केपी ढुंगाना पत्रकारिताले दिएको पहिचान हो, नत्र कृष्णप्रसादै रहन्थेँ
उनले जे जति बोले, प्रत्येक लाइन नै हेडलाइनजस्तो । त्यसमाथि फटाफट । भन्दै थिए, ‘अनलाईन पत्रकार हुँ नि यार ! एकै प्रश्नमा २-३ वटा उत्तर दिनुपर्यो । तर, कैँची नलगाउँ है ।’ नेपालनाम्चाको धारावाहिक प्रस्तुति ‘पत्रकारलाई ५ प्रश्न‘मा उकेराका प्रधानसम्पादक उनै कृष्णप्रसाद उर्फ केपी ढुंगाना ।
पत्रकारिता कसरी सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो । र, सोचेजस्तै गरिरहनु भएको छ ?
आरआर कलेजमा पढेर पनि पत्रकारिता विषय लिइनँ । मलाई पत्रकारितामा रसै थिएन । वकिल बन्ने भुत चढेको थियो ममा । तर, बीए पास गरेर मात्र बीएल पढ्न पाइने भएपछि आरआरमा पढेँ । पछि समाजशास्त्र पढ्न त्रिचन्द्र गएँ । तर, नयाँ कुरा सिक्न सधै इच्छुक । खाली बस्न नसक्ने । यही बानीले प्लम्बिङदेखि इलेक्ट्रिकल तालिमसम्म लिएको छु । पत्रिकामा पत्रकारिताको १० महिने कोर्सको विज्ञापन देखेपछि कस्तो हुँदो रैछ त भनेर २०५८ सालमा मिडियाप्वाइन्ट गएँ । त्यहीँको वातावरणले पत्रकारिताको रस बसायो र यात्रा जारी छ ।
मिडियाप्वाइन्टको ब्याचमा ३४ जना थियौं क्यार। प्राय सबै मिडिया बुझेका । लिड, एंकर भनेर पढाउँदा म त ट्वाँ पर्थे। केहीले जिस्काए पनि । झोक चल्यो । यिनीहरुलाई देखाइदिन्छु भनेर रिपोर्टिङको अभ्यास शुरु गरेँ। पत्रिकामा छापिएका समाचार रिराइट गरेर अभ्यास थालेँ । त्यो इन्स्टिच्युटमा श्रीरामसिंह बस्नेत र अर्जुन सर हुनुहुन्थ्यो । रिपोर्टिङ गरेर एउटा समाचार हेरिदिनु न भनेर दिएको यो त पत्रिकामा छाप्दा हुन्छ भन्नुभयो र नेपाल समाचारपत्रमा पठाइदिनुभयो । कमलदाई हुनुहुँदो रैछ । गएर समाचार दिएँ । छापियो प्रशिक्षार्थी पत्रकार भनेर। मक्खै । साथीहरुलाई देखाएँ । राजधानी दैनिकले इन्द्रेणी पेजमा बाहिरकाको नि छाप्थ्यो । त्यसमा लेख्न थालेँ । साथीहरूले जिस्काको झोकमा रिपोर्टिङमा हिड्दाहिड्दै रस बस्यो। ती साथीहरुलाई धन्यवाद ।
अन्यभन्दा अलग काम गर्न मन लाग्छ मलाई । अझ जोखिमपूर्ण काममा बढि इन्जोय गर्छु । १८ वर्षको यात्रामा यस्ता धेरै जोखिम मोलेँ पनि । अहिलेसम्म रमाइलै लागेको छ । सोचेजस्तो सबै कहाँ हुन्छ र । तर जे जति काम गर्न सकेको छु । खुसी छु । प्रयासरत छु ।
पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
आज मैले कस्तो काम गरेँ, आजै दौखिन्छ । गाली कि ताली ? तत्काल नतिजा आउँछ। यही हो यो पेशाको सुख । प्रकाशन गृह अझै पनि व्यवसायिक हुन सकेनन् । कर्पोरेट अफिस छ । व्यवहार र सोचचाहिँ कुटिर उद्योगग जस्तो। बदमासी गर्नेलाई खवरदारी गर्ने पेशामा बदमास हावी हुने जोखिम बढ्दो छ । पत्रकार चरम मानसिक र आर्थिक शोषणमा छन् । बनेको कानुन प्रकाशकले मान्दैनन्, पत्रकारले कानुन अनुसारको सुविधा नदिए काम गर्दिन भन्न सक्दैनन् । यही हो दुख ।
