शेयरबजारः स्टक स्प्लिट् के हो ?

अन्जन सिलवाल

स्टक स्प्लिट् अहिले निकै चर्चाको विषय बनेको छ । नेपाल लाईफ इन्सुरेन्सले भर्खरै प्रस्ताव गरेको यो स्टक स्प्लिट्को विषय बजारमा धेरै नै सुनिन थलिएको छ । साँच्चै नै के हो त यो स्टक स्प्लिट भनेको र किन गरिन्छ ? सायद कमै मान्छेलाई थाहा होला ।

सरल भाषामा भन्दा स्टक स्प्लिट् भनेको कुनै पनि कम्पनीको अङ्कित मुल्य घटाएर शेयर सँख्या बढाउनु हो । यसो गर्दा जोसँग त्यो कम्पनीको शेयर हुन्छ, त्यो सँख्या बढ्छ र बजार मुल्य समायोजन भएर घट्छ ।

कम्पनीको बजार मुल्य समायोजन के को आधारमा गरिन्छ ?
यो कम्पनीले प्रस्ताव गरेको रेसिओको आधारामा गरिन्छ । नेपाल लाईफको सन्दर्भमा कम्पनीले १स्२ को रेसिओ भनेको छ । जसको अर्थ १ कित्ता शेयर बराबर २ कित्ता शेयर हुनेछ र कम्पनीको आङ्कित मुल्य भने रु १०० बाट घटेर रु ५० हुनेछ । साथसाथै, बजारको मुल्य पनि घटेर आधा हुनेछ । यदि तपाईंसँग नेपाल लाईफको १०० कित्ता शेयर छ र त्यसको दोस्रो बजारमा मुल्य ३००० छ भने अब स्टक स्प्लिट्पछि तपाईंसँग भएको १०० कित्ता शेयर २०० हुनेछ र १०० कित्ता शेयरको बजार मुल्य १५०० हुनेछ ।

स्टक स्प्लिट किन गरिन्छ ?
राम्रो कम्पनीको शेयर महँगो हुन्छ र सबै लगानीकर्ताहरुले चाहँदाचाहँदै पनि त्यस्तो कम्पनीको शेयर खरिद गर्न सकिरहेका हुँदैनन् । तिनै लगानीकर्ताहरुले पनि कम्पनीको शेयर किन्न सकुन् र उनीहरुको हातमा पनि कम्पनीको शेयर् परोस् भन्ने उद्धेश्यले गरिएको हुन्छ । यसो गर्दा बजारमा त्यो कम्पनीको शेयरको तरलता बढ्छ ।

उदाहरणको लागि मानौँ एउटा पिज्जाको मुल्य रु ४०० छ । तपाईंको खरिद क्षमता रु १०० छ र त्यति मुल्य हाल्न तपाईं तयार हुनुहुन्छ । अब तपाईंले त्यो पिजा खानको लागि कि त त्यसको मुल्य घट्नु पर्यो कि त तपाईंको किन्न सक्ने क्षमता बढ्नु पर्यो । यसैबीच पिजा ब्यापारीले एउटा पिजालाई ४ भाग लगायो र लेखेर टाँस्यो कि १ पिस पिजाको मुल्य मात्र रु १०० । अब यसो गर्दा भने तपाईंले पनि त्यो पिजाको स्वाद लिन सक्ने हुनु भयो । भाग लगाएर बेच्दा ती ब्यापारीले भने पाएको रु ४०० नै थियो, जसको मुल्य भाग नलगाउँदा पनि त्यति नै थियो ।

अब यही उदाहरणलाई नेपाल लाईफको स्टक स्प्लिट्सँग दाँजेर हेर्दा सायद छर्लङ्ग भइएला तर बजार पूँजीकरणमा स्टक स्प्लिट्को कस्तो भूमिका रहन्छ त भन्ने लग्न सक्छ । बजार पूँजीकरणमा स्टक स्प्लिट् गर्दा केहि असर पर्दैन र जस्ताको त्यस्तै रहन्छ ।


(अन्जन शेयर बजारका जानकार हुन् र माथिको लेख उनको व्यक्तिगत विचार हो । उनी नेपालनाम्चामा शेयरबजारबारे नियमित लेख्छन् । तपाई पनि अन्जनले जस्तै शेयरबजारबारेका लेख, टिप्पणी र अनुभव नेपालनाम्चको इमेल
 nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button