पत्रकार नभएको भए सम्भवतः भागवत प्रवचन गर्दै हिड्ने थिएँ

पत्रकारिताको माध्यमबाट आध्यात्मिक क्षेत्रलाई अघि बढाउन यस क्षेत्रमा लागेका उनले भने, ‘पत्रकारिता पवित्रतम पेशा हो ।’ र, जीवनै त्यही पवित्र पेशामा लगाए । नियमित स्तम्भ पत्रकारलाई प्रश्नमा नेपालनाम्चा प्रस्तुत गर्छ, कमल रिजाल

किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो ? र, सोचेजस्तै भयो ?
पत्रकारिताको माध्यमबाट आध्यात्मिक क्षेत्रलाई अघि बढाउन यस क्षेत्रमा लागेको हुँ । जतिबेलादेखि यस क्षेत्रमा लागें, त्यतिबेलादेखि नै यसै क्षेत्रमा इमान्दारीपूर्वक समर्पित हुँदै आएको छु । यस क्षेत्रमा लागेर के कति गरें वा गर्न सकें त्यो पाठकहरूले नै मूल्याङ्कन गर्ने कुरा हो । आफ्नोतर्फबाट भन्नुपर्दा सोचे अनुसार सबै भएको छ भन्ने अवस्था त छैन । तथापि असन्तुष्ट नै हुनुपर्ने अवस्था पनि देख्दिन ।

पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
पत्रकारिता क्षेत्रमा सुखभन्दा दुःख नै धेरै छ । सबैभन्दा ठूलो समस्या भनेको आर्थिक अभाव नै हो । यसै पनि सरकारी सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरूबाहेक अरुले समुचित तलब भत्ता पाउन सकेका छैनन् । अपवादमा कोही छन् भने बेग्लै कुरा हो । ठूला–ठूला प्रकाशन गृहमा समेत यस्तो समस्या देखिएको छ । त्यसमाथि कोरोनाको कारण पछिल्लो अवस्था झनै समस्याग्रस्त हुन पुगेको छ । यसको अर्थ दुःख मात्रै छ भन्ने पनि होइन । आफूलाई लागेको कुरा ढुक्क भन्न पाइन्छ । तिनीहरू कामयाव हुन सकेका छन् छैनन्, भएका भए कति हदसम्म हुन सकेका छन् त्यो छुट्टै कुरा हो तर देश र जनताका निम्ति आफूलाई लागेको कुरा भन्ने अवसर भने मिलेकै हुन्छ यस क्षेत्रमा ।

नेपाली पत्रकारिताका राम्रा–नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
पत्रकारिता पवित्रतम पेशा हो । यो आफैमा राम्रो–नराम्रो भन्ने हुँदैन तर पछिल्लो अवस्थामा नकारात्मक पक्ष बढी हावी हुन पुगेको देखिन्छ । पत्रकारले घटनालाई आफू खुसी व्याख्या गर्न मिल्दैन । जस्ताको तस्तै दिने हो तर पत्रकारहरू आफै यसमा कति इमान्दार हुन सकेका छन् सबैलाई थाहा भएकै कुरा हो । एउटा कार्यक्रममा उपस्थित भएको मानिसले भोलिपल्टको अखवारहरू हेर्दा आश्चर्य मान्नुपर्ने अवस्था आउँछ भने आफै अनुमान लगाउन सक्छौं कि हामीले कस्तो पत्रकारिता गरिरहेका छौं । अर्को कुरा, पत्रकारिता गर्नुको अर्थ समस्यामात्र देखाउनु पनि होइन । लेख, टिप्पणी, सम्पादकीय आदिका माध्यमबाट थुप्रै सकारात्मक सन्देश दिन सकिन्छ तर दुःखको कुरा त्यस्तो हुन सकिरहेको छैन । जहाँसम्म यसलाई थप व्यवस्थित गर्न के गर्नुपर्ला भन्ने प्रश्न छ । यसका लागि सर्वप्रथम पत्रकार आफै सचेत हुनुपर्छ । हरेक पत्रकारले मैले कुन काम गर्दैछु र मैले दिएको थोरै मात्र गलत सन्देशले पनि समाजमा कस्तो असर पर्छ भन्ने कुराको सामान्य हेक्का मात्र राख्न सके पनि धेरै हुन्छ जस्तो लाग्छ ।

पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
साथीहरू प्राय: भन्ने गर्छन् पत्रकारिता क्षेत्रमा लागेर सबै गुमाइयो तर म त्यसो भन्ने पक्षमा छैन । यसको अर्थ फाइदा नै फाइदा भएको छ भन्ने पनि होइन । मैले पनि यस क्षेत्रमा लागेर गुमाएको भनेको आर्थिक स्थिति नै हो । यसबाहेक जति पाएको छु धेरै नै पाएको छ । सबैभन्दा बढी नाम पाएको छु, सम्मान पाएको छु । साँच्चै भन्नुपर्दा पत्रकारिता क्षेत्रमा लागेको दिनमा नै जन्म भएको हो भन्ने ठानेको छु आफूलाई । त्यसअघिको अँध्यारो कालखण्डको खासै मूल्य छ जस्तो लाग्दैन । त्यसैले यसो भन्ने गरेको हुँ ।

यदि तपाई पत्रकारितामा नभएको भए कहाँ हुनुहुन्थ्यो ?
पत्रकार नभएको भए सम्भवतः व्यासासनमा बसेर भागवत प्रवचन गर्दै हिड्ने थिएँ हुँला । पुराण प्रवचन मेरो पैतृक धरोहर हो । संस्कृत साहित्यमा उच्च शिक्षा हासिल गरेपछि मेरो लागि दुई विकल्प थिए, पैतृक धरोहरकै सम्मान गर्ने कि पत्रकारिताको माध्यमबाट आध्यात्मिक क्षेत्रमा लाग्ने भन्ने । निकै सोच विचारपछि मुलुकमा आध्यात्मिक क्षेत्रमा पत्रकारिता गर्ने मानिसको ठूलै खडेरी छ जस्तो लाग्यो र यस क्षेत्रमा आबद्ध हुन पुगें । सायद कथा वाचक भएका भए धेरै नै आर्थिक लाभ गर्न सिकिन्थ्यो होला । जस्तो अहिलेका पण्डितहरूले गरिरहेका छन् ।

अन्त्यमा केही ?
अन्त्यमा खासै भन्नु छैन । पत्रकारिता पवित्र पेशा हो । यसलाई यसै रूपमा रहन दिनुपर्छ । अर्को कुरा पत्रकारले खेल्ने भनेको भाषा र शब्दसँग हो । भाषालाई बिगार्ने कि सापार्ने भन्नेमा उनीहरूको ठूलो हातमा हुन्छ । त्यसैले कलम चलाउँदा यसबारे निकै चनाखो हुनुपर्छ जस्तो लाग्छ । कतिपय पत्रकारहरूले अहिले पनि विध्यालय, उध्योग, हस्तीहाडको हाडबाट बनेका गहना भन्ने जस्ता शब्द प्रयोग गरिरहेका भेटिन्छन् । ठूलै प्रकाशन गृहका पत्रकारहरूमा पनि यो समस्या छ । पत्रकारजस्तो प्रबुद्ध वर्गमै यस्तो अवस्था देखिनु भनेको ज्यादै दुःखद पक्ष हो । त्यसैले पत्रकारिता क्षेत्रमा लाग्न चाहने व्यक्तिलाई केही समय भाषा प्रशिक्षण दिनु उचित हुन्छ जस्तो लाग्छ । व्यक्ति आफैले पनि यसलाई नकारात्मक पक्षमा नलिएर चासोको विषय बनाउनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button