
‘छोरीभन्दा आमा तरुनी लिपिस्टिक पाउडरले, लान्छ क्यार घुमाउन झिल्के डाइभरले’
पेशल आचार्य
२०३० सालको समय । ऊ बेला गाउँमा नेसनल पानासोनिक रेडियो खूब चल्ती हुन्थ्यो । मानिसहरू समाचार र गीत उधुमै सुन्थे । कसैकसैले ‘नयाँ सन्देश’ पत्रिका ल्याउँथे । हामी त्यसमा भएका फोटा चाख मानेर हेथ्र्यौं । साप्ताहिक पत्रिकामा राम्रो कार्टुन छाप्ने कामको सुरुआत ‘नयाँ सन्देश’ले गरेको हो ।
हामी रेडियो सुन्थ्यौं । रेडियो सुन्नुको मज्जा नै बेग्लै । रेडियोले मानिसलाई समयको पालना गर्ने बनाउँदो रहेछ । समयमा नसुने कार्यक्रम सिद्दिन्थ्यो ।
गीतहरू धेर सुन्थ्यौं । लोकगायक कुमार बस्नेत हिट भएको जमाना । ‘छोरीभन्दा आमा तरुनी लिपिस्टिक पाउडरले, लान्छ क्यार घुमाउन झिल्के डाइभरले’ भन्ने गीत बच्चा बच्चाका मुखमा कण्ठ थिए ।
लोकगीतमा हिटहिट गीत दिने गायकद्वय पाण्डव सुनुवार र वासुदेव मुनालको जोडी पनि खूब जमेको थियो । उनीहरूका सबै गीत मन पर्थे । ‘साइँली र माइली पोइला गएछन्, गाउँघरलाई सुन्य पारेर’ भन्ने गीत गोठाला, खेताला र केटाकेटीहरू रातोदिन गाउँथे ।
अलिअलि राजनीतिक चेतना पसेका मानिसहरू समाचार सुन्थे । हामी केटाकेटीहरूचाहिँ शैक्षिक कार्यक्रम, स्कुल प्रशारण कार्यक्रम र रेडियो नाटक सुन्थ्यौं । रेडियो नाटकमा त्यो बेला सिद्धान्तराम जोशी, जितेन्द्रमहत अभिलाषी र मदनदास श्रेष्ठजस्ता स्थापित कलाकारहरू खूब जमेका थिए ।
स्कुलबाट आएपछि हामी खेल्न थाल्यौं । भालेजुधाइ, तित्ती, सिन्कौली, काकाजोरी बिजोरी, बूढी डुम, आसपास र गट्टा खेल्थ्यौं । मोजाको भकुन्डो पनि खेलिन्थ्यो । रातिको भात खाने बेलामा ७ बजेको समाचार आउँथ्यो । समाचारको धून अति मिठो लाग्थ्यो । पछि थाहा पायौं त्यसको संयोजन संगीतकार…बुढापिर्थीले गरेका रहेछन् । नाम बिर्सें । ‘तितिरू पंछी बादलुमाथि’ भन्ने गीतमा थियो त्यो धून ।
बिहान ६ बजे रेडियो खुल्थ्यो । सुरुको शङ्ख ध्वनि र पशुपतिको घन्टीको आवाज असाध्यै कर्णप्रिय लाग्थ्यो ।
मैले रेडियो सुनेर आफूलाई हुर्काएको हूँ ।
सुरुमा रेडियो नेपाल मात्र सुनिन्थ्यो । पछिपछि अल इण्डिया रेडियोमा ‘देशान्तर प्रशारणमाला’ पनि सुन्न थालियो । साथीहरूको संगतले ‘विनाका गीतमाला’ र ‘शिवाका गीतमाला’ समेत सुनिन्थे ।
योचाहिँ २०४१–०४२ सालतिर । गाउँका एकजना सिद्धी हजुरबा भन्ने हुनुहुन्थ्यो । वहाँ रेडियो सिलोन सुन्नु हुँदो रहेछ । पछि त्यो पनि सुन्न थालियो । वहाँको संगतले गर्दा बीबीसी हिन्दी सेवा सुन्न लत बस्यो । म त्यो बेलाका धेरै सम्वादाताहरू आवाजले नै चिन्थे जस्तै: पञ्चक पचौरी, सुविर भौमिक, नीता गुप्ता । सुविर भौमिकले कलकत्ताबाट रिपोर्ट गर्थे । पञ्चक पचौरी र नीता गुप्ता स्टुडियोमा काम गर्थे । मलाई हिन्दी पछि नेपाली बीबीसी सुन्ने बानी बस्न थाल्यो । आजआज भोलिभोलि गर्दागर्दै मैले करिब ३५ वर्षजति हिन्दी र नेपाली बीबीसी सेवा सुनेको छु । जसले मलाई विश्व राजनीति, इतिहास, अर्थ व्यवस्था, पत्रकारिता, साहित्य र विश्व जन जीवनबारे बुझ्न सजिलो बनाइदिए ।
रेडियो सुन्ने बानी विश्व विद्यालयमा अध्ययन गरेभन्दा बढी महत्वपूर्ण लाग्छन् । चेतनाको पत्र खोल्नका लागि र कुनै घटनाको निष्पक्ष विश्लेषण गर्न मलाई बीबीसी रेडियोको स्रोता हुनाले धेरै मद्दत मिलेको छ ।
त्यो बेलामा रेडियो सुनेबापत कर तिर्नु पर्दथ्यो । सिडियो कार्यालयले त्यो उठाउँथ्यो । ठूलो क्यासेट रेडियो छ भने महिनाको १० रुपैयाँ र साना खाले सबै रेडियोको ५ रुपैयाँ पर्दथ्यो । हाम्रा घरमा कहिले फिलिप्स र कहिले नेसनल पानासोनिक रेडियो मात्र थिए । क्यासेट चाहिँ पछि किनिए जुनबेला रेडियोमा कर तिर्नु पर्ने नियम हटिसकेको थियो ।
अहिले सम्झिँदा यी कुराहरू सपनाजस्तै लाग्छन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)