स्मार्टफोन प्रयोग गर्ने हामी कति स्मार्ट ?

दिव्या दाहाल

आधुनिक जीवनको पर्याय बनेको छ स्मार्ट फोन । विद्यालयमा भर्ना पनि नभएका स–साना बालबालिकादेखि युवासँगै वृद्ध, सबैको प्रिय बन्न पुगेको स्मार्ट फोन पक्कै नै निक्कै स्मार्ट हुनुपर्छ । तर दिनरात यस डिभाइससँग व्यस्त हुने हामीचाँहि कत्तिको स्मार्ट छौँ त ?

एकैछिन मात्र चलाउँछु भन्दाभन्दै घन्टौँसम्म फोनको स्क्रिन स्क्रोल गरिएको पत्तै पाइँदैन । इन्टरनेटको प्रयोगले त स्मार्ट फोन क्रेजलाई झनै बढाएको छ । थाहै नपाई कैयौँ इन्टरनेट प्रयोगकर्ताहरु कुलतमा फसिसकेका हुन्छन्। स्मार्ट फोन र इन्टरनेट हाम्रो अघि एक डरलाग्दो मानव निर्मित दलदल बनेर बसेको छ, जसलाई हामी देखेर पनि अन्देखा गरिदिन्छौँ । महसुस नै नगरी बिस्तारै हामी त्यही दलदलमा भासिन पुगिसकेका हुन्छौँ । अन्त्यमा त्यस दलदलबाट बाहिर निस्कन हर कोहि सक्षम हुँदैन ।

अधिकांश किशोर–किशोरीहरु दिनको १० देखि १५ घन्टासम्म मोवाइल फोन चलाउने गर्छन् । फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता व्यापक सामाजिक सन्जालले दिने इन्टरटेन्मेन्टमा लोभिएर धेरैले आफ्नो शारिरिक साथै मानसिक स्वास्थ्य बिगार्न पुगेका छन् । इन्टरनेटलाई अंग्रेज़ी भाषामा ‘स्लो पोइजन’ यानी मन्द विषको संज्ञा दिइएको छ ।

सहज रुपमा उपलब्ध हुने स्मार्टफोनमा एक घन्टा, दुइ घन्टा गर्दै कतिबेला अत्याधिक समय बित्छ, सायदै कसैल पत्तो पाउँछ । दिनभरिको विद्यालय, कलेज वा कार्यलयको थकान र स्ट्रेस मेटाउन, केही मनोरन्जन र केही जानकारीका लागि प्रयोग गरिने स्मार्टफोन कुनै बेला गएर आफै स्ट्रेसको कारण बन्न पुग्छ भन्ने विषयमा धेरै मानिस आज पनि अनविज्ञ छन् । केही समयअघि गरिएको एक अन्तराष्ट्रिय रिसर्चमा इन्टरनेट अथवा डिजिटल कुलतमा फसेको मानिसको दिमाग र लागुपदार्थ दुर्व्यसनमा परेको मानिसको दिमागको आकार एउटै हुने बताइएको छ ।

जमाना लाइक्स र डिस्लाइक्सको भइसक्यो । तपाईँलाई कति जनाले मनपराउँछन् वा रुचाउँछन् भन्ने कुराको मापन अब तपाइँको पोस्टमा आउने लाइक्स र कमेन्टसले निर्धारण गरिदिन्छ । मनोविदहरुका अनुसार यसरी आफ्ना पोस्टहरुमा आउने लाइक्स र कमेन्ट्ससँग अधिक मात्रामा सामाजिक सन्जाल चलाउने मानिसहरुको भावनात्मक समेत सम्बन्ध जोडिएको हुन्छ । लाइक्स र भ्युजको होडबाजीमा कैयौँ किशोर किशोरीहरु रुमल्लिएका छन् । हामीमध्ये कतिपय यसको प्रत्यक्षदर्शी होलाउँ भने कतिपय अनुभवी । इन्टरनेटले निम्त्याएको यो लडाईँमै कतिपय आफ्नै जीवनसँग हार्न पुग्छन् । विज्ञहरुका अनुसार विद्यार्थीहरुको कलिलो मष्तिस्कलाई पढाइको अथाह भार हुने भएकाले पनि उनीहरु केही राहत पाउने र केही रमाइलो गर्ने विकल्पका रुपमा स्मार्टफोन र इन्टरनेटलाई रोज्छन् । सुरु–सुरुमा त यसले सबै तनाव अन्त्य गरिदिएला झैँ सबैलाई लाग्छ । तर वास्तवमा यसले लामो समयसम्म कसैलाई खुसी दिन भने सक्दैन ।

