पत्रकारिता पनि विषय हुन्छ भन्ने थाहा थिएन
नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष भीम गौतम । तर, नेपालनाम्चाको नयाँ स्तम्भ ‘पत्रकारलाई ५ प्रश्न’मा त्यसबारे कुनै सम्वाद भएन । जे भयो, जस्ताको तस्तैः
किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो । र, सोचेजस्तै गरिरहनु भएको छ ?
२०५४ सालमा काभ्रेको तत्कालीन च्यासिंखर्क गाउँ विकास समिति र हालको बेथानचोक गाउँपालिकाको आत्मा विकास माविबाट प्रवेशिका परीक्षा (एसएलसी) पास भएपछि म उच्च शिक्षाको लागि काठमाडौं आएँ । दिउँसो जागिर खाएर राती अध्ययन गर्ने हिसाबले म आरआर कलेज पुगेँ । भर्नाको लागि फर्म भर्न समस्या भएपछि नजिकै फर्म भरिरहेका एक जना अपरिचित साथीसँग सहयोग मागेँ । त्यो साथीले एउटा बिषय पत्रकारिता राखेको रहेछ । मलाई पनि खुल्दुली भयो । तत्कालीन अवस्थामा विकट ढुंखर्कको गोर्खालीगाउँ (नेपाल र अंग्रेजबीच च्यासिंखर्कको कपेरथानमा लडाई भएपछि बास बसेको ऐतिहासिक ठाउँ) मा जन्मेको मेरो लागि पत्रकारिता विषय हुन्छ भन्ने नै थाहा थिएन । साथीले पत्रकारिताबारे बुझाएपछि मेरो मन तत्काल परिवर्तन भयो । आरआरमा पत्रकारिता विषय अध्ययन गर्न थालँे । २०५५ सालदेखि गतिविधि साप्ताहिकबाट पत्रकारिता सुरु गरेँ । सुरुमा त अज्ञानताबश् सहभागी भएँ तर गर्दै जाँदा पत्रकारितामार्फत देश र समाजका लागि केही गर्छु भन्ने लाग्यो । काठमाडौंमा केही बर्ष काम गरेपछि आफ्नै जिल्ला फर्किएँ । स्थानीयदेखि राष्ट्रिय मिडियामा आवद्ध भएर काम गरेँ । १० बर्षको काभ्रे बसाईमा एकदम विकट डाँडापारीदेखि कोशीपारीसम्म पुगेर त्यहाँका धेरै विकास र जनताका मुद्दा उठाइयो । अहिले डाँडापारी यात्रा गर्दाका संघर्षका दिन सम्झँदा एकदम प्रफुल्लित हुन्छु । अति विकट भएकोले डाँडापारीमा पत्रकार पुग्न ठूलै जोखिम मोल्नुपर्दथ्यो तर पटक–पटक गएकोले डाँडापारीका धेरैले मलाई नजिकबाट चिन्थे । आदर गर्थे । काभ्रेले मलाई स्थलगत पत्रकारिताको राम्रै अनुभव गरायो । काभ्रेमा पत्रकारिता गर्दा स्नात्तकमाथिको मेरो पत्रकारिताको पढाईमा ब्रेक लागेको थियो । झण्डै ११ बर्षपछि काठमाडौं नै फर्केर पत्रकारिता गरिरहेको छु । पत्रकारिताको पढाईमा एमफील सकेँ । केही समयपछि पीएचडी गर्ने तरखर गरिरहेको छु । पत्रकारितालाई निरन्तरता दिँदै हाल कारोबार दैनिकको प्रमुख संवाददाताको रुपमा काम गरिरहेको छु । काठमाडौं आएपछिको आर्थिक पत्रकारितामा काभ्रेको स्थलगत अनुभवले धेरै सहयोग गरिरहेको छ । पत्रकारितामा केही त गरिरहेको छु तर सोचेजस्तो एकदम डेफ्थ र गहकिला समाचार लेखनका लागि संघर्ष गरिरहेको छु । मेरो रिसर्चमा पनि खुब रुची छ ।
पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
