
रसुवा रिपोर्टर अनु भन्छिन्, ‘पत्रकारितामा बामे सर्दैछु’
एक दशक भयो, पत्रकारिता सुरु गरेको । उनकै शब्दमा ‘विशेष गरी खोजमुलक स्टोरी’ लेख्न मन पराउँछिन् । ‘अरु केही छ आफ्नोबारे थप भन्नुपर्ने ?’, नेपालनाम्चाको प्रश्नमा रसुवा रिपोर्टर अनु आचार्यले भनिन्, ‘यत्ति हो ।’ ‘पत्रकारलाई ५ प्रश्न’मा उनका उत्तरः
किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो ? सोचेजस्तै गरिरहनु भएको छ ?
रहरै रहरमा पत्रकारिता शुरु गरियो । प्रारम्भमा रेडियो नेपाल सुन्दा आफु पनि त्यस्तै बन्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । २०६८ सालमा रेडियो रसुवाले लिएको तालिममा भाग लिन म रसुवा सदरमुकाम आएँँ । त्यसको एक वर्षपछि सोही रेडियोले मलाई कामको अफर गर्यो । त्यो मेरा लागि करियरको पहिलो खुड्किला थियो । आज म ‘नयाँ पत्रिका’मा आवद्ध रहँँदा सोचेजस्तै काम गरिरहेको अनुभूति गर्छु ।
पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
पत्रकारितामा अवश्य पनि अवसर र चुनौती दुबै हुन्छ । अवसर यस मानेमा कि हामीले समाजको भलाईमा केही काम गर्ने अवसर पाउँछौ । आवाजबिहिनका आवाज बनिदिन सक्छौं । दुख त पेशागत विषय हुन् । भौगोलिक कठिनाइ, पेशागत असुरक्षाका विषय छन् ।
नेपाली पत्रकारिताका राम्रा नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
राम्रो पक्ष पत्रकारिता क्रमश व्यवसायीक बन्दैछ । प्रविधि सङ्ग होस्टेमा हैसे गरी अगाडि बढिरहेको छ । ग्रामीण भेगसम्म पहुँच बिस्तार भएको छ । नराम्रो पक्ष पत्रकारको सामाजिक सुरक्षाको पाटो कमजोर छ । पर्याप्त तालिम र सिकाइको अवसर छैन । यो पक्षमा सुधार चाइन्छ ।
पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
समाजको माया, आफन्तले गर्ने गौरब नै मेरो प्राप्ती हो । गुमाएको त केही छैन ।
यदि तपाईं पत्रकारितामा नभएको भए अहिले कहाँ हुनुहुन्थ्यो ?
त्यो त म पनि भन्न सक्दिन । जिन्दगीको मोडले कुन बाटो समाथ्यो होला, त्यो अनुमान बाहिरको कुरा हो । र, अन्त्यमा यो अवसरका लागि नेपालनाम्चालाई धन्यवाद । म पत्रकारितामा बामे सर्दैछु । अझ धेरै सिक्नु छ । अझ धेरै खटिनु छ । त्यसका लागि सम्पुर्णबाट सहयोगको अपेक्षा पनि गर्छु ।