
संस्कृतमा ‘कण्डु’ भनिने लुतो किन फाल्ने ?
ब्राह्मणपुत्रको लकडाउन डायरी–७८
शुभदिन ! १ साउन २०७८ ।
हरेक महिनाको १ गते अर्थात सक्रान्ति आफैमा एउटा उत्सव हो । त्यसमध्ये पनि साउने सक्रान्तिलाई विशेष मानिन्छ । असारमा खेतमा रोपाई गरेपछिको थकाइ मार्ने दिन हो साउने सक्रान्ति ।
आजको विशेष भनेको साँझ ‘लुता फाल्ने’ कण्डारकपूजा र सूर्यपूजा हो । साउन यसपालि ३२ दिनको छ । तिथिको हिसाबले साउनको १० गतेदेखि शुरु भएर भदौंको ६ गते श्रावणशुक्लपक्ष सकिन्छ । महिना र तिथिका दुवै हिसाबमा साउनमा ४ वटा सोमवार परेको छ । साउनको सोमबार विशेष दिन र व्रत बस्ने दिन हो ।
साउन ५ गते मंगलवार हरिशयनी एकादशी परेको छ । त्यो दिन घरमा तुलसी रोप्ने गरिन्छ । हरिशयनी एकादशीदेखि चातुर्मासव्रत शुरु हुन्छ । चार महिनाको यो चातुर्मासको समयमा विशेष ध्यान, जप, पूजा र आराधना गर्ने गरिन्छ । कार्तिक शुक्ल एकादशीको हरिबोधिनी एकादशीसम्मको समयमा योगी, ध्यानी, सनातनी अध्येताहरुले यो समयमा महत्व दिएर साधना गर्ने गर्दछन्् ।
हिजो विवाहको साइत थियो । अब मंसिर महिनामा मात्र विवाह गर्ने साइत शुरु हुन्छ । यो बीचको समयमा विवाह, व्रतबन्ध आदि शुभकर्महरु निषेध गरिएको छ । नियमित गरिने कर्मलाई कुनै बाधा छैन । तर, कामना र उद्देश्यमूलक कार्यका लागि भने साइत र समयको निकै महत्व हुन्छ ।
शुक्रबार हरेक साता आधा काम गर्ने दिन जस्तो लाग्छ । किनकी सरकारी काम आधा दिन मात्र हुन्छ । निजी बैक र कम्पनीहरुले पनि आधा समय काम गरेर शुक्रबार मनाउने चलन बन्दै गएको छ ।
आजको दिन तिथि, बार नक्षत्रका आधारमा के–के शुभकाम गर्न सकिन्छ :
१) नयाँ बस्त्र(कपडा) आभूषण खरिद गर्नको लागि आजको दिन शुभ छ ।
२) युवा युवतीहरुले आपसमा उपहार–आदानप्रदान गर्न सक्छन् ।
३) सौन्दर्यका सामग्रीहरुको खरिद र आफूलाई मन पर्ने रंगको पहिरन छनोट गर्नुहोला ।
४) शुक्रबारको दिन तरकारी खेती गर्नेहरुले वीउविजन, मलआदि खरिद गर्न सक्छन् ।
के–के अशुभ हुन्छ ?
१) महिलाहरुसँग विवाद नगर्नु । आजको दिन त महिलाहरुसँग पटक्कै विवाद नगर्नुहोला । यदि विवाद हुने अवस्था आयो भने मौन रहनु राम्रो । सल्लाह मान्ने नमान्ने तपाईहरुले हो । दिन चाहिँ अलि कडा दिन प¥यो आज ।
आजको चन्द्रमा कन्या राशिमा रहेको छ । शुक्रबारको दिन आर्थिक लगानी गरेर थप धन आम्दानी हुने सोच नराख्नु होला ।
आजका देवता विश्वकर्मा हुन् । विश्वकर्मा भनेका फलाम हुन् । त्यसैले आफनो मोटर, आफूले चढ्ने सवारी साधनको सरसफाईमा ध्यान दिनुहोला । ग्रहदेव शनी हो । शनि अलि कडैं हुन्छ । त्यसैले शनि प्रभाव कम गर्ने उपाय भनेको कुनै पनि काम र विवाद हुन थाल्यो भने मौन रहनु नैं उत्तम मार्ग हो ।
किन लुतो फाल्ने ?
असारको महिना खेतमा रोपाई गर्दा हिलो र धमिलो पानीका कारण शरीरका कुनै अङ्गमा छालामा समस्या हुनसक्छ । लुतो, घाउँ खटिरा, चिलाउने आदि समस्या हुन सक्छ । यो सबै समस्याको समाधानका लागि साउने संक्रान्तिको दिन लुतो फल्ने चलन भएको हो । संस्कृतमा लुतोलाई ‘कण्डु’ भनिन्छ । त्यसको अर्थ भनेको चिलाउनु हो । यसको मनोबैज्ञानिक कारण भनेको यो रोगका देवता भनेका कण्डारक हुन् । त्यसैले यसको विधिपूर्वक पूजा गरेर लुतो फाल्ने काम गरिन्छ ।
संक्रान्तिको रातको समयमा दीप, कलश र गणेशको पूजा गरी परिवारका सबै सदस्य जम्मा भएर आगो बलिरहेको अगुल्टो खेतबारीमा फाल्ने चलन छ । त्यस बेला शंख, घण्ट बजाउने थाल ठटाउने, लुतो लैजा हैं भनेर कराउने गरिन्छ । लुतो फाल्ने समयमा गाउँघरमा मुल ढोका बन्द गर्ने प्रचलन थियो ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)