उद्योग विभाग, त्रिपुरेश्वरमा सेवाग्राहीलाई यस्तोसम्म हुँदोरहेछ
मुकुन्द हटुवाल
केहि महिनाअघिको कुरा हो । म एउटा कम्पनीको भन्सार सुविधासम्बन्धि कामको सिलसिलामा उद्योग विभाग, त्रिपुरेश्वरमा गएको थिएँ । त्यस काममा कम्पनीको परियोजनापत्र समावेश गर्नु पर्ने रहेछ तर मैले ल्याएको कागजातमा त्यो समावेश थिएन तसर्थ कम्पनीको अभिलेख शाखाबाट परियोजना पत्रको प्रतिलिपी उपलव्ध गराइ पाउनको लागि निवदन दर्ता गराएको थिँए । मलाई आवश्यक थियो, त्यहि परियोजनापत्र ।
अब के गर्न सकिन्छ भनी मैले फाँटवाला एक महिला कर्मचारीसँग सोधें । उहाँले अभिलेख शाखाबाट फाईल ल्याउन भन्नुभयो । अभिलेख शाखामा रहेको कम्पनीको फाइलमा पनि विभागीय अधिकृतको स्वीकृत नगरिकनै फाईल अभिलेख गरिएको रहेछ । मैले फाईल ल्याउँदा त्यहाँ फाँटका अधिकृत आउनु भएको रहेछ । वहाँले मेरो कम्पनीको निवेदन र फाईल हेर्नुभयो । त्यहाँ परियोजना पत्रमा अधिकृतको दस्तखत नदेखेपछि उहाँले मलाई निकै खरो पारामा सोध्नुभयो, “तपाई यो कम्पनीको को हो ?”
मैले भनेँ, “म कम्पनीको प्रतिनिधिमात्र हुँ ।”
उहाँले सोध्नुभयो, “तपाईको परिचयपत्र खै ?”
मैले मेरो झोलाबाट आफ्नो नागरिकताको सक्कल पत्र झिकेर देखाँए ।
उहाँले फेरि सोध्नुभयो, “तपाईको कम्पनीको परिचयपत्र खै ? मैले नागरिकता मागेको हैन ।”
“सर, मलाई कम्पनीले कुनै परिचयपत्र दिएको छैन तर मलाई कम्पनीले यस कामको लागि अख्तियारी दिएको पत्र छ नि त सर । जहाँ मेरो नागरिकता नं. समेत उल्लेख गरेको छ सर”। मैले भनेँ ।
तर उहाँले झर्केर तपाईको काम हुँदैन, जानुहोस् भन्नुभयो र त्यो कोठाबाट निस्कनुभयो ।
म त्यहि कोठामै बसिरहेँ । मैले त्यस फाँटकै तिनै महिला कर्मचारीलाई सोधें, “म्याम, यो त कम्पनीको कमजोरी त हैन । जब कि कम्पनीले आवश्यक कागजात पेश गरेरमात्र त आफ्नो उद्योग दर्ता गरायो । यो त कार्यालयकै कमजोरी हैन र ? किन मलाई उहाँ सरले तपाइको काम हुँदैन भन्नुभो ?”
“त्यस समयको अधिकृत अहिले हुनुहुन्न । अब त्यो परियोजनापत्र स्वीकृत गराउन एउटा टिप्पणी उठाउनु पर्छ र अहिले हुनुभएको अधिकृतबाट स्वीकृत गराएर राख्नुपर्छ”, उहाँले भन्नुभयो ।
“म टिप्पणी उठाइदिन्छु, टिप्पणी उठाएको कति पैसा दिनुहन्छ ?”, उहाँले मलाई सोध्नुभयो ।
“टिप्पणी उठाएको पनि राजश्व लाग्छ र मेम ? मैले उहाँलाई प्रश्न गरें ।
“राजश्व त लाग्दैन तर मेहनत लाग्छ नि, समय लाग्छ । के गर्नु यसो चिया खर्च त लिनै पर्यो । मैले तपाईको व्यक्तिगत पैसा भनेको हैन, कम्पनीकै तर्फबाट दिनु भनेको”, अधवैंसे ती म्यामले कुनै सङ्कोच नमानी मसँग पैसा माग्नुभयो ।
“माफ गर्नुहोला म्याम, म को हुँ भन्ने थाहा नपाइकनै तपाईले सोझै पैसा माग्नु भयो । त्यसरी त म एक पैसा पनि दिन सक्दिनँ” भनेपछि उहाँले तपाईको काम आज हुँदैन, पर्सि आउनुहोस् (त्यस दिन शुक्रवार थियो) भन्नु भयो ।
ठिक छ, म्याम, म पर्सि आउछु भनेर म त्यहाँबाट बाहिरिएँ ।
पर्सिपल्ट आइतबार म कार्यालय समयमै उद्योग विभागको उहि फाँटमा पुगें र त्यस समय उहाँ म्याम अर्कै कोठामा जल्दोबल्दो राजनीतिको कुरामा हो मा हो मिलाएर बसिरहनु भएको थियो । उसै समयमा मैले “नमस्कार म्याम, मेरो काम के भो होला ?” भनी सोधेँ ।
उहाँले “म एक छिनपछि आउँछु, बस्दै गर्नुहोस्” भन्नुभयो ।
करिव आधा घण्टापछि उहाँ आफ्नो कार्यकक्षमा आउनु भयो र भन्नु भयो, “तपाईको फाइल मैले अस्तिको दिनमै टिप्पणी उठाएर स्वीकृतिको लागि निर्देशकको टेवुलमा लगेको हुँ । त्यहिँ जानुहोला ।”
म निर्देशकको कोठामा गएँ, त्यहाँ कोहि पनि हुनुहन्थेन ।
“म्याम, त्यहाँ त कोहि हुनुहुन्न । फाईल हेरिदिनु पर्यो”, मैले भनेँ ।
मेरो काम हुने त कुरै छैन, फाईल नै फेला परेन । कहिले यता र कहिले यता होला भनेर मलाई करिव एक घण्टा अलमल भैसकेपछि मैले तिनै म्यामलाई अलि जोडले भनेँ, “म्याम के मैले अर्को कुनै उपाय लगाउनु पर्ने भयो ?”
