‘पत्रकार भएरै नेपाली छातीमा गाडिएको विदेशी झन्डा हटाएको छु’
पत्रकारिता उनको ‘नशा’ ।
‘पत्रकारितामा ख्याल–ठट्टा मान्य छैन’, उनी भन्छन्, ‘यो निरन्तर इतिहास लेखन कर्म हो ।’ र, २०४५ सालदेखि त्यही कर्ममा छन् । र, उनी यो पनि भन्न पछि पर्दैनन्, ‘पत्रकार भन्नेबित्तिकै मान्छेले नाक खुम्च्याएको देख्नु नपरोस् ।’
र, उनले भने, ‘मान्छेहरू लेखेर के हुन्छ र भन्ने प्रश्न गर्छन् । मैले भारतले अनधिकृत हडपिरहेको नेपाली जमिन (चतरा स्वाइल कन्जरभेसन) लेखेरै उनीहरूको हातबाट छुटाएको छु । कम से कम नेपाली छातीमा विनाअनुमति गाडिएको एउटा भए पनि विदेशी झन्डा हटाएको छु ।’
नेपालनाम्चाको नयाँ स्तम्भ ‘पत्रकारलाई ५ प्रश्न’मा कोसी अनलाइनका सम्पादक उनै सुविद गुरागाईं ।
किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो ? सोचेजस्तै गरिरहनुभएको छ ?
म सुरुदेखि नै लेख्ने सिप तिखारिरहेको मान्छे थिएँ । त्यसलाई व्यावसायिक बनाउनु थियो । समाजमा आफूलाई विशिष्ट पात्रका रूपमा उभ्याउनु पनि थियो । शिक्षण कर्मसँगसँगै साँझ–बिहान विनालगानी गर्न सकिने वैकल्पिक रोजगारीको खोजी पनि थियो । स्पष्ट बोल्ने मेरो सानैदेखिको बानी हो, जसलाई संस्थागत गर्नु थियो, एउटा ठुलो सङ्गतिमा जोड्नु थियो ।
म सोचेर, सिप विकास गरेर होइन, अग्रजहरूले समाजमा सम्मान पाएको देखेर, आफू पनि त्यस्तै हुने रहरले पत्रकारितामा लहसिएको हुँ । अब त नशा भइसक्यो ।
सोचेजस्तो हुबहु त जीवनको कुनै क्षेत्रमा पनि नहुने रहेछ । तथापि एक व्यावसायिक पत्रकार, लेखक हुने अधिकतर प्रयत्नमा २०४५ सालदेखि निरन्तर छु ।
पत्रकारिताका सुख–दुःख के हुन् ?
राज्यको चौथो अङ्गका रूपमा सम्मानित पत्रकारिता कर्म मेरा लागि दुःखको कारण कहिले बनेन । ‘विद्यालय जाने बाटोमा सेनाको बम’ शीर्षकमा तस्बिरसहित समय साप्ताहिक र राजधानी दैनिकमा समाचार छपाएको निहुँमा तत्कालीन युनिफाइड कमान्डको एउटा टुकडीले घेरेर बन्दुकको कुन्दै–कुन्दाले हिर्काउँदा पनि मनोबल खस्केन ।
कहिलेकाहीँ लेखनको अभीष्ट अनुसार बुझ्नुपर्नेले कुरा बुझ्न नचाहेको देख्दा भने दुःख लाग्छ । पत्रकारितामा भाषा र लेखन–सिपको स्तर खस्केको देख्दा दुःख लाग्छ । समाजमा पत्रकारिताको खोल ओडेर भित्री धन्दा अर्कै गर्ने थुप्रै मानिस छन् । तिनलाई नाङ्गेझार पार्न सकिएको छैन, दुःख लाग्छ ।
नेपाली पत्रकारिताका राम्रा, नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
पत्रकारिताको राम्रो पक्ष भनेकै इमानदार पत्रकारले समाजबाट पाउने सम्मान हो । व्यावसायिक भन्दाभन्दै पनि भुइँ तह, सीमान्तकृत, पीडितको ‘अन्तिम’ भरोसा हुन पाउनु ठुलो कुरा हो । कसैले औँल्याउन नसकेको साहस पत्रकारिताले दिन्छ । समाजका सबै वर्गलाई असल के हो, खराब के हो भनी ‘सिकाउने’ विशिष्ट अवसर पत्रकारिताबाट प्राप्त छ । निरन्तर सकारात्मक परिवर्तन र अपेक्षा यसमा जोडिएको छ । आवाजविहीनहरूका पक्षमा योभन्दा बलियो हतियार अर्को छैन ।
