‘संघीय’ रेडियो नेपाल

सन्दर्भः विश्व रेडियो दिवस

टीका भण्डारी

राज्य व्यवस्थाको संरचनागत परिवर्तनसंगै राज्यका अन्य संस्थागत संरचनाहरू पनि परिवर्तित हुने गर्दछन् । यसले देशको आमसञ्चार क्षेत्रलाई प्रभाव नपार्ने कुरै भएन । नेपाल संघीय शासकीय संरचनामा रूपान्तरित भइसकेपछि स्वभाविकरूपले रेडियो नेपालका उत्पादन, प्रसारणका बिषयहरू पनि फेरिंदै गएका छन् । प्राथमिकताहरू बदलिएका छन् । कार्यक्रम उत्पादनमा विषयवस्तुको चयन फरक बन्दै जाँदैछ ।

केन्द्र र प्रदेशका प्रसारकहरूबीच समय समयमा आ–आफ्ना अनुभव, उत्पादन शिप र प्रसारण प्रकृयाहरूका बारेमा छलफल अन्तरक्रियाहरू हुन थालेको छ । विज्ञता ‘शेयरिङ्’ गर्ने कार्य बढ्न थालेको छ । समय समयमा एक अर्काका कार्यक्रमहरू समेत आदानप्रदान हुन थालिसकेका छन् । केन्द्रको एउटा प्रसारक ’अफिसियल’ काजमा सामग्री संकलनका निम्ति प्रदेश पुग्दैछ । प्रदेशतिरका खोजखबर ’प्रदेश प्रसंग’ केन्द्रले प्रदेशमै पुगेर तयार गरि केन्द्रबाट प्रसारण गरेको छ । प्रदेशका कुनै दुर बस्तिका उधाहरणीय महिला, बालबालिका, ज्येष्ठ नागरिक या कुनै विधा व्यवसाय बिशेषका नागरिकसंग सम्वाद गरी केन्द्र र प्रदेशका दुवै तिरका विभिन्न कार्यक्रमहरूमा सामग्री प्रसारण हुने क्रम पनि बढ्दै छ । देश भरिका गायन तथा सङ्गीत क्षेत्रका कलाकारहरू भेला गरेर केन्द्रमा सम्पन्न गरिंदै आएको राष्ट्रब्यापी खुला आधुनिक गीत प्रतियोगिता समेतलाई बिकेन्द्रिकृत गरी सातै प्रदेशबाट एक साथ सञ्चालन गरिन थालिएको छ । यी सबै कार्यहरू सङ्घीयता कार्यान्वयनमा रेडियो नेपालका सहयोगी भूमिकाहरू हुन् । जुनभूमिका केन्द्र र प्रदेशकै सहकार्यमा हुँदै आएको छ ।

रेडियो नेपालले आफुलाई सङ्घीय स्वरूपमा बदल्नकै लागि सातै प्रदेशमा प्रादेशिक प्रसारण कार्यालयहरू मार्फत आफ्ना प्रसारण कार्यहरूलाई व्यवस्थित गरेको छ । यी कार्यहरूबाट प्रष्टरूपमा भन्न सकिन्छ,राज्यले अक्तियार गरेको सङ्घीय लोकतन्त्रको शासकीय अभ्यासलाई रेडियो नेपालले पनि आफ्नो प्रसारणको माध्यमबाट स्थापित गर्न खोजेको छ, साथै सङ्घीयताको मर्म, भाव, मौलिकता र जीवन पद्दति अनुकुल आफुलाई रूपान्तरित गर्ने प्रयत्नमा पूर्ण रूपले लागि परेको छ । यसै बमोजिम रेडियो नेपाल कार्यक्रमका बिषयबस्तुको चयनसंगै आफ्ना प्रस्तुतिहरूलाई समेत प्रादेशिक शैली र ढाँचा काँचामा बदल्ने अभियानमा जुटेको छ । तर यतिले मात्र सङ्घीयस्वरूपमा रेडियो नेपालका उत्पादन तथा प्रसारणका दायित्वहरू पुरा हुँदैनन् । यसर्थ, यस सम्बन्धमा मेरा केहि बिचारहरू प्रस्तुत गरेको छु ।

संघियता
सङ्घीयता नबुझी सङ्घीय व्यवस्थामा रेडियो नेपालको प्रसारण भूमिका बुझ्न सकिन्न । यसको मूल जग सङ्घीयता नै हो । हामीलाई थाहा भएकै कुरा हो, राज्यको शासन केन्द्रबाट मात्र संचालन हुँदा देशको सर्बोपरि विकास हुन सक्दैन । यहिकारण गाउँ विकास समिति, नगरपालिका, जिल्ला विकास समिति, अञ्चल, विकास क्षेत्र आदि शासनको बाँडफाँड र देश विकासका लागि नै छुट्याइएका हुन् । जसरी गाविस, जिल्ला, अञ्चल, विकास क्षेत्र भनेर छुट्याइएको छ, त्यही एउटा अलि बृहत प्रक्रियाका रूपमा प्रदेशको विभाजनलाई पनि लिन सकिन्छ । देशको विकासमा यस प्रकारको विभाजन मूलतः विकेन्द्रीकरणको सिद्धान्तमा आधारित हुने गर्दछ । मुलुकलाई विभिन्न प्रदेशमा विभाजन गर्नु भनेको देशको सन्तुलित बिकासको आधारशिला तयार गर्नु हो । यो पनि हामीलाई थाहा भएकै कुरा हो कि सङ्घात्मक शासन प्रणाली भएको मुलुकमा दुई वा दुई भन्दा धेरै राज्यहरू मिलेका हुन्छन् । यस्ता राज्यलाई प्रदेश, राज्य, संघ, प्रान्त आदि नामले चिनिन्छ । भौगोलिकरूपमा विभाजित यस्ता प्रदेश वा राज्यहरूले राष्ट्रको मूल कानुनको दायरामा रहिस्वायत्त ढङ्गले आफ्नो प्रदेशमा आफ्नै ढङ्गले शासन चलाएका हुन्छन । विशेषतः सङ्घात्मकशासन प्रणाली भएका राष्ट्रमा केन्द्रीय सरकार एवं प्रदेश सरकारमा शासनको शक्ति बाँडफाँड गरिएको हुन्छ । विशेष परिस्थिति बाहेक अन्य सामान्य अवस्थामा प्रदेश सरकारका नीति तथा क्रियाकलाप माथि केन्द्रीय सरकारले कुनै हस्तक्षेप वा बाधा अवरोध पुर्याउन पाउँदैन ।

