१२ वर्षदेखि व्हीलचेयरमै बसेर पनि पत्रकारितामा निरन्तर छु

राजविराजबाट गोरेटो भन्ने अखबार निस्कन्थ्यो, त्यो अखबारमा पछाडि अनौपचारिक शैलीमा छापिने कोलम थियो, सुलसुले । जिल्लाका सरकारी कार्यालयका छ्यास्सछुस्स गतिविधि त्यसमा आउँथे । उनीहरुको पसलमा भेला हुने सरकारी कर्मचारीहरू सुलसुलेले कसरी थाह पाएछ भनेर चर्चा गर्थे । उनलाइ यो पत्रकार (सुलसुले) भन्ने चीज खतरा हुने रहेछ, सबै थाह पाउने रहेछ भन्ने पर्दै गयो । त्यसरी उनी पत्रकारितातिर आकर्षित भए । ०५२ सालदेखि उनकै शब्दमा पारिश्रमिक भुक्तानी पाउने० गरी नै पत्रकारितामा संलग्न रहँदै आएका छन् ।
नेपालको पत्रकारिताले १०० वर्ष र व्यावसायिक पत्रकारिताले तीन दशक पार गर्दा पनि अझै पूर्ण व्यावसायिक मात्र होइन, संगठित संरचनामै पनि जान सकेको रहेनछ भन्ने कुरा कोभिड-१९ पछिको संकट झेल्न नसकेकाले प्रमाणित गरेको उनको ठम्याई छ ।

पत्रकारलाई प्रश्नमा नेपालनाम्चा प्रस्तुत गर्छ, गजेन्द्र बुढाथोकी

किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो ? र, सोचेजस्तै गरिरहनु भएको छ ?
पत्रकारितामा सुरुमा रहरले लागियो । म उदयपुर जिल्ला सदरमुकाम गाईघाटमा जन्मेँ, हुर्केँ । हामी सानै हुँदा जिल्लाका सरकारी कार्यालयहरूमा हुलाकबाट गोरखापत्र जान्थ्यो । राजविराजबाट शिशुप्रसाद देवकोटा सरको गोरेटो भन्ने अखबार निस्कन्थ्यो, त्यो अखबारमा पछाडि अनौपचारिक शैलीमा छापिने कोलम थियो- सुलसुले । जिल्लाका सरकारी कार्यालयका छ्यास्सछुस्स गतिविधि त्यसमा आउँथे । हाम्रो पसलमा भेला हुने सरकारी कर्मचारीहरू सुलसुलेले कसरी थाह पाएछ भनेर चर्चा गर्थे । मलाइ यो पत्रकार (सुलसुले) भन्ने चिज खतरा हुने रहेछ, सबै थाह पाउने रहेछ भन्ने पर्दै गयो । ०५१ सालतिर वरिष्ठ पत्रकार कौशल चेम्जोङका संगतले पत्रकारितामा प्रवेश गरियो । ०५२ सालदेखि पूर्ण व्यावसायिक (पारिश्रमिक भुक्तानी पाउने) गरि नै पत्रकारितामा संलग्न रहँदै आएको छु । पेशामै संलग्न हुँदाहुँदै पेशागत वृत्ति/क्षमता विकासका लागि दर्जनौँ राष्ट्रिय-अन्तरराष्ट्रिय तालिमहरू लिएँ र आफूलाई परिस्कृत तुल्याउँदै गएँ ।

पत्रकारिताका प्रारम्भिक कालदेखि नै म विकास पत्रकार बन्छु भन्ने एक किसिमको ‘जुनुन’ थियो र त्यही पथ समात्दै गएँ । राष्ट्रिय-अन्तरराष्टिय पुरस्कारहरू पनि प्राप्त गरेँ । नेपालको पहिलो आर्थिक दैनिकको अवधारणा बनाउनेदेखि त्यसको जग बसाइदिने भूमिका काम गरेँ । केही प्राविधिक कारणले अझै सोचेजस्तो गर्न सकिएको छैन भन्दा पनि हुन्छ, तर यसमा मेरो व्यक्तिगत कारणले भन्दा देश र परिवेश अलिकता अनुकूल बन्न सकेनन् ।

