रासससँग ३ साइनो

अशोक सिलवाल

सानै छँदाको कुरा हो । त्यति बेला मलाई पत्रकारिता र आमसंचारबारे थाहा थिएन । समाचार भनेको के हो भन्ने त झन् थाहा हुने कुरै भएन । तर, मलाई रासस (राष्ट्रिय समाचार समिती) भन्ने शब्द भने कन्ठ थियो । कन्ठ किन थियो भने रेडियोमा झुक्किएर वा नझुक्किकनै म सुन्ने गर्थें, ‘राससका अनुसार’ वा ‘राससले जनाए अनुसार’ भन्दै भनिएका अनेक घटना विवरण । यो क्रम एक पटकको होइन, पटक पटकको हो ।  

रासस भनेको के त्यस्तो चीज हो, जो धेरै कुराको ज्ञाता छ ? स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना र विषयबारे जानकारी दिन सक्ने यो रासस के हो ? मलाई त्यस्तो लाग्थ्यो । राजनीति, अर्थ, पर्यावरण, शिक्षा, कुटनीती, विज्ञान, खेलकुद, मनोरञ्जन आदि अनेक विषयमा रासस जानकारी दिने एउटा रहस्य र कौतुहलको विषय रहिरह्यो, धेरै बर्षसम्म । तर, ती बर्षहरु राससले मेरो मनोविज्ञानमा आफुलाई दह्रो र गहिरोसित गाडिसकेको थियो । र, मलाई जानकारी, सुचना र समाचारको माध्यमबाट विश्वका अनेक कुनामा, ज्ञान–विज्ञान र प्रविधीका नयाँ क्षेत्रमा, संस्कृति र सभ्यताका अनेक मोडहरुमा जानिंदोनजानिंदो तरिकाले पु-याइसकेको थियो ।

तर, सुरु–सुरुको स्थिति त्यस्तो थिएन । त्यति बेला चाहेर नचाहेर रेडियो (रेडियो नेपाल) सुनिन्थ्यो । तर, रेडियोको समाचारमा के भनिएको हुन्थ्यो, त्यति याद हुँदैन थियो यद्यपि ‘राससका अनुसार’ भनेको चाहिं याद हुन्थ्यो । रासस यस्तो शब्द भएको थियो, जो बारम्बार सुनिरहँदा पहिले अपरिचितजस्तो लागे पनि पछि बिस्तारै आफ्नो लाग्न थालिसकेको थियो । परिचित र प्रिय ।

टेलिभिजन (नेपाल टेलिभिजन) आइसकेपछि पनि स्थिति त्यस्तै थियो । तर, राससमात्र होइन, राससलाई साभार गरेर भनिएका, देखाइएका समाचार बिस्तारै बुझ्न थालियो । राससजस्तै बिस्तारै एपी र एफपी पनि सुनेको सम्झना छ मलाई । तर, रासस आफ्नो थियो । आफ्नै देशको थियो । त्यसको तुलना अरु कुनैसँग हुनसक्ने कुरै थिएन । 

त्यसरी राससलाई पत्रकारिता बुझ्नुअघि सुन्न थालिसकेको थिएँ मैले । र, आफ्नै पाराले बुझ्न थालेको थिएँ । अझ यसो भनौं, मेरो बालसुलभ मनस्थितिमा राससले महत्वपूर्ण जानकारी प्रदान गरेर ठुलो गुन लगाएको छ । त्यो चानचुने कुरै होइन । यो मेरो मात्र होइन, म जस्ता असंख्य नेपालीजनको सम्बन्ध हो, रासससँग ।

विद्यार्थीको कापीमा रासस

केही बर्षअघि फर्किन्छु । जाडो महिनाको एक दिन । यो शिक्षण सम्झना हो ।

बिहानको ७ बजेको छ । म कक्षा कोठा प्रवेश गर्छु ।

‘गुड मर्निंग सर’, एकै पटक धेरै स्वर मिसिएर यस्तो आवाज आउँछ । उभिइरहेका विद्यार्थीलाई उभिएरै भन्छु, ‘गुड मर्निंग एभ्रीबडी । प्लिज ! सीट डाउन ।’