सैद्धान्तिक रूपमा एक राज्यमा दुई वा दुईभन्दा बढी तहका सरकार रहेको शासन प्रणालीलाई सङ्घीय शासन प्रणाली भनिन्छ । एकात्मक प्रणालीमा पनि तहगत सरकार हुनसक्छन् तर एकात्मक प्रणालीमा ती तहगत सरकार केन्द्रीय निकायका वैधानिक संरचना हुन्छन् भने सङ्घीयतामा ती तहको संवैधानिक स्वायत्तता र स्वतन्त्रता हुन्छ । सङ्घीय सरकार एकात्मक सरकारभन्दा बढी सहभागितामूलक र प्रतिनिधिमूलक हुन्छ ।यसले विविधतामा एकतालाई प्रोत्साहन मात्र गर्दैन, सबै भाषा, जाति, धर्म, संस्कृतिको विविधतालाई जीवन्त तुल्याउँदैराष्ट्रलाई मजबुत बनाउँदछ । विद्वानहरू सङ्घीय राज्य व्यवस्थामा कम्तीमा दुईवटा सिद्धान्त पालना भएको हुनुपर्ने बताउँछन् । पहिलो, स्वतन्त्रताको सिद्धान्त, जसअनुसार राज्यहरू स्वतन्त्र हुनुपर्छ । केन्द्रीय सरकार प्रदेश सरकार दुवै आ आफ्नो क्षेत्रमा दुवै सर्वोच्च हुन्छन् । दोस्रो, शक्ति विभाजनको सिद्धान्त, जसमा राज्यका दुई मुख्य शक्तिमध्ये प्रदेश सरकारलाई अभिव्यक्त अधिकार र केन्द्रीय सरकारलाई अभिशिष्ट अधिकार दिइन्छ । केन्द्रीय, प्रदेश सरकार दुबैको सहमतिविना संबिधान संशोधन हुन नसक्नु, दुबै सरकार स्वायत्त हुनु, विधायिका, आर्थिक अधिकार र जिम्मेवारीबारे संविधानमा स्पष्ट व्यवस्था हुनु र दुबै सरकारबीचको सम्बन्ध र सहजीकरणका लागि प्रक्रिया र निकायहरू संविधानमै व्यवस्था गरिनु सङ्घीय शासन प्रणालीका विशेषता मानिन्छन । सङ्घीय शासन प्रणालीको विकाससंयुक्त राज्य अमेरिकामा सन् १७७६ देखि १७८९ बीचबाट सुरु भएको मानिन्छ । यो अवधारणा ग्रिस, संयुक्त नेदरल्यान्डस र ब्रिटिस साम्राज्यबाट आएको देखिन्छ । संसारमा धेरै राज्यहरू आपसी सम्झौताबाट सिङ्गो एउटै राष्ट्र बनेका देखिन्छन् ।

हाम्रै जस्तो प्राकृतिक भूबनोट भएको देश स्विट्जरल्यान्ड, छिमेकी मुलुक भारत, संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, जर्मनी आदि सङ्घीयशासन प्रणाली अपनाउने मुलुकहरू हुन् । त्यहाँको सङ्घीय प्रणालीले जनतालाई केन्द्रीय शोषणबाट मुक्त हुने अवस्थाको प्रत्याभूति गरेको छ भने सार्वजनिक सुशासनका विविध पक्षहरू जस्तै नागरिकको सहभागिता, राजनीतिक स्वतन्त्रता, राजनीतिक स्थायित्व, विधिको शासन, कर्मचारीतन्त्रको दक्षता, भ्रष्टाचार न्युनिकरण, मानव विकास, आय वितरण र वित्तीय तथा आर्थिक व्यवस्थापन आदिको ज्ञारेन्टी समेत गरेको छ । त्यहाँका राष्ट्रिय रेडियोहरूले पनि सङ्घीय अभ्यासलाई आत्मसाथ गरेकै छन् । विश्वमै अनुपम मानिएको सङ्घीय व्यवस्थामा प्रदेश र केन्द्र बिच शासकीय शक्तिको बाँडफाँड भएझैं सङ्घीयता स्थापना भएपछि रेडियो नेपालले आफ्नो उत्पादन तथा प्रसारणलाई के कसरी गर्ने व्यवस्थापन गर्ने, के कसरी सङ्घ प्रदेश दुवै प्रसारण क्षेत्रलाई सर्बोच्च तुल्याउने, कसरी उत्पादन र प्रसारणको क्षेत्रमा निश्चित प्रादेशिक मानकनिर्माण गर्दै प्रभावकारी र लोकप्रिय बनाउने, साथै सङ्घीय ढाँचाकाँचामा रेडियो नेपालका कार्यक्रम तथा समाचारका कार्यक्षेत्र र अधिकारहरू प्रत्यायोजित गर्ने आदि बिषयमा बहस केन्द्रित हुन जरुरी हुन्छ ।

प्रदेश उत्पादनका विषयवस्तु
कार्यक्रम उत्पादन तथा प्रसारणमा प्रदेशका प्राथमिकताका बिषय बस्तु के हुन् ? केन्द्रका प्रसारण प्राथमिकता के हुन् ?बहसका हुन जरुरि देखिन्छ । यो स्पष्ट छ कि हाम्रा सङ्घीय संरचनाका समाचार र कार्यक्रमहरू नै सङ्घीय जीवन पद्दतिका मुहार पुस्तिका हुन् । तिनमा प्रादेशिक जीवन अभिव्यक्त हुनै पर्छ । सङ्घीय भावना झल्कनै पर्दछ । सङ्घीय प्रदेशका कला, संस्कृती, साहित्य, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, यातायात, विकास, निर्माण जस्ता बिषयले समाचारमा स्थान पाउनु पर्दछ ।कार्यक्रममा विपन्न, अल्पसङ्ख्यक, उत्पीडित, बहिस्कृत, सिमान्तकृतहरूका आवाजहरू घनिभूतरूपमा आउनै पर्दछ । विभेद, असमानता, अशिक्षा, आदिमा रुमल्लिएका जनताका विचार भावना, त्यस क्षेत्रका आम विधाहरू, उद्योग, व्यवसाय लगायत प्रादेशिक समाजका अनगिन्ति बिषयहरूलाई प्रादेशिक प्रसारणमा अधिकतम रूपमा समेटिनु पर्दछ, ताकि सबैको भावनाको प्रत्याभूति हाम्रा प्रदेश प्रसारणहरूले दिन सकुन । प्रसारित सामग्रीहरू प्रति सबैले अपनत्व महसुस गर्न सकुन । प्रादेशिक प्रसारण कार्यालयका प्रसारकहरूले आफ्नो प्रदेशलाई जति राम्रो चिन्न र त्यस क्षेत्रको वास्तविकतालाई आफ्ना प्रसारणका बिषयवस्तुमा उजिल्याउन सक्छन, त्यतिनै प्रदेश प्रसारणका समाचार तथा कार्यक्रमहरू त्यस क्षेत्रका स्रोताका लागि प्रभावकारी, लोकप्रिय, र सुरुचिपूर्ण बन्न सक्नेछन । सिमित हतियारले युद्द जितिंदैन भने झैं बिषय बस्तुको सिमितताले प्रदेशका सिमित बर्गलाई मात्र सम्बोधन गर्न सक्छ र आम स्रोताहरूको मन जित्न सकिन्न । कार्यक्रम उत्पादक तथा प्रसारकहरूले प्रदेशको विहंगम पर्यावरणलाई बुझ्न सके र त्यसानुरूप प्रसारण उत्पादन गर्न सके कार्यक्रम तथा समाचारहरू जिवन्त बन्ने छन् प्रादेशिक बिबिधताको सुगन्ध समाबेश हुने छन् ।

