मिडियामा पार्टीका ‘भातृ संगठन’हरुलाई बन्द गराउनुपर्छ

अभिव्यक्ति स्वतन्त्रताप्रतिको मोहले पत्रकारिताप्रति आकर्षित भएका उनी तीन दशकसम्म पूर्णकालिक पत्रकारितामा सक्रिय रहे । अहिले ‘जागिरे’ पत्रकारिताबाट अवकाश लिएका छन् । तर, उनको पत्रकारिता यात्राको ‘डिक्सनरी’मा अवकाशको ‘अ’ मात्र पनि छैन । अनेक विषयमा रोचक तगा अन्वेषणात्मक लेख लेखिरहेकै छन् । ‘नेपालनाम्चा’मै पनि उनका घच्चीका लेखहरु छापिइरहेका छन् ।
नेपालनाम्चाको नियमित स्तम्भ पत्रकारलाई प्रश्नमा श्रीरामसिंह बस्नेत

किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो ? र, सोचेजस्तै भयो ?
व्यवसायका विकल्प त अरु पनि थिए तर अभिव्यक्ति स्वतन्त्रताप्रतिको मोहले पत्रकारिताप्रति आकर्षित भएँ । तीन दशकसम्म पूर्णकालिक पत्रकारितामा सक्रिय रहेर यसबाट अवकाश प्राप्त गरेको छु । व्यक्तिगत गुनासो त खासै छैन तर सम्बन्धित सबै पक्षमा इमान्दारी र इच्छाशक्ति भइदिएको भए नेपालको पत्रकारिताको स्तर निकै माथि पुग्ने थियो भन्ने लाग्छ ।

पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
पत्रकारिताको सुख आफूले लेखेका, बोलेका शब्द लाखौं जनमानसमा पुग्नु र त्यसले चाँडो वा ढिलो केही न केही प्रभाव पारेको देख्न पाउनु नै हो । सत्यको खोजी गर्ने चुनौतीपूर्ण काम गर्दा पनि विभिन्न पक्षबाट प्रताडित हुनुपर्ने अवस्था आउनु पत्रकारिताको सबैभन्दा दुःखद पक्ष हो ।

नेपाली पत्रकारिताका राम्रा नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
नेपाली पत्रकारिताको राम्रो पक्ष समाचार सम्प्रेषण र विचार प्रवाहमा सक्षमता नै हो । नराम्रो पक्ष अत्यधिक राजनीतिककरण र गुटपरस्त हुनु हो । राजनीतिक दल, नेता, गुट, सत्तापक्ष र प्रतिपक्ष सबैले पत्रकारलाई आफ्नो कार्यकर्ता बनाउन चाहने र पत्रकारहरु पनि आफ्नो व्यवसायिक धर्म र मर्यादालाई पर पन्छाएर कुनै नेता वा गुटको कार्यकर्ता बन्नमै दत्तचित्त रहने प्रवृत्ति सबैभन्दा नराम्रो पक्ष हो । अझसम्म पनि श्रमजीवि पत्रकारको हक, हितको सुरक्षा सत्ताशक्तिको निगाहमा निर्भर रहनु, त्यसकै फलस्वरुप अहिलेसम्म नेपाली पत्रकारिताले व्यवसायिक रुप लिन नसक्नु दुःखद पक्ष हो ।
पत्रकारितालाई थप व्यवस्थित बनाउन राजनीतिक प्रभावबाट मुक्त राख्नु पर्छ, प्रत्येक मिडिया संस्थामा रहेका विभिन्न पार्टीका भातृ संगठन्हरुलाई बन्द गराउनुपर्छ, जातीगत आधारमा समेत पत्रकारहरुलाई विभाजित गर्ने गलत प्रवृत्तिको अन्त्य हुनुपर्छ, सरकार वा साहुको आज्ञाकारी हुनुपर्ने तर जनताप्रति इमान्दार हुनुनपर्ने परिपाटी त्याग्नु जरुरी छ ।

पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
पत्रकारितामा लागेर देश र दुनियाँलाई राम्ररी बुझ्ने मौका पाएँ । समाज र मानिसका उज्याला र अँध्यारा पक्षलाई नजिकबाट छाम्ने र अनुभूत गर्ने अवसरलाई मैले ठूलो उपलब्धि मानेको छु । गुमाएको केही पनि छैन । आलिशान भौतिक सुविधा र अकुत सम्पति आर्जन मेरो चाहना नभएकोले पत्रकारितामा लागेर मैले केही गुमाउनु परेन ।

पत्रकारितामा नभएको भए कहाँ हुनुहुन्थ्यो ?
पत्रकारितामा नभएको भए म प्राध्यापनमा हुन्थें । यद्यपि पत्रकारितामा सक्रिय रहँदा पनि मैले आँशिक समय मुख्यत शिक्षण र प्रशिक्षणमै बिताएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button