पत्रकारिताकै आडमा अन्य ‘धन्दा’ नगरिदिनु होला

कलम र मुख दुवै उत्तिकै छुरा । खेलकुददेखि राजनीतिसम्मका विषयमा उस्तै प्रखर प्रस्तुति । विश्लेषकहरुको अन्तर्वार्ता त नियमितै लिन्छन्, पछिल्लो समय आफै पनि कुनै विश्लेषकभन्दा कम देखिदैनन् । नेपालनाम्चाको नयाँ स्तम्भ ‘पत्रकारलाई ५ प्रश्न’मा कान्तिपुर एफएमका समाचार प्रमुख उनै पवन आचार्य

किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो ? र, सोचेजस्तै गरिरहनु भएको छ ?
म यो संसार अलिअलि जान्ने र बुझ्ने हुनेबेलाबाटै एकजना पत्रकारको सानिध्य र छत्रछायाँमा रहने सौभाग्य प्राप्त भयो । बुवा (आनन्दराम आचार्य) पत्रकार नहुनु भएको भए म शायदै आज यो क्षेत्रमा हुन्थें । स्कूल पढ्नेबेलाबाटै म मुना मासिकमा कविता लेख्थेँ । त्यतिबेला स्कूलमा ख्याति पनि कमाइन्थ्यो र साथसाथै अलिअलि पारिश्रमिक पनि पाइन्थ्यो । यो पेशा मलाई बडो अद्भूत लाग्यो, भन्नाले नाम र दाम दुबै हुने । त्यसैले म यता लाग्न प्रेरित भएँ । भलै मैले बीचमा केही बाटो बिराएँ ।
म जे सोचेर यसमा होमिएको थिएँ, त्यस्तै नै यो क्षेत्र पाएको छु । गर्न बाँकी त थुप्रै छ । सिक्दैछु ।

पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
मलाई कसैले बाध्यतामा पारेर वा घचेडेर यो क्षेत्रमा होमेका हैनन् । म आफैंले रोजेर यसमा लागेको हुँ । त्यसैले यो क्षेत्रमा त्यति दुःख छैन । पत्रकारिताको सबैभन्दा ठूलो सुख भनेको आत्मसन्तुष्टि हो । र, यो क्षेत्रमा तपाईं हरेक दिन नयाँ काम गर्दै नयाँ मान्छेसँग घुलमिल हुँदै नयाँ, नवीन र ताजा अनुभवहरु बटुल्न पाउनु हुन्छ । यस्तो मेसो शायदै अरु पेशा व्यवसायमा मिल्ला । काम गर्ने तरिका फरक होलान् तर पत्रकारितामा दुःख त देख्दिन म ।

नेपाली पत्रकारिताका राम्रा नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
नेपाली पत्रकारितामा पछिल्लो समय मौलाएको नराम्रो पक्ष भनेको म किन कुनै पनि सञ्चारमाध्यम सञ्चालन गर्ने ? भन्ने प्रश्नको जवाफ बिना नै यसमा लगानी गरेर मालिक हुने प्रवृत्ति मौलाउनु हो । यसले समग्र नेपाली पत्रकारिताकै बद्नाम गरेको छ र यसमा आश्रित सञ्चारकर्मीलाई विचरा र बबुरोझैं तुल्याएको छ, समाजको नजरमा । अरु पेशा र व्यवसायभन्दा सञ्चारकर्म किन फरक छ भन्ने समेत नबुझ्ने मिडिया मालिक भएपछि नेपाली पत्रकारिता प्रताडित त हुने नै भयो ।
नीति बनाएर कसैको नियत परिवर्तन गर्न सकिन्न भन्ने मेरो मान्यता हो । समयक्रमसँगै यसमा पनि आवश्यक सुधार होला । तर, पत्रकार आफैंले चाहेर मात्रै यो परिस्थिति कायापलट होलाजस्तो मलाई लाग्दैन ।

पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
मैले पत्रकारितामा लागेर केही गुमाउनु परेको छैन । मसँग आज जे छ यो सब पत्रकारिताकै देन हो । गुमाउनका लागि पहिले नै केही हुनुपर्छ । तर, पत्रकारितामा आउनुपूर्व मसँग केही थिएन । त्यसैले अहिले जेजति माया, सद्भाव, स्नेह, आफन्त, साथीभाइ, सम्बन्धीहरु छन्, ती सब पत्रकारितामा लागेर नै मैले आर्जेको हो ।

यदि तपाई पत्रकारितामा नभएको भए तपाईं कहाँ हुनुहुन्थ्यो ?
म स्कूलमा पढ्दा नै वादविवाद प्रतियोगितामा सधैं प्रथम हुन्थें । यो देखेर शिक्षक-शिक्षिकाले वकिल बन्न सुझाव दिनु हुन्थ्यो । घरमा इन्जिनियर बनोस् भन्ने सोच्थे । तर, म यदि पत्रकार नभएको भए शायद वकिल हुन्थेँ कि ?

अरु केही ?
खास त्यस्तो भन्ने अवस्थामा त म छैन । तर, अचेल पत्रकारहरु तलब बिना काम गरिरहेको, ८–९ महिनादेखि तलब नपाएको आदि भन्ने सुनिन्छ । यदि तपाईं दोस्रो महिनासम्म तलब नदिँदा पनि त्यो संस्था छोडेर अर्को काम खोज्नु हुन्न भने समस्या संस्थामा मात्रै होइन, तपाईंमा पनि छ भन्ने बुझिन्छ । बरु धेरथोर हुन सक्ला, परिश्रम र पसिना बिना कुनै मूल्य नबगाउनुस् भन्न चाहन्छु ।
र, तपाईंको गुजारा पत्रकारिताबाट हुन्न भन्ने लाग्छ भने अर्को पेशा रोज्न तपाईं स्वतन्त्र हुनुहुन्छ । यसकै आडमा चाहिं अन्य धन्दाहरु नगरिदिनु होला ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button