पत्रकारितामा लाग्नुपर्छ भन्ने प्यासन थियो
सप्तरी जिल्लाबाट पत्रकारिताको सुरुआत गरेका ढकाल सुनसरी, मोरङलगायतका जिल्लामा एक दशक पत्रकारितामा नै बिताए । औजार, राजधानीलगायतमा सम्वाददाता रहेका उनले राजधानी अन्तर्राष्ट्रिय, हिमालय टाइम्स, कमाण्डर पोष्ट, सौर्य दैनिकमा समाचार सम्पादकका रुपमा काम गरे । भर्साटाइल म्यागेजिनमा प्रधान सम्पादकका रुपमा कार्यरत उनी दैनिक नेपालमा पनि केही बर्ष सम्पादक भएर काम गरे । अहिले जनप्रहार साप्ताहिक र अनलाइनन्युज सेभेनको प्रधान सम्पादकका रुपमा कार्यरत छन् । ‘नेपालनाम्चा‘को नियमित स्तम्भ ‘पत्रकारलाई प्रश्न‘मा झन्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय विनोद ढकाल ।
किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो । र, सोचेजस्तै गरिरहनु भएको छ ?
शाही शासनका बेला मैले स्वतन्त्रताको आवाज उठाउने माध्यम पत्रकारिता देखें, व्यावसायीक पत्रकारिता सुरु गरियो । स्कुले जीवनदेखि नै लेखन र पत्रकारितामा लाग्नुपर्छ भन्ने प्यासन थियो । कलेजमा भित्ते पत्रिकादेखि सुरु गरियो । जनताको आवाजलाई राज्य र राज्यका कमजोरीलाई खबरदारी गर्न जनतामाझ पुराउन सकिन्छ भन्ने सोचले नै पत्रकारिता सुरु गरियो । र, अहिले सोचेजस्तै गरिरहेको छु भन्ने अनुभव गरेको छु । लामो समयसम्मको निरन्तरताको कारण पनि यहि नै हो कि म सन्तुष्ट छु ।
पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
पत्रकारितामा सुख बिरलै भेटिएला, भौतिक रुपमाचाहिँ । आत्मसन्तुष्टि ठूलो सुख हो । यो पेशा अँगालेको छु भनी सन्तुष्ट रहन सक्नु नै मेरो सुख हो । दुख अनेक छन् । पेशाको व्यावसायीकरण गर्न लामो समय लागिरहेको छ । सूचनाको संवाहक भए पनि पत्रकारहरू राज्यबाट मात्र होइन, विभिन्न मिडियाका साहुहरूबाट पनि समयमा पारिश्रमिक नपाउनेलगायतका साना–साना कुराहरुबाट प्रताडित छन् । यो दुखको कुरा हो । हामी व्यावसायीक पत्रकारिताको हाँक दिएको सुन्छौं, भाषण देख्छौं । व्यवहारत त्यो हुन सकेको छैन ।
नेपाली पत्रकारिताका राम्रा नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
नेपाली पत्रकारिताको सबैभन्दा ठूलो र दुर्वल पक्ष भनेको मिसनकारीता हो । पत्रकारिता दलगत स्वार्थ, नेताका गुटगत स्वार्थ, साहुका स्वार्थमा लटपटिएको छ । यसबाट निस्कन निक्कै लामो समय लाग्नेछ । पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा देखिँदैन । राजनीतिले विचार र निष्पक्षता, व्यावसायीकतामाथि नराम्रोसँग हमला गरेको छ । प्रशिक्षित गरेको छ । तैपनि यसका राम्रा पक्ष भनेको स्वतन्त्र छ, जनतामाझ सूचनाको संवाहकका रुपमा चाँडो भन्दा चाँडो पुग्न सकेको छ । अझै पनि प्रशासन, अदालत र विभिन्न निकायबाट न्याय पाइएन भने आम मानिस पत्रकारितामार्फत न्यायको अपिल गर्न सक्छन्, पाउँछन् अनि धाउँछन्, त्यो राम्रो पक्ष हो ।
यस पेशालाई थप व्यवस्थित गर्नका निम्ति व्यावसायीकताको खाँचो छ । पेशाप्रतिको अराजनीतिक, जनमैत्री विवेचना स्थापित गर्न आवश्यक छ ।
पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
पत्रकारिताको मिठो कमाई, स्वाद भनेको चर्चा र नाम हो । यहि लोभले पनि मानिसलाई अन्यत्र पेशामा जान त्यत्ति इच्छुक बनाउँदैन । जिल्लादेखि केन्द्रसम्मका अनेक तह र तप्काको जिम्मेवारीमा रहँदा सुक्ष्म ढंगले नेपाली समाज, राजनीतिक र केन्द्रीय सत्ताको पीडा, देशको अवस्था बुझ्ने, बुझिरहने मौका पाइयो । यहि नै पाएको ठानेको छु ।
गुमाएको त पारिवारिक समय हो । नीजि जीवनका विविधता गुमाइयो । चाडपर्वलगायतका विभिन्न घरेलु अपेक्षा र उपस्थितिलाई गुमाएको अनुभूति हुन्छ । तैपनि यसलाई एउटा समयका रुपमा व्याख्या गर्दै आएको छु ।
यदि तपाई पत्रकारितामा नभएको भए तपाईं कहाँ हुनुहुन्थ्यो ?
म पत्रकारितामा नभएको भए, सायद सैन्य सेवामा हुने थिएँ कि ! जुनबेला पत्रकारिता पेशालाई रोजेको थिएँ, त्यसबेला नेपाली सेनाको अधिकृत खुलेको थियो । एक मन त सेनामा जागिरे बनौं भन्ने पनि लागेको थियो । तर, स्वतन्त्रता नभएको मुलुकमा आफैंले सेनाबाट एकाध पटक प्रताडित हुनुपरेको देखेर, त्यसविरुद्धको दरिलो, आँटिलो पेशामा नै हुनुपर्छ भन्ने थियो । त्यसैले प्यासनका रुपमा रहेको पत्रकारितालाई नै रोजेको हुँ ।
अन्त्यमा अरु केही ?
नेपालको अबको पुस्ता कसरी अघि बढ्न सक्ला भन्ने चिन्ता छ । एउटै पुस्ताले देशको बागडोरमा हालीमुहाली गरेको र हामीसम्मको पुस्ता राजनीतिक रुपमा तिनीहरूको गीत गाउँदै हिँडेको देख्दा व्यक्तिगत रुपमा दुख लाग्छ । परिवर्तन भनेको व्यवस्था मात्रै होइन, पुस्तान्तरण हो । भएन भने हस्तक्षेप हो । अनिमात्र सबै पेशा व्यावसायसहित मुलुक पनि उन्नत लयमा लाग्छ भन्ने हो । पत्रकारिता पनि कहिँ न कहिँ यहि बिलखबन्धनमा छ । पुस्तान्तरण हरेक क्षेत्रमा भए हुन्थ्यो भन्ने लाग्छ ।