केन्द्रः विषयवस्तुर प्राथमिकता
केन्द्रले के कस्ता कार्यक्रम बनाउने, प्रदेशले के कस्ता कार्यक्रम बनाउने भन्ने प्रश्न पनि उत्तिकै महत्वपुर्ण छ । स्वभाविकरूपमा राज्यको केन्द्रिय नीतिसंग केन्द्रिय प्रसारण जोडिनु पर्छ भने प्रदेश सरकारका वा प्रादेशिक जनजीवनका आम चासो र सरोकारका बिषयहरूसँग प्रादेशिक प्रसारण जोडिनु पर्दछ । राज्य र सरकार अलग कुरा हुन् । समय समयमा सरकार परिवर्तन भैइरहन्छ तर राज्यका दिर्घकालिन नीतिहरू रहि रहन्छन । केन्द्रिय प्रसारणले राज्यले अक्तियार गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय नीतिहरूको मर्मलाई आत्मसाथ गरि समाचार तथा कार्यक्रमहरू निर्माण गर्नु पर्छ ।केन्द्रीय कार्यक्रमहरूले मुलत राष्ट्रिय, अन्तराष्ट्रिय दायित्व अनुकुलका कार्यक्रम, राष्ट्रियता, सार्बभौमिकता, क्षेत्रीय अखण्डता, स्वाधिनता, अक्षुन्णताराष्ट्रिय सुरक्षा, सिमा सुरक्षा, आदिको संरक्षण आदि राष्ट्रिय दायित्व अनुकुलका बिषयलाई समाचार, कार्यक्रममा प्राथमिकता दिनु पर्ने हुन्छ । यी बिषयहरू प्रदेशका प्राथमिकताका बिषयहरू होइनन, तर यिनको संरक्षण गर्ने दायित्व भने प्रदेश प्रसारणको पनि हो । यस्तै राष्ट्रिय सन्दर्भमा हुने संसद गतिविधी, बजेट निर्माण तथा सम्बोधन, दैबी प्रकोप, प्राकृतिक विपद, आपतकालीन उद्वार, धार्मिक, सामाजिक, साँस्कृतिक सदभाव, जातीय एकता, प्रदेश बिचको सुमधुर एकता, शिक्षा, स्वास्थ्य, बिकास, निर्माण, जलस्रोत, पर्यटन, उद्योग, कृषि, भुमि व्यवस्था, पुनर्निर्माण, आदि बिषयक्षेत्रसँग सम्बन्धितसामग्रीहरू पनि केन्द्रकै प्राथमिकता भित्र पर्दछन । यद्यपि उल्लिखित यीनै बिषयहरूमा प्रादेशिक प्रसारणको सिमामा रही प्रदेशले पनि कार्यक्रम निर्माण गर्न सक्दछ ।

यस्तै, प्रदेश सरकारले आधिकारिकता प्रदान गरेका राष्ट्र भाषाहरूमा प्रदेशले समाचार र कार्यक्रमहरू प्रसारण गर्ने, प्रदेशका मौलिक गीत संगीत, साहित्य, संस्कृति, सम्पदा, आदिका बारेमा आफुलाई बढी फोकस गर्नु पर्छ । प्रदेशको जनजीवन, साँस्कृतिक पहिचानका महोत्सव, जातिहरूका रहनसहन, चाड पर्व, मेलापात, खेतीपाती, पशुपालन, साना उद्योग, घरेलु शिप, कलात्मक उत्पादन, आदिका बारेमा प्रादेशिक रेडियोले कार्यक्रम निर्माण गर्नु पर्दछ र त्यसका बारेमा समाचार रिपोर्टहरू बनाउनु पर्दछ । प्रदेश सन्दर्भ भित्र प्रदेशको राजनीतिक घटनाक्रम र बिषयबस्तुमा आधरित रहेर बहस संचालन गर्नु पर्दछ । लोक भाषा, लोक संस्कृती, लोक साहित्य, लोक परम्परा, लोक जीवन पद्दति, लगायत स्थानीय तहका बिषयहरूलाई प्रदेश प्रसारणले प्राथमिकता दिनु पर्दछ । भाषाभाषी कार्यक्रम र समाचारहरू क्रमिकरूपमा सम्बन्धित प्रदेशलाई नै जिम्मेवारी दिंदै लैजानु पर्छ । केन्द्रबाटै १८–१९ राष्ट्र भाषामा दैनिक समाचार र कार्यक्रम वा सम्बन्धित प्रदेशहरूबाटै तिनको प्रसारण ? यसबारे नीति ठोस बनाउनुपर्ने हुन्छ । यी सबै भाषाहरूको सम्बन्धित प्रदेशले समाचार र कार्यक्रमको माध्यमबाट भाषागत बिशेषतायुक्त प्रतिनीधित्व समेत गरेकै हुन्छ । यस कार्यलाई प्रदेशमा अझ बिस्तारित गर्नु पर्दछ ।