साना साना बालबालिकालाई समेत आफ्नै अभिभावकहरुले हातमा मोबाइल फोन थमाइदिन्छन् । कारण ? बच्चाले मोबाइल हेर्ने दिए मात्र खाना खान्छ । अथवा, मोबाइलमा गेम खेल्न नदिइ त होमवर्क नै गर्न मान्दैन । यसरी सानै उमेरबाट स्क्रिन टाइम बढ्दै जाँदा बालबालिकाको दिमाग सुस्त हुँदै जाने देखिएको छ । अधिकांश अभिभावकहरुले केही समय भुल्याउनका लागि त हो नि भन्दै मोबाइल फोन दिने गर्छन् । तर त्यो केही समयले पार्ने प्रभाव भने निक्कै लामो र डरलाग्दो हुन्छ । यसरी हरेक दिन मोबाइल हेर्ने बानीले उनीहरुको स्वयम सिर्जित गतिविधिहरु न्युन हुँदै जान्छ । केही समयपश्चात शारीरिक स्वस्थ पनि बिग्रने सम्भावना धेरै हुन्छ । परिवारका सदस्यहरुबाट टाढा बस्न मन पराउने, एक्लै बस्न रुचाउने, कम बोल्ने र कसैसँग घुलमिल हुन नसक्ने लक्षणहरुको पनि विकास हुँदै जान्छ । यस्ता यावत कुराहरुको दृष्टान्त हाम्रै घर छिमेकमा देखिदैँ आएका छन् ।

स्मार्टफोन एक भुलभुलैया जस्तो बनेको छ । विभिन्न किसिमका गेमिङ एप्स र सामाजिक सन्जालद्वारा निर्मित कृतिम भुलभुलैया, जसले कैयौँ मानिसहरुलाई आँफुतिर आकर्षित गर्छ र आफ्नै गर्भभित्र लुकाइदिन्छ । परिवार, साथीभाई र समाजबाट टाढा बनाइदिन्छ । युवामा डिजिटल एडिक्सनले भयावह रुप लिने क्रम बढ्दो छ । चारकुने मोबाइल फोनको स्क्रिनमा खुम्चिएर बसेकाहरु आवश्यकताभन्दा निक्कै बढी सोसल साइट मोहमा डुबेका छन् । अहिलेको समयमा फेसबुक, ट्विटर, भाइबर र इन्स्टाग्राम जस्ता सामाजिक सन्जालमा आवद्द नभएकाहरुले त आफ्नै साथीभाईको सर्कलमा समेत ठाउँ पाउँदैनन् । डिजिटल वर्ल्डले विश्व जगतलाई पक्कौ पनि जोडेको छ । तर यही डिजिटल वर्ल्डले कतिपयलाई आफैबाट पनि कोसौँ टाढा पुर्याइदिएको छ ।

कुनै पनि पारिवारिक जमघट वा भेलामा आजभोलि त्यति धेरै गफगाफ र रमाइलो हुँदैन । यस्ता भेटघाट समारोहमा परिवारका सबै सदस्यहरु एकतमासले फोनको स्क्रिन घुरिरहेका हुन्छन् भने यो कसैको आँखालाई नौलो दृश्य हैन । यो त हरेक घरको कहानी हो ।

निरन्तर यसरी मोबाइल फोनको प्रयोगले मानिसहरुमा माइग्रेन, एन्जाइटी र डिप्रेसनजस्ता मानसिक समस्या समेत बढ्दै गएको छ । सन् २०१२ मा दक्षिण कोरियास्थित एक इन्टरनेट क्याफेमा लामो समयसम्म बसेकै कारण रगत जमेर १० जनाको ज्यान गएको थियो । डिजिटल एडिक्सनले कतिसम्मको उग्र रुप लिन सक्छ भन्ने उदाहरण यस घटनाले प्रष्ट पार्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button