पत्रकारिताको नाम भजाउनेहरू यसका ऐँजेरु हुन् । मिडियामा लगानीका नाममा कतिपय कालो धन सेतो बनाउने खेलहरू पनि छन् । लगानीकर्ता र सम्पादकहरू एलिट (सुकिलोमुकिलो) बनेर, करोडको गाडी चढेर हिँड्ने तर मातहतका श्रमजीवी पत्रकारहरूको आत्मा रुवाउने, तीन–चार महिनासम्म पनि पारिश्रमिक नदिने खेलोफड्को छ । मुखले व्यावसायिक भन्ने तर व्यवहारमा प्रयोग गरिएका सामग्री सर्जकलाई सकेसम्म पैसा नदिन पाए हुन्थ्यो भन्ने, स्थलगत, खोजी र मौलिक सामग्री कम, कपि–पेस्ट बढी हुन थालेको छ । एउटै म्याटर १० वटा मिडियामा हुन थालेका छन् । समाचार–सूचना लुकाउने, लेखाइलाई डरको माध्यम बनाएर हप्ता असुली गर्नेहरू पनि छन् । पेसागत सङ्गठनहरू पेसागत शुद्धीकरणमा कम राजनीतिक दलालीमा बढी केन्द्रित छन् । यी सब पत्रकारितामा हुर्किरहेका एक से एक नराम्रा प्रवृत्तिहरू हुन् ।
पत्रकारितामा राम्रोको मात्रा बढाउन पत्रकारको चरित्र व्यावसायिक हुनुप-यो । खोज, अनुसन्धान र गुणस्तरीय उत्पादनमा लगानी बढाउनुप-यो । प्रयोग भएका सामग्रीको भुक्तानी हुनुप-यो । सत्ताप्रति ताबेदारी कम, जनताप्रति जबाफदेही बढी हुनुप-यो । समयानुकूल सिप विकास र पत्रकार आचारसंहिता आत्मसात गर्नुप-यो ।
पत्रकारितामा लागेर के पाउनुभयो ? के गुमाउनुभयो ?
मेरो कवि हुने रहर केही बरालियो होला । त्यसबाहेक पत्रकारितामा लागेर मैले गुमाएको केही छैन । शुभेच्छुक साथीहरूको ठुलो जमातका बीचमा म छु । साह्रो–गाह्रो परेको थाहा पाउनासाथ साथीहरू सहयोगका लागि आफैँ जुट्छन् । मन लागेको लेख्न पाएको छु, काम गर्न पाएको छु । पुरस्कृत र सम्मानित भएको छु । मान्छेहरू लेखेर के हुन्छ र भन्ने प्रश्न गर्छन् । मैले भारतले अनधिकृत हडपिरहेको नेपाली जमिन (चतरा स्वाइल कन्जरभेसन) लेखेरै उनीहरूको हातबाट छुटाएको छु । कम से कम नेपाली छातीमा विनाअनुमति गाडिएको एउटा भए पनि विदेशी झन्डा हटाएको छु ।
यदि पत्रकारितामा नभएको भए तपाईं कहाँ हुनुहुन्थ्यो ?
यदि म पत्रकार नभएको भए एउटा चर्चित कवि हुन्थेँ । म बालखैदेखि कवि हुने रहरसहित हुर्केका मान्छे हुँ । तथापि म आधा कविचाहिँ सँगसँगै छु ।
मेरो जे काम गर्दा पनि सिपसँगै दिल मिसाउने बानी छ । मसँग सच्याउने तत्परता पर्याप्त छ । यही सबलताको आधारमा म टिकेको छु ।
मान्छेले सडक सफा गर्दा यसरी गर्नुपर्छ, जसरी माइकल एन्जेलोले चित्र बनाउँछन्, बेथोविनले सङ्गीत रचना गर्छन् र शेक्सपियरले कविता लेख्छन्, ताकि मान्छेले भनुन्- हो, यहाँ सडक सफा गर्ने मान्छे बस्छ । मार्टिन लुथर किङ जुनियरको यो भनाइ सधैँ सम्झिरहन्छु ।
अरू केही ?
पत्रकारितामा ख्याल–ठट्टा मान्य छैन । यो निरन्तर इतिहास लेखन कर्म हो । अहिले हामीले गरिरहेको काम भावी पुस्ताका लागि अकाट्य सन्दर्भ–सामग्री बनोस् । भैरव रिसालजस्ता प्रेरक पत्रकारहरूको सङ्ख्या बढोस् । पत्रकार भन्नेबित्तिकै मान्छेले नाक खुम्च्याएको देख्नु नपरोस् । सबैको जय होस् !