धेरैलाई सोध्ने प्रश्नको उत्तर आफैले लेख्न पाइयो
नेपालनाम्चा नुवाकोट आइपुगेको छ र नियमित स्तम्भ पत्रकारलाई प्रश्नमा प्रस्तुत गर्छ, नुवाकोटे पत्रकार भोलाराज पौडेल ।
किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो ? र, सोचेजस्तै गरिरहनु भएको छ ?
पत्रकारिता किन गरेँ, के सोचेर यो क्षेत्रमा लागेँ भन्ने कुरा म आफैंलाईै थाहा छैन । २०५६ सालको अन्ततिर नुवाकोट सदरमुकाम विदुर आउने जाने क्रममा थाहै नपाई यो पेशामा लागियो । त्यतिबेला रुपरेखा साप्ताहिक भन्ने पत्रिका निस्कँदो रहेछ । त्यो पत्रिका नै मेरो पत्रकारिताको जग हो । त्यतिबेला मैले पत्रकारिता के हो, किन गरेको भन्ने महसूस नै गर्न पाएको थिइनँ । पछि नेपाल पत्रकार महासंघ नुवाकोटले सुचना केन्द्रको स्थापना ग¥यो, त्यहाँ काम गर्ने अवसर प्राप्त भयो । त्यसपछि विस्तारै यो पेशाप्रति अलि बढी आकर्षित हुन थालेँ । सोचे जस्तो गर्न चाँहि सकिएको छैन । तर जिल्लाका पत्रकारको सुचीमा नाम समावेश गर्न पाइएको छ ।
पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
पत्रकारिताको सुख भनेको कुनै समाचारले व्यक्ति, समुदाय र जीवनमा सकारात्मक परिवर्तन गर्दछ । अनि आफूले उठाएको विषयले समाज परिवर्तनमा कुनै न कुनै रुपबाट सकारात्मक प्रभाव पर्दछ त्यतिबेला पत्रकारिताका सुखको अनुभुति हुन्छ । आनन्द लाग्छ । आफूले लेखेको समाचारको कारण हुने सकारात्मक परिवर्तन नै हाम्रो लागि सुख हो जस्तो लाग्छ । अनि रिर्पोटिङमा विकट ठाउँ जाँदा हुने शारिरीक दुःख एकातिर हुन्छ भने कहिलेकाँही श्रमको मूल्य समयमै नपाउने तथा पारिश्रमिकका लागि मिडिया हाउससँग हुने विवाद दुःख हुन् ।
नेपाली पत्रकारिताका राम्रा नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
नेपाली पत्रकारिताका राम्रा पक्ष भनेको समाज र सरकारवीचको पुलको काम यो क्षेत्रले गरिररहेको छ । नागरिकका आधारभुत आवश्यकतामा खवरदारीदेखि विकास निर्माणमा हुने ढिलासुस्तीमा खवरदारी मात्र होइन, राज्यलाई पत्रकारिताको माध्यमबाट विकास निर्माणका आयोजना निर्माणमा सहजीकरणको कामसमेत यो क्षेत्रबाट हुँदै आएको छ । विधिको शासन स्थापित गर्नको लागि सञ्चार क्षेत्रको ठूलो योगदान रहेको छ । तर, पछिल्ला दिनहरुमा सामाजिक सञ्जाल र मिसन पत्रकारिताले ठूलो हिस्सा लिएको छ । सामाजिक सञ्जालका कारण कतै हाम्रो मूलधारको पत्रकारिता नै ओझेलमा पर्छ कि भन्ने चिन्ता थपिदिएको छ भने मिसन पत्रकारिताका कारण समाचारहरु तोडमोड हुने, एकपक्षीय प्रकाशन÷प्रकाशन हुने र समाजलाई अतिरञ्जित हुने खालका सुचनाहरु प्रवाह भइरहेका छन् । यसलाई समयमै रोक्न सकिएन भने नेपाली पत्रकारिता बदनामकारितातर्फ उन्मुख हुनेछ । कुनै पक्षलाई सिध्याउनकै लागि तोडमोडका साथ आउने समाचार र बचाउका लागि आउने समाचारले नेपाली समाजलाई फाइदा पुगेको छैन । कुन सही र कुन गलत हो भन्ने आम नागरिकलाई छुट्याउन पनि समस्या हुन्छ । स्वतन्त्र पत्रकारिताको नाममा हामी अलि बढी नै छाडा भयौँ कि भन्ने भनाई हो । यसलाई समयमै व्यवस्थित गर्न आवश्यक कदम चाल्नु आवश्यक छ ।
पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
पत्रकारितामा लागि सबैभन्दा ठूलो काम नाम कमाइयो । समाजले इज्जत दियो । साथीभाई र समाज कमाइयो । जेनतेन गाह्रोसाह्रोले घर खर्च गर्न पुग्ने पैसा कमाइयो होला । गुमाउन त जीवनका धेरै वसन्तहरु यो क्षेत्रमा गुमाइयो । त्यो भन्दा धेरै गुमाएको छैन ।
पत्रकारितामा नभएको भए तपाईं कहाँ हुनुहुन्थ्यो ?
खै थाहा छैन । पत्रकारितामा नभएको भए सायद बेलकोटको डाँडाको एउटा सफल किसानको रुपमा स्थापित भएर तपाईहरु जस्ता ठूला पत्रकारसँग अन्र्तवार्ता पो दिइरहेका हुन्थेँ कि ?
अन्त्यमा अरु केही ?
मैले धेरैलाई सोध्ने प्रश्नको उत्तर आफैंले लेख्न पाइयो । उत्तर दिने काम पनि अलि गाह्रै काम पो रहेछ भन्ने महसूस भइरहेको छ । आफू र पत्रकारिताको बारेमा आफूलाई विगततिर फर्कने अवसर दिनुभयो । त्यसको लागि नेपालनाम्चालाई धन्यवाद दिन चाहन्छु । केही वर्ष अघिसम्म पत्रकारितामा लागेर नमस्कार मात्र पाइने हो, जीवन गुजारा चलाउन त अरु नै पेशा गर्नुपर्छ भन्ने मान्यता थियो । अहिले त्यस्तो छैन । पत्रकारिताबाटै जीवन चलाउन सकिन्छ । र, सभ्य पत्रकारिताको विकास गर्न भूमिका खेल्नुपर्छ भन्न चाहन्छु ।