पत्रकारलाई प्रश्नः खाने भातै हो, जाने घाटै हो
उनका कलमका अम्मली धेरै छन् । लेख्छन् नै त्यस्तै ।
भोजपुरबाट उज्यालो खोज्दै काठमाडौ आए । कामका लागि बिन्ती बिसाएका मानिसको सोर्स कुनै प्रकाशन गृहमा लाग्ने रहेछ । भेट्न पठाइएका ठूला मानिस सम्पादक रहेछन् । त्यही संयोगले पत्रकारितामा लागे । ‘शुरुमा पनि दालभात डुकूको समस्या निदान गर्न पत्रकारितामा प्रवेश गरेको हो’, उनले ती दिन सम्झे र भने, ‘अहिले पनि त्यही क्रमले निरन्तरता पाएको छ ।’
‘सूर्यजस्तै प्रत्येक दिन नयाँ भएर देखिन मन लाग्छ’, पत्रकार नै हुन् तर दार्शनिक झैं तर सामान्य शव्दावलीमा गहिरा कुरा गर्छन्, ‘आखिर खाने भातै हो, जाने घाटै हो, सुत्ने खाटै त हो ।’
‘काम नराम्रो कहिँ हुन्न । कुनै पेशाभन्दा पनि त्यो पेशा अँगाल्ने मानिस इमान्दार हुनुप-यो । मानिस इमान्दार भएपछि पेशा स्वत इमान्दार हुन्छ । त्यसो त हामी अहिले पत्रकारले खबर लेख्दा, पुलिसले अपराधी पक्रिँदा, न्यायाधीशले न्याय दिँदा, सेनाले बन्दुक बोक्दा खबर बनाउने प्रतिस्पर्धामा छौं’, भन्छन्, ‘यो भन्दा दुखको समाचार के होला र ? परपीडक चरित्रबाट माथि उठ्नु पत्रकारिताका लागि चुनौती हो । त्यसबाहेक पत्रकारितालाई राजनीतिक दलको झण्डाबाट जोगाउनु अहिलेको पहिलो र अन्तिम आवश्यकता हो ।’
नियमित स्तम्भ पत्रकारलाई प्रश्नमा नेपालनाम्चा प्रस्तुत गर्छ, संकेत कोइराला ।
किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो । र, सोचेजस्तै गरिरहनु भएको छ ?
नाम, काम र दाम खोज्न मानिस शहर पस्ने हो । यो संसारकै चलन हो । हामी मात्र होइन भानुभक्त, लेखनाथ पौडेल पनि त्यसैका लागि काठमाडौ आएका हुन् । काठमाडौंले प्रमाणित नगरेसम्म कसैको योग्यता पुग्दैन । अरु त अरु राजनीतिमा पनि त्यही नियम लागू हुन्छ । म पनि भोजपुरबाट उज्यालो खोज्दै काठमाडौ आएको हो । दशैंमा टीका लाउँदा सबै मान्यजनले गन्यमान्य हुनु भन्दै इमाानमा विश्वास राख्न आशिर्वाद दिए । त्यही शिरोपर भयो । काठमाडौं आएपछि जीवन क्रेडिटमा नचल्ने रहेछ । काम त गर्नुप-यो । आफूले कामका लागि बिन्ती बिसाएका मानिसको सोर्स कुनै प्रकाशन गृहमा लाग्ने रहेछ । भेटन पठाइएका ठूला मानिस सम्पादक रहेछन् । हो, त्यही संयोगले पत्रकारितामा लागेको हो ।
भात खान र डेरा भाडा तिर्न सजिलो बाटो खोज्दै जाँदा पत्रकारको ढोका खुलेको हो । यहाँ जाँदा कुनै परीक्षा दिनु परेन । योग्यताअनुसार खरिदार हुन खोजेको भए जाँच दिएर पास गर्नुपथ्र्यो । शुरुमा पनि दालभात डुकूको समस्या निदान गर्न पत्रकारितामा प्रवेश गरेको हो, अहिले पनि त्यही क्रमले निरन्तरता पाएको छ । सूर्यजस्तै प्रत्येक दिन नयाँ भएर देखिन मन लाग्छ । योजना बनाउने गरेकै छैन । योजना बनाएर त्यसअनुसार भएन भने चित्त दुख्छ । त्यो भनेको दुखको प्रवेश हो । योजना नबनाउने तर खुशी हुने बाटो खोज्ने हो ।
पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
सुख दुख मनमा छ । पत्रकारिताको सुखानुभूति भनेको कुण्ठाविहीन जीवन हो । मनमा गुम्सिएका कुरा भन्न नपाएर कतिका आत्मा रोगको गुँडले भरिएको छ । कम्तिमा खोलाको पानीजस्तो सङलो भएर बग्न पाइएको छ । स्पष्ट दृष्टिकोण राख्ने चरित्रको विकास भएको छ । सुख त दुख त सोचमा छ । आखिर खाने भातै हो, जाने घाटै हो, सुत्ने खाटै त हो । जति फैलिए पनि यो भन्दा परको संसार नै के छ र ?
नेपाली पत्रकारिताका राम्रा नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
काम नराम्रो कहिँ हुन्न । कुनै पेशाभन्दा पनि त्यो पेशा अँगाल्ने मानिस इमान्दार हुनुप-यो । मानिस इमान्दार भएपछि पेशा स्वत इमान्दार हुन्छ । त्यसो त हामी अहिले पत्रकारले खबर लेख्दा, पुलिसले अपराधी पक्रिँदा, न्यायाधीशले न्याय दिँदा, सेनाले बन्दुक बोक्दा खबर बनाउने प्रतिस्पर्धामा छौं । यो भन्दा दुखको समाचार के होला र ? परपीडक चरित्रबाट माथि उठ्नु पत्रकारिताका लागि चुनौती हो । त्यसबाहेक पत्रकारितालाई राजनीतिक दलको झण्डाबाट जोगाउनु अहिलेको पहिलो र अन्तिम आवश्यकता हो ।
पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
अरुलाई दोष थोपरेर आफू पन्सिने आम प्रवृत्ति पत्रकारितामा देखिन्छ । यो समाजमा व्याप्त विकृतिको थोरै भाग आमनागरिकको हिसावले पत्रकारले पनि लिनुपर्छ भन्ने लाग्छ । तर म त ‘पत्रकार’ भन्ने अहं कहिँ कतै देखिन्छ कि भन्ने त्रास उतिक्कै छ । ताइँ न तुइँको अहं नेपालका पत्रकारले पाल्ने ठूलो कमजोरीभित्रको पात्र म पनि हुन सक्छु । जबकी त्यो अहं उभिने कुनै जमिन नै छैन ।
पत्रकारितामा नभएको भए तपाईं कहाँ हुनुहुन्थ्यो ?
पत्रकार नभएको भए म सतप्रतिशत सरकारी जागिरे हुन्थें । म त्यही परिवेशमा हुर्किएका कारण किटेर भन्न सक्छु ।
अन्त्यमा अरु केही ?
सबैको भलो होस, जय होस् ।