समन्वयात्मक उत्पादन

समाचार
केन्द्र र प्रदेशले एउटा सिक्काको दुई पाटो झैँ कार्य गर्नु पर्दछ । अहिलेसम्मको अवस्थामा प्रादेशिक प्रसारण केन्द्रहरू केन्द्रको तुलनामा धेरै कमजोर देखिन्छन । सङ्घात्मक राज्यव्यवस्थामा केन्द्र र प्रदेश बीचको सम्बन्धकेन्द्रकाबिशेषाधिकार बाहेक समान हैसियतमा हुन्छ । त्यस भित्रका राज्यका निकाय, सङ्घ संस्थाहरूको संरचना समेत यहि अवधारणा अनुरूप संचालन भएका हुन्छन ।केन्द्रले प्रदेशलाई शासन गर्ने नभई निश्चित स्वायक्तता, स्वतन्त्रता, र अधिकार सहित खुलारूपमा काम गर्ने अवसर प्रदान गर्नु पर्दछ । प्रादेशिक प्रसारणहरूले पनि सबै कुरामा केन्द्रको निर्णय पर्खने, पर्खंदा पर्खंदै आर्थिक बर्ष नै गुज्रने स्थिति आउने परिस्थिति निर्माण गर्न हुँदैन ।जहाँसम्म समाचार तथा कार्यक्रम निर्माण सहकार्यमा सवाल छ, यसमा दुबै प्रसारण केन्द्रको उत्तिकै भूमिका रहन्छ । स्थानीय बिशेषका समाचारका कतिपय विषयवस्तुकेन्द्रिय प्रसारणका लागि जति महत्वपुर्ण हुन्छन, त्यति नै केन्द्रका कतिपय बिषयबस्तुहरू पनि प्रदेशलाई महत्वपुर्ण हुन सक्छन । प्रदेशका बिषयबस्तुहरू केन्द्रले प्रदेश समन्वयको अभावमा पूर्ण रूपमा समेट्न सक्दैन । केन्द्रका कतिपय बिषयबस्तुहरूले प्रदेश आदानप्रदान हुन नसक्दाति विषयवस्तुकेन्द्रमै सिमित हुन पुग्छन । केन्द्रले आफ्नो समाचार निर्माण गर्दा जुन आधारमा विषयबस्तुको सामयिकता, निकटता, महत्व, मानव अभिरुचि, द्वन्द, आकारका आधारमा विषयवस्तुचयन गरेको हुन्छ, प्रदेशका यी आधारहरू फरक परिबेशमा निर्माण हुने गर्दछन । यसर्थ, समाचारका प्रदेश र केन्द्रमा बिषयबस्तुको चयन, त्यसको छनौट नै फरक हुने हुँदा एक अर्काका लागि ति समाचारकाबिषय निकै महत्वपुर्ण हुन्छन ।केन्द्र र प्रदेशमा प्रसारण हुने समाचारका बिषय बस्तुहरू समय समयमा शेयरिङ् गर्ने परिपाटी बसाल्नु पर्दछ ।यसो हुन सके यसले समाचारको मुहारमा थोरै भए पनि परिवर्तन ल्याउँदछ, समाचारको दायरालाई अझ फराकिलो नै तुल्याउँदछ । यस्ता सामाग्रीहरू जस्तै– मानव अभिरुचिका प्रादेशिक बिषयबस्तु, महत्वपुर्ण व्यक्तिका फिचर, स्थानीय द्वन्दको आधिकारिक रिपोर्ट, महत्वपुर्ण सामाजिक राजनीतिक घटना, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकिय महत्वका स्थल बिशेष परिचय संगै समाजमा लुकेका असंख्य बिषय बस्तुमा आधारित हुन सक्दछन । केन्द्रका लागि प्रदेशमा तयार गरिने यस्ता फिचर तथा रिपोर्टहरू कम्तिमा डेढ मिनेटदेखि अढाई मिनेटसम्मका मात्र हुनु पर्दछ । केन्द्रले पनि यसैगरी प्रदेश समाचारका उपयोगी र सान्दर्भिक हुन सक्ने रेडियो फिचर तथा रिपोर्टहरू प्रदेश प्रसारणमा पठाई प्रदेश र केन्द्र बीचको सङ्घात्मक सम्बन्धलाई प्रसारण सामग्री आदानप्रदान मार्फत अर्थपूर्ण तुल्याउन सक्दछ । अर्को कुरा,केन्द्रबाट प्रसारण हुने समाचार प्रदेशले प्रसारण गरेर मात्र हुन्न । प्रदेशका महत्वपुर्ण घटनाहरू समेत प्रदेशको आ–आफ्नै उत्पादनमा समाचारमा प्रस्तुत हुनु पर्दछ । मुलत राजनीतिक विषयका समाचारमा केन्द्र र प्रदेश बीच एकरूपता हुन आवश्यक छ । हाम्रा संङ्घीय प्रदेशहरू अझै पनि जातिय भावनाले ग्रसित छन, यसर्थ त्यसको गन्ध हाम्रा समाचार तथा कार्यक्रममा आउन दिनु हुँदैन । हाम्रा उत्पादन तथा प्रसारण सामग्रीले कहीं कतै पनि जातीय सदभाव कमजोर बनाउने हुनुहुन्न ।

कार्यक्रम
समाचारका बिषयबस्तुहरू केन्द्र र प्रदेश बीच आदान प्रदान गरे झैं प्रदेश र केन्द्र बीच कार्यक्रमका सामग्रीहरू पनि आदान प्रदान हुन सक्दछन । उधाहरणका लागि केन्द्रबाट प्रसारण हुने ज्येष्ठ नागरिक कार्यक्रमका लागि प्रदेशका ज्येष्ठ नागरिकहरूका आवाजहरू लिन सकिन्छ । नारी संसारमा प्रदेशका उधाहरणीयर अभिप्रेरणा जगाउने खालका नारी पात्रहरूको जीवनवृत्त प्रदेशले केन्द्रलाई पठाउन सक्छ । केन्द्रको युवा संसारकालागि प्रदेशका युवा उद्यमी र युवा प्रेरक व्यक्तित्वहरूको प्रेरणादायी सामाग्रीहरू प्रदेशबाटै लिन सकिन्छ । प्रदेशमा बज्ने युवा लक्षित कार्यक्रमहरूका लागि पनि केन्द्रमा आएका कतिपय युवाहरूको अभिप्रेरणादायी बिचार सामाग्रीहरू निकै सान्दर्भिक र रोचक हुन सक्छन । प्रदेश प्रसारणमा पनि अचेल विकास, र सम्वृद्दिका बिषयमा प्रसस्त सामग्री प्रसारण हुन थालेका छन् । केन्द्रमा पनि विकास माथिको बहस, विकास विमर्श जस्ता केहि कार्यक्रमहरू नै प्रसारणमा छन् । यी दुवै क्षेत्रका कार्यक्रमहरूले आफ्ना सामग्रीहरू सहकार्य गरि आदान प्रदान गर्न सक्छन् । हामी केन्द्रमा बसेर दुर सुदुरका कुरा गरिरहेका छौँ, कार्यक्रम दुर सुदुर यसको नामै काफी छ, दुर दराजका सामग्रीहरू यसका प्राथमिकतामा पर्दछन ।स्वभाविकरूपले यस कार्यक्रमले पनि प्रदेशबाट सामाग्रीहरूको अभाव पुरा गर्न सक्दछ । लोक पर्बहरू सम्बन्धित सामग्रीहरू पनि केन्द्र र प्रदेश बीचको समन्वयमा सहजरूपमा उत्पादन हुन सक्छन । शैक्षिक मुद्दाहरूको बहसमा हामी पुरै केन्द्रिकृत छौ । प्रदेशका शैक्षिक समस्या र चुनौतिहरूको बारेमा बहस गर्न सकिरहेका छैनौँ । यस्ता कार्यक्रममा पनि केन्द्र र प्रदेश बिचका प्रसारकहरू बीच समन्वय र सहकार्य हुन सके कार्यक्रमको क्षितिज अझ फराकिलो हुन सक्दछ ।

