पत्रकारितामा लागेर मैले स्वतन्त्रता पाएको छु
अंग्रेजी र नेपाली दुवैमा उत्तिकै कलम चल्ने । लेखन, सम्पादन र ‘गेटकिपिङ’मा पनि उत्तिकै पोख्त । कडा राजनीतिदेखि अध्यात्मसम्म उत्तिकै प्रखर प्रस्तुति । यी र यसबाहेक अन्य थुप्रै विशेषताको योग । अरु केही नथपी ‘नेपालनाम्चा‘ आफ्नो नियमित स्तम्भ ‘पत्रकारलाई प्रश्न‘मा प्रस्तुत गर्छ, मनोज दाहाल ।
किन पत्रकारिता सुरु गर्नुभयो ?
म रुचिकै कारण पत्रकारितामा प्रवेश गरेको हुँ । घटनाक्रमहरुलाई नजिकबाट हेर्ने मेरो सानैदेखिको रुचि थियो । झापा छँदै म फाट्टफुट्ट लेख्ने गर्थेँ भने २०५६ सालमा काठमाडौँ आएपछि म स्थायी रुपमै पत्रकारिता पेसामा सामेल भएँ ।
के सोचेर यो क्षेत्रमा आउनुभयो ? र, सोचेजस्तै गरिरहनु भएको छ ?
सामाजिक क्षेत्रमा काम गर्ने र लेखपढमा रुचि भएकै कारण म यता आएँ । पत्रकारिता क्षेत्र र आफ्नै करियरमा भएका विभिन्न उतारचढावहरुका बाबजुद म यस क्षेत्रमा पूर्णतया: सन्तुष्ट छु । म कुनै पक्ष वा समूहप्रति मोलाहिजा वा झुकाव नराखी काम गर्ने स्वभावका कारण पत्रकारिताले आफ्नो वास्तविक चरित्रमा कुनै असर परेको छैन । सोचेको कुरा पुगेको नपुगेको सन्दर्भमा चाहिँ म त्यस्तो धेरै सोचेर भविष्यको योजना बनाउने व्यक्ति होइन । वर्तमानकै कर्म र क्षणमा रमाउन सिकेको छु । धेरै लामो सोचेर बस्ने बानी छैन ।
पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
पत्रकारिताको सबैभन्दा ठूलो सुख काम गरेपछिको प्रतिक्रिया हो भन्ने लाग्छ । समयमा बाँधिनु नपर्ने र दिनभरि कार्यालयमा कुर्सीमा बसिरहनु नपर्ने पनि यसको एउटा सुखद पक्ष हो । पत्रकारिता गर्दा देश र समाजको पक्षमा काम गरेको महसुस हुन्छ । आफूलाई एउटा जिम्मेवार व्यक्तिका रुपमा बोध गर्न पाइन्छ ।
दुख चाहिँ सुरक्षाको प्रत्याभूति नहुनु होजस्तो लाग्छ । आज काम गर्यो, आज खायो, भोलिलाई केही रहँदैन- यो आम पत्रकारको अवस्था छ । कतिपयले काम गरेर तलब नपाउने अवस्था पनि छ । सामाजिक सुरक्षा नहुनु र पत्रकारिता अझै व्यवसायिक बन्न नसक्नु साथै उद्योगका रुपमा स्थापित हुन नसक्नु पनि यसभित्रका दुख हुन् ।
नेपाली पत्रकारिताका राम्रा नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
नेपालमा पत्रकारितालाई स्वतन्त्रतापूर्वक काम गर्न पाउने वातावरण तुलनात्मक रुपमा राम्रो छ । भलै पत्रकारहरु कति स्वतन्त्र छन् भन्ने अर्को प्रश्न छ । पत्रकारिता र पत्रकारहरुले थप जिम्मेवार बन्नु आवश्यक छ । जिम्मेवारीबोध चाहिँ पत्रकारहरु र मिडियाहरुमा कम पाउँछु म । पत्रकारिता सहरकेन्द्रित छ । पत्रकारितालाई सहरको चौघेराबाट बाहिर लैजाने चुनौती छ । ग्रामीण भेकको खबर हामी कम दिन्छौँ । धेरैजसो हामी अरुले दिएका सूचनाहरुको समाचार बनाउँछौँ तर आफैँ समाचार खोज्न मेहनत गर्ने स्वभाव हामीमा कम छ । यो मैले भन्नैपर्छ ।
पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
पत्रकारितामा लागेर मैले स्वतन्त्रता पाएको छु । जागिरे बन्धनबाट मुक्त छु म । आफूले चाहेको क्षेत्रमा काम गर्दा एउटा सुखानुभूति हुँदो रहेछ । मलाई आफ्नै क्षेत्र महसुस हुन्छ पत्रकारिता । पत्रकारितामा भएकै कारण मैले केही गुमाएको महसुस गरेको छैन ।
यदि पत्रकारितामा नभएको भए तपाईं कहाँ हुनुहुन्थ्यो ?
पत्रकारितामा नभएको म कहाँ हुन्थेँ ? पत्रकारितामा नभएको म शायद शिक्षण पेशामा हुन्थेँ । पत्रकारितामै छँदा पनि म कहिलेकाहिँ विद्यार्थी भाइबहिनीहरुसँग अन्तर्क्रिया गर्छु जुन मलाई बिछट्टै मन पर्ने काम हो । मेरो बुबा पनि शिक्षक हुनुभएका कारण म पनि सायद शिक्षक नै बन्थेँ । पत्रकारितामा आउनुभन्दा अगाडि म इलामको एउटा स्कुलमा म्याथ र साइन्स पढाउँथे ।
अन्त्यमा अरु केही ?
पत्रकारिता एउटा सुन्दर पेशा हो । म भाइबहिनीहरुलाई पत्रकारितामा आउन प्रेरित गर्छु । तर, पत्रकारितामा पैसा कमाउन चाहिँ नआउनुस् । पैसा यहाँ कमाइ हुँदैन । पैसा कमाउन व्यापारतिर लागे हुन्छ । तर, समाजमा लुकेर बसेका राम्रा र नराम्रा दुवै पक्षलाई बाहिर ल्याएर पाइने आत्मसन्तुष्टि भने यो पेशामा खुब मिल्छ ।