
‘तैंले रेडियोमा बोलेर खालास् भनेर सोचेका पनि थिएनौं’
सन्दर्भः विश्व रेडियो दिवस
आवाज र उनको सम्बन्ध पनि बडो अचम्मको छ । सानोमा उनलाई देख्नेहरु अहिले रेडियोमा बोलेको सुनेर अचम्ममा पर्छन् । कुनै कार्यक्रममा भेट्दा अग्रजहरुहरुले भन्ने पनि गर्छन् रे, ‘तैंले रेडियोमा बोलेर खालास् भनेर सोचेका पनि थिएनौं ।’
उनी आफैलाई पनि रेडियोमा काम गर्छु भन्ने कहिल्यै लागेन । भन्छन्, ‘किनभने बाल्यकालमा म राम्ररी बोल्न सक्दिनथें । परिवारका सदस्यहरु अनुसार अरुले भन्दा केही ढिलो मैले बोलेको रे । ६–७ महिनासम्म पनि नबोलेपछि सातो बोलाउन डोकोले छोपेर बार्दलीबाट पानी खत्याउँदा पनि मेरो वाक्य फुटेनछ । भाकल साकल गरिए ।’
१ वर्षको हूँदा बल्ल उनको वाक्य फुट्यो ।
बोल्नसक्ने त भए तर बीचबीचमा अड्किएर बोल्न थाले । भकभकाउने समस्या उनमा देखा पर्यो । अचेल पनि कहिलेकाहीं केही शब्दहरु उच्चारण गर्दा अड्किने गर्छन् । तर, पहिलेजस्तो वाक्य पिच्छे नै अड्किने समस्या छैन ।
‘म कक्षामा कहिल्यै प्रश्न सोध्थिन’, उनले स्कलु सम्झे, ‘बोल्दा अड्कियो भने साथीहरुले मात्र हैन शिक्षक र शिक्षिकाले पनि उडाउँथे । नबोल्नु नै हितकर हुन्थ्यो मेरा लागि ।’
२०५५ सालतिर जतिबेला एफएम रेडियोको क्रेज उत्कर्षमा थियो, त्यतिबेला उनमा पनि रेडियोमा बोल्ने रहर पलायो । काठमाडौंका जमलमा तीर्थ भण्डारीले जमलेश्वर इस्टिच्युटमा रेडियो उद्घोषणसम्बन्धी २ महिने तालिम दिन्थे । पत्रिकामा विज्ञापन हेरेर त्यहाँ पुगे । शुल्क ५ हजार हाराहारी । त्यतिबेला उनी बोर्डिङ स्कूल पढाउँथे । तलब २ हजार ५ सय ।
आफ्नो कमाईले नपुग्ने भएपछि बुवालाई गुहारे । बुवाले प्रस्ताव ठाडै अस्विकार गरर्दै भने रे, ‘यस्तो भक्भकाउनेले पनि रेडियोमा बोल्छ ?’ उनीसँग चुप लाग्नुबाहेक विकल्प थिएन । रेडियो तालिम लिने रहरमा बुवाले चिसोपानी खन्याइदिएपछि बाठा उनले आमा फकाए ।
‘आमाहरु साह्रै दयालु हुन्छन् । सन्तानको रोदनमा चाँडै पग्लन्छन्, बुवाको तुलनामा । मेरो काइदाले काम गर्यो । आमाले पैसा दिएपछि तालिम पनि लिएँ’, उनले भने ।
त्यतिबेला रेडियो हस्तीहरु हरिशरण लामिछाने, प्रभात रिमाल, दिनेश डीसी, शरदराज गौतम, दुर्गानाथ शर्मालगायतबाट तालिम लिए । तीर्थ भण्डारी त छँदै थिए ।
‘रेडियोमा बोल्ने तालिम सकाए पनि भक्भकाउने मेरो बानीमा कुनै सुधार भएन । तालिम लिंदा खर्रर बोल्नसक्छु जस्तो लाग्थ्यो’, उनले सम्झे, ‘तर, अगाडि आएर बोल्नसक्ने भइनँ ।’