त्यसपछि उनीहरु बस्छन् । यो कलेजको पत्रकारिता तथा आमसंचार विषयक कक्षा कोठाको दृश्य हो । उस्तै लुगा लगाएका । उस्तै उमेर समुहका । झन्डै चालीसजना कलेज विद्यार्थीका अगाडि म शिक्षक भुमिकामा छु । पत्रकारिता तथा आमसंचारप्रति विद्यार्थीको रुचि लोभलाग्दो छ । पत्रकारिताका विभिन्न अध्याय पढिसकेका उनीहरुलाई म नेपालका मुख्य संचार संस्थाहरुबारे पढाउन थाल्दैछु । गोरखापत्र, रेडियो नेपाल, पत्रकारु महासंघ, प्रेस काउन्सिल आदि । त्यो लहरमा रासस पनि छ ।   

अघिल्लो दिनको कक्षामा नै पत्रकारिताका मुख्य संस्थाहरु सुरु गरेको थिएँ । आज भने सुरुमै मैले विभिन्न संस्थाहरुमध्ये राससको चर्चा गर्दैछु ।

त्यसपछि म सीधै राससमा प्रवेश गर्छु । ठुलो आवाजमा फलाक्न थाल्छु, रासस कहानी । कक्षा समय सकिनु ठिक अगाडि विद्यार्थीहरुलाई भोलिपल्ट राससबारे केही अनुच्छेद लेखेर ल्याउन भन्छु । यो मैले प्रयोग गर्न गरेको शिक्षण शैली हो । हिजो पढेको आज लेखेर ल्याउने । आज पढेको भोलि लेखेर ल्याउने । यो शैली प्रभावकारी लाग्छ मलाई । जसले विद्यार्थीलाई सामान्य तरिकाबाट गहिरो गरी बिषयलाई बुझ्न र सम्झन मद्धत गर्छ । अब फेरि विषयबस्तुतिर नै लागौं ।

भोलिपल्ट ‘गुड मर्निंग’को उही अभिवादनपछि म कक्षामा विद्यार्थीहरुलाई राससबारे लेखेको देखाउन भन्छु । विद्यार्थीमध्ये एक जनाको कापीमा यस्तो लेखिएको हुन्छ, ‘रासस समाचार बैंक हो । देशैभरबाट आफ्ना सम्वाददातामार्फत समाचार संकलन गरिन्छ । संकलित समाचारलाई सम्पादन गरिन्छ । समाचार संस्थारुपी बैंकबाट सीधै पाठक, स्रोता वा दर्शकले समाचार त प्राप्त गर्दैनन् तर, पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइनबाट राससका समाचार उनीहरुसम्म पुग्छ । सबैभन्दा पहिले राससले आमसंचार माध्यमलाई समाचार, तस्विर आदि वितरण गर्छ । र, त्यो पछि जनस्तरमा पुग्छ । यसरी नेपथ्यबाट राससले जनतालाई सुसूचित गरिरहेको हुन्छ । रासस अन्य संचारमाध्यमजस्तै हो तर एउटै फरक के हो भने यो सीधा जनस्तरमा पुग्दैन ।’  

अर्को विद्यार्थीको कापीमा लेखिएको हुन्छ, ‘बार्षिक रुपमा पैसा लिएर रासस होलसेलमा रेडियो, टेलिभिजन, पत्रिका आदिलाई समाचार वितरण गर्छ । त्यसलाई अरु मिडियाले आम पाठकसम्म पु-याउँछन् ।’

म विद्यार्थीको कापीमा रासस खोजिरहेछु । अर्का विद्यार्थीले राससको विगत खोतलेका रहेछन् । उनले लेखेका रहेछन्, ‘रासस २०१८ सालमा स्थापित सरकारी स्वामित्वको समाचार संस्था हो । त्यसअघि नेपालमा एउटा समाचार समितीको आवश्यकता रहेको भन्ने प्रेस कमिशन, २०१४ को प्रतिवेदनमा उल्लेख भएको रहेछ । त्यसबाट प्रेरित भएर त्यस बेलाका पत्रकार गोपालदाश श्रेष्ठ, मदन शर्मा, गोविन्द वियोगी, गणेश मानन्धर अदिले २०१६ पुस १ गते नेपाल संवाद समिती (नेसंस) स्थापना गरेछन् । नेसस स्थापना भएको पाँच महिनापछि पशुपतिदेव पाण्डे, मणिन्द्रराज श्रेष्ठ, शंकरनाथ शर्मा आदिले २०१७ वैशाख ३० गते सगरमाथा संवाद समिती (ससंस) स्थापना गरेछन् । निजी क्षेत्रबाट संचालन भइरहेका यी दुई समाचार संस्थाहरुलाई एउटा बनाएर २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिती स्थापना भएछ । राष्ट्रिय संवाद समिती ऐन, २०१९ जारी गरेर यो समितीलाई पूर्ण सरकारी निकाय बनाइएछ । पछि २०२८ सालमा राष्ट्रिय संवाद समितीको नाम परिवर्तन गरी राष्ट्रिय समाचार समिती बनाइएको हो ।’

