सेताम्य केशमा पनि आमाले बाटिदिएको दुईचुल्ठे लर्काएर मित्रताको नवीकरण

मित्रताको नवीकरण

रामेश्वरी पन्त

जिन्दगी पनि एउटा लाइसेन्स जस्तै हो । जिन्दगीको गाडी गुडाउन यसका पनि हरेक पानाले नवीकरण खोजिरहेका हुन्छन् । सम्बन्धको नवीकरण, मित्रताको नवीकरण, यस्तै यस्तै । सम्बन्धहरूलाई पनि ताजा बनाइराख्न बेलाबेलामा भेटघाट, आवतजावत र सम्बाद हुनुपर्छ । त्यस्तै हो मित्रता पनि । जति यसलाई नवीकरण गर्दै गयो त्यति ताजा हुन्छ, रसमय हुन्छ । र हुने रहेछ । आफैले महशुस गर्दैछु अचेल ।

स्कुले जीवनका साथीहरूसँग त बिरलै सम्पर्क हुन्छ । यदाकदा सामाजिक संजालमा कोहीकोहीले नातिनातिनालाई डोर्‍याएर हिंडेको देखिन्छ अनि तिनै नातिनातिनामा आफैलाई समाहित गर्दै आफ्ना बालापन र बालसखीहरूको यादमा हराउने गर्छु । हुन त बालापनको दोस्तिलाई नवीकरणको खाँचो पनि पर्दोरहेनछ । त्यसैत्यसै सम्झनामा आइरहने । सेताम्य केशमा पनि आमाले बाटिदिएको दुईचुल्ठे लर्काएर साथीहरूसङ्गै स्कुलतिर उकालिएको, पाखा पखेरातिर दौडिएको अनुभूति हुने ।

स्कुल सकियो । कलेज शुरु भयो, सकियो । कलेजसङ्गै सबैका जिन्दगीका मोडहरू पनि फरकफरक भए । कोही कता लागे, कोही कता ! सबैले आआफ्नै घरसंसार बसाउन, सजाउन थाले । लामो समयसम्म कसैलाई कसैको हालखबर बुझ्ने फुर्सद सायदै भयो । आफ्नै संसारमा हरायौं, आफ्नै बगैंचामा भुल्यौं । सबैका बगैंचामा बोटहरू हुर्किए, फूलहरू फुल्न थाले । यिनै फूलहरूको जवानीसङ्गै जब आआफ्ना जवानी पनि याद आउन थाले । तब जीवनको ऊर्जा सकिएछ, जिन्दगी ओरालो लागेछ । तैपनि समय न हो ! प्रविधिले फेरि पनि कलेज जीवनका ती मीठा दिनहरूको याद गराउन थाल्यो । ओरालिएको जीवनमा केही फुर्सदिलो महशुस गर्दै सम्भव भएसम्म साथीसँगीहरू भेट हुने रमाइलो गर्ने गर्न थाल्यौं केही वर्षदेखि । यसरी भेट हुँदा एकातिर घरब्यबहारका अनेक टन्टा केही क्षणको निम्ति भए पनि सरक्क पाखा लाग्ने रहेछन्, अर्कोतिर मन र शरीरमा नयाँ ऊर्जा थपिएको महशुस हुने रहेछ ।

हो, यही ऊर्जाको निम्ति पोहोरसाल झैं यसपटक पनि हामी फेरि एकपटक जम्मा भयौं र रमायौँ धित मर्नेगरि ।

अदालतमा न्यायाधीशले मुद्दाको पेशी सारेजस्तै करिब पाँच महिनादेखि जमघटको मिति सार्दै सार्दै २०८० सालको अन्त्य अन्त्यमा बल्ल यही चैत्र ३ गते शनिवार काठमाडौंमा रहेका सबै त नभनौँ करीब डेढ दर्जनजति हामी पुराना (सुन्दा अचम्म लाग्ला, केही चालीस वर्षअघि सङ्गै पढेका, केही पैतीस वर्षअघि सङ्गै पढेका) साथीहरू जम्मा भएर रमाइलो गर्ने भयौं । अथवा मित्रताको नवीकरण गर्ने भयौं । सबैको अनुकूल पारेर तय भएको यो दिन पनि केही साथीहरू आउन सकेनन् किनभने कसैका घुँडा दुखेर हिंड्नै नसक्ने भएछ (त्यसो त मेरा आफ्नै घुँडा पनि कामचलाउ भएका छन्), कसैकी सासू बिरामी, कसैका के ! जति आयौं, गोपिकृष्ण हल अगाडि जम्मा भएर लाग्यौं चुनिखेलतिर ।

