… तर, यो सिनेमाको कथा होइन

काठमान्डु आउँदा उनलाई चिन्ने कोही थिएन । उनलाई लाग्छ, उनीजस्तो गाउँबाट आएको औसत मान्छे, जसको कोही हुँदैन शहरमा, त्यस्तो मान्छे पनि जिउन सक्छ, मिहनेत र इमानदारीको आदत भयो भने ।


अशोक सिलवाल

सिनेमा हलबाट बाहिरिदै गर्दा एउटा किशोरको भविष्यको फाइनल स्क्रिप्ट तयार भइसकेको थियो । ऊ मनमनै भन्दै थियो, ‘म जीवनमा नामी वकिल बन्छु । बनेरै छाड्छु ।’

सिनेमामा एउटा पात्र थियो, वकिल । उसले अदालतमा यसरी बहस गरेको थियो, मानौ ऊ न्यायको पक्षमा उभिने एउटा अग्लो पहाड हो ।

राष्ट्रियताको पक्षमा नहल्लिने गरी उभिएको हिमाल हो । उसको मुखमा सरस्वतीको बास थियो । ऊ साहसको पर्याय झै थियो ।

पात्रको प्रभावकारिताले किशोरको जीवनको उद्धेश्य स्पष्ट भइसकेको थियो । त्यसपछि उसले कहिल्यै पछाडि फर्केर हेरेन, ‘म न्यायको यात्रामा एक दिन अग्लो गरी उभिनेछु । निर्भिकतापूर्वक लेख्नेछु । बोल्नेछु । जस्तोसुकै अवस्थामा पनि निडर भएर सम्बोधन गर्नेछु, प्रिय स्वतन्त्रता ।’
पश्चिम नेपालको घोराही बजारको यो घटना २०४६ सालअगाडिकै हो ।

केही बर्षअघि एक दिन बबरमहलस्थित एलायन्स ल फर्ममा पुग्दा मैले सबभन्दा पहिले देखें, पृथ्वीनारायण शाहको तस्विर । त्यो तस्विर देखेर भीमार्जुन आचार्यका खासगरी राजनीतिकजस्ता लाग्ने अभिव्यक्तिको कारण र मर्म बुझें । नजिकै कमलको फूलमाथि पलेटी कसेर बसेकी सरस्वतीको तस्विर थियो । त्यसमाथि बिजुली बल्ब । उनको मुखबाट सरस्वती कसरी निस्कँदी रहिछिन्, त्यो पनि अनुमान गरें मैले । छेउमा अमरसिंह थापाको पेन्टिङ थियो । आचार्यको देशभक्तीपूर्ण भनाइको जग के रहेछ, मैले बुझें ।

अर्को पेन्टिङ थियो बुद्धको । पृष्ठभुमि आधा अध्याँरो र आधा उज्यालो थियो । त्यो शान्तिको संक्रमणको सांकेतिक चित्र थियो । अर्थात समग्र संक्रमणको त्यो सुन्दर चित्रसँग म निकै मोहित भएँ ।

माथि उनको निजी कोठामा उक्लिँदा वकिल आचार्य होइन, सर्जक अर्जुन मिलनको कोठामा पो पुगें । तर, त्यो नाम कसरी जुर्यो न मैले सोधें, न उनले नै भने । कोठामा हार्मोनियम र तबलाहरु थिए । पुस्तक थिए । पत्रपत्रिकामा प्रकाशित उनीबारेका आलेखहरु थिए, फ्रेममा सजाइएका ।
वकिल आचार्यलाई त्यो कोठामा छिर्ने अनुमति नै नभएजस्तो । कानुनका कुनै ठोस प्रमाण थिएनन्, त्यहाँ । म उनको कोठामा पुग्दा त्यहाँ केवल स्रष्टा मिलन थिए । र, उनको संगीत संसार ।