अर्को विद्यार्थीले राससबारे अरु कुरा लेखेका रहेछन्, ‘राससले नेपाली समाचारबाहेक अन्तर्राष्ट्रिय समाचारहरुलाई पनि २०१९ सालदेखि नेपाली संचारमाध्यममा वितरण गर्न थाल्यो । त्यसै गरी नेपाली समाचारलाई अन्तर्राष्ट्रिय जगतसमक्ष पु¥याउन राससले अल इन्डिया रेडियो, भ्वाइस अफ अमेरिका, बिबिसी, एपी, एफपी जस्ता अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा सम्बन्ध स्थापना ग-यो । स्थापना कालमा नेपाली भाषामा मात्रै समाचार सम्प्रेषण गर्ने गरिएकोमा २०२० फागुन १८ गतेदेखि अंग्रेजीमा पनि समाचार बुलेटिन प्रकाशन सुरु भयो । २०५२ सालदेखि रासस कम्प्युटर प्रविधीमा प्रवेश ग-यो जसले राससको समाचार गुणस्तर वृद्धि गर्न मद्धत पु-यायो ।’

अर्की विद्यार्थीको कापीमा मैले पढें, ‘तपाईंले विश्वास गर्न सक्ने सूचनाको वितरण भन्ने नारासाथ सुरु भएको राससले प्रारम्भमा दिनको एक पटक मात्रै समाचार बुलेटिन प्रसारण गर्ने गरेकोमा पछि दैनिक पाँच पटक र २०६३ कात्तिक १ गतेदेखि प्रत्येक दिन बिहान ६ः३० देखि राती १०ः३० सम्म प्रत्येक घन्टा समाचार वितरण गरिरहेको छ ।’

विद्यार्थीहरुले राससबारे यसरी आफुले जानेका कुरा कापीमा लेखे । देखाए । त्यो उनीहरुको कापीमा मात्र होइन, मनमा धेरै बषैसम्म पनि सम्झनामा छँदै होला । राससका उनीहरु सबै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ग्राहक वा सेवाग्राही भएको मलै बताएको थिएँ । उनीहरुले त्यसपछि राससलाई साभार गरेर प्रसारित, प्रकाशित समाचार झन बढी सचेत भएर सुन्न, हेर्न र पढ्न थाले भन्ने मलाई विश्वास छ । एउटा शिक्षकले त्यति विश्वास गर्ने अधिकार त राख्छ नि । केही बर्षपछि भेटिएका तिनै विद्यार्थीमध्ये मलाई एकले बताएका आधारमा म यो भन्दैछु यहाँ ।

आमसंचारमाध्यमको दुखको साथी

दैनिक वा अन्य खालका पत्रिका र मिडियामा काम गर्दा रासस अनुभुति रोचक मात्र छैन, महत्वपूर्ण पनि छ । राससको सहयोगी चरित्रले मिडियालाई मात्र होइन, सिंगै समाजलाई लाभ पु¥याएको यसको सेवा प्रकृति र कार्यव्यवहारले प्रमाणित गरिसकेको छ ।

अन्य आमसंचारमाध्यम (रेडियो, टेलिभिजन, पत्रपत्रिका, समाचार अनलाइन) का लागि यो दुखको साथी पनि हो । कारण के हो भने, जब खासगरी दैनिक पत्रिकाको न्युजरुम (समाचार कक्ष) मा कुनै दिन समाचार शुन्यताको स्थिति देखापर्छ, तब विकल्प राससबाहेक अरु केही हुँदैन । राससका दिनभरका बुलेटिन पल्टायो । कपी ग¥यो । बीट (समाचार क्षेत्र) अनुसारका समाचार सम्बन्धित पृष्ठमा पठायो । पत्रिका तयार भइहाल्छ । चाडबाड वा खास किसिमको परिस्थिति सिर्जना भएको बेला वा कर्मचारी कटौतीमा परेको बेला वा कर्मचारी बिरामी परेको बेला रासस प्रब्लम सुटर (समस्या समाधान अस्त्र) को रुपमा देखापर्दछ ।