पत्रकारिताका सुख के हुन् ? दुःख के हुन् ?
पत्रकारितका सुख भनेकै सत्य, तथ्य, वस्तुनिष्ठ समाचार सम्प्रेषण हो र त्यसबापत समाजबाट पाइने प्रशंसा/स्याब्बासी नै हो । आफूले संकलन गरेका समाचार, सम्पादकीय सामग्रीले समाजलाई दिशा निर्देशित गर्नसक्छ भन्ने मेरो विश्वास छ ।

दुःखका कुरा गर्ने हो भने साँच्चै भन्ने हो भने नेपालको पत्रकारिताले १०० वर्ष र व्यावसायिक पत्रकारिताले तीन दशक पार गर्दा पनि अझै पूर्ण व्यावसायिक मात्र होइन, संगठित संरचनामै पनि जान सकेको रहेनछ भन्ने कुरा कोभिड-१९ पछिको संकट झेल्न नसकेकाले प्रमाणित गरेको छ । पत्रकारहरूका व्यावासायिक जीवन आज पनि असुरक्षित छ । देशभरिका ठूलो संख्याका पत्रकारहरू आज पनि नियुक्तिपत्रबिना, न्युनतम पारिश्रमिक नपाइकन काम गर्न बाध्य छन् ।

नेपाली पत्रकारिताका राम्रा नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
नेपालको पत्रकारिताले फरक-फरक समयमा फरक फरक किसिमको विकासक्रम झेल्दै आयो । तर, अझै पनि यो क्षेत्र बलियो, विश्वसनीय र व्यावसायिक बन्न सकेको छैन । पत्रकारितामा लहडका भरमा लाग्ने जमात बढेको, व्यावसायिक सीप, क्षमता विकासका लागि पर्याप्त अवसर नभएको, पत्रकारहरूले नियमित पारिश्रिमक पाउन नसक्ने, लगानीकर्ताहरूको मुडका भरमा सञ्चारमाध्यम चल्ने भएकाले अझै यस क्षेत्रको विकास हुनै सकेको छैन भन्दा पनि हुन्छ ।

सबैभन्दा राम्रो कुराचाहिँ अहिले पत्रकारितामा, पत्रकारिता पढेकै पुस्ताको बाहुल्यता बढेको छ । तर, पत्रकारितामा उनीहरूको भूमिका र क्रियाशीलता बढाउनका लागि उचित वातावरण नै बन्न् सकेको छैन । सुधारका लागि अझै धेरै प्रयासको खाँचो छ । खासगरि, पत्रकारिताका संगठित संस्थाहरूको विकास गरेर पूर्ण व्यावसायिक (प्रोफेसनल) ढंगले अगाडि बढाउनका लागि ठोस प्रयास हुनुपर्ने म देख्छु ।

पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
धेरैलाई विश्वास नलाग्न सक्छ, म विगत २५ वर्षदेखि पूर्ण व्यावासायिक पत्रकारितामै संलग्न छु । सुरुका दिनदेखि नै कहिले थोरै पाइयो होला, सोचेजति पाइएन होला तर मैले पारिश्रमिकसहित यो पेशामा संलग्न रहँदै आएको छु । पत्रकारिता पेशामै निष्ठा र इमानदारीपूर्वक लागेर जीवन निर्वाह सकिन्छ भन्ने मलाई लाग्छ ।

पत्रकारितामा पाएको भनेको सन्तुष्टि हो, सम्मान हो । नेपाल सरकारबाट राष्ट्रिय पत्रकारिता पुरस्कारदेखि अन्तरराष्टिय स्तरमा डेभलपिङ एसिया जर्नालिजम अवार्डसम्म पाएँ ।

