गाथाः सम्पादकको वरिपरि यादहरूको सम्पादन !


डा. नवराज लम्साल

अगाडि स्ट्रोङ मिल्क कफी, दायाँ हातको चोर औंला र माझी औँलाको बीचमा च्याप्प च्यापिएको चुरोट र आफ्नै शिरमाथिदेखि भित्तासम्म रङमङिएको धुवाँ । बस्दा पनि अरू टेबलभन्दा अलि पर अलि एकान्त ठाउँ । खाने कुरातिर पटक्कै ध्यान नजाने र अर्डरको शुरुवात दुइटा चुरोट, कफी, अरूपछि भनुँला … ए सुन त ! लाइटर पनि है ।

आँखा अगाडि मन परेको मान्छे र उसले बोलेका शब्दशब्दमा केन्द्रित भएको ध्यान । ध्यान दिनका लागि ध्यान होइन, गम्भीरतापूर्वक ध्यान दिने । मानूँ राम्रो पण्डितले पुराण भनिरहेछ र कुनै भक्त ध्यानपूर्वक सुनिरहेछ । कुरो सुन्न लायक भएन भनेचाहिँ ‘लौ जाऊँ अब, भाइ बिल ल्याऊ त !’ यसो भनेको सुन्नुपर्ने । यसो भन्दा कफी आधा र चुरोट पनि आधामात्रै भएको पनि हुन सक्छ ।

कम बोल्ने, बोल्नुभन्दा बढी मन्द मुस्कुराउने र ‘अनि … अनि त्यसपछि’ भन्ने थेगो थपेर बोल्नेलाई उत्प्रेरित गर्ने शैली । चुरोट कतिवटा हो भन्न सक्तिनँ तर कफीचाहिँ समयको सीमा हेरेर क्रमशः तीन, चार, पाँच ….!

हा ….! यो कुनै उपन्यासको अंश होइन र कुनै दृश्यमान सत्यको बयान पनि होइन । यो त आफैँ पात्र भएर कुनै एक त्यस्तो व्यक्तित्वसँग गफमा गफिँदाको बयान हो, जसका बारेमा आज केही लेखूँ लेखूँ लागिरहेछ ।

काठमाडौँको भीड । यो भीडको आफ्नै सौन्दर्य छ । त्रिचन्द्र कलेजको उत्तरपट्टि सडकभित्रको शान्त कुना होस् वा त्रिपुरेश्वर वा सोह्रखुट्टे नयाँबजारतिरको कुनै साँघुरो तर चिटिक्क परेको रेष्टुरेन्ट ! यो ठाउँको बयान धेरैतिर हुन सक्छ । कुरो ठाउँको होइन, ठाउँलाई कसरी सदुपयोग गरिन्छ, कुरा त्यो हो ।

तपाईँलाई लागेको होला भूमिकै कति लामो ! सीधा कुरा गर न ! पख्नुस् न पख्नुस् ! कुरा धेरै छन् । यसरी भेटिँदा मच्चीमच्ची गफ दिने अर्को साथी पनि छ मेरो । ऊ काटिकुटी बाइस किलो जति ज्यानको तर तौल नै त चालीस बयालीस होला । लामो समय पत्रिकामा काम ग-यो । दैनिक पत्रिकामा । विचार पेजको सम्पादक । संयोगले त्यो पत्रिकामा मेरो एउटा लेख छापिएपछि उसले फोन गरेर भन्यो— लेखनको कुरो त त्यस्तै हो नवराजजी, सबैले लेख्छन्, उही र उस्तैउस्तै लेख्छन् तर तपाईँको भाषामा अर्कैपन छ । मज्जा आयो ।

कविलाई तेरो भाषा मज्जाको भन्देपछि के चाहियो र ? उनकै आग्रहमा कफी खाने साइत जु-यो । कफी खाने बाहनामा भेटेँ पनि । शुरुवात भने कालो चियाबाट भयो । त्यो पनि क्रमशः क्रमशः चार, पाँच …कप ! अन्त्यमा कफी खाएर छुट्टियौँ । चुरोटको मामिलामा उनी पनि मैले माथि बयान गरेकै जस्तो स्थितिका अनुयायी । उनी अचेल पत्रकारिताभन्दा बढी पर्यटन क्षेत्रमा छन् । गाइड छन् । संसारभरिको एक सय गाइडको सूचीमा पनि उनको नाम आ’को थियो । उनको प्राण लाङटाङतिर अड्केको छ र साइकल उनको प्रेमिकाजस्तो । त्यही साइकल मुसारेर उनले देशदर्शन भ्याए केहीअघि । अब जिब्रो नपचाऊँ क्यारे ! उनको नाम हो — अशोक सिलवाल ।