म्यामले भन्नुभयो, “कस्तो उपाय ?”
मैले भनेँ, “पत्रकारहरुलाई खवर गर्ने नि, अरु के हुन सक्छ र ? म्याम म पनि एक असल शासन संस्थामा कार्यरत छु, कि मैले यहाँको गतिविधिमा साथीहरुलाई खवर गर्न नपरोस् ।”
यति भन्नासाथ उहाँले कतै गएर मेरो फाइल ल्याउनु भयो र मलाई दिनुभयो । मैले सम्बन्धित शाखामा चलानी गराएर पूनः सुविधा शाखामा फाईल लगेँ । र, प्रकृया अघि बढाउनका लागि शाखा अधिकृतलाई फाईल दिएँ, उहाँले तपाईको फाईल मैले टिप्पणी उठाएर निर्देशकज्यूकोमा लगेको छु, निर्देशक अहिले बाहिर जानु भएको छ, सायद आज भ्याइदैन, भोलि आउनु होला ल भनी पठाउनु भयो ।
म भोलिपल्ट जान सकिनँ तर पर्सिपल्ट पत्र लिन त्यसै फाँटमा पुगेँ, मेरो फाईल कहिंकतै फेला परिएन, पहिले प्रशासन फाँटमा भए झैं नै मेरो फाईल हरायो । कहिले कहाँ, कहिले कहाँ भन्दाभन्दै धेरै समय गै सकेको थियो । मैले फाँटमा भएको सबैजनाले सुन्ने गरी भनेँ, “के भैरहेको छ, यो सब, मेरो मात्र हो कि सबैजनाको यस्तो हुने हो, अस्ति प्रशासन फाँटबाट पनि फाईल भेटाउन झण्डै पत्रकार नै बोलाउनु परेको थियो, आज पनि यहाँ त्यस्तै नै गर्नु पर्ने हो कि कसो ?”
त्यसो भनेपछि नजिकै रहेको एकजना कर्मचारीले भन्नुभयो, “तपाईको फाईल भेटिदैन अब, फेरि तपाईले अर्को फाइल बनाएर ल्याउनु होला, हामी पुरानै दर्ता राखेर पूनः टिप्पणी उठाएर अघि बढाइदिनेछौं ।”
“अब त अति नै भयो सरहरु, म असल शासनमा कार्यरत एक कार्यकर्ता पनि हुँ, के मैले साथीहरुलाई यहाँको अवस्था बारेमा जानकारी दिएर बोलाउनै पर्यो त ?”, त्यति भनेपछि शाखा अधिकृत आफै उठेर अर्को कोठामा जानुभयो र तुरुन्तै फाईल ल्याउनुभयो र मलाई दिनुभयो । मैले सम्बन्धित प्राविधिक शाखाबाट स्वीकृति गराएर सबै फाँटवालाहरुको दस्तखत गरेपछि पत्र बनाउन सुविधा शाखाको प्रशासन शाखामा जान भन्नुभयो । मैले त्यहाँ गएर पत्र बनाउन भनेँ । तर आज नभ्याउने भन्नुभयो र अर्को दिन आउनु भन्नुभयो । कार्यालय समय पनि सकिन लागेको हुँदा म अर्को दिन आउँछु त भनेर त्यहाँबाट बाहिरिएँ ।
अर्को दिन कार्यालय समयमै म फेरि सो पत्र लिन उद्योग विभागको सुविधा शाखाको प्रशासन फाँटमा पुगें । पत्र टाइप गरी तयार गरिएको रहेछ, निर्देशकज्यूको दस्तखत बाँकी रहेछ । मलाई निर्देशकको दस्तखत गराएर ल्याउन भन्नुभयो । मैले निर्देशकज्यूको कोठामा गएर दस्तखत गराएर चलानी गर्नका लागि त्यहिं प्रशासन शाखामा गएँ । कहि समयमै चलानी गरेर पत्र मेरो हातमा दिँदै त्यहाँ काम गर्ने महिला कर्मचारीले यसो हामीलाई चियापानी खर्च हुँदैन दाजु, भन्नुभयो ।
मैले यस कामको लागि करिव दुई हप्तादेखि यस विभागमा कुनकुन फाँट चहार्नु परेन, मैले झण्डै पत्रकार समेत बोलाउनु परेको थियो । त्यसैले माफ गर्नुहोला, मैले केहि पनि दिन सक्दिनँ, तपाईहरुको सहयोगको लागि धन्यवाद तर अरु सेवाग्राहीहरुलाई यतिविधि दुःख नदिनुहोला भनी आफ्नो कम्पनीको पत्र लिइ त्यहाँबाट बाहिरिएँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)