‘पत्रकार नभएको भए मान्छे हुन्थेँ’

राजनीतिज्ञ, उद्यमी या चित्रकार बन्न चाहन्थे । र, जीवनमा ‘पत्रकार कदापि नबन्ने’ अठोट थियो । उल्टो भयो । पत्रकार बने । र, पत्रकारितामा बत्तिस बर्ष बितेको पत्तै भएन उनलाई । भन्दै थिए, ‘मानिसले पत्रकार भनेर चिन्न थालिहाले, मैले आफ्नो मौलिक परिचय स्थापित गर्नै भ्याइन ।’ नेपालनाम्चाको नयाँ स्तम्भ ‘पत्रकारलाई ५ प्रश्न‘मा उनकै शब्दमा ‘मान्छे’ बन्न नसकेका पत्रकार देवप्रकाश त्रिपाठी

किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो ? र, सोचेजस्तै गरिरहनु भएको छ ?
म जीवनमा राजनीतिज्ञ, उद्यमी या चित्रकार बन्न चाहन्थेँ । तीनमध्ये एक कुनै बन्नुपर्ला भन्ने सोच थियो, तर जीवनमा पत्रकारचाहिँ कदापि बन्ने छैन भन्ने अठोट पनि थियो । पञ्चायतकालको बहुचर्चित पत्रिका विमर्शका सम्पादक हरिहर विरहीजीसँग २०४४ सालमा जेलमा भेट भयो, भेट मात्र भएन, मित्रता पनि गहिरो बन्यो । पछि जेलबाट निस्किएपछिको एक दिन विरहीजीलाई अपमानित ढङ्गबाट हटाइएको सूचना सार्वजनिक भयो। उहाँलाई केही महिनाका निम्ति सघाउन पत्रिकामा जोडिएको, बत्तिस बर्ष बितेको पत्तै भएन । मानिसले पत्रकार भनेर चिन्न थालिहाले, मैले आफ्नो मौलिक परिचय स्थापित गर्नै भ्याइन ।
आफ्नो पेशामा रहेर जे गरिरहेको छु भित्री दिलदेखि नै गर्दैछु । जानाजान गल्ती गरेको छैन । पहिलो डेढ दशक कमजोरीयुक्त रह्यो जस्तो लाग्छ, पछिल्लो समय मेरो पत्रकारिता देशकेन्द्रीत रहँदै आएको छ ।

पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
मनैदेखि गरिने हरेक काममा आनन्दको अनुभूति हुनेछ । पत्रकारिताको सुखद पक्ष जनसम्पर्क हो, अनेक विषयमा धेरथोर ज्ञान आर्जनको अवसर पाउनु, हरेक क्षेत्रका मानिसको बिशेषताबारे जानकारी प्राप्त गर्नु, सधै क्रियाशील भैरहन पाउनु, समाजलाई नयाँ जानकारी गराउन सक्नु र पात्र तथा प्रवृत्ति सजिलैसँग चिन्नसक्ने क्षमताको विकास हुनुलाई मैले सुखद पक्ष मानेको छु । पत्रकारले आफ्नो बारेमा चासो राख्ने समय नै पाउँदैन, जसका कारण अनेक प्रकारका समस्याहरू झेल्नुपर्ने हुन्छ । गरिबीमा रमाउनुपर्ने बाध्यतामा अधिकाँश पत्रकार हुन्छन्, सायद यो दुस्खद पक्ष हो ।

नेपाली पत्रकारिताका राम्रा नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
नेपाली पत्रकारिता मिसनमूक्त हुन सकेन । पहिले राजनीतिक मिसन मात्र हुन्थ्यो, अचेल त्यसमा ‘मिसन मनि’ थपिएको छ। नकारात्मक र गैरजिम्मेवार छ नेपाली पत्रकारिता भनियो भने गलत हुनेछैन । तर, जनचेतना जगाउन र मानिसलाई जागरुक तुल्याउन पत्रकारिताको विशिष्ट योगदान छ । राम्रो पक्ष पनि यही नै हो । यो क्षेत्रलाई राम्रो बनाउनु भनेको जिम्मेवार , विश्वासपूर्ण, सकारात्मक र समर्थ बनाउनु हो । पत्रकार बन्न र पत्रिका दर्ता गर्न निश्चित मापदण्ड बनाउनु पर्ने हुन्छ । संचार माध्यमको मूल्याङ्कन दर्शक, श्रोता र पाठक सङ्ख्याका आधारमा गर्ने गरिन्छ । वास्तवमा अन्तरवस्तुलाई मूख्य आधार बनाएर मूल्याङ्कन गर्न थालियो भने पत्रकारिता क्षेत्रमा ठूलो सुधार आउनेछ ।

पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
मँसँग गुम्ने भय र प्राप्तिको आशा नभएकोले यो प्रश्नको जवाफ दिन असमर्थ भएँ ।

यदि तपाईं पत्रकारितामा नभएको भए कहाँ हुनुहुन्थ्यो ?
म पत्रकार नभएको भए मान्छे हुन्थेँ भन्ने लागिरहन्छ । मान्छेमध्ये राजनीतिकर्मी, उद्यमी या चित्रकार हुनसक्थेँ कि जस्तो लाग्छ । राम्रो पत्रकार बन्न सबैभन्दा पहिले आफूलाई यन्त्रमा रुपान्तरण गर्नसक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button