कुरो पूर्वबाट शुरु गरेर पश्चिम गएजस्तो पो भो । जसको बारेमा लेख्न बसेको उसको सन्दर्भ छोडेर कहाँ अशोक वाटिकातिर हान्निएको त ! ती दाइ जसका बारेमा चर्चा गर्दैछु, उनीसँग भेटाइदिने यिनै अशोक हुन् । हिरोको कुरा गर्ने बेला साइड हिरोको पनि सन्दर्भ आउँछ नि त !


उत्तरी धादिङको साल्दुम, दार्खा, गुम्दी, मारपाक, कारिगाउँआदि ठाउँमा सिंखडाहरूको बाक्लै बसोवास । सिम्खडाहरूको शुरुको इतिहास साल्दुमतिर । त्यसपछि क्रमशः क्रमशः अन्यत्र सर्दै गए रे । अब त थाहा पाउनुभयो होला म कुनै सिंखडा दाजैका बारेमा केही लेख्दैछु । हास्यकलाकार तथा कवि शैलेन्द्र सिम्खडा भनिठान्नुहोला, होइन तर खलकचाहिँ एकै हो । शैलेन्द्रसँगै हो, २०३६ तिर यी दुईले विद्यार्थी राजनीतिमा उधुम मच्चाएको । शैलेन्द्र सिम्खडा हास्यकलाकारका रूपमा जति लोकप्रिय र जुनस्तरको उचाइप्राप्त कलाकार हो, कविताको उचाइ पनि त्यो भन्दा कम छैन । काव्यिक चेतना नभएको भए यति लामो समय आफ्नो क्षेत्रमा यति उचाइ र सम्मानका साथ बाँच्ने नै थिएनन् । प्रस्तुत हरफहरूका नायक सिम्खडासँग शैलेन्द्रको जोडी खूब जम्थ्यो कुनै बेला तर ती दिनमा म ज्यामरुङको शङ्खादेवी स्कुलमा कख पढ्दै थिएँ होला ।

यिनको घर उत्तरी धादिङ । छालाको आँखाले हेर्नेहरूका लागि त उत्तरी धादिङ दुर्गम हो । विकट हो । अप्ठ्यारो हो । भीर हो । पाखा पखेरा र अनकन्टार हो तर जब दिलको आँखा उघ्रन थाल्छ त्यहाँको सौन्दर्य, त्यहाँको प्रकृति, संस्कृति र त्यहाँका तामाङ जातिको जातिगत महक ! आहा ! त्यही दार्खाबाट कुनै समय उनको परिवार बाराको सिमरा पुग्यो । उनी भने राजधानीमै रहेर पढे, सिके, जाने, जीवनलाई निखार दिए । नेविसंघमा लागेर राजनीति गरे, विद्यार्थी राजनीति । र, बिस्तारै उनी गणतन्त्रको उभारमा मिसिए । उनको संगत रामराजाप्रसाद सिंहसँग भयो । २०४२ को बम काण्डमा उनी कहाँ थिए मलाई याद छैन र कुनै पनि कफी गफमा मैले सोधेको पनि छैन । म सधैँ एउटा रोगबाट मुक्त हुन चाहन्छु । नेपालीको बानी छ सधैँ राजनीति, जेमा पनि राजनीति । भागदौड, थकान र हैरानी झेलेर कोहीसँग भेटेर कफी खाँदा पनि फेरि राजनीति ! फेरि तनाव ! त्यतिबेला त जीवनका कुरा गरौँ । मायाका कुरा गरौँ । जिन्दगीका रातापहेँला कुरा गरौँ । आआफ्ना सुखदुख र दैनिकीका कुरा गरौँ । वडाअध्यक्ष हुने ल्याकत छैन, प्रधानमन्त्रीको योजना बुनेर तनाब पालेर बस्ने किन ! यो मेरो विचार हो । सबैले मान्नैपर्छ भन्ने छैन । ती दाजै पनि ठ्याक्कै त्यही स्वभावका ! एक दिन भन्थे — भाइ जे गर्न सकिन्छ त्यसैका बारेमा चिन्ता गर्ने हो । बोक्न सक्ने मात्रै बोक्ने हो भारी ! कुरो मन प-यो !

