
देवीसँग प्रार्थना गरौं, ‘महामारी छिटो हटोस्’
ब्राह्मणपुत्रको लकडाउन डायरी–७३
आज असार शुक्लपक्ष, आइतबार २७, २०७८ ।
भनिन्छ, आइतबारको दिन बिहानको सूर्य दर्शन गर्दा दिन र सप्ताह फलदायी हुन्छ । यो पक्षमा निकै महत्वपूर्ण दिनहरु आउँदैछन् । यसै हप्ता शुक्रबारदेखि साउन महिना शुरु हुँदैछ । सोमबार श्री जगन्नाथको रथयात्रा परेको छ भने मंगलबार आदिकवि भानुभक्तको जन्मदिन परेको छ । जन्म भनेको दिन (गते) र तिथिको आधारमा मनाइन्छ । धेरै काम मानिसको मात्र गते र तिथि एउटै पर्ने गर्दछ ।
गतेको आधारमा साउन १ गते शुक्रबारबाट शुरु भए पनि तिथिका आधारमा साउन कृष्णपक्ष १० गतेदेखि शुरु हन्छ । साउन ५ गते हरिशयनी एकादशी व्रत र तुलसी रोप्ने चलन छ । गत एकादशीमा राखेको तुलसीको विरुवालाई सनातनीहरुले आफ्नो घरको तुलसीको मठमा रोप्ने चलन छ । एकादशीको दिनदेखि चार महिनासम्मको चातुर्मास व्रत पनि शुरु हुन्छ ।
साधकहरुको लागि चातुर्मास व्रत र महिना पनि निकै महत्वपूर्ण मानिन्छ । भनिन्छ, यो चातुर्मासको बेला तीर्थयात्रामा गए धेरै पुण्य प्राप्त गर्न सकिन्छ । असार कृष्णपक्षभित्र साउनको ९ गते शनिवार गुरुपूर्णिमा, व्यास जयन्ती परेको छ । आफ्ना गुरुहरुप्रति भक्तिभाव राख्ने दिन हो गुरुपूर्णिमा । एक पक्षभित्र पर्ने महत्वपूर्ण दिनबारेको चर्चापछि आज आइतबारको खास महत्व के छ ? एक छिन त्यतातिर लागौं ।
सरकारी काम गर्नु छ भने आइतबार निकै राम्रो मानिन्छ । यदि सरकारलाई कर बुझाउनु छ भने आइतबार राम्रो मानिन्छ । अध्ययन, अध्यापन र फलामका सामान खरिदका लागि आइतबार शुभबार हो ।
आइतबार निकै उर्जाशील बार हो । बिहान सूर्यको दर्शनपछि आइतबार शुरु गरेका कामहरु सप्ताहन्तमा सकिन्छ भन्ने मान्यता पनि छ ।
तिथिको आधारमा आजको दिनफल अध्ययन गर्दा प्रतिपदा पयन्त द्वितीया भएकाले ब्यापार व्यवसाय प्रारम्भ गर्न सकिन्छ । भवन मंर्मत संहार र आभूषणसम्बधी सामान खरिद गर्दा पनि राम्रो हुन्छ ।
नक्षत्रको आधारमा अध्ययन गर्दा पुष्य (तिष्य) नक्षत्रमा कुनै पनि काम शुरुवात गर्नको लागि उत्तम दिन मानिन्छ । शास्त्र अनुसार यो तिथि परेको दिन शत्रुहरु कमजोर बन्छन् । त्यसैले यो तिथिका दिन शुभ काम गर्न सकिन्छ ।
घर निर्माण र घरको शिल्यायास गर्न पनि यो दिन शुभ मानिन्छ । आर्थिक लेनदेन र कारोबार गर्दा पनि आइतवार र तिथि नक्षत्र निकै फलदायी छ । सन्तानको उन्नती–प्रगतिका लागि शुभ काम गर्न सकिने आजको यो दिनलाई पञ्चाङ्गमा शुभ व्रतवन्धको साइत दिइएको छ ।
दिन, बार, तिथि र नक्षत्रको आधारमा मात्र होइन, आज गुप्त नवरात्र सुरु दिन हो । नौं दिनसम्म देवीको साधना, चण्डीपाठ र देवी आराधना गर्ने दिन पनि हो । नवरात्रमा एक दिन षष्ठी तिथि टुटेको हुनाले आठ दिनमा नवरात्र अर्थात ३ गते आइतवार सकिन्छ ।
साउन ३ गते निकै महत्वपूर्ण दिन मानिन्छ । नवरात्रको अन्तिम दिन नवमी तिथिको दिन घरमा गरिने पूजापाठ र आराधनाले समृद्धि, शत्रु पराजय र देवीको आशीर्वाद प्राप्त हुने शास्त्रीय मान्यता छ । गुप्त नवरात्रको बेला चण्डीपाठलाई निकै महत्व मानिन्छ ।
आजको दिन धार्मिक कार्य गर्दा फल प्राप्त हुने मान्यता छ । आजको दिन समय निकालेर आमासँग सुखदुःखका कुरा र सेवाभावमा लाग्नु उत्तम मानिन्छ । यदि समय छैन भने आमासँग संवाद गर्न चाहिँ नछुटाउनु होला । आजको दिन आफ्नो छोरालाई भिक्षादान दिने आमाचाहिँ निकै भाग्यमानी मानिन्छ ।
नवरात्रमा गरिएको आराधनाले मनमा सोचेको र कर्म अनुसारको फल प्राप्त हुने सनातनीय शास्त्रमा लेखिएको छ । जसले कर्म र साधनासहित भक्ति र आस्था राख्छ, उसको लागि ढिलोचाँडो उन्नति र शान्ति हुनेमा दुईमत नैं छैन । प्रकृति, आत्मा र परमात्माप्रतिको भाव नैं अध्यात्म भाव हो ।
सबैमा अनुरोध छ, गुप्त नवरात्रको समयमा आफ्नो घरमा देवीमातासँग प्रार्थना गरौं, ‘महामारी छिटो हटोस् ।’
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)