कार्यक्रमका शिर्ष धून
हाम्रो देशका सात वटै प्रदेशका ७ किसिमका भौगोलिक तथा जातिय बिशेषताहरू छन् । ति बिशेषताहरूलाई हामीले हाम्रा उत्पादन तथा प्रसारणमा पनि सम्मिश्रित तुल्याउँदै लैजानु पर्छ ।सङ्घीयताको नयाँ स्वरूपमा नयाँ किसिमको प्रसारण खाका तयार गर्नु पर्दछ । यसका लागि सर्बप्रथम प्रादेशिक क्षेत्रको भूगोल, त्यस क्षेत्रमा बस्ने बासिन्दा, जातिय, धार्मिक, साँस्कृतिक अवस्था, तिनले गाउने गीत, प्रयोग गर्ने सङ्गीत, त्यस क्षेत्रका मौलिक बाद्ययन्त्र, धुनहरू, आदिलाई सुक्ष्म एबम् साङ्केतिकरूपमा बिम्बित गर्दै, तिनलाई हार्मोनाइज रस्वर सम्मिश्रण गर्दै, कार्यक्रमका प्रादेशिक धून, ब्रिज्ट्युन, प्रोग्राम सिग्ट्युन, न्युज सिग्ट्युन, प्रादेशिक पर्व बिशेषका धुनहरू, आदि निर्माण गरि प्रदेशका समाचार र कार्यक्रमहरूलाईप्रादेशिक मौलिक रङ्ग दिन सकिन्छ । सम्बन्धित प्रदेशको कला, संस्कृती, जाति, धर्म, भूगोल आदिलाई आफ्ना कार्यक्रमका धुनहरू मार्फतबिम्बित गर्न सकिन्छ । हरेक समाचार र कार्यक्रम अघिल्तिर बज्ने धुनको निकै महत्व रहने हुँदा नै रेडियो नेपालले मात्र हैन संसारका धेरैले समाचारर कार्यक्रमहरूको अघिल्तिर सर्लक्कै कार्यक्रम चिनारी बोक्ने, कार्यक्रमको चित्रण गर्ने, स्रोताको मानसपटलमा सम्बन्धित कार्यक्रमको पहिचान तस्बिर उठान गर्ने शीर्ष धुनहरूको प्रयोग गर्दै आएका हुन् । यसर्थ, उल्लिखित कुराहरूमा ध्यान पुर्याई सङ्घीयताकै संरचना अनुकुल भौगोलिक,जातिय एबम् साँस्कृतिक, प्रादेशिक लोक जीवन अनुरूपकाशिर्ष धुनहरू निर्माण गरी समाचार र कार्यक्रमको उठानलाई प्रादेशिक स्वरूपमा प्रदान गर्न सकिन्छ । आधुनिक सङ्गीत मर्मत सम्भार र आवश्यक उपकरण जडान गरी प्रदेश, र केन्द्रलाई उपयोगी हुने श्रब्य सामग्रीको रेकर्डमा जोड दिनुपर्दछ ।

साझा दायित्व

केन्द्र र प्रदेशबीच राज्य शक्तिको बाँडफाँड भएता पनि कतिपय यस्ता बिषयहरू हुन्छन, जो दुबैतिरका प्राथमिकता भित्र पर्दछन । आफ्नो प्रसारणमा पनि कतिपय त्यस्ता बिषयहरूलाई उत्पादन तथा प्रसारणका केन्द्रिय तथा प्रादेशिक उत्पादन तथा प्रसारण समुहहरूले साझा दायित्व भित्र पार्नु पर्दछ । सामाजिक साँस्कृतिक संरक्षण र विकास, नेपालको सार्बभौमिकता र स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय हित, बहुदलिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, मानव अधिकार, बहुलता, समानता, समाबेशी प्रतिनिधित्व, केन्द्र प्रदेश बिचका सन्तुलन, मौलिक हक, जातीय तथा साँस्कृतिक पहिचान आदिको संरक्षण सम्बद्र्धन जस्ता प्रसारणका बिषयहरू केन्द्रिय तथा प्रादेशिक प्रसारणका साझा बिषयहरू हुन् । रेडियो उत्पादन तथा प्रसारणका आम बिषयहरूमा उल्लिखित बिषयहरू सबैभन्दा संबेदनशील पनि छन् । सम्बेदशिल बिषय भनेर यस सम्बन्धी कार्यक्रम नै निर्माण नगर्ने भने होईन, मात्रै यति हो कि यिनको गम्भीरता र सम्बेदनशिलतामा हाम्रा उत्पादक तथा प्रसारकहरूले बिशेष ध्यान पु¥याउनु पर्दछ । महिला, दलित, आदिबासी, जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिम, उत्पीडित, सिमान्तकृत, पिछडिएको क्षेत्र, आदिलाई प्रादेशिक तथा केन्द्रिय प्रसारण दुबैले कार्यक्रम निर्माणका क्रममा प्राथमिकतामा राख्नु पर्दछ ।

