‘सोचे झैं जिन्दगी रै’नछ’ भने झैं पत्रकारिता पनि त्यस्तै रहेछ
‘सगरमाथा’बाट ‘उज्यालो’ पुगिन् । र, अहिले बीबीसी मिडिया एक्सनमा रेडियो प्रोड्युसर छिन् । नयाँ पुस्ताकी एक प्रतिभाशाली पत्रकार । नियमित स्तम्भ ‘पत्रकारलाई प्रश्न’मा ‘नेपालनाम्चा’ प्रस्तुत गर्दछ, मल्लिका थापा ।
किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो । र, सोचेजस्तै गरिरहनु भएको छ ?
पत्रकार बन्छु भन्ने मेरो उद्देश्य पहिलादेखिको होइन । घरपरिवार र आफन्तमा पनि कसैले पत्रकारिता पढ्नु भएको थिएन । एसएलसी पास भएपछि क्याम्पसमा गएर विषय छान्नुपर्ने । कुनै साथीले नरोजेको विषय र अरुले भन्दा फरक काम गर्ने सोचले मानविकी संकायमा पत्रकारिता विषय रोजेँ । आफुले सोचेजस्तै स्कुलका साथीहरु अरु कोही पनि यस क्षेत्रमा लागेनन् ।
मैले पत्रकारिता पढ्दै र गर्दै गएँ । समाजमा भएका विकृति–विसंगति हटाउन र यस विरुद्धको आवाज बलियो बनाउन पत्रकारिता गर्नुपर्छ भन्ने सोच विकास हुलथाल्योे । रेडियो सगरमाथाबाट पत्रकारिता सुरु गरेँ । त्यसपछि उज्यालो रेडियो नेटवर्क हुदै अहिले बीबीसी मिडिया एक्सनमा रेडियो प्रोड्युसर छु । एक दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेकी छु । अहिले संस्था फेरिए पनि गर्ने काम एउटै छ ।
पत्रकारिता पढ्ने र पत्रकारिता गर्ने कुरा फरक रहेछ भन्ने लागिरहेको छ । पत्रकारले सजिलै सुचना पाउँछन्, पत्रकारले भनेका कुरा सबैले विश्वास गर्छन्, पत्रकारिताले समाज बदल्न सकिन्छ भन्ने सोचेको थिएँ, व्यवहारमा लागु हुन गाह्रो रहेछ । सोचे झैं जिन्दगी रैनछ भनेझैं पत्रकारिता क्षेत्र पनि सोचेझैं भएको छैन ।
पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
पत्रकार भनेर आफ्नो नामसहितको परिचय पाएकी छु । दिनदिनै नयाँ सुचना खोज्नु र सम्प्रेषण गर्नु दैनिकी बनेको छ, यसैमा रमाइरहेकी छु । पत्रकारिता गर्नु पनि नसा रहेछ, अब चाहेर पनि यसबाट निस्कन सकिदैंन जस्तो लाग्छ । आफ्नो बाइलाइनमा समाचार छापिदा वा आफूले पढेका समाचार सुनेर कसैको प्रतिक्रिया पाउँदा निकै उत्साह थपिन्छ । यस क्षेत्रको सुखको पाटौ यिनै हुन् । तर पछिल्लो समय यस क्षेत्रमा अमर्यादित रुपमा प्रस्तुत भएका केही व्यक्ति र संस्थाले गर्दा पुरै पेशा संकटमा परेको महसुस भएको छ । दुख लाग्छ, आफु स्थापित हुन संघर्ष गरिरहँदा यस्ता समस्या आउँदा । केही फरक गर्ने सोचमा अघि बढेको हुँदा यस्ता चुनौतीलाई अवसरकै रुपमा लिएकी छु । दुखको अर्को कुरा, अझै पनि नेपाली पत्रकारिता अभाव, दवाव र प्रभावमा रुमलिएको पाईन्छ ।
नेपाली पत्रकारिताका राम्रा–नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
सत्यतथ्य घट्नाहरूमा अधारित रही सञ्चारमाध्यमबाट नागरिकलाई जानकारी गराउन पत्रकारिताले मुख्य भुमिका खेल्दछ । अहिलेको वैज्ञानिक युगमा नेपाली पत्रकारिताको क्षेत्रमा पनि त्यही अनुसारको सुचना सम्प्रेषण गर्ने संयन्त्र विकास भएका छन् । नागरिकले आफूले चाहेको र खोजेको जानकारी आफ्नो रोजाईका संचारमाध्यमबाट क्षणभरमै पाउन सक्छन् । पत्रकारितामा उच्च शिक्षा हाँसिल गर्नेको संख्या बढेको छ । तर, यस्ता जनशक्ति बेरोजगार छन् अनि संचार गृहमा दक्ष जनशक्तिको अभाव नै छ । पत्रकारितामा व्यवसायिकताको विकास हुन नसक्नु आज ठूलो चुनौतीको बिषय हो । थुप्रै आमसंचारका माध्यम संचालनमा छन् तर उचित नीति र योजनाको अभावमा तिनलाई समयमा नियमन गर्न सकिएको छैन । प्रविधिमैत्री संचार जगत्को विकास भइरहँदा यसलाई सुहाउँदो राज्यव्यवस्थाको पनि खाँचो देखिन्छ । पछिल्लो समय संचारमाध्यममा इभेन्ट बेस समाचार बढी कभर भएको पाईन्छ, खोजमूलक पत्रकारिताको आवश्यकता छ । यसका लागि समय सान्दर्भिक तालिम र अभिमुखिकरणको आवश्यकता छ ।
पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
केही हदसम्म व्यवसायिक बनेँ । स्वेच्छाले गर्न थालेको काम भएर होला आत्मसन्तुष्टि पनि मिल्यो । पव्लिक रिलेशन बढ्यो । खासै गुमाएको त केही छैन तर चाडपर्वको बेलामा फुर्सदमा परिवारसँग बसेर मनाउने र रमाइलो गर्ने समय गुमाएँ ।
यदि पत्रकारितामा नभएको भए कहाँ हुनुहुन्थ्यो ?
पत्रकारितामा यसरी डबेछु कि अहिले त मलाई लाग्छ, पत्रकारिताबाहेक मेरा लागि अरु व्यवसाय छँदै थिएनन् ।
अन्त्यमा अरु केही ?
पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउने पहल गरौँ । यो पेशालाई आकर्षक र प्रेरणादायी बनाउन सबैतर्फबाट जुटौँ ।