एक पटक एउटा राष्ट्रिय दैनिकमा सम्पादकीय विभागका अधिकाँशले कुनै कारण देखाएर आफ्ना माग पुरा नभएसम्म पत्रिकामा केही दिन काम नगर्ने धम्की दिए । तब दैनिक पत्रिकाका संचालकले अनौठो चेतावनी दिए, ‘तपाईंहरु गए पनि केही फरक पर्दैन, रासस छँदैछ, म एक्लैले पनि पत्रिका निकाली दिन्छु ।’ म बारम्बार उनले भनेको त्यो वाक्य सम्झन्छु । यसरी राससले आफुलाई पत्रकारहरुमाझ मात्र नभएर मिडिया संचालकमाझ पनि विशेष परिस्थितिमा समेत काम लाग्ने विशेष शक्तिको रुपमा उभ्याएको छ । 

दैनिक पत्रिकाका आफ्नै राष्ट्रिय संयन्त्र हुन्छ । तर, सधैं त्यो संयन्त्र काम लागिरहन्छ भन्ने हुँदैन । कहिलेकाहीँ विशेष परिस्थिति उत्पन्न हुन सक्छ । कहिले कुनै जिल्लाको संवाददाता विरामी पर्न सक्छ । वा यस्तै केही स्थिति आउन सक्छ । त्यस्तो अवस्थामा राससको संयन्त्रमा पूर्ण आधारित भएर सम्बन्धित पत्रिकाले आफुलाई अपूर्ण हुन दिंदैन । यसरी रासस मिडियाको अधुरोपन हटाउने संयन्त्र पनि भइरहेको हुन्छ ।

पत्रिकालाई खाली ठाउँ भर्ने सजिलो उपाय बनेको छ रासस । विरोधाभाषी, विवादास्पद र अपुष्ट घटनामा पनि ‘राससले जनाए अनुसार’ भनेर समाचार दिने गरिएको पनि पाइन्छ । त्यसो गर्दा सूचना सम्प्रेषण पनि भयो । अर्कोतिर विवादमा तानिन पनि परेन । यसरी रासस अन्य आमसंचारमाध्यमका लागि धेरै प्रकारकोे उपयोगी साथी भएको छ, जसमार्फत आमपाठक पनि लाभान्वित छन् । 

यद्यपि रासस सहयोगी संस्था हो, जसले आफ्ना सदस्य आमसंचारमाध्यमलाई समाचार, आलेख, तस्विर आदि प्रेषण गर्दछ । यो त उसको काम नै हो । र, मुख्य काम नै यही हो ।

अन्त्यमा

पछिल्लो अवधिमा सूचनाभन्दा पनि सूचनाको प्रस्तुति महत्वपूर्ण छ । आमसंचारका विभिन्न माध्यम खासगरी सामाजिक सञ्जालको लोभलाग्दो लोकप्रियतामाझ अहिले पनि धेरै मान्छे भेट्छु, जसलाई राससको महत्व र प्रभावकारिता राम्ररी थाहा छ । उनीहरु भन्छन्, ‘कुमारले पृथ्वी घुम्नुभन्दा गणेशले महादेव पार्वतीलाई घुम्नु ठुलो भने झैं राससका प्रतिनिधीलाई बोलाएपछि अरुलाई नबोलाए पनि फरक पर्दैन । तिनको भनाई हुन्छ, राससले ‘न्युज कभर’ गर्नु भनेको सबै मिडियाले ‘कभर’ गर्नु हो ।

मलाई यति भन्न कुनै अप्ठ्यारो लाग्दैन, एक रासस सम्वाददाता अरु थुप्रै सम्वाददाताको भीड बराबर हो । कार्यक्रम गर्दै हुनुहुन्छ भने राससलाई नबोलाउने भुल नगर्नु होला ।

nepalnamcha@gmail.com

One Comment

  1. News agency ko mahatto kati cha vanne baare nikai ramro lekh padana pahiyo, dhanyabad. tar ajkal ta RSS laee sake samma hepne, ojhelma parne prabriti thula mediaharu baat nai vaee rahekocha. tapaeeka studentsharu le bujhe jattiko pani RSS ko mahattto sarkarka jimmewar padadhikariharule bujheka chainan. natra 60 barsako abichinna itihas vayeko sanstha ahile samma ta dherai baliyo vaee saknu parne ho.

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button