यी वर्गहरू दुवै प्रसारणका साझा दायित्व भित्र पर्दछन । ज्येष्ठ नागरिक, बालबालिका, कृषक, श्रमजीवी युवा, अपांगता भएका व्यक्ति, समाजको मुलधार भन्दा बाहिर रहेका आवाज बिहिनहरू पनि रेडियो नेपालका दुवै प्रसारणका प्राथमिकतामा पर्दछन । यसैगरी केन्द्रर प्रदेशका नागरिकहरूको मौलिक हक, अधिकार, नागरिकता स्वतन्त्रता, सेवा, सुबिधा, अवसरलाई आ–आफ्नो क्षेत्रका प्रसारणले आफ्नो प्राथमिक दायित्वमा राख्नु पर्दछ । कृषी, शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन विकास, उद्यम, साना, मझौला, ठुला उद्योग धन्दा आदिका बिषयलाई आफ्ना उत्पादनमा दुबैले प्राथमिकता मै राख्नु पर्दछ । यससँगै दुवै क्षेत्रका उत्पादक तथा प्रसारकहरूले आ–आफ्ना कार्यक्रमको समसामयिक सुधार, गुणस्तरियता अभिबृद्दि, प्रभावकारिता, श्रोता अभिमत, अभिरुचि, प्रतिक्रिया, गुनासा, सुझाव र उनीहरूका साझा सरोकारका बिषयहरूमा समेत निकै ध्यान पु¥याउनु पर्दछ । उल्लिखित बिषयहरूमा निर्माण भएका कार्यक्रमहरू केन्द्र तथा प्रदेश दुवै क्षेत्रमा लोकप्रिय र प्रभावकारी हुनेछन । जुन आजका रेडियो नेपालका उत्पादक तथा प्रसारकहरूको साझा दायित्व नै हो । यस कार्यका प्रबिधी तर्फ समेतसुधार हुन आवश्यक छ, जस्तै– कार्यक्रम तथा समाचारसमाचारमुलक कार्यक्रम उत्पादनका लागि हरेक प्रदेशमा कम्तिमा १६ ट्रयाकको एक–एक वटा उत्पादन स्टुडियो र म्युजिक स्टुडियोको आवश्यकतालाई कार्ययोजनामा पार्नु पर्दछ, जुन सम्बृद्द रेडियो प्रसारणका लागि अनिबार्य छन् । यसो हुन सकेमा मात्र प्रादेशिक कार्यक्रम र समाचार साथै सङ्गीत उत्पादनमा महत्वपुर्ण योगदान पुग्ने छ । साथ उत्पादित गीत सङ्गीत राख्ने आधुनिक प्रणालीको डिजिटल अर्काइभ लाइब्रेरी हुन आवश्यक हुन्छ । अबको विश्वको सम्पत्ति भनेको पेट्रोल मात्र हैन तथ्यांक पनि हो, सङ्गीत अर्थात् श्रब्य सामग्री हुन् भन्ने कुरा दुनियाँमा पुष्टि भइ सकेको छ । यस तर्फ हामीले ध्यान दिनु पर्दछ ।

प्रदेश : प्राथमिकताका कार्यक्रमहरू

१. सोसल रिपोर्ट–प्रदेशका सामाजिक जीवनका अनेकनबाहिर आउन नसकेका सवालहरूमा सोसल रिपोर्ट तयार गर्न सकिन्छ । रिपोर्टमा पीडित पीडक सरकारका आधिकारिक विज्ञ दुवै नछुटुन ।
२. न्युज रिपोर्ट– प्रदेशका जन अभिरुचिका सान्दर्भिक बिषयहरूमा समाचारका लागि न्युज रिपोर्ट तयार गरी केन्द्रमा समेत पठाउन सकिन्छ,यसलाईप्रदेशमा पनि प्रयोग गर्न सकिन्छ ।
३. स्थान बिशेष परिचय– यस कार्यक्रममा १५ मिनेटको अन्तरालमा त्यस कुनै एक सांस्कृतिक,धार्मिक वा अन्य कुनै महत्वपुर्ण स्थानको परिचय प्रस्तुत गर्न सकिन्छ ।
४. अन्तर्वार्ता– प्रदेशका अन्तर्वार्ताहरू कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, संस्कृति पर्यटन, लगायत मानिसका प्रेरणादायी बिषयमा केन्द्रित हुनु पर्छ नकि राजनीति या मनोरञ्जनमात्र
५. समाचार मुलक कार्यक्रम– केन्द्रिय समाचारले प्रदेशको कुनै घटना आदिका बिषयमा समाचार दिन्छ भने त्यसको समाचारमुलक कार्यक्रम निर्माण गर्ने दायित्व सम्बन्धित प्रदेश प्रसारणको हो ।
६. कल्चर म्यागेजिन,हेल्थ म्यागेजिन, बिज्ञान म्यागेजिन – प्रदेशका साँस्कृतिक बिषयहरूलाई कल्चरल म्यागेजिनमा,स्वास्थ्य सम्बन्धी बिषयहरूलाई हेल्थ म्यागेजिनमा र स्पोर्ट्स सम्बन्धी बिषयबस्तुलाई स्पोर्ट्स म्यागेजिनमा प्रदेश प्रसारणले समेट्नु पर्दछ ।
७. प्रदेश गतिबिधि– प्रदेशमासामाजिक, साँस्कृतिक, धार्मिक, पर्व,महोत्सव लगायत मान्यताप्राप्त राजनीतिक दलका गतिविधिहरू प्रदेश गतिबिधिमा समेट्न सकिन्छ ।
८. टेलिफोन वार्ता– प्रदेश प्रसारणहरूले टेलिफोन वार्तालाई मनोरंजनमा मात्र सिमित राख्नु हुन्न सामाजिक बिषयबस्तुमा केन्द्रित गर्नु पर्दछ ।
९. हाश्यप्रधान कार्यक्रम– हाश्यरशमा आधारित कार्यक्रमप्रति स्रोताहरूको अभिरुचि रहने हुँदा मनोरंजनात्मक कार्यक्रममा हाश्य विधालाई पनि समेट्न सकिन्छ ।
१०. जनआवाज (भक्स पप)– समसामयिक बिषयमा आधारित कार्यक्रममा भक्स पपको सिद्दान्तलाई फलो अप गर्दै भक्स पप निर्माण गर्नु पर्दछ ।
११. हिस्टोरिकल फ्याक्ट्स– प्रदेशको विभिन्न इतिहास उजागर गर्नु प्रदेश प्रसारणको दायित्व हो, यसर्थ यस सम्बन्धित तथ्यहरू हिस्टोरिकल फ्याक्ट्सले उजागर गर्नु पर्दछ ।
१२. न्युज फिचर– केन्द्रलाई उपयोगी र सान्दर्भिक हुने २–३ मिनेटका लघु न्युज फिचरहरू प्रदेशले निर्माण गर्नु पर्दछ ।
१३. सुचनामुलक, शिक्षामुलक र मनोरन्जनात्मक र अन्य विविधखाले कार्यक्रमहरू प्रदेशले निर्माण गर्न सक्दछ ।
१४. जीवनवृत्त– यस स्वरूपको कार्यक्रममा सम्बन्धित प्रदेशका उधाहरणीय काम गरेका प्रदेशका सफल मानिसहरूको जीवनवृत्त प्रस्तुत गर्न सकिन्छ ।