दाङ जिल्लाको सौंडियार–१, अघरामा जन्मे उनी । अघरा घोराही नगरपालिकाभन्दा ३ किलोमिटर दक्षिणमा अवस्थित छ । निम्नमध्यमस्तरको परिवार थियो । सम्पति भएर पनि परिचालन थिएन । आमाको शब्द साभार गर्छन् उनी, ‘तँ जन्मेपछि घरको अवस्था पनि सुध्रदै आयो । केटाकेटीदेखि नै अलि गम्भीर स्वभावको थिइस् । घरमा सबैभन्दा दुख तैंले ने गरेको होस् ।’

स्कुल पढ्दाताका नै उनले स्वेड मार्टेनका दर्शनका किताबहरु पढिसकेका थिए । खप्तड बाबाको विचार विज्ञान उनलाई बुवाले पढ्न दिएका थिए । त्यो किताब अहिलेसम्म पनि उनीसँग छ । धेरै बर्षसम्म उनले त्यो किताबलाई सिरानीमा राखे ।

१५ बर्षको उमेरमा एसएलसी पास गरिसकेपछि दाङ छाडेर उनी नेपालगञ्ज पढ्न आए । महेन्द्र बहुमुखी क्याम्पसमा दुई बर्ष आइएल पढे । स्थानीय सरस्वती संगीतालयमा संगीत सिक्न थाले । नेपालगञ्जमा भेटिएका केही साथी मिलेर उनीहरुले रिदम म्युजिक क्लव खोले ।
आमाको पसिनामा टेकेर उनलाई अध्ययन अगाडि बढाउन मन लागेन । उनले बोर्डिङ स्कुलमा पढाउने निधो गरे । जीवनको नयाँ अध्याय सुरु भयो । पन्ध्र बर्षकै उमेरमा उनी शिक्षक भए । उनले बोर्डिङमा पढाउन त थाले । तर, अंगे्रजी केही जान्दैन थिए । बोर्डिङमा अंग्रेजी नपढी नपढाई काम नचल्ने । त्यो उनका लागि धेरै दुखदायी अवस्था थियो ।

उनी रातभरि अंग्रेजी पढ्न थाले र बिहान बच्चालाई पढाउन । अंग्रेजी नजान्नाले जुन खालको पीडा भयो, त्यसलाई उनले जीवनको ठुलो इख बनाए, अंग्रेजी सिक्नै पर्छ भनेर । त्यसको ३ बर्षमा त उनले अंग्रेजी ग्रामरको पुस्तक नै निकाले, ‘एन इन्ट्रक्सन टु इंग्लिस ग्रामर’ । विस्तारै उनी राम्रै पढाउनेमा कहलिए ।

नेपालगञ्जका एकजना साथीका दाइले आफ्नो जागिरको सिलसिलामा काठमान्डु आउँदा ‘ल हिंड भाई, म तिमीलाई घुमाउन लैजान्छु भनेर काठमान्डु ल्याए । उनले पहिलो पटक काठमान्डु देखेको २०४६ सालमा हो ।

सुन्धाराको कुनै होटलमा बसेको सम्झना छ उनलाई । बिहान उठेर ओभरहेड ब्रिजबाट काठमान्डु हेरे । ती दाईले उनलाई भृकुटीमन्डप घुमाए । त्यो दिन नै उनले निधो गरे, ‘कुनै पनि हालतमा बीएल चाहिं म काठमान्डुमै गर्छु ।’ तर कसरी ? पैसा त चाहियो ?

एकजना शिक्षाप्रेमीले कर्णालीका अत्यन्त दुर्गम जिल्लाहरुमा बोर्डिङ स्कुल स्थापना गरेका रहेछन् । काठमान्डु कसरी आउने भनेर सोचिरहेकै बेला तिनले उनलाई प्रस्ताव गरे, ‘मुगु गमगडीमा एउटा बोर्डिंग स्कुल खोलेको छु । कर्णालीका पाँचवटै जिल्लामा स्कुल खोल्ने योजना छ । तपाईंलाइ म प्रिन्सिपल बनाएर लान्छु । महिनामा ४ हजार रुपियाँ तलब दिन्छु ।’