नेपाली पत्रकारिताका राम्रा नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
समस्या र विकृतिको रास भए पनि नेपाली पत्रकारितामा अझै आश जीवित छ । प्रविधिको विकासले मिडिया क्षेत्र ठुला प्रकाशन गृहको एकाधिकार तोडियो । नयाँ(नयाँ प्रयोग भइरहेको छ। विश्वसनियता मिडिया हाउसबाट पत्रकारमा सरेको छ । अहिले कहाँ छापिएको समाचार होइन, कसले लेखेको समाचार भनेर हेर्नेपढ्ने पाठक बढेका छन् । भारतीय मिडियालाई झै सत्ता र शक्तिले पत्रकारिताको मुल्यमान्यताको हत्या गर्न भ्याइसकेका छैनन् । पत्रकारिता अझै ज्युँदै छ नेपालमा । मिडिया हाउस सञ्चालक अनि हामी पत्रकारले पनि बेलाबखत कानुनभन्दा माथि ठान्ने भुल गर्छौ । मिडिया हाउसको सञ्चालक हुनु वा पत्रकार हुनु भनेको बदमासी गर्ने लाइसेन्स हैन । हामी थप जिम्मेवार हुनुपर्ने हो । तर, हुन सकेका छैनौ । पत्रकारको सेवा सुविधा तोकेको श्रमजीवि पत्रकार ऐन आएको २५ वर्ष बढी भयो तर अझै कार्यान्वयन भएन । हामी आफ्नै कानुनी अधिकार लिन नसक्ने गरी कमजोर छौ । हामी आफ्नै शोषणबारे बोल्न नसक्ने गरी निरीह छौ । प्रकाशकको दादागिरी चल्छ न्युजरुमदेखि कोर्टरुमसम्म । यही हो नराम्रा पक्ष । अन्यको बदमासी उजागर गर्ने जिम्मेवारी भएको पत्रकारिता क्षेत्रमा आएर आफै बदमास नहुने, नगर्ने । सुधार्ने बाटो यही हो।
पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
केपी ढुँगाना मलाई पत्रकारिताले दिएको पहिचान हो । यो क्षेत्रमा नआएको भए म कृष्णप्रसादको पहिचान लिएर हिँडिरहेको हुन्थेँ। समाज बुझ्ने मौका दियो यो पेशाले । विश्लेषण गर्नसक्ने बनायो । अन्यको बदमासी औंल्याउने जिम्मेवारीले बदमासी गर्ने छुट दिएन । बदमास हुनबाट जोगायो यो पेशाले । ब्यक्तिगत र परिवारको लागि समय निकाल्न हम्मे पर्नु सामान्य नै भए । अहिलेसम्म उल्लेख गर्नुपर्ने गरी त्यस्तो केही गुमाएको भने छैन । पाएकै छु अहिलेसम्म ।
यदि तपाई पत्रकारितामा नभएको भए तपाईं कहाँ हुनुहुन्थ्यो ?
मेरो स्वभाव देखेर स्कुलका गुरुहरु ममा वकिल र पत्रकारको गुण छ भन्नुहुन्थ्यो । मलाई कालो कोट मन पनि पर्ने । एसएलसीपछि कानुनै पढ्ने योजना नि थियो । बीए पासपछि बीएलको नियम नबनेको भए पक्का वकिल हुन्थेँ । पत्रकारितामा आएपछि पनि रहर मेटिएको थिएन । एलएलबी पढेँ पनि । तर, पास चैं भइएन ।
अरु केही ?
मिडिया पोइन्टमा श्रीरामसिंह बस्नेत सरले भनेको खुब सम्झन्छु, ‘पैसा कमाउने उद्धेश्य छ भने पत्रकारिता नआउनु । बरु नाङलो पसल थाप्नु । यसले मध्यमतहको आर्थिक हैसियत बनाइदिन्छ। तर, कार र बंगलाको हैसियत दिँदैन । नैतिकता नभए प्रश्न गर्न सकिन्न । पत्रकारिता प्रश्न गर्नैपर्ने पेशा हो ।’ यही भनेँ मैले पनि।