म ‘देश बनाउन’ पत्रकारितामा आएको थिइनँ
कडाभन्दा कडा तर उनकै शब्दमा ‘नागरिक खबरदारीवाला प्रश्न’ले नेताहरुलाई ‘आच्छुआच्छु’ बनाइरहेका छन् । पछिल्लो दशक खासगरी रेडियो र टेलिभिजन पत्रकारका रुपमा निरन्तर चर्चामा रहेका ठाकुर बेल्बासेको पत्रकारिता सुरुवात भने ‘प्रिन्ट’बाट भएको हो । ‘नेपालनाम्चा’ले सुरु गरेकोे धारावाहिक श्रृंखला ‘पत्रकारलाई ५ प्रश्न’मा बेल्बासेको पत्रकारिता प्रारम्भका रोचक अन्तरकथा ।
किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो । र, सोचेजस्तै गरिरहनु भएको छ ?
पत्रकारिता नै गर्छु भन्ने कुनै योजना थिएन । स्कूले जीवनमा कविता लेख्ने र साहित्यिक पुस्तक पढ्ने गर्थेँ । मनपरेका पत्रिकामा पाठक प्रतिकृया पठाउने र भित्ते पत्रिका प्रकाशन गर्ने जस्ता काम कक्षा ८ देखि १० सम्म निकै गरियो । एसएलसीपछि पत्रकारिता विषय नै लिएर पढेँ । यो कसैको सल्लाहमा भएको पनि थिएन र मेरो कुनै दूर निर्णय पनि । आइए दोस्रो वर्षमा पत्रकारिताको प्रयोगात्मक अभ्यास गर्नु पर्ने थियो । त्यो अभ्यासले पत्रकारितामा लोभ्याएछ, क्यार !
त्यसकै प्रभावले हुनुपर्छ, ०५३ सालमा साहित्यकार नामक मासिक प्रकाशन सुरु गरें । एक अंकपछि प्रकाशनलाई निरन्तरता दिन सकिएन । ०५३ ताका जनसत्ता साप्ताहिक निकै चर्चामा थियो । त्यसका सम्पादक रामचन्द्र न्यौपाने थिए । गोरखापत्र दैनिकका प्रधानसम्पादक भइसकेका न्यौपानेको आफ्नै क्रेज थियो । ०५३ को फागुन महिनाको कुनै दिन म जनसत्तामा काम खोज्दै गएँ । संयोगले रामचन्द्र दाइलाई नै भेटेँ । आफ्ना कुरा राखेपछि दाइले भोलिदेखि काम गर्नु भन्नुभयो ।
प्रकाशक थिए, माइलदाइ । उनी हकरबाट उठेका मानिस थिए । त्यस बेला उनीसंग ६(७ वटा प्रकाशन थिए । ठूलो प्रकाशन संस्था बनाइसकेका थिए । तर, पनि आफ्ना प्रकाशनहरु अंगालोभरी बोकेर बागबजार र रत्नपार्कतिर चिच्याएर बेच्दै हिँड्थे । उनलाई कस्ता हेडलाइन विक्छन्, राम्रो ज्ञान थियो । पत्रिकाका लागि कतिपय हेडलाइन उनैले दिन्थे । उनी आफ्ने पत्रिकाको हेडलाइन निकै रमाइलोसंग भट्याउँथे । उनकै कारण पनि पत्रिका चर्चामा थियो ।