यता नेपालगञ्जको बोर्डिङमा १ हजार पनि पाउन गाह्रो थियो । उनले त्यति बेला आइएल दोस्रो बर्षको जाँच दिएका थिए । मनमनै सोचे, ‘खाली रहेको एक बर्ष मुगुमा गएर काम गरें भने काठमान्डुमा बीएल पढ्ने सुरुवाती पैसा जुटाउन सक्छु ।’

उनी मुगु लागे । नेपालगञ्जबाट बाजुरा काल्टीको लागि पहिलोचोटि प्लेन चढे । तीन दिन हिंडेर गमगडी पुगे, काँधमा बोकेको रेडियोबाट गीत सुन्दै ।
त्यो बेला उनले कर्णालीका जीवन बुझ्ने मौका पाए । उनको सुझाव छ, एक पटक नेपालीहरुले कर्णाली गएर हेरुन् । थरले त त्यहाँ कोही शाही होला । कोही आचार्य होला । तर, त्यहाँ मानिसहरुले नारकिय जिन्दगी बिताउँछन् । ओडारमा बस्छन् ।

उनी त्यहाँ झन्डै १ बर्ष बसे । त्यहाँ उनले उपन्यास र कथाका थुप्रै पान्डुलिपी तयार गरे । थुप्रै कविता र गीत पनि लेखे ।

शुन्यतामा एक्लो जीवन बाँच्न सिक्दै छु
काँडामाथि पाइला राखी हाँस्न सिक्दै छु

पहिले भनेजस्तो यथेष्ट पैसा जम्मा भएन । खल्तीमा दश हजार बोकेर उनी दोस्रो पटक २०४९ माघमा काठमान्डु आए । काठमान्डु आउँदा उनीसँग दुई चीज थियो । पुरानो हार्मोनियम र किताबले भरिएका केही झोला ।

शंखमुलमा एकजना साथीले डेरा खोजेका रहेछन् । उनी त्यहाँ बसे । भएको पैसा १ महिनामा सकियो । खाट आदि किन्दा ।

अब के गर्ने ? त्यति बेला ल क्याम्पसमा नाइट पढाई पनि हुन्थ्यो । पहिलो बर्ष उनले नाइट पढे । बोर्डिङ स्कुलमा पढाए । तर, दुई महिना पढाउँदा पनि तलब नदिएपछि उनी खिन्न भए । स्कुल छाडिदिए । अर्को एउटा ठुलो स्कुलबाट प्रस्ताव आयो, भाइसप्रिन्सिपलको लागि । फेरि पढाउन थाले । एलएलएम भर्ना गरुन्जेलसम्म उनले धेरै बोर्डिङ स्कुल पढाए ।
एलएलएम भर्ना हुन्जेल उनले बोर्डिङ छाड्ने निणर्य गरिसकेको थिए । तर, कसरी बाँच्ने ? कसरी पढ्ने ? ट्युसन सुरु गरे । उनी यति लोकप्रिय ट्युटर थिए कि दिनमा १४ घन्टासम्म ट्युसन पढाए । तर, सधैं ट्युसन पढाएर त कहिले वकिल हुने ? एलएलएम सकिने बेलामा उनले ट्युसन छाडे । जीवनको अर्को आर्थिक स्रोत ‘अनुवाद’ हुन थालेको थियो, त्यसताका । एक दिनमा साठी पेजसम्म पनि अनुवाद गर्थे ।

वकालत त उनले एलएलएम गरेपछि मात्र सुरु गरे । एकाध मात्र होलान्, जसले एलएलएम गरेपछि मात्र वकालत सुरु गरेको होस् । संवैधानिक कानुन पढेको हुनाले सुरुमा उनले आफ्नो विषयमा मात्र अभ्यास गर्छु भन्ने सोचे । सुरुमा मुद्धा आउन गाह्रो भयो । पछि विस्तारै काम आउन थाल्यो । उनले अनुवादको काम छाडे र अखबारमा लेख्न थाले । उनले पहिलोचोटि लेख्न थालेको ०५२ देखि हो । ०५६ सालमा आइपुग्दा उनका केही लेख चर्चित भए । त्यसले एउटा चिनारी दियो । उनले नियमित रुपमा किताबहरु पनि लेखिरहे । शब्द जोड्यो भने, उनले २५ लाखभन्दा बढी लेखेका छन् रे ।

