‘कलम’ स्मृतिः श्रद्धाले शिर झुकाएको छु जनार्दन दाइ !
हरि अधिकारी
आत्मीय अग्रज र जन-आदोलन २०४६ भन्दा पहिले, डेढ वर्ष करीव मैले साप्ताहिक नेपाली आवाज पत्रिकामा काम गर्दाको समयका मेरा वरिष्ठ सहकर्मी पत्रकार, आफ्नो समयका घागडान कम्युनिष्ट नेता जनार्दन आचार्यको ८१ वर्षको उमेरमा हिजो काठमाण्डौमा देहावसान भएको छ ।
धीर-गम्भीर स्वभावका मृदु एवम् मीतभाषी जनार्दन आचार्य समसामयिक राजनीतिका दशा र दिशा, गति र दुर्गति, नायक र खलनायक सबैका बारेमा सटीक जानकारी र वस्तुपरक दृष्टिकोण राख्ने चतुर पत्रकार त थिए नै एक उम्दा लेखक पनि थिए । नेपाली पत्रकारिताको दुनियाँमा रहेका पहिलो पंक्तिका थोरै कलमबाजहरूमध्ये उनलाई अग्रणी मान्न सकिन्थ्यो । उनले आफ्ना खबरकागजहरूमा चलाएको “समय-समय” आफ्नो समयमा सर्वाधिक पाठकहरूद्वारा मन पराइएको नियमित स्तम्भ थियो ।
आचार्य विक्रमको २०३९ सालमा निजी क्षेत्रबाट संस्थागत रूपमा सुव्यवस्थित ढङ्गले प्रकाशनमा आएको “साप्ताहिक मञ्च” नामक पत्रिकाका परिकल्पनाकार र संस्थापकमध्ये एक थिए । केही समयपछि मञ्चको प्रकाशक संस्था सप्तकोशी प्रकाशनका साथीहरूका बीच फूट उत्पन्न भएपछि वा सत्ताशीन पञ्चहरूबाट तिनीहरूका बीच वैमनष्य पैदा गराइएपछि आचार्य, पद्म ठकुराठी र कमल जोशीले आफ्नै समूह बनाएर जनज्योति, विमर्श, नेपाली आवाज र नेपालीपत्र जस्ता साप्ताहिक पत्रिकाहरूको प्रकाशन गरे । त्यो समूहले चलाएका पत्रिकाहरूले निजी क्षेत्रको नेपाली पत्रकारिताको इतिहासमा विशिष्ठ स्थान बनाएका छन् ।
मेरा सहपाठी मित्र पद्म ठकुराठीको अनुरोधमा मैले २०४५ सालमा नेपाली आवाज पत्रिकामा वरिष्ठ लेखक सम्पादकको हैसियतमा काम गर्न शुरू गरेको थिएँ । जन-आन्दोलन २०४६ पहिलेको १ साल र पछिका केही महिना त्यस पत्रिकामा काम गर्दा जनार्दन आचार्यको सम्पादकीय नेतृत्व-कुशलतासँग परिचित हुने र धेरै कुराहरू सिक्ने अवसर पाएको थिएँ मैले । आन्दोलनको सफलतापछि आचार्य र पद्म ठकुराठीको नेपाली कांग्रेस विरोधी वैचारिक धार बढी मुखर भएर आउन थालेपछि मैले त्यो पत्रिका छोडिदिएको थिएँ । तर हामीबीचको भ्रातृवत् सम्बन्ध भने हिजोसम्म पनि यथावत् नै थियो ।
युवा वयमा हुँदा उद्भट कम्युनिस्ट, त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचित सभापति रहेका धरानका जनार्दन आचार्य समयको फेरमा परेर हुनु पर्दछ, कहिले सूर्यबहादुर थापाको एक्का कहिले दरबारको नजिक, कहिले के कहिले के जस्तो पनि देखिएका हुन् । तर उनले आफ्नो व्यक्तित्वलाई सम्मानजनक स्थानबाट तल ओर्लिन भने कहिल्यै पनि दिएनन् । आफ्नो लामो राजनीतिक जीवनमा एक पटक राष्ट्रिय सभाको सदस्यमा मनोनित भएको बाहेक आचार्यले कुनै खासै लाभको पद पाएनन् । उनलाई राष्ट्रिय सभामा लैजान पनि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले मद्दत गरेका थिए भनिन्छ । देउवाले दिलैदेखि आदर र माया गर्ने व्यक्तिमा जनार्दन आचार्य पर्दथे भन्ने कुरा चाहिँ मलाई थाहा छ ।
जीवनको गोधूली बेलामा मातृभूमि सेवा कि त्यस्तै कुनै नाममा खडा भएको माओवादी समर्थक समूहको सदस्य भई सूर्यबहादुर सेन ओली, पुष्पप्रसाद लुइँटेल आदिसँगसँगै माओवादी दलमा सामेल भएका जनार्दन आचार्यसँग त्यतिबेलाको एउटा साँझ, मदिराको सत्र चलिरहेको बेलामा भेट हुँदा मैले उनको त्यो पोलिटिकल मूभप्रतिको आफ्नो असन्तोष अलि बढी नै तीतो शब्दमा व्यक्त गरेको थिएँ । तर प्राय: स्थितप्रज्ञ जस्तो देखिने, अझ रक्सी खाएको बेलामा त झनै रहस्यमय र हँसिलो मुद्रा धारण गर्ने उनले “हो नि हरिजी ! थाहा छ नि त्यो ठीक होइन भन्ने कुरा ! तर अब गइयो नि, कसरी कसरी ! हेरौँ न अलि दिन केही हुन्छ कि ?” भनेर मलाई फिसोलिदिएका थिए ।
उनको र मेरो जीवन र जगतलाई हेर्ने दृष्टिकोण र राजनीतिक धार फरक भए पनि आचार्यसँग म स्नेह र परस्पर सद्भावनाको गहिरो सम्बन्धले गाँसिएको थिएँ । उनले चोला बिसाएपछि त्यो सम्बन्धको बन्धन सधैंका लागि टुटेको छ । श्रद्धाले शिर झुकाएको छु जनार्दन दाइ ! तिम्रो मोक्ष होस् !