पन्त

चुनिखेल ! बुढानिलकण्ठ नगरपालिका १३ नम्बर वडा कार्यालयबाट करीब पाँच मिनेटको बाटो भित्र रहेछ साथीहरूले बुक गरेको रिसोर्ट- `चुमहिम एग्रो कन्सर्न´ । भर्खर भर्खर शुरु भएको रिसोर्टमा संरचनाहरू बन्नै बाँकि रहेछन् तर पनि डाँडाको फेदीमा रहेको यो ठाउँ रमाइलै लाग्यो । हामी पुग्दा नास्ता तयार रहेछ, पारिलो घाम ताप्दै, खाँदै र फोटाहरू खिच्दै रमाउन थालिहाल्यौं ।

गीत घन्किन थाल्यो । नाच जान्नेहरू मस्की मस्की नाच्न थाले । आफूसँग त थपडी बजाउने शीप बाहेक केही थिएन । तर पनि साथीहरूले तान्दै हात समातेर घुमाउन थाले । पाइला पाइलामा तस्वीर खिच्नु र फेस्बुकमा पोस्ट गर्नु आजका मान्छेको अपरिहार्य विशेषता नै हो । म पनि किन पछि पर्नु र ! नाच्न नजाने पनि नाचेको पोज दिएर एकदुई तस्वीर खिचिहालेँ । नाचगानपछि खाजा खाएर खेल खेल्न थाल्यौं । जसमध्ये सबैलाई स्कुले जीवनमा पुर्‍याइदियो `मेच घुमाई´ अर्थात् ? म्युजिकल चेयरले । कुर्सीको लोभमा घुम्दै, बाहिरिंदै गर्दाको हाँसो र रमाइलो भनिसाध्यै छैन । हामीजस्तालाई त खाई न पाईको कुर्सीको त्यस्तो लोभ लागेर तँछाडमछाड गर्न मन लाग्दोरहेछ भने लाभका पद कुम्ल्याउन माहिर नेताहरू किन कुर्सीको पछि लागेर हानथाप र गालीगलौज नगरून् !

सबै बाहिरिइसकेपछि बाँकी रहे- नारायणी र पार्वती । ठूलै घम्साघम्सीपछि नारायणीले बाजी मारिन् । त्यसो त यस दिनका लक्की मेम्बर यिनै दुईजना देखिए । कुर्सी दौडअघि रमिलाले बिंगो खेलाईन् । त्यसमा पनि नारायणी र पार्वती `सुपर विजेता´ बनेर पुरस्कृत भएका हुन् । यतिमात्र होइन कागजको पोको दौडाउने खेल पनि कहाँ छोड्यौँ र ! कति हासियों कति ! यो हाँसोभित्र कतिका कति दु:ख, कष्ट र पिडाहरू छोपिएका थिए होलान् ! यिनैलाई भुल्न त जम्मा भएका थियौं !

फेरि हाँस्दै हाँस्दै रुन थाल्यौं साथी शारदाको जीवनमा आएको आँधी तुफानको कहानी सुनेर । उफ् ! नारीले कति सहन सक्छे है ! साच्चिकै धैर्यताको पर्याय नै थिइन् उनी । उनका बितेका ती सकसले वर्तमानमा हामीलाई रुवाइदिए । सबै स्तब्ध थियौं उनको कथा सुनेर । साच्चिकै कथा जस्तो भोगाई !

कति सिरियस हुनु भन्दै फेरि रमाइलो गर्‍यौं र खाना खाएर पाँच बजेतिर फर्कियौ त्यहाँबाट फेरि अर्को पटक छिटै नै भेट्ने बाचा गर्दै ।

जिन्दगीमा दु:ख, पीडा र चिन्ता नपर्ने त बिरलै होलान् । कोही यसैमा डुब्छन् कोही यो सबलाई भुल्ने बहाना खोज्छन् र रमाउछन् । हो, दुखमा रमाउन पनि जान्नुपर्छ । ढल्कँदो उमेर, रोगले च्याप्दै जाँदा निराशा बढ्दै जान्छ मानिसमा । यस्तो बेला पुराना दिन सम्झने, पुराना साथीसँग भेटघाट गर्ने गर्‍यो भने आफूलाई भावनात्मक रुपमा जवान महशुस गर्न सकिन्छ ।

यसर्थ सकिन्छ भने तपाईंहरू पनि हामीले जस्तै बालपनका, किशोरवयका र जवानीका साथीसङ्गी भेट्ने, गफ गर्ने, रमाउने गर्नुस् है ! अहिले त साथीहरूसँग सम्पर्क गराउने माध्यम छ नि सामाजिक संजाल । यसमा त वर्षौंदेखि हराएका प्यारा प्यारा दोस्तीहरू पनि भेटिन्छन् क्या !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button