मैले छोटो समयमै रामचन्द्र दाइले खोजेको जस्तो काम गर्ने प्रयास गरेछु । उहाँले निकै माया गर्नु भयो । हत्तपत्त कसैसँग नरिसाउने रामचन्द्र दाइले अनुजहरुलाई निकै माया गर्नुहुन्थ्यो । मैले काम सुरु भएको १० दिनपछि मेरो तलब १५ सय रुपियाँ तोकियो । त्यसबेलाको रिपोर्टरको तलब त्यस्तै थियो । म सिकारु भइकन पनि त्यति तलब मेरा लागि राम्रै थियो । मैले दश दिनपछि ‘यो तलब थोरै भयो, मैले भाडा पनि तिर्नु पर्छ भन्दै दाइसँग गुनासो गरेँ । उहाँले मलाई फकाउँदै अर्को १ हजार रुपियाँ थपिदिने हुनुभयो । त्यो थप १ हजार उहाँले आफ्नो खल्तीबाट दिनुपर्ने थियो । उहाँले ५ सय नगद दिने र अर्को ५ सयको होटलमा खाजा खाना खुवाउने शर्त राख्नु भयो । रामचन्द्र दाइले होटल एम्बेसडरमा लगेर खाना खाजा ख्वाउनुहुन्थ्यो ।
त्यसताका अहिलेजस्तो होटल र रेस्टुरा थिएनन् । हामीजस्ता विद्यार्थी त्यसताका त्यो स्तरको होटलको कल्पना गर्न सक्दैन थियौं । वास्तवमा रामचन्द्र दाइले नै मलाई पहिलो पटक त्यति ठूलो होटलमा पुर्याउनु भएको थियो । काँटा चम्चाले खान सिकाउनु भएको थियो ।
त्यसबेला चना-चिउरा पसल, चिया पसल र भुटन-सेकुवा पसल अनि दारु पसल निकै थिए । बागबजारतिर अझ बढी औसत पत्रकारका अड्डा तिनै स्थल हुन्थे । सामान्यतया ठूला होटलमा खानपिन गर्ने त्यति चलन पनि थिएन । कार्यक्रमहरु हुँदा जानु भिन्न ! रामचन्द्र दाइको घरपायकमा होटल एम्बेसडर भएका कारण पनि होला, उहाँले त्यस होटलमा निकै लानुहुन्थ्यो । मसँग गरेको शर्तलाई दाइले सधै पुरा पनि गर्नु भयो ।
कतिपय नेताहरुको अन्तर्वार्ता लिनका लागि उहाँले मलाई साथमा लिएर पनि जाने गर्नु भयो, जसका कारण समसामयिक राजनीतिक विषयमा वार्ता गर्ने मेरो पनि रहर जागेर आयो । होटलमा खाना खान पाउने, नेता-उद्योगीसँग चिनजान हुने भएका कारण पनि होला, ममा पत्रकारिताको रस पस्यो । कवितामा मेरो राम्रो रुची भएकाले म साहित्यिक व्यक्तिसँग पनि परिचित थिएँ । पत्रिकामा काम गर्दा उनीहरुको प्रतिक्रिया पनि भिन्न देखिने अनि त्यसले पनि मलाई पत्रकारितामा ताने होला । यी सबै कुरा भन्नुको कारण म ‘देश बनाउन’ या ‘असल नागरिकको कर्तव्य पुरा गर्न’ जस्ता ठूला आर्दश बोकेर पत्रकारितामा आएको थिइनँ । सामान्य रहरैरहर र केही आकर्षणले बिना कुनै योजना पत्रकारितामा आएको ।
मानिसले आफ्नो क्षेत्रमा सोचेजस्तो, चाहेजस्तो गर्ने थियो भने मान्छे बहुलाउँथ्यो होला । काममा असन्तुष्टी, असफलता र भनेको जस्तो गर्न नसक्दा पनि मानिसमा देखिने अंहकार विचित्रको छ । वास्तवमै असन्तुष्टीमै सन्तुष्टीको भ्रम पाल्नु नै त रहेछ जीवन । यस्तो भ्रम भएन पनि भने मानिस बहुलाउँछ होला सायद । म यही भ्रम र पूर्ण सफलता अनि पूर्ण सन्तुष्टी नभएकै कारण बहुलाउनबाट जोगिएको छु कि क्या हो !
