पत्रिका पसलअगाडि उभिएर पत्रिका पढ्ने केटी सायद म मात्रै थिएँ

पत्रकारितामा अनायसै आएकी उनी सानैदेखि कविता–कथा लेख्थिन् । रेडियो नेपालको बाल–कार्यक्रममा वासुदेव मुनालले उनको कविता वाचन गरिदिएको रातभर निदाउन नसकेकी अध्ययनका लागि काठमाडौं आएपछि कविता छपाउनका पत्रिका पुगिन् । कविता छापियो छापिएन, थाहा भएन तर भोलिपल्टदेखि उनले रिर्पोटिङ सुरु गरिन् । पत्रकारिता सुरु गरेको ३ दशकपछि अहिले उनलाई लाग्छ, ‘पत्रकारिताले नाम, पहिचान र सम्मानसहितको फराकिलो संसार दियो ।’
पत्रकारलाई प्रश्नमा नेपालनाम्चा प्रस्तुत गर्छ, बबिता बस्नेत

किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो । र, सोचेजस्तै गरिरहनु भएको छ ?
पत्रकारितामा अनायसै आएकी हुँ । म खोटाङ्ग जिल्लाको सालम्बु गाउँमा जन्मिएर त्यही हुर्किएँ । सानैदेखि साहित्यमा रुची थियो, कविता–कथा लेख्थें । स्कुल पढ्दा नै रेडियो नेपालको बाल–कार्यक्रममा कविता पठाउँथे । बासुदेव मुनालले मेरो कविता बाचन गरिदिएको रात खुशीले निदाउन सक्दिन थें । ‘ओहो ! रेडियो नेपालमा मेरो नाम आयो, मलाई त सबैले चिने’ जस्तो लाग्थ्यो । पछि अध्ययनका लागि काठमाडौं आएँ । २०४७ साल जेठको कुरा हो, कलेज पढ्दै परोपकार माविमा पढाउदै गर्दा कविता छपाउनका लागि नेपालीपत्रको कार्यालय लगनटोल पुगेकी थिएँ । साहित्य हरि अधिकारीले हेर्नु हुँदो रहेछ । म र बहिनी शर्मिला उदास (तिवारी) थियौं । अहिलेजस्तो इमेल थिएन । आफ्नो रचना प्रकाशित गर्नका लागि हातले लेखेको सामाग्री बोकेर अखबारको कार्यालय पुग्नु पथ्र्यो ।
कविता पढिसेकेर अधिकारीले ‘कविता राम्रो छ तर पत्रकारिता गर्नुस् न’ भन्नु भो । मैंले आफूलाई लेखनमा रुची भएको तर स्कुल पढाइरहेकाले समय कसरी मिलाउने होला भनेर सोधें । ‘त्यो त तपाईको कुरा भयो यदि पत्रकारिता गर्ने हो भने यी यो चिट्ठी लिएर भोलि रिपोर्टिङ्गमा जानुस्’ भन्नु भो । अचम्म लाग्यो, त्यसअघि मैले अधिकारी दाईलाई कहिल्यै देखेकी थिइनँ । त्यो अखिल छैठौंको सम्मेलनमा रिपोर्टिङ्ग गर्नका लागि अखबारको कार्यलयमा पठाइएको निम्तापत्र रहेछ । शनिबार थियो कि जस्तो लाग्छ स्कुल–कलेज बन्द भएकाले म रिपोर्टिङ्गमा गएँ
पत्रिका सधै पढ्थे । पत्रिका पसलको अगाडि उभिएर पत्रिका पढ्ने केटी शायद त्यतिबेला म मात्रै थिएँ । अहिले पनि केटीहरुले पत्रिका पसल अगाडी उभिएर पत्रिका पढेको देख्दिनँ । पत्रिकामा के समाचार आयो भनेर पढ्ने म रिपोर्टिङ्गबाट फर्किएपछि पत्रिका पढ्दा समाचार कसरी लेख्दा रहेछन् भनेर पढें । भोलिपल्ट मैले लेखेको समाचार केही परिमार्जनसहित छापियो । त्यतिबेला नेपालीपत्रमा पदम ठकुराठी, जनार्दन आचार्यजस्ता तात्कालिन पत्रकारिताका हस्तीहरु हुनुहुन्थ्यो । यसरी म पत्रकारितामा आएँ ।
खासै केही सोचेर आएको नहुनाले पत्रकारितामा जे गरिरहेको छु, ठिकै गरिरहेको छु जस्तो लाग्छ । यस्तै गर्छु भन्ने कुनै योजना थिएन ।