२०५८ सालमा कान्तिपुर एफएमले आरजे र आरए (आरए भनेको रिसर्च एसिस्टेन्ट रहेछ भन्ने कुरो रेडियोमा काम थालेको अर्को हप्तामात्रै बुझे) का लागि दर्खास्त माग्यो । विभिन्न चरणको लिखित र मौखिक परीक्षापछि रेडियोको जागिरे भए । आरएमा जागिर खाएकाले बोल्ने अवसर रेडियोमा पनि मिलेन ।
‘रेडियो एङ्करलाई आरए भन्छ भन्ने मैले पढेको थिएँ । तालिममा पनि त्यही सिकाइयो । तर, काम रिसर्च एसिस्टेन्टको पर्यो । कार्यक्रम सञ्चालकहरुका लागि सामग्री तयार पारिदिने र श्रोता सर्वेक्षणसहितका अन्य अनुसन्धानमुलक काम गर्ने जिम्मेवारी थियो हाम्रो टीमको’, उनले ती दिनका कुरा भने ।
त्यतिबेला उनी त्रिचन्द्र कलेजमा स्नातक गर्दै थिए । कलेजमा रेडियोमा काम गर्ने भनेर चिन्थे तर उनले रेडियोमा बोल्न पाएका थिएनन् । साथीहरुले उडाउन थालिसकेका थिए ।
‘मायोज तारेमाम’ हेम सुवेदीले चलाउँथे । स्टेशन म्यानेजर शरदराज गौतम उनलाई हेमको कार्यक्रममा रेडियो रिपोर्ट र अन्तर्वार्ताहरु गर्नका लागि खटाइदिए ।
रेडियोमा आउनुअघि खोजपत्रकारिता केन्द्रमा मोहन मैनाली र बसन्त थापासँग काम गर्ने मेसो बुवा आनन्दराम आचार्यले जुराइदिएका थिए । भने, ‘त्यही अनुभवका आधारमा रेडियोमा आवाज सुनाउनसम्म भने पनि पाएँ ।’
कान्तिपुर एफएममा काम गरेको तेस्रो महिना बितेपछि एकदिन मैले सिफ्ट ईन्चार्ज दिनेश डीसीसँग गुनासो पोखे, ‘दाइ मलाई पनि रेडियोमा बोल्न मन लागेको छ । कुनै कार्यक्रम चलाउन पाए हुन्थ्यो ।’ डिसीले अगाडि टेबलमा रहेको पत्रिका पढ्न भने रे ।
केही लाइनहरु वाचन गरे । बेलाबेलामा अड्किएको देखेर उनले मलाई सुझाव दिए, ‘यसरी अड्किएर बोलेर हुन्न । घरमा नियमित रुपमा पत्रिका ठूलो स्वरमा वाचन गर्नुस् । शिरदेखि पाउसम्म देखिने ऐना अगाडि उभिएर बोल्ने प्रयास गर्नुस् । शुरुमा आफूले जानेको विषय र पछि टिपोटहरु हेर्दै बोल्न थाल्नुस् ।’
त्यति गरेर १५ दिनपछि भेट्न भने । ती १५ दिन उनका लागि १५ हजार वर्षजस्ता लामा भए । १६ औं दिन उनी डिसीको अगाडि उभिए । डिसीले ट्राफिक अपडेटको फ्याक्स प्रिन्ट उनलाई थमाइदिए र टेक्निसियन श्याम श्रेष्ठलाई बोलाएर अन एयर हुनेबारे जानकारी दिन भने । श्यामले उनलाई माइक अन र अफ कसरी गर्ने र हेडफोनमा कुन म्युजिक बजेपछि बोल्ने भनेर सिकाए ।