केन्द्र : प्राथमिकताका कार्यक्रमहरू

१. समसामयिक सम्बाद– पक्ष, विपक्ष र सरकार गरि तिन पक्ष सम्मिलित बिषयप्रधान वा घटनाप्रधान सम्बादको थालनी केन्द्रिय प्रसारणबाट शुरु गर्नु पर्दछ ।
२. जनसहभागितामुलक बहस– हाललाई पाक्षिकरूपमा नै भएपनि समसामयिक विषयबस्तुमा आधारित जनसहभागिता मूलक कार्यक्रमको थालनी गर्नु पर्दछ ।
३. स्थलगत रेडियो रिपोर्ट– केन्द्रबाट प्रसारण गरिने प्रदेश समाचारको समयमा कुनै एक प्रदेशको स्थलगत रिपोर्ट प्रदेशकै सहकार्यमा प्रसारण गर्नु पर्दछ ।
४. भक्स पप– राजधानी केन्द्रित भक्स पप नभई प्रदेश केन्द्रित भक्स पपलाई बढी जोड दिनु पर्छ, यद्यपि समाचारको स्टोरी हेरि भक्स पप निर्धारण हुने कुरा हो ।
५. प्रदेश समाचार – केन्द्रीय प्रसारणबाट प्रदेशको समन्वयमा बिहान बेलुका कुनै एक समयमा १० मिनेटको प्रदेश समाचार प्रसारण गर्दा केन्द्र र प्रदेश बिचको समन्वय ,सुमधुर बन्दछ ।
६. प्रदेश गतिबिधि, प्रदेश प्रदेशमा– प्रदेश समाचारमा प्रसारित समसामयिक बिषयबस्तुमा आधारित प्रदेश गतिबिधि छुट्टै कार्यक्रम प्रसारण गर्दा प्रदेशलाई केन्द्रमा स्थापित गर्न सकिन्छ ।
७. सामाजिक बहस– समाजमा सामाजिक सरोकारका असंख्य बिषयहरू हुन्छन, ति बिषयहरूलाई सामाजिक बहसका रूपमा संचालन गर्दा बढी उपयोगी हुन्छ ।
८. राजनीतिक बहस– राष्ट्रिय राजनीतिका महत्वपुर्ण सवालहरूलाई केन्द्रित गरेर राजनीतिक बहस संचालन गर्न सकिन्छ ।
९. रेडियो फिचर– समाचार या अन्य कार्यक्रममा प्रसारण भएको वा नभएको कुनै एक महत्वपुर्ण बिषयलाई लक्षित गरेर रेडियो फिचर निर्माण गर्न सकिन्छ ।
११. रेडियो नाटक– रेडियो नेपालमा नाटक उत्पादन हुन छोडेको धेरै भयो । अब ढिला नगरि नियमितरूपमा नाटक उत्पादन गर्नु पर्दछ ।
१२. डक्यु ड्रामा– आम जनतालाई शिक्षा, स्वास्थ्य, रोजगार, आपतकालीन अवस्था, आदिका बारेमा ५ मिनेट सम्मका ‘इडुटेन्मेन्ट डक्यु ड्रामा’ निर्माण गर्नु पर्दछ ।
१३. रेडियो म्यागेजिन– जुन रूपमा रेडियो म्यागेजिन उत्पादन हुनु पर्ने हो त्यो रूपमा उत्पादन भएको देखिन्न अब त्यसतर्फ पनि ध्यान पु-याउनु पर्दछ ।
१४. इडुटेन्मेन्ट– (शिक्षामुलक) शिक्षाका शिक्षाका अनेकन निरस बिषयहरूलाई मनोरन्जनात्मक बिषयहरूमा सम्मिश्रण गरेर ‘इडुटेन्मेन्ट’ कार्यक्रम प्रस्तुत गर्न सकिन्छ ।
१५. इन्फोटेन्मेन्ट– (सुचनामुलक) सूचना र मनोरंजनका बिषयहरू प्याकेजिङ् गरिएको कार्यक्रम इन्फोटेन्मेन्ट हो, जसको उत्पादन बढाउनु पर्दछ ।
१६. रेडियो डाक्डर– (स्वास्थ्य शिक्षा सम्बन्धी फोन इन) रेडियोमा आमन्त्रित डाक्डरहरूको परामर्शमा डाक्डर फोन इन मार्फत गाउँ घरमा देखिने सानातिना रोगहरूको न्युनिकरण वा निदानगर्न सकिन्छ ।
१७. राउण्ड टेबल डिस्कशन–घटना वा समस्याको समाधान पहिल्याउन पिडित, पीडक, सरकार पक्ष र स्वतन्त्र बिज्ञ सहितको ’राउण्ड टेबल डिष्कशन’ साप्ताहिकरूपमा संचालन गर्न सकिन्छ ।

उल्लिखित कार्यक्रमहरू कार्यक्रम महाशाखाले गरे भैहाल्यो नि किन सुझाव मात्र दिइरहने भन्ने जिज्ञासा पनि उठ्न सक्छ । महाशाखाको हालको सिमित जनशक्तिबाट यी सबै कार्यक्रमहरू सम्भव छैनन । केहि क्षमतावान, कुशल र उच्च दक्ष नयाँ प्रसारकहरूको आवश्यकता पर्दछ । केहि राम्रा कार्यक्रमहरूका लागि लगानी समेत बढाउनु पर्दछ । आम स्रोताका रेडियो सेटमा गुञ्जने, स्रोताको कानमा पुग्ने कुरामा लगानी गर्न हामीले कन्जुस्याँइ गर्नै हुन्न । बदली सकेको जमानाका नयाँ पुस्ताका तन्नेरीहरूलाई हाम्रा पुराना कार्यक्रमले आकर्षित गर्न सक्दैनन् । यसर्थ त्यो बर्गलाई पनि समेट्नु पर्दछ।