काठमान्डु आउँदा उनलाई चिन्ने कोही थिएन । उनलाई लाग्छ, उनीजस्तो गाउँबाट आएको औसत मान्छे, जसको कोही हुँदैन शहरमा, त्यस्तो मान्छे पनि जिउन सक्छ, मिहनेत र इमानदारीको आदत भयो भने ।

एउटै जीवनमा दुइटा जीवन भोगे उनले । शहर पस्दाताकाको गुमनाम जीवन र चर्चित भइसकेपछिको जीवन । भन्छन्, ‘त्यति बेला पनि म सन्तुष्ट थिएँ र अहिले पनि । त्यतिखेर पनि मेरो प्लान हुन्थ्यो र अहिले पनि । यतिवटा पुस्तक लेख्छु, गीत लेख्छु, यो गर्छु आदि ।’ संवैधानिक कानुनमा विद्यावारिधी गरेका उनलाई लाग्छ, ‘त्यो पनि गजबकै जिन्दगी थियो ।’

Ad

पैसा नभएर भोकै बसेका दिनहरु पनि थिए उनीसँग । उनी बेरोजगार भएनन् कहिल्यै तर काम गरेको पैसा टाइममा नदिंदा उनी साँच्चै दुखी हुन्थे । तर, उनीभित्रको स्रष्टा मिलनलाई त्यति बेला खाना नखाँदा पनि आनन्द लाग्थ्यो रे । उनी भोककै सहारामा कविता, गीत लेख्थे ।
दुवै जीवनसँग उनलाई पश्चाताप छैन । भन्छन्, ‘जे गरें जीवनमा, इमान्दारीपूर्वक गरेको छु । गर्ने क्रममा ढंग नपुगेका हुनसक्छन् । मेरो कुरासँग मान्छेका असहमति पनि हुनसक्लान् । तर, खराब नियतले मैले जीवनमा कुनै काम गरेको छैन ।’

राष्ट्र, राष्ट्रियता र आफुले पढेका मुल्य मान्यतालाई नै आधार बनाएर लेख्ने बोल्ने गरेको उनले सुनाए । भन्छन्, ‘डरबाट मुक्त हुने उपाय पनि यही हो ।’

हिमालका कुरा गर्यौं
गुराँसका कुरा गर्यौं
देशभक्ति देखाउन शहिदका कुरा गर्यौं
बेला भयो आऊ अब इमानका कुरा गरौं
बिरामी छ देश अहिले निदानका कुरा गरौं

अरुको लागि भन्दा पनि आफ्नै लागि रहेछ गीत, संगीत र साधना । तर, सार्वजनिक भएपछि त्यसले अरुलाई पनि फाइदा पुग्छ ।

सबैले त देशबाट लिन्छु केवल लिन्छु भने
तिमीचाहिं देशलाई म त केही दिन्छु भन्देऊ है
तिमीचाहिं जातै मेरो नेपाली हो भन्देऊ न है
तिमीचाहिं धर्मै मेरो नेपाली हो भन्देऊ न है

यो गीत उनले आफ्नो लागि लेखे होला तर त्यो समाजको लागि भयो । त्यसपछि उनलाई तीनखालको टिप्पणी आयो,

१. तपाईं हामीलाई पहिल्यै मन पथ्र्यो । गीत पनि गाउनु हुँदो रहेछ । झन् मन पर्यो ।

२. हामीलाई वकिल पटक्कै मन पर्दैन थियो । तर, गीत गाउनु हुँदारहेछ । गीत मन पर्यो ।

३. तपाईजस्तो मान्छेले बेकार के गीत गाएर हिंडिराख्या’ ?

तेस्रो टिप्पणीले उनलाई छुँदैन । त्यो त गीत संगीत नबुझ्नेले भन्ने कुरा हो । गीत उनको लागि मेडिटेसन हो । यसले उनलाई एकाग्र बन्न, स्मरणशक्ति बढाउन र उनकै शब्दमा सबभन्दा महत्वपूर्ण कुरा बजारको लोभपापबाट मुक्त हुनको लