कृपया ! पत्रकारितालाई बदनाम गर्न-गराउन नआउनु होला
काभ्रे, मण्डनदेउपुरका स्थायी वासिन्दा । १७ वर्षदेखि पत्रकारितामा सक्रिय । महानगर र नेपाल समाचारपत्रबाट पत्रकारिता थाले । ०६१ सालदेखि ३ वर्ष काभ्रेबाट प्रकाशित सञ्जीवनीपत्र साप्ताहिकमा काभ्रे, मण्डनभेगका संवाददाता भएर काम गरे । ०७० सालदेखि विभिन्न अनलाइनहरुमा सक्रियता बढाए । केन्द्रबिन्दु मिडियामा साढे ३ वर्षदेखि वरिष्ठ उपसम्पादक छन् भने काभ्रेको मध्यमार्ग साप्ताहिकमा विशेष संवाददाता । साथै विभिन्न राष्ट्रिय दैनिकहरुमा स्तम्भ पनि लेख्ने गर्छन् । ‘पत्रकारलाई प्रश्न‘मा ‘नेपालनाम्चा‘ प्रस्तुत गर्छ, ज्ञानमणि नेपाल कालोटोपी ।
किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो ? सोचेजस्तै गरिरहनु भएको छ ?
दुई प्लस दुई बराबर चार हुन्छ भने जस्तो मसँग यसको ठ्याक्कै मिल्दो जवाफ त छैन । तर, पनि सानैदेखि मलाई पत्रकार भनेको कस्ता मान्छे हुन्छन् होला, कसरी समाचार लेख्छन् होला भन्ने जिज्ञाशा लागिरहन्थ्यो । पत्रपत्रिका पढ्न खुबै मन लाग्थ्यो । भेटेसम्मका सबै खाले पत्रिकाहरु पढ्थें । मिलेसम्मका पत्रिका संकलन पनि गरेर राख्ने गरेको थिएँ । ०७२ सालको भूकम्प अघिसम्म मसँग ०४५ सालको गोरखापत्रसम्म थियो । घर भत्किएर सबै पत्रिकाहरु पुरिए । ०५५ सालदेखि करिव ५ वर्ष केही राष्ट्रिय दैनिक र साप्ताहिक पत्रिकाको नियमित ग्राहक पनि बनें । यसले मलाई पत्रकारिता क्षेत्रमा लाग्न धेरै कुरा सिकायो ।
०५९ सालदेखि पत्रपत्रिकामा पाठकपत्र लेखेर शुरु गरेको पत्रकारिता क्षेत्रमा म ०६१ देखि व्यवसायीकरुपमा लागेको हुँ । त्यसयता सकेको गरें जस्तो लाग्छ तर यो अझै पूर्ण भने होइन । अझै जोश मरेको छैन । हेर्दै जाउँ कहाँ पुगिन्छ ।
पत्रकारिताका सुख के हुन् ? दुःख के हुन् ?
हरेक क्षेत्रमा चुनौतीहरु हुन्छन् । सुख र दुःख त आआफ्नो सोचाई र बुझाईमा हुन्छ जस्तो लाग्छ । कुनै दिन १६ घण्टासम्म काममा खटिएको छु । पक्कै दुःख त छ नै । सुख नै खोज्ने हो भने यस क्षेत्रको विकल्प खोज्नु पर्छ जस्तो लाग्छ । काम गरिसक्यो अनि गाली खानु पर्ने अवस्था आउँछ, त्यसपछि दुःख लाग्छ । जतिबेला सबैको वाहवाही पाइन्छ, आनन्द त्यतिबेला महसुस हुन्छ ।
नेपाली पत्रकारिताका राम्रा नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नु पर्ला ?
सबै राम्रै पक्ष छन् । पछिल्ला दिनहरुमा अरुका समाचारहरु कपी पेष्ट गर्ने परिपाटी यस क्षेत्रमा भित्रिएका छन् । यो विल्कुलै गलत हो । आफ्नो मौलिक सृजनाहरु दिनसके मात्र त्यो वास्तविकरुपमा पत्रकारिता हुन्छ । अरुको बौधिकता चोर्नु हुँदैन । फिल्डमै गएर रिर्पोटिंग गर्ने बानी अधिकांशको छैन । पत्रकार भन्दै ठगी धन्दा गर्नेहरुको जमात पनि बढिरहेको छ । यसलाई नियन्त्रण गर्ने संयन्त्र कमजोर भइदिंदा समग्र पत्रकारिता क्षेत्रले बदनामी बेहोर्नु परिरहेको छ । यसतर्फ नियामक निकायको ध्यान जानु पर्छ ।
पत्रकारितामा लागेर के पाउनु भयो ? के गुमाउनु भयो ?
पत्रकारितामा लागेर नाम र सम्मान पाएको छु । आज देश विदेश जहाँबाट पनि धेरैले मलाई चिन्ने माध्यम भनेको पत्रकारिता नै हो । यस क्षेत्रको सकारात्मक पक्ष भनेकै सम्मान रहेछ । धनसम्पती कमाउँछु भनेर पत्रकारिता गर्न नआए पनि हुन्छ । पैसा नै कमाउने धेरै क्षेत्र छन् तर, नाम कमाउने माध्यम अरु कमै छन्, जति पत्रकारिता क्षेत्रमा छ । गुमाएको कुरा गर्ने हो भने अहिलेसम्म अनुभव नै गर्ने गरी केही गुमाए जस्तो लाग्दैन । मसँग नभएका नयाँ कुराहरुलाई अनुभवको रुपमा धन सम्पतीको रुपमा कमाएँ भने आफूसँग भएका अज्ञानता र निराशाहरुलाई भने पाखा लगाएँ ।
यदि तपाईं पत्रकारितामा नभएको भए कहाँ हुनु हुन्थ्यो ?
पत्रकारिता पछि मलाई मनपर्ने पेशा शिक्षण हो । मैले साढे २ वर्ष एउटा मावि स्कुलमा नेपाली विषय पढाएको अनुभव पनि लिएको छु । अझै पनि शिक्षण पेशा अंगाल्नु परेमा पछि हट्दिनँ । यदि पत्रकारिता र शिक्षणभन्दा बाहेक रोज्नु पर्यो भने एउटा असल किसान बन्ने नै हो मेरो सोच । गाउँमा परम्परागत कृषि प्रणालीले लगानी धेरै र आम्दानी कम हुने अवस्था विद्यमान छ । यसमा परिवर्तन गर्न सके हुन्थ्यो भन्ने अहिले पनि लागिरहन्छ । एउटा किसानको छोरो हुँ , अन्यत्र ध्यान जाने त कुरै भएन नि ।
अन्त्यमा अरु केही ?
भन्नै पर्ने कुरा त त्यस्तो छैन । पत्रकारिता एउटा बौधद्धिक क्षेत्र हो । बौद्धिकता निखारका लागि जो कोही पनि यसमा आउन सक्नु हुन्छ तर बदनाम गर्न र गराउन कृपया नआउनु होला । चुनौती पनि उस्तै छन् । सामना गर्न सक्ने क्षमता लिएर आउनु होला । असल मान्छे बन्न र समाजलाई परिवर्तनको दिशामा लैजाने सोच भएकालाई यो क्षेत्र उल्लेखनिय छ ।
धेरै धेरै धन्यवाद । नेपालनाम्चालाई ।
You welcome.