यति भनेपछि नवराजको यो गफ पत्रकार ध्रुव सिम्खडामाथि हो भनिठान्नु भयो होला । होइन । ध्रुव सिम्खडा पनि पत्रकारितामै छन् । हिमाल, कान्तिपुरजस्ता मिडियामा उनको लामो योगदान छ । त्यसअघि उनले लामै समय शिक्षण गरे । विद्यार्थी कालदेखिकै राजनीति उनको परिचय हो । धादिङबेसीमै बसेर उनले पार्टी संगठन पनि गरे, पढाए पनि । लेखाइ पनि राम्रो, बोलाइ पनि राम्रो, संगत पनि राम्रो, मान्छे पनि हलुका ! किन टिक्थे राजनीतिमा ? विज्ञानका विद्यार्थी कुन सड्को राजनीति शास्त्रमा एम.ए. गरे । क्याम्पस पढाउन जालान् भनेको त उनी पुगे पत्रकारितामा तर आज म जुन सिंखडा दाजैका बारे कुरा गर्दैछु, उनको र ध्रुव सिम्खडाको सम्बन्ध काका भतिज । नाता जे भए पनि एकअर्काको सम्वोधन दाइभाई ।


सायद ठम्याउनुभयो होला म कसका विषयमा यसरी गनगन गरिरहेछु । सिम्खडा दाजै जोसँग राजनीतिको सम्बन्ध छ । पत्रकारिताको पदचाप छ । बडेबडे मानिने दैनिकसँग उनको सम्पादन कला जोडिएको छ । अचेल अनलाइनमा व्यस्त छन् । धेरै पत्रकारका गुरु हुन् । दाजु हुन् । साथी हुन् । यार हुन् । उनलाई उमेरले छेक्तैन । कुरो मिल्न पर्छ, धेरथोर प्रतिभा हुनुपर्छ वा यो केटाले केही गर्ला भन्ने लाग्नुपर्छ, टपक्कै टिप्छन् । लवाइ त्यति टिपटप पनि होइन । सिम्खडा शैलीको फूर्तिफार्ती पनि छैन । आफैँ सवारी हाँकेर हिँड्दैनन् । बाटामा कसैले भेटेर घरसम्म पु-याइदिम भन्यो भने मान्दैनन् । हिँड्नै रमाउँछन् । भाषामा गहिरो पकड छ । सम्पादनकला बेजोड मानिन्छ । हत्तपत्त लेख्न मन पराउँदैनन्, कसैलाई लेखाउनमै रमाउँछन् । उनको मावली तारुका हो । अधिकारीहरू । माघे सङ्क्रान्तिमा तारुकामा गोरु जुधाउने खेल । यही खेलका बारेमा एउटा गज्जबको लेख लेखेथे केही समयअघि । यसैले दियो धुमधमाका । एउटा कुरा प्याट्टै भनूँ — यो लोभीपापीको भीडमा उनी एउटा सादगी र शान्त मान्छे । मैले तनावमा पनि कहिल्यै देखेको छैन र कसैलाई गाली गरेको पनि सुनेको छैन । सिम्खडा दाइ आफैँले यी हरफ पढे भने मलाई के भन्लान् ? धत् लाटा ! यसै भन्लान् । पुसको चिसोमा घरको छतमा बसेर यी हरफसँग खेलिरहेछु ।

