
आज बिहेको दिन, भोलि लुतोको
ब्राह्मणपुत्रको लकडाउन डायरी
भरत शर्मा
शुभदिन ! बिहिबार ३१ असार २०७८ ।
अहो ! असार बितेको पत्तै भएन । महिनाको अन्तिम दिन । जनबोलीमा मसान्त । भोलिबाट साउन शुरु । साउनको पहिलो दिन लुतो फाल्ने परम्परा छ । साउन आराध्यदेव पशुपतिनाथ र शिवको विशेष पूजा र आराधना गर्ने महिना हो ।
सनातनी धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने महिलाहरुले साउनको सोमबार व्रत बस्ने, हरियो चुरा र हरियो पहिरन लाउने चलन छ । शनिवारदेखि महिनाले साउन लागे पनि पक्षका हिसाबले १० गतेदेखि मात्र साउनकृष्णपक्ष शुरु हुन्छ । तिथिको आधारमा साउनमा व्रत बस्ने हो भने साउन ४ गते सोमबार व्रत बस्नु पर्दैन । होइन, तिथिसिति थाहा छैन, महिनाको आधारमा हामी साउन महिनामा व्रत बस्ने भन्नेहरुका लागि व्रत बस्नु ठीकै छ ।
आज एकै दिन दुईवटा तिथि खप्टेको छ । असारशुक्लपक्षको पञ्चमी र षष्ठी दुवै परेको छ । शुक्लपक्षको पञ्चमी पूर्णा तिथि हो । पूर्णातिथिमा गरिएको योजना र सङ्कल्पहरुले पूर्णता पाउने मान्यता छ ।
आजका देवता कुवेर हुन्, ग्रहदेव वृहस्पति । आज कुनै मागलिक कार्य शुरु गर्दा सफल हुने निश्चित छ । तर, मसान्त भएकाले केही अन्य नियम मान्नु पर्दछ । आज विवाह लग्न छ । असारको अन्तिम दिन तिथि, बार र नक्षत्र समेत निकै राम्रो भएकाले विवाहको साइत दिइएको हो ।
आज उच्चपदस्थ र आफूले सम्मान गर्ने, ज्ञानी, व्यवस्थापन र प्रशासन क्षेत्रका व्यक्तिहरुसँग भेटघाट गर्दा निकै राम्रो हुन्छ । कुनै सभा, समारोह र आफनो कार्यालयको समीक्षा गर्दा पनि निकै राम्रो सुझाव र सल्लाह लिन र दिन सकिन्छ ।
आज कुनै परोपकारी कार्य गर्दा मनमा शान्ति र सद्भाव पैदा हुन्छ । नयाँ घरमा प्रवेश गर्दा पनि शुभ हुन्छ ।
आज दक्षिणतर्फको यात्रा गर्दा राम्रो हुन्छ । बिहिबार अध्ययन, अध्यापन, शोध र अध्येताहरुले शाकाहारी भोजन गर्दा राम्रो हुन्छ । व्रत गर्दा पनि राम्रो हुन्छ । शिवालय, देवालय र निवासनजिकका देवस्थानहरुको परिक्रमा गर्दा मनमा सन्तोष र उर्जा प्राप्त गर्न सकिन्छ ।
व्यापार व्यवसायमा लगानी बृद्धि गर्न खोज्नु भएको छ भने आजको दिन उत्तम रहेको छ । अर्थस्थिति सवल बनाउन चाहनुहुन्छ भने अर्थज्ञाताहरुसँग परामर्श र भेटघाटले नयाँ योजनाहरु तय हुनसक्छ ।
घर–घरमा लुत्तो पाल्ने परम्परा शहरमा त्यति छैन तर गाउँघरतिर अझै पनि साँझको समयमा अगुल्टो बालेर, सिमे, भुमे, नाग नगिनी, ग्राम देवता, वास्तुदेवताको पूजा गर्ने चलन छ । साउने सक्रान्तिदेखि सूर्य दक्षिणायनं हुने भएकाले विशेष गरी सूर्यपूजा गर्ने चलन छ ।
आज कसैसँग झगडा, मनमुटाव हुने अवस्था छ भने त्यो बर्षभरीका लागि हानिकारक हुने छ । त्यसैले घरमा, मित्रहरुसँग, कार्यालयमा विवाद, कलह हुने काम नगर्नु होला ।
परम्परा हो, मसान्तको दिन सापटी लिने दिने काम पनि त्यति राम्रो मानिदैन । दिनै पर्ने भए पनि सापट दिने तर फेरि केही रकम फिर्ता लिने गर्नु होला । यसको के वैज्ञानिक कारण थियो कुन्नी ? सानोमा सोधीखोजी गरिएन । अहिले हजुरबा बैकुण्ठतिर लाग्नुभयो । अब कसलाई सोध्ने हो थाहा छैन ।
आज ११ः४३ देखि १२ः३७ सम्म शुभ मुहूर्त छ । १ बजेर ५३ मिनेटदेखि ३ बजेर ३६ मिनेटसम्म राहुकाल छ । भनिन्छ, सकेसम्म राहुकालमा कुनै नयाँ काम शुरु नगर्नु, नियमित गरिरहेको कामको लागि कुनै दोष छैन ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)