हेडफोन लगाएर माइक अन गर्दा उनका हात खुट्टा सबै चिसा भइसकेका थिए र मुटुमा एकैपटक सयौं किलाहरु रोपिएजस्तो भान । त्यो ५ मिनेट समय कसरी सकियो उनलाई यत्तिका बर्षपछि पनि थाहा छैन । प्रत्यक्ष रुपमा रेडियोमा बोलेको त्यही उनको पहिलो अनुभव थियो । कार्यक्रम सकेपछि डिसीले थप सुझावहरु दिए ।
त्यहाँ मो.सा. लेखिएको थियो जसलाई मोटरसाइकल भन्नुपर्दो रहेछ । इ.प्र.का.लाई इलाका प्रहरी कार्यालय र ट्रा.प्र.लाई ट्राफिक प्रहरी ।
त्यस्ता कुराहरु सिकाएपछि उनले नियमित रुपमा ट्राफिक अपडेट चलाउन पाए ।
अर्को साता साँझका इन्चार्ज प्रभात रिमालले उनलाई फ्लाइट चेक पढ्न दिए, जहाँ काठमाडौं अवतरण हुने र यहाँबाट उड्ने अन्तर्राष्ट्रिय उडानका बारेमा जानकारी दिइन्थ्यो ।
रेडियोमा बोल्न थालेपछि उनमा समाचार वाचन गर्ने रहर पलायो । रेडियो आउनुअघि नै उनले प्रेस इन्स्टिच्युटबाट पत्रकारिताको आधारभूत तालिम लिइसकेका थिए । राजाको प्रत्यक्ष शासन शुरु हुनु केही समयअघि उनी समाचार कक्ष सरुवा भए । जबकि त्यसअघि पनि उनले माओवादी सशस्त्र द्वन्द्वबारे केही रिपोर्ट र नेपाली काँग्रेस पार्टी विभाजनको बारेमा रिपोर्टहरु बनाइसकेका थिए । मनोज आचार्यले खेलकुदको समाचार लेख्न सिकाएकाले टेनिस र क्रिकेटको समाचार तीन बजे भन्ने समाचार बुलेटिनका लागि उनी आफै बनाउँथे ।
तर, समाचार शाखामा सरुवा भएको केही समयपछि रेडियोमा समाचार बज्न छाड्यो । रेडियोका सम्पादकमा आर्मीका अफिसरहरु आएका थिए । समाचार बन्द भएपछि साथीहरु कोही कान्तिपुर दैनिक त केही कान्तिपुर टेलिभिजनमा लागे । त्यसताकाका सम्पादक प्रवीण अधिकारी र उनी कान्तिपुर एफएममै रहे र अन्य समाचारमुलक कार्यक्रमहरु उत्पादन गर्न लागे । पछि रेडियोले समाचार बजाउन पाउने भएपछि नियमित बुलेटिनहरु शुरु गरे । त्यसरी नियमित रुपमा समाचार प्रसारण गर्न थालेको अर्को वर्ष सन् २००७ मा म रेडियोको समाचार शाखाबाट उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत समेत भए ।
त्यतिबेला पनि उनी केही शब्द उच्चारण गर्दा अड्किन्थे । अझै पनि कहिलेकाहीं केही शब्दमा उनलाई अप्ठेरो हुन्छ । तर, रेडियोमा उनले आर्जन गरेको ज्ञान भनेको के हो रे भने, ‘जब अरुले तपाईलाई तैंले यो गर्न सक्दैनस् भनेर भन्छ । तपाईंले त्यो काम जसरी पनि गर्नैपर्छ ।’
अन्त्यमा कान्तिपुर एफएमका समाचार प्रमुख पवन आचार्य भन्छन्, ‘रेडियोले सबैलाई मौका दिन्छ । कोही मौकामा हिरा फोर्छन् । कसैले मौका गुमाउँछन् । फरक त्यति मात्र हो ।’




तथ्यपरक । उत्साह जगाउने र परिश्रममाथि विश्वास सहितको अनुभवको चित्रण। शुभकामना ।