व्यक्तिगत रूपमा मलाई सन्तुष्टि लागेको कुरा- जब मैले एसियाली विकास बैंक (एडीबी)बाट पुरस्कार जितेँ, उदयपुरका ग्रामीण सडकका दुरावस्थाबारेको त्यो समाचार सामग्रीपछि एडीबीले उदयपुरसहित केही जिल्लाका ग्रामीण पूर्वाधारका लागि ठूलै सहयोग नेपाललाई प्रदान गरेको थियो । ०५८ सालमा सुनको अवैध तस्करी र झिटिगुन्टा सुविधा दुरुपयोगबारे समाचार सम्प्रेषणपछि सरकारले झिटिगुन्टा सुविधामै संशोधन गर्यो ।

नेपाल र नेपालीका नाममा विश्व बैंकबाट करिब २० अर्ब रूपैयाँ ऋण र अनुदान लिएर सन् २००० देखि नेपालमा वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालन गरिएको थियो । मैले सन् २००६ देखि नै नेपाल समाचारपत्र, राजधानी र कारोबार दैनिकमा लगातार सुधार कार्यक्रम अफट्रयाक गएको विषयलाई निरन्तर उठाउँदै आएँ । नेपालको नम्बर १ भनिनेदेखि प्रायः सबै नेपाली मिडियामा केबल विश्व बैंक र सरकारले दिएका सूचनाका भरमा समाचार आइरहेका बेला मैले विश्व बैंककै आन्तरिक प्रतिवेदनहरू केलाएर सुधार कार्यक्रमका चिरफार गर्न छाडिन । सन् २०११ मा आएर विश्व बैंक आफैले सुधार कार्यक्रमले लक्षित प्रतिफल दिन नसकेको भनेर आयोजना समीक्षा गर्यो, अनि बल्ल अरु साथीले लेखे ।

गुमाएको कुरा गर्दा पत्रकारिता पेशामै लाग्दालाग्दै सडक दुर्घटना परेर अहिले म हिँडडुल गर्न नसक्ने अशक्त अपाङ्गताको अवस्थामा छु । यद्यपि, पत्रकारिता पेशाप्रतिको मेरो जुनुनले यो पेशाबाट अलग भएको छुइन । विगत १२ वर्षदेखि व्हीलचेयरमै बसेर पनि पत्रकारितामा निरन्तर संलग्न छु ।

यसबीचमा नेपाल सरकार र केही अन्तरराष्ट्रिय दातृ निकायका लागि परामर्शदाताका काम पनि गरेँ । खासगरी कोभिड-१९ पछि नेपाली अर्थतन्त्रमा पारेको असरका विषयमा सरकारले अध्ययनका लागि गठित कार्यदलमा रहेर योगदान गर्न पाएँ, यो मेरो जीवनको मुख्य उपलब्धि मान्छु ।

यदि पत्रकारितामा नभएको भए तपाईं कहाँ हुनुहुन्थ्यो ?
यो हाइपोथेसिसमा हेर्दा कहाँ हुन्थेँ भन्न सकिन्न । पत्रकारितामा लाग्नुभन्दा अगाडि केही समय शिक्षण गरे, एउटा आइएनजीओमा केही समय संलग्न भएँ । पिताजी व्यापारमा हुनुहुन्थ्यो । मेरा धेरै सहपाठीहरू अहिले निर्माण व्यवसायी वा पर्यटन व्यावसायी छन् । शायद म पनि व्यवसायी नै हुन्थेँ कि ?

अरु केही भन्न चाहनु हुन्छ ?
पत्रकारिता एउटा जिम्मेवारीयुक्त पेशा हो । पत्रकारिताले सही, वस्तुनिष्ठ सूचना सम्प्रेषण खोज्छ । सही सूचनाले जनमत निर्माण गर्छ, मानिसलाई सचेत तुल्याउँछ, नीतिनिर्माणमा सहयोग पुर्याउँछ । एक जना पत्रकारले सदैव आफ्नो क्षमता विकासमा ध्यान दिइरहनु पर्छ । विभिन्न आग्रह/पूर्वाग्रहहरूले अवसरबाट बञ्चित गराउन सक्छन् तर त्यो नै अन्त्य हैन, त्यसलाई थालनीका रूपमा लिनुपर्छ । पत्रकारले इमानदारी र वस्तुनिष्ठता कहिल्यै छाड्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button