सोचेजस्तो गरेको छैन भन्दा विगत ०५३ सालदेखि यही क्षेत्रमा छु । पत्रकारिताका कारणले अस्तित्वमा देखिएको पनि छु । सोचेजस्तो गरेको छु भन्ने हो भने वितेका २५ २६ वर्ष रित्ता-रित्ता देखिन्छन् । सोचेजस्तो भन्ने शब्द सापेक्ष र निरपेक्ष दुवै छ, सायद ।
पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
मैले पत्रकारिताका बारेमा कहीँकतै तालिम दिन जाँदा विद्यार्थीका अगाडि भन्ने पहिलो वाक्य हो, तपाईले पूर्वजीवनमा अपराध गर्नु भएको थियो । यसकारण यस जुनीमा पत्रकारिता गरेर अपराधको सजाय भोग्दै हुनुहुन्छ । यो सुन्दा अत्यन्तै कठोर पनि लाग्न सक्छ । तर, पत्रकारिताका लागि कुन हदसम्मको प्रतिवद्धता चाहिन्छ भन्ने गहिरो र गम्भीर भाव अनि व्याख्या पनि यो वाक्यले बोक्छ । पत्रकारितामा जति सुख छ, त्यति दुःख । जति दुःख छ, त्यति सुख । यो पेशाको सौन्दर्य भनेकै सुख र दुःख हुन् । यसका दुःख भनेको काम धेरै, पैसा थोरै । सुख भनेको धेरै मानिससँग सहज जानपहिचान हुने । पत्रकारितामा एक किसिमको भ्रमले मानिसलाई बाँधेको हुन्छ । त्यो भ्रम भनेको समाजका विभिन्न व्यक्तिसँगको परिचय अनि सम्बन्ध ।
नेपाली पत्रकारिताका राम्रा नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
नेपाली पत्रकारिताको महारोग भनेकै पत्रकारितामा राजनीति । पछिल्ला दिनमा आएर कामै नगरी पत्रकार बन्ने प्रवृत्ति । पत्रकार भन्नासाथ मुलुकको सबैभन्दा भिन्न प्राणी हो भन्ने चिन्तनबाट पत्रकारहरु ग्रस्त बन्नु जस्ता कुराहरुले नेपाली पत्रकारिताको बद्नाम गराएको छ । पेशागत मर्यादा, पेशागत आदर्श अनि पेशाप्रतिको निष्ठा कमै पत्रकारहरुमा छ । अझ इन्टरनेट प्रविधिको विकाससँगै नेपाली समाजमा संचारजगतलाई किनारा लगाउने गरी आएका यूट्युव र अव्यवसायिक अनलाइन नेपाली पत्रकारिताका चुनौती बनेका छन् । पत्रकारितालाई मर्यादित बनाउन पत्रकार राजनीतिक दल विशेषको मानिस हुनबाट मुक्त हुनु जरुरी छ । तर, राजनीतिको चर्को ‘रखवाल’ हुनु भने आवश्यक छ ।
पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
यो मैले कहिल्यै सोचेको छैन् । गुमाउने कुरा सोच्नु अर्को भ्रम सिर्जना गरेर आफै दुःख पाउनु हो । पाउने कुरा त अशोक सिलवालजस्ता सिर्जनशील साथीहरुको साथ पाएको छु । उहाँले भनेको कुरा याद आउँछ, ‘मैले कलेजमा पत्रकारिता पढाउँदा एक दिन नेपालका पाँच मनपरेका रेडियो पत्रकारको नाम विद्यार्थीलाई सोध्दा पाँचभित्र ठाकुर बेलावासे पनि पर्यो ।’ युवा विद्यार्थीहरुले पनि माया गरेछन् भन्नु, एक्लै रमाउनु, अभावमा यस्तै कुरा सम्झनु, बाआमा र श्रीमतीले मेरा कामप्रति र कमाइप्रति असन्तुष्टी जनाएमा उहाँले सुनाएका जस्तै कुरालाई दोहोर्याएर म ठीक छु प्रमाणित गर्नु त हो रहेछ, पत्रकारिताको सुख ।
यदि तपाई पत्रकारितामा नभएको भए कहाँ हुनुहुन्थ्यो ?
पत्रकारितामा नभएको भए अर्को कुनै क्षेत्रमा जागिरे हुन्थेँ कि ।
अन्त्यमा … ?
पत्रकारिता चर्चाका लागि गर्ने विषय हो कि होइन । यहीँनिर भ्रम छ । पत्रकार र पाठक दुवैलाई । पत्रकारिता चर्चाका लागि गर्ने होइन तर नेपालमा चर्चाका लागि गरिदै छ । र, त पत्रकारितामाथिको विश्वास कमजोर बनिरहेको छ । साँच्चैमा पत्रकारिता जिम्मेवारीताका लागि, कर्तव्यका लागि, देश र समाजको उत्तरदायित्वका लागि अनि देशप्रतिको निष्ठाका लागि गरिनु पर्छ । एउटा भ्रष्ट नेतालाई पत्रकारले जोगायो भने देशलाई कति क्षति हुन्छ होला, सम्झौं त । अहिले नेकपा फुटकै उदाहरण काफी छ । पत्रकारले पार्टी फुट्नु हुँदैन । फुटाउँनु हुँदैन भनेर फुटका अभिष्ट बारेमा उजागर गर्नु सक्नु पर्यो । यसको दूरगामी असरका बारेमा छलफल चलाउनु पर्यो । यहाँ त यसो गर्यो भने उल्टै आलोचना गर्ने गरिन्छ ।