटा सम्झना । दरबार हत्याकान्ड, रेडियो नेपाल र शोकधुन । त्यतिबेला रेडियोले कति समाचार भन्यो, त्यति याद आएन । तर शोकधुन स्वयममा एक समाचारजस्तो । हत्याकान्डलाई पनि धुनले देखाएजस्तो । हत्याकान्डपछिको संयमता निर्माणमा त्यो धुनको सकारात्मक योगदान छ ।
…
जनतासँग प्रधानमन्त्रीले रेडियो नेपालको उचाइमा एउटा अर्को ईंट्टा थप्यो । त्यसले प्रधानमन्त्रीलाई जनतासँग जोडेन, जनताको स्वरलाई सीधै प्रधानमन्त्रीसँग पनि जोड्यो । र, जोेड्यो, एउटा भुगोलको जनतालाई अर्को भुगोलको जनतासँग ।
एफएम संस्कृतिलाई पनि रेडियो नेपालले आत्मसात गरेको छ । देशभर झन्डै दुई दर्जन फ्रिक्वेन्सी मोेडुलेसनबाट पनि रेडियो नेपाल प्रसारण भइरहेको छ । रेडियो नेपालका प्रत्यक्ष प्रसारणहरु पनि तुलनात्मक रुपमा स्तरिय लाग्छन् ।
…
रेडियो नेपाल संगीतको पनि विशाल प्लेटफर्म हो, नेपालको सन्दर्भमा । यो संस्थाको नामसँग को जोडिदैंन ? नारायणगोपाल, बच्चु कैलाश, अरुण थापा, अरुणा लामा, प्रकाश श्रेष्ठ, नातिकाजी, शिवशंकर, भक्तराज आचार्य, आदि । यो संस्थाले आयोजना गर्ने राष्टिय गायन प्रतियोगिता संगीतमा नयाँ प्रतिभाको उत्थानमा मात्र होइन, नेपाली संगीत विकासमा पनि कोशेढुँगा नै मान्नु पर्छ । यसका अनेक आयाम छन् ।
…
हिजोको कुरा गर्ने हो भने रेडियो नेपाल नेपाली भाषामा मात्र होइन, आम नेपालीका लागि अंग्रेजी भाषा सुन्ने अवसर प्रदान गर्ने माध्यम पनि बन्यो । धेरैले अंग्रेजी नबुझे पनि अंग्रेजी सुन्ने, अवसर पाए यसैबाट । दिस इज रेडियो नेपाल, द न्युज रेड बाइ….. । त्यसपछि यसले देशका अन्य भाषाहरुमा पनि समाचार भन्न थाल्यो । भाषाको फैलावटमा पनि रेडियो नेपालको आफ्नै महत्व छ ।