पत्रकारिताका सुख के हुन् ?दुख के हुन् ?
पत्रकारिताको सुखको कुरा गर्दा आफ्नै नाम र पहिचान नै मुख्य हो । राम्रो रिपोर्टिङ्ग गरेर या सामाग्री प्रकाशित–प्रशारित गरेर नाम स्थापित गरेपछि तपाई कसको छोरा, नाती, छोरी, नातिनी या पति, पत्नी भनेर चिनाई रहनु पर्दैन । तपाईको आफ्नै नाम पर्याप्त हुन्छ । व्यापक जनसम्पर्क र सूचनामा पहुँच पनि पत्रिकारिताको सुखको कुरा हो, जुन अन्य क्षेत्रका मानिसहरुले सहज रुपमा प्राप्त गर्न सक्दैनन् । पत्रकारिता गर्नेहरुका लागि पाठकले गर्ने प्रसंसायुक्त ‘रेस्पोन्स’ सबै भन्दा ठुलो सुख हो ।
पत्रकारिताका दुख धेरै छन् । जति बेला पनि ड्युटीको मुडमा रहनु पर्ने, समयको व्यवस्थापन गर्न गाह्रो हुने, व्यक्तिगत जीवन नै नभएजस्तो सधै सार्वजनिक कुराहरु सोचेर, लेखेर बस्नु पर्ने । के चाड पर्व, के आफन्तका विवाह ब्रतबन्ध केही भन्न नपाइने । या, भनौं पारिवारिक र आफ्नो व्यक्तिगत स्पेस कम हुने, सधै डेडलाइनमा हिंड्नु पर्ने, धेरै मेहेनतका बीच पनि आर्थिक अभाव । दुखको सूची लामै हुन्छ ।
नेपाली पत्रकारिताका राम्रा–नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
छोटो समयमै धेरै संचारमाध्यमको स्थापना र पत्रकारहरुको प्रवेशलाई राम्रो पक्ष या भनौं उपलब्धिको रुपमा लिनु पर्छ । तर, नराम्रो पक्ष पनि सँगै जोडिएको छ । संचारमाध्यमको बढ्दो संख्यात्मक बृद्धिसंगै मिडियाप्रतिको विश्वासमा कमी आउँदै गएको छ । कुन मिडिया कुन राजनीतिक दलसँग निकट छ भनेर एक सर्को हेर्नासाथै जानकारी पाउनुलाई राम्रो पक्ष मान्न सकिन्न । थप ब्यवस्थित गर्नका लागि स्वनियमनमा आधारित पत्रकारितालाई प्रबद्र्धन गर्नु पर्छ ।

पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
पत्रकारिताले मलाई नाम, पहिचान र सम्मानसहितको फराकिलो संसार दियो । गुमाएको खासै केही छैन ।

पत्रकारितामा नभएको भए तपाईं कहाँ हुनुहुन्थ्यो ?
पत्रकारितामा नभएको भए के हुन्थें, यसै भन्न सक्दिन । किनभने करियरको सुरुवात नै पत्रकारिताबाट भयो । स्कुलमा पढाउँदै गरेको भए पनि म शिक्षक हुन्थें जस्तो लाग्दैन । यदि पत्रकारितामा नभएको भए साहित्यमा चाहीँ थप केही पुस्तकहरु प्रकाशित हुन्थे कि जस्तो लाग्छ । पत्रकारिताले मेरो सिर्जनात्मक पक्षलाई ओझेलै पा¥यो त म भन्दिन तर कम चलायमान भने बनायो । जे काम गरे पनि इमान्दारीपूर्वक ‘फोकस’ भएर गर्थें भन्ने चाहीँ लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button