अन्तर प्रदेशसमन्वय ब्युरो

अन्तर प्रदेश समन्वय ब्युरो एउटा नयाँ अवधारणा हो । हाल केन्द्रमा यसको आवश्यकता देखिन्छ । जसरि सरकारले प्रधान मन्त्री तथा मन्त्रीपरिषद मातहतमा एक सचिबालय स्थापना गरि सात वटै प्रदेशसंग समन्वय कार्य प्रारम्भ गरेको छ, त्यसै गरि रेडियो नेपालले पनि केन्द्रको मातहतमा रहेका सातै प्रदेशका प्रादेशिक प्रसारण कार्यालयहरू मार्फत उत्पादन हुने कार्यक्रम तथा समाचारलाई समन्वयात्मकढङ्गले संचालन गर्न अन्तर प्रदेश उत्पादन तथा प्रसारण समन्वय ब्युरो स्थापना गर्ने कार्ययोजना पास गर्नु पर्दछ । यस ब्युरोले नियमितरूपमा प्रदेशहरूसंग मिलेर कार्यक्रम उत्पादन र प्रसारणका बिषयबस्तुको आदानप्रदान, प्रदेश तहका बिषयबस्तुमाथि छलफल, छनौट, र त्यस मुताबिक कार्यक्रम र समाचारका लागि न्युज स्टोरी, रिपोर्ट, फिचर, लगायतका सामाग्रीहरू केन्द्र तथा प्रदेशको आवश्यक्तानुकुल उत्पादन गर्नसक्दछ । ब्युरो केन्द्र प्रदेशको साझा समझदारी र समन्वयबाट संचालन गर्नु पर्ने हुन्छ । प्रदेशमा पनि अन्तर प्रदेश ब्युरो सहयोगी इकाई निर्माण गर्नु पर्दछ । यसबाट प्रदेश प्रसारण र केन्द्रिय प्रसारण बिचका उत्पादन र प्रसारण अधिकारहरू सुनिश्चित हुने छन् । प्रदेशको भूमिका केन्द्र र प्रदेशमा स्थापित हुने छ । समाबेशी समानुपातिक प्रसारण उत्पादनको जग बलियो हुने छ । स्रोताले प्रदेशका लागि उपयोगी र सान्दर्भिक हुने प्रसारण सामाग्रीहरू केन्द्रबाट र केन्द्रले आफुलाई उपयोगी र सान्दर्भिक हुने प्रदेशका सामाग्रीहरू प्राप्त गर्न सक्ने छन । यसले उत्पादन तथा प्रसारण क्षेत्रमा समाबेशी र समानुपातिक उत्पादन तथा प्रसारण प्रणालीको मान्यतालाई स्थापित गर्ने छ ।संङ्घीयताको मर्मलाई प्रसारण क्षेत्रमा स्थापित गर्ने छ, केन्द्र र प्रदेश बिच सहजीकरण हुने छ । केन्द्रले प्रदेशलाई अक्तियारी प्रदान गरेका कार्यक्रम तत् सम्बन्धी कार्ययोजनाहरूलाई सफल बनाउन पनि भूमिका खेल्ने छ। यसका लागि केन्द्र र प्रदेश रेडियो बीच स्पष्ट कार्य बिभाजन हुनु पर्ने हुन्छ । त्यहि कार्य बिभाजनको सिमा जिम्मेवारी अनुरूप कार्यक्रम तथा समाचार निर्माण कार्य अगाडी बढाउन सके संघियताको मर्मलाई हामीले आत्मसाथ गरेको ठहर्दछरेडियो नेपाल सार्बजनिक प्रसारण संस्था (पिएसबी) का रूपमा रूपान्तरित हुने चरणमा रहेको परिप्रेक्षमा समेत यसले भूमिका खेल्न सक्ने छ । साथै ’सम्बृद्द राष्ट्र सुखी नेपाली’ राष्ट्रले अघि बढाएको मूल अभियानलाई सार्थक तुल्याउन समेत रेडियो नेपालले सार्थक भूमिका खेल्न सक्ने छ ।

नीतिगत अवस्था

रेडियो नेपाल प्रसारण निर्देशिका र कार्यक्रम तथा समाचार मापदण्ड २०७५ ले रेडियो नेपालको उत्पादन तथा प्रसारण व्यवस्थालाई निर्देशित गरेको छ । यस निर्देशिका भित्र समेटिएका आधारभूत मापदण्डले हाम्रा प्रसारणहरूलाई निर्दिष्टरूपमा मानव अधिकार, व्यक्तिको आत्मसम्मान, धर्म, जाति, भाषा, लिङ्ग, क्षेत्र आदि प्रति समान आदरभाव राख्न, राष्ट्रिय अन्तराष्ट्रिय सदभाव कायम गर्न, राजनीतिक बिषयबस्तुमा निष्पक्षता,अन्तर्वार्ता आदिमा निष्पक्षता र बहुआयामिक प्रतिनिधित्व, प्राज्ञिक अन्वेषण र खोज, लक्षित वर्ग सुहाउँदिला बिषयबस्तुको चयन, स्थानिय तथा प्रादेशिक बिषयबस्तुमा प्राथमिकता, जस्ता विषयबस्तुको उत्पादन तथा प्रसारणमा जोड दिइएको देखिन्छ । साहित्य कला संस्कृती सम्पदा र इतिहासको संरक्षण र तिनका बिशेषताको उजागर गर्ने, बालबालिका, महिला तथा ज्येष्ठ नागरिकहरूको सम्मान बढाउने बिषय सामग्रीको खोजमुलक प्रस्तुतिमा पनि उत्तिकै जोड दिइएको छ ।

समाचार तथा समाचारमुलक कार्यक्रमहरू बस्तुपरक, सत्य तथ्यमा आधारित हुनुपर्ने कुरालाई निर्देशित गरिएको छ । यस्तै उत्पादन तथा प्रसारण निर्देशिकाले कृषी, स्वास्थ्य, वातावरण, विज्ञान प्रविधी र पर्यटनलाई समाचार तथा कार्यक्रम उत्पादनमा प्राथमिकता दिन पनि जोड दिएको देखिन्छ ।मनोरन्जनात्मक खालका कार्यक्रम गर्दा मनोरञ्जन मात्र नभई देशको कला संस्कृतिको सम्र्बद्धन हुने गरि सामग्री उत्पादन तथा प्रसारण गर्नभनिएको छ । रेडियो नेपालका प्रसारकहरूले आम नागरिकले बुझ्ने गरि सरल, शुद्ध, र शिष्ट शब्द तथा वाक्यको प्रयोगमा सजगता अपनाउनु पर्ने, समाबेशितामा ध्यान पु¥याउनु पर्ने, अनुसन्धानात्मक र खोजमुलक सामग्रीमा पनि ध्यान पु¥याउनु पर्ने कुरा पनि निर्देशिकामा बेष्ठित गरिएको छ । रेडियो नेपालका उत्पादक तथा प्रसारकहरूले उल्लिखित मापदण्डमा ध्यान पुर्याउन सके मात्र सम्बृद्द, शान्त र लोकतान्त्रिक नेपालको निर्माण हुने र प्रसारण संस्थाको नीति अनुरूप तटस्थ र निष्पक्ष रही सत्य तथ्य र विश्वसनीय सामग्री प्रसारण गर्दै लोकतान्त्रिक समाज निर्माणमा योगदान पुग्ने खुलस्त पारिएको छ ।

यिनै आधारभूतप्रसारण मापदण्डभित्र अनेकन बिषयहरू खोज्दै, सुन्दर सम्बृद्ध, एबम् सुसंस्कृत प्रसारण मानक निर्माण गर्न चाहे केन्द्र चाहे प्रदेश दुवै तिरका उत्पादक तथा प्रसारकहरूले सुक्ष्मरूपमा ध्यान पु¥याउनुपर्ने देखिन्छ । तब मात्र रेडियो नेपालले लिएको सर्वोत्तम लक्ष प्राप्त गर्दै सम्बृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा रेडियो नेपाल उत्पादन तथा प्रसारण क्षेत्रको भूमिकामा सफल रहने छ, हामी सबै उत्पादक तथा प्रसारकहरू पनि सफल रहने छौँ ।

(भण्डारी त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र संकायमा नेपालमा राजनीति र संगीतबीचको सम्बन्ध विषयक पीएचडी स्कलर हुन् । रेडियो नेपालका बोर्ड सदस्य उनी त्यहाँ कार्यक्रम महाशाखा प्रमुख पनि हुन् ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button