
ब्रम्हले भन्छ, ‘गोसाईंकुण्ड स्नानपछि आममाफी’
ब्राम्हणपुत्रको लकडाउन डायरी – १५
भरत शर्मा
‘हेर्नुस त, गोसाइँकुण्ड’, बादलमाथि तैरिरहेको हेलिकप्टरबाट दर्शन गराए पाइलटले ।
‘अब हामी केही समयपछि ल्यान्ड गर्छौं । हावा चलेको छ, नडराउनु होला है’, उनले भने ।
‘नमः शिवाय’, सबै यात्रीले सुन्ने गरी भन्दै थिएँ, हेली थपक्क बस्यो ।
सिम्रिक एअरका पाइलट सुरेन्द्र पौडेलले हेलीमा चढ्नुअघि हामीलाई जानकारी दिँदै भनेका थिए, ‘अब हामी २५ मिनेटभित्र गोसाइँकुण्ड पुग्छौं, तपाईंहरुको यो यात्रालाईं अविस्मरणीय बनाउने मेरो जिम्मा हो । माथि (गोसाइँकुण्ड)मा मौसम परिवर्तन भइरहन्छ, तर केही छैन । यदि मौसम बिग्रँदै गयो भने छिटै फर्कनु पर्छ नत्र हामी निर्धारित समयतालिका अनुसार यात्रा गर्छौं ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेली पार्किङबाट सिधै बुढानिलकण्ठ हुँदै हुँदै २५ मिनेटमा हामी गोसाइँकुण्ड पुग्यौं । आकाशमार्गको बीचबाटो बादलले ढाकेको थियो । बादलमाथिबाट यात्रा गर्दै गन्तव्य पुगेपछि हामीलाई निर्धारण गरेको समय ३० मिनेटको थियो । हाम्रो यात्राको गाइड पनि उनै पाइलट पौडेल थिए ।

शिवरात्रीपछिको मौसम गोसाईंकुण्ड यात्राको लागि निकै उत्तम मानिन्छ । विगत पाँच वर्षदेखि यही अवसरमा हेली कम्पनी सिम्रिकले यो यात्राको शुभारम्भ गरेको हो । धार्मिक पर्यटनको एउटा मुल गन्तव्य हुनसक्ने भन्दै हेलीबाट भए पनि यात्राको शुरुवात गर्नुपर्छ । म यसका लागि पहल गर्छु भनेर भन्दा हेली कम्पनीका हाकिमहरुकहाँ पुगेको थिएँ । विगत बर्षहरुमा थोरै भए पनि यो बर्ष सबैभन्दा बढी आन्तरिक (नेपाली) तीर्थयात्रीहरुले हेलीबाट गोसाईंकुण्डको दर्शन गरे ।
कोरोना महामारीको पहिलो चरणपछि खुलेको आन्तरिक पर्यटन यात्रामा सबैभन्दा बढी हेली कम्पनीले गोसाईंकुण्ड यात्राबाट अर्थोपार्जन गरे । एक दिनको मोटरयात्रा र अरु दुई दिनको पदैल यात्रामा पुग्न सकिने गोसाईंकुण्ड हेलीबाट आउन जान एक घण्टा र दर्शनका लागि ३० मिनेटको समय निर्धारित छ ।
होइन, यसपटक त हिँडेर जाने हो गोसाइँकुण्ड भनेर कयौं पटक योजना बनाए पनि मेसो मिलेन । नेपालका सबैजसो तीर्थ सडक र पैदलमार्गबाट गए पनि गोसाइँकुण्ड जाने योजना थाँती छ । हिँडेर जाने योजना बनाएर पटक–पटक हिँडेर गोसाइँकुण्ड पुगेका लाङटाङ सद्भावना दूत समेत रहेका टुर–ट्रेकिङ गाइड अशोक सिलवालको नेतृत्वमा २०७७ चैत अन्तिम साता हाम्रो पाँच सदस्यीय टोलीले त्यता जाने तयारी गर्दा पनि यात्रा रोकियो ।

ठीकै छ, तर अब समय सामान्य भएपछि छिट्टै हिँडेर जाने सोच स्थगित भएको छैन ।
पाँचौ वेद मानिएको महाभारतमा स्पष्ट भनिएको छ ‘कलियुगमा तीर्थयात्रा गर्दा स्नानबाट नै पुण्य फल मिल्छ ।’
गोसाईंकुण्डमा गरिने स्नानको फल त कति हो कति ?
सनातन संस्था गोवाले धार्मिक क्षेत्रका जलहरु संकलन गरेर शोध गर्नेक्रममा मुक्तिनाथ र गोसाइँकु्ण्डको जल पठाउने काममा म पनि संलग्न थिएँ । शोध अनुसार गोसाइँकुण्ड र मुक्तिनाथको जलमा अन्य जलभन्दा ‘औरा शक्ति’ प्रज्वल पाइएको भनिए पनि शोध जारी छ ।
जतिपटक गोसाईंकुण्ड पुगेँ, त्यो समय हिँउले भरिएको र पानी जमेर एकढिक्का भएको समयमा पुगेँ ।
गोसाइँकुण्डमा पुग्दा शिवजीलाई प्रत्यक्ष भेटेजस्तो हुन्छ । हरेक पटक गोसाइँकुण्ड जाँदा नृत्य गर्न मन लाग्छ । पछिल्लो पटक पनि त्यो क्रम टुटेन । अलि ठूलै स्वरमा कराएर ‘भोलेबाबा’ भनेर अन्तरसंवाद गर्न कोसिस गरेँ ।
शिवरात्रीको अवसरमा कैलाशनिवासी शिव मुक्तिनाथ, गोसाईंकुण्ड हुँदै पशुपतिनाथ र भारत बर्षभित्रका शिवालयहरुमा विचरण गर्छन् भन्ने शास्त्रीय मान्यता छ । शिवभक्तका लागि भेटघाट गर्न आउने शिवजीसँग सबैभन्दा गोप्य भेटघाट गर्ने स्थानचाहिँ गोसाइँकुण्ड हो भन्ने मेरो अनुभव छ ।

अहिलेसम्म सबै दक्षिण भारतीय यात्रीलाईं मात्र लिएर गोसाइँकुण्ड जाने अवसर मिलेको छ । गत दुई बर्षअगाडि पशुपतिनाथका प्रधान अर्चक गणेश भट्ट र यसपटक अर्चक रामकारान्त भट्ट र उहाँको परिवारको साथमा गोसाइँकुण्ड यात्राको बेग्लै अनुभव भयो । श्रीका अर्चकको जीवनमा एकपटक गोसाइँकुण्ड जाने इच्छा पनि पुरा भयो ।
सेता हिँउका डल्लाले भरिएको गोसाइँकुण्ड पुग्दा मन शान्त, शितल, सौम्य र शिवतत्व प्राप्त भएको अनुभव हुन्छ । र, शिवजीले टाढैबाट मेरो भक्त आएका छन् भनेर प्रसन्न मुहारमा संवाद गरेको अनुभुति हुन्छ ।
परापूर्वसमयमा देवता र दानवबीच युद्ध हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गर्दा विषको छट्पटाहट शान्त बनाउन भगवान शिवले हिमालयखण्डको काखमा त्रिशूलले भित्तामा हान्दा त्यसबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पत्ति भएको र त्यही त्रिशूलधाराको पानीबाट गोसाइँकुण्ड उत्पत्ति भएको भन्ने मान्यता छ ।
सानै बेलाको कुरा हो, हजुरबाको नेतृत्वमा सल्यानटारबाट गोसाईंकुण्ड यात्रामा गएको टोली फर्किएपछि गाउँभरी जल वितरण गरिएको थियो । उनै हजुरबाले भनेको कुरा अहिले पनि सम्झना ताजै छ, ‘हेर, नाति केटा, गोसाईंकुण्डको जलले स्नान गर्दा जान–अन्जानमा भएका सबै गलत काम (पाप)बाट मुक्ति पाइन्छ ।’
मेरो ब्रम्हले पनि यही भन्छ, गोसाईंकुण्डको जलले स्नान गरेपछि शिवजीले आममाफी दिनुहुन्छ ।
दिवंगत पितृको सम्झनामा तर्पण गर्दा पितृहरु तृप्त हुने जनविश्वास त छँदैछ । कुण्डमा स्नान र पूजा गर्दा मोक्ष हुने र मनले चिताएको पुग्ने र नवग्रहका दोषहरु हट्ने विश्वास पनि छ ।
रसुवा जिल्लामा पर्ने कुण्ड ४ हजार ३ सय ८० मिटरको उचाईमा छ । गोसाइँकुण्डको चारैतिर एकसय आठ कुण्ड रहेका छन् । त्रिसुली नदीको मुहान क्षेत्र हो गोसाइँकुण्डमा पहिलो कुण्ड सूर्यकुण्ड हो ।
हरेक पटक जाँदा नयाँ अनुभव र अनुभूति हुने गोसाइँकुण्डलाई नेपालको कैलाश पनि भन्न सकिन्छ । आन्तरिक र बाह्य पर्यटकलाई गोसाईंकुण्डको यात्रा गराउने हो भने सबैले यही भन्ने छन् ।
शास्त्र र प्रमाण त केही छैन तर श्रीका दुवै अर्चक गणेश र राम भट्ट गुरुहरुबाट गोसाइँकुण्ड यात्रा समीक्षा गर्दा एकै वचन पाएँ । साँच्चै गोसाईंकुण्ड कैलाश नै हो । गुरुको वचनलाई डायरीमा टिपोट गरेको थिएँ । आज नेपालनाम्चामार्फत लेख्दै छु:
‘जान–अन्जानमा गलत भएछ भने अर्को बर्ष गोसाईंकुण्ड गएर स्नान गरी क्षमायाचना गरौंला । मलाई त पुरा विश्वास छ, गोसाईंकुण्ड नै कैलाश हो । यसपटक सयौं स्वदेशी यात्रीले गोसाईंकुण्ड दर्शन गरे । यही मेसोमा दाजु, भाउजु र भतिजालाई पनि गोसाइँकुण्ड पठाइदिएको । दाईले काठमाडौं फर्केर भने, ‘भाइ, स्वर्ग गएर आएको जस्तो अनुभव भयो । तिमीलाई आशीर्वाद छ ।’