पत्रकारिताको सबैभन्दा ठूलो सुख भनेको प्रत्येक दिन नयाँ सुचनाहरुको प्राप्ति गर्नु हो । पत्रकारहरुहरु संसारमै यसकारण सबैभन्दा बढी भाग्यमानी हुन् किनकी उनीहरुले प्रत्येक दिन नयाँ सुचनाहरु पाईरहेका हुन्छन् । त्यो सुचनाको आधारमा समाचार बनाइरहेका हुन्छन् । हरेक पेशाभित्र दुःख, सुख दुवै हुन्छन् र सबैभन्दा सुख भनेकै आजको एक्काइशौ शताब्दीमा नयाँ सुचनामा पत्रकारहरुको पहुँच हुनु हो । पैसा सबथोक हो भन्नेका लागि केही दुःख छन् तर सुचनाको आधारमा मात्र व्यक्ति वा देश धनी हुन्छ भन्ने अवधारणाको विकास भइरहेको बेला हामीले कमाइरहेको नयाँ सुचनाको सम्पत्ति अरु सबै सम्पत्तिभन्दा धेरै ठूलो छ । पत्रकारितामै निरन्तर रुपमा लाग्छु भनेर लाग्नेहरुको लागि सुरुको केही समय दुख भएपनि सधैका लागि सुख प्राप्ति हुन्छ । यद्यपि सम्पत्ति भनेको पैसा मात्र हो भन्ने अवधारणाको गलत विकासले हामीलाई पनि अछुतो राख्न सकेको छैन ।
नेपाली पत्रकारिताका राम्रा–नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
नेपालको पत्रकारिताको इतिहास धेरै लामो छ तर यो अनुसार व्यवसायिक पत्रकारितामा अहिले पनि प्रश्न उठिरहन्छन् । पत्रकारिताको सिद्धान्त, दायित्व, जिम्मेवारी र आचारसंहितालाई भुल्दा केही समस्या अवश्य आएका छन् । व्यक्तिगत स्वार्थमा पत्रकारितालाई उपयोग गर्न खोज्नु नेपाली पत्रकारिताको सबैभन्दा बिडम्बना हो । पत्रकारको सुचना माग्ने र प्राप्त गर्नेमा विशेषाधिकार हुनु अस्वभाविक होइन तर हरेक क्षेत्र र सेवामा हामी विशेषाधिकार खोज्छौ । पत्रकारको परिचयको आधारमा यस्तो गर्ने कोशिस गछौ, यो गलत हो । पत्रकारको कुनै जात, धर्म, पार्टी, भुगोल, क्षेत्र, समुदाय, लिङ्ग, द्धेष, कुण्ठा, स्वार्थ हुँदैन भन्ने यथार्थलाई बुझ्न सके पत्रकारिता व्यवस्थित हुन्छ । जसरी हामी मन्दिरमा प्रवेश गर्दा जुत्ता, चप्पल फुकाल्छौ, त्यसैगरी पत्रकारितामा प्रवेश गरेपछि पवित्र मन्दिरमा प्रवेश भएको दृढ विश्वाससाथ सकृय भयौं भने पत्रकारिता व्यवस्थित हुन्छ ।
पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
पत्रकारितामा प्रवेश गरेर सबै प्राप्त भएको छ । नाम र दाम दुवै । अक्सर कुनै पनि पेशाबाट यो दुवै प्राप्ति हुँदैन । सञ्चारको सिप (कम्युनिकेशन स्कील) सबै पेशाका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । सबैभन्दा बढी हामी पत्रकार यसैमा रमाउँछौ । यसकारण अरु पेशाभन्दा उम्दा हुन्छौं । गुमाएको केही कुरा छैन, खाली नयाँ सुचनाको प्रवाहका लागि दौडिने भएकोले सोचेजस्तो परिवार र आफन्तलाई समय दिन पाइदैन । पत्रकारितामा लाग्नेले गुमाउने भनेको यही मात्र हो ।
यदि तपाई पत्रकारितामा नभएको भए कहाँ हुनुहुन्थ्यो ?
सायद म पत्रकारितामा नलागेको भए शिक्षक बन्थेँ । मैलै एसएलसी दिएपछि आफू पढेको स्कूलको ९ कक्षालाई पढाएको पनि थिएँ । काठमाडौं नआएको भए त्यही विद्यालयमा शिक्षक हुन्थेँ । हुन त अहिले पनि पत्रकारिता पढाउँछु । पहिला सगरमाथा कलेजमा ११ र १२ र स्नात्तकलाई पढाएको थिएँ । अहिले सेफर्ड कलेजमा स्नातकोत्तर र स्नातकलाई पढाउँछु । पत्रकारितामा नलागेको भए सायद म गाउँमा बसेर पढाउँदै पत्रकारिताको एउटा असल पाठक, स्रोता वा दर्शक हुन्थेँ होला ।