बिहानै रेडियो नेपाल गएर आएको । आज बिहान अन्तसंवाद कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग अन्तर्वार्ता गरेँ । नेकपा विभाजनको कुरा कति गर्नु, संसद विघटनको कुरा कति गर्नु, पक्षमा कस्लाई उचाल्नु विपक्षमा कसलाई उचाल्नु ? आज सोधेँ मैले — २०४६ पछिका आदर्श नेताहरू किशुनजी, गणेशमान सिंहहरूले पार्टी छोड्नु प-यो, संविधानसभाले झण्डै ८ वर्ष लगाएर संविधान दियो तर त्यही संविधान दिने बेलाका प्रधानमन्त्री र राष्ट्रपतिले संविधान जारी गर्ने बित्तिकै आ-आफ्ना पद छोड्नुप-यो । भलै त्यो सहमति र अन्तरिम व्यवस्थाको कुरो थियो होला तर त्यत्रो महान् संविधान आएर त्यही संविधान अनुरूप नयाँ चुनावमा जाँदै गर्दा चुनावपछि त सत्ता हस्तान्तरण भइहाल्थ्यो । केही महिनाका लागि थोरै संयम दलहरूले किन राखेनन् । नाकावन्दीका बेला डटेर सामना गरेका केपी ओलीलाई प्रधानमन्त्रीबाट बलात् हटाइयो । प्रत्येक उच्च नेतृत्वको बहिर्गमन किन दुखद हुन्छ ? ज्ञवालीले दिएको उत्तरको सार थियो — विदेशीको चलखेल ।

राजनैतिक परिवर्तनको अर्थ र परिणाम आज मेरो लेखनको विषय होइन तर रेडियो नेपालको त्यही स्टुडियोमा एक दिन मैले तिनै सिम्खडा दाइलाई अन्तर्वार्ताका लागि बोलाएको थिएँ । रेडियोमा बोल्न वा कतै अन्तर्वार्ता दिन भनेपछि टाढै बस्न रुचाउन ती दाइलाई मेरो के कुराले प्रभाव पारेछ कुन्नि ! हुन्छ भने । साल बिर्सेँ, फागुन ७ गते प्रजातन्त्र दिवसको दिन थियो । साथमा पुष्करलाल श्रेष्ठ र अशोक सिलवाल पनि थिए । गर्न त मैले अन्य दुई जना सम्पादकलाई पनि प्रेमपूर्वक निम्ता गरेको थिएँ, हुन्छ पनि भनेका थिए तर उनीहरूको केही विशेष समस्याका कारण उपस्थित भएनन् । उनीहरूले दिएको तर्क ठिकै लागेको थियो र धोका दिए भन्ने अवस्थामा म थिइनँ । त्यो अन्तर्वार्ता त्यति लामो समयसम्म चल्थ्यो जति बेलासम्म सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवसको मूल कार्यक्रम शुरु हुँदैनथ्यो । उता कार्यक्रम शुरु भएपछि टुडिखेलकै लाइभ जोडिन्थ्यो । त्यो विशेष समयको विशेष सम्वाद थियो । नेपाली मिडियाले प्रजातन्त्र दिवसलाई कसरी कभरेज गर्छ, जनतालाई कसरी सुसूचित गर्छ ? गर्नु पर्ने के थियो र भन्नु पर्ने के थियो ? २००७ को परिवर्तनले आधुनिक नेपालको ढोका खोलेको मानिन्छ । त्यसपछिका विकास क्रमलाई कसरी हेर्ने ? यी छलफलका विषय थिए । कार्यक्रम लाइभ थियो । सिम्खडा दाइबाट सम्वाद शुरु गरेँ । उनको उत्तर थियो — फागुन ७ मनाइरहनुको अर्थ छैन । हाम्रो उद्देश्य सगरमाथा चढ्नु थियो । सगरमाथा भनेको गणतन्त्र हो । आज मुलुकमा गणतन्त्र आइसक्यो । २००७ सालको परिवर्तन बेसक्याम्प हो । सगरमाथा चढेको दिन पो उत्सव त ! बेसक्याम्प, पहिलो शिबिर, दोस्रो शिबिर यी सबैको सम्झना गरेर के साध्य ? यो उत्तरपछि मेरो लाइभ बहस कता मोडियो होला ? मैले धेरैसँग अन्तर्वार्ता गरेँ जीवनमा तर कुनै अतिथिले दिएको यस खालको उत्तर पहिलो थियो । सिम्खडा दाइ तपाईँले त बिर्सनु भयो होला हगि ? तर २००७ को परिवर्तनपछि नेपाली समाजमा आएको परिवर्तन र सघन चेतनाको व्याख्या तपाईँले जसरी गर्नुभएथ्यो, त्यस्तो व्याख्या टुँडिखेलको उच्च भाषणमा पनि थिएन ।


मौसम चिसो छ । घरको छतमा एक्लै बसेर कुरा खेलाइरहेछु । पाठकमाथि घोर अन्याय गरेँ कि क्या आज । जसको बारेमा लेख्न खोजेको उसैको नामसम्म छैन । फुत्त नाम भनेपछि त उनका बारेमा मलाई भन्दा तपाईँलाई बढी थाहा छ । पख्नुस्, भन्छु । सिम्खडा दाइ तपाईँलाई पनि दिक्क लागेको होला हगि ? तर तपाईँ कुनै कुराले दिक्किने खालको मान्छे नै होइन ।

निबन्ध त्यति लेख्दिनँ । यता देवकोटा, शङ्कर लामिछाने र उता बेकनका निबन्ध मनपर्छ । तर म रमाउने कवितामै हो । कर्ण निस्केपछि तपाईँ मभन्दा बढी खुसी हुनुभा’थ्यो । धरा निस्कँदा विमोचनका दिन एकेडेमीमा आएर आफैँले लिएर जानुभएको थियो । ‘कविताको मूलबाटो नछोड्नु’ तपाईँले यसो भनेको भुलेको छैन । फकाइफकाइ रेडियो नेपाल लगेर अन्तर्वार्ता गरेजस्तो एक दिन फकाएर धादिङ लगेथेँ, नौबीसे । प्रा.डा. रामचन्द्र लम्सालको अनुसन्धानात्मक समालोचनात्मक कृति ‘धादिङेली नेपाली साहित्य’को विमोचनको बेला । खानीखोलाको सामुदायिक पुस्तकालयले प्रकाशन गरेको त्यो पुस्तकको विमोचन समारोह पनि पुस्तकालयले नै आयोजना गरेको थियो । भाषणभुषण नगर्ने, मञ्चमा नजाने र केवल श्रोतामात्र हुने शर्तमा तपाईँ जानु भएको थियो । आयोजक शेखर कार्कीको टिम कम्ता बाठा होइनन् । मञ्चमा लस्करै २५ जना राखेर सामुहिक विमोचन गराए । लेखक दम्पतीलाई बेहुलाबेहुलीझैँ चिटिक्क पारेर राखे सबैभन्दा अगाडि । त्यस दिन त्यहाँ दुई सिम्खडा । तपाईँ पनि र ध्रुव सिंखडा पनि । तपाईँले नबोले पनि दुवैको साटो ध्रुव सिंखडाले बोले । मज्जा आयो ।


उत्तरी धादिङको कुरा गरेँ । सिम्खडाहरूको कुरा गरेँ । सिम्खडा परिवारमा एक जना अग्रज छन् ‘शर्मा ठूलोबा’ । सबैका शर्मा ठूलोबा तर मैले भने भेट्न पाएको छैन । उमेर चौरासी पुग्नै लाग्यो तर उस्तै फूर्ति र युवा जोश छ रे । ठूलाबा भनेको जेठा भएका हुनाले, खास नाम त बाबुराम सिम्खडा । उनै जेठा सिम्खडा बाबुरामबाका दुई छोरा । जेठा जिवेन्द्र र कान्छा केशव । हो, तिनै बाबुराम सिम्खडाका जेठा छोरा जिवेन्द्र सिम्खडा हुन् वरिष्ठ पत्रकार, सरल मान्छे र अन्तरहृदयमा शीतलता भएको मान्छे ।

पत्रकार जिवेन्द्र सिंखडा

लामो पनि छ संगत र निकै छोटो भने पनि हुन्छ । विरलै भेट हुन्छ तर भेटिँदा खूब गफिन्छौँ । क्रम उही चल्छ उसै गरी चुरोट, कफी, धुवाँ र धुवाँमा रङ्गिंदै रङ्गिंदै जाने अमूर्त आकृति ! धुवाँ केवल धुवाँ हो तर त्यही धुवाँमा देख्छु जीवनका कति मीठा किरिङ मिरिङ आकृति । अस्पष्ट मनोदशा र जीवनको बहुरूप । भोगाइहरूको विस्कुन सुकाएर छातीमा मान्छे कसरी जिउँछ ? त्यो जिउनेको क्षमतामा निर्भर गर्दछ । सोचेजस्तो हुँदैन केही पनि र कहीँ पनि तर पाएकै कुरामा रमाएर नयाँपनको खोजी गर्ने हो । खुसी कसैले दिएर दिइने कुरो पनि होइन र लिएर लिइने कुरो पनि होइन । यो समयले दिने उपहार हो र समयकै छातीमा टेकेर खेल्ने हो समयसँग । खुसी हुनु छ र भइरहनु छ जीवनमा । आफैँभित्र रम्नु छ र रमिरहनु छ सदैव । निस्फिक्री शैलीमा बाँच्नुको रस आफैभित्र छ मूल भएर । मेरो जीवनमा धेरै मान्छे छन् तर अन्तरङ्ग मान्छे कम निकै कम ! मलाई दुःख छैन कत्ति पनि । हुनकै लागि हुने भीडभन्दा एक्लो हुनुको मजा अर्कै छ । एक्लै बस्दा पनि त्यो एक्लोपनमा आफन्त अनुभूत गर्नुको मजा धेरै कमलाई थाहा होला । जिवेन्द्र दाइ यत्ति कुरा चाहिँ कुनै भेटमा पनि भनिनँ र आज भनेँ । ठिकै भनेँ नि होइन ?

सिम्खडा परिवारको एक होनाहार व्यक्ति थिए हरि सिंखडा । राजनीति र साहित्यको दोभान । दुर्भाग्य असमयमै बिते । उपन्यास लेखनको त्यो विरासत त्यै वंशकी चेली शोभिता सिम्खडाले थाम्ने कोशिश गरेकी छिन् । कोशिश शब्द प्रयोग गर्नुको अर्थ छ । कति लेखक एउटा किताब आएपछि फुत्त भाग्छन् कति दोस्रोमा आइपुग्दा दुब्लो लेखन सामथ्र्यसहित देखापर्छन् । वराङ्गनापछि उनी कसरी आउँछिन् हेर्न बाँकी छ । जिवेन्द्र सिम्खडा दाइको पुस्ताले आर्जेको चेतना अनुभव र अभ्यास बिस्तारै दोस्रो पुस्तामा सर्नु जरुरी छ । शोभिताको अध्यात्म ज्ञान र योग साधना पनि अब्बल छ । अध्यात्मको कुरा गर्दा र उत्तरी धादिङ सम्झँदा बिर्सनै नहुने नाम हो कमल रिजाल । अब्बल उपन्यासकार, अध्यात्मको तार्किक लेखक तथा पत्रकार रिजाल सिम्खडाहरूकै थलो साल्दुमका सन्तान हुन् र जिवेन्द्र दाइसँगको संगत पनि गहिरो छ भन्ने बुझ्दछु ।
जिवेन्द्र दाइसँग कफी नखाएको धेरै भयो । आज एक्लै सम्झनाको कफी खान बसेको त्यै पनि विचारको क्वाँटीजस्तो भयो । खिचडीजस्तो भयो । तन्द्राको झोलुङ्गोमा खिचडी तताउँदा तताउँदा सङ्गीताले छेउमै राखिदिएको खिर चिसो भएछ ।

‘ए पख न ल्याप टप अफ गर्न त देऊ !’

दिउँसो के लेखेछु ! सम्झेँ । साँझ दोहो-याएर पढेँ । आफैँलाई अनौठो लाग्यो । जिवेन्द्र दाई, लेखनको प्रवाह टुटेपछि थप कुरा सम्झेर जबर्जस्ती जोड्न मन लागेन । आजलाई बिसाएँ, यहीँ रोकिएँ ।


९ पुस २०७७
शब्दशिबिर, काठमाडौँ ।
writetodrlamsal@gmail.com
(डा. लम्सालका कर्ण र धरा नामका दुई महाकाव्यसहित गीत र कविताका ७ पुस्तक प्रकाशित छन् र हाल उनी रेडियो नेपाल समाचार महाशाखाका प्रमुख हुन् ।)

जीवनसाथीसाथ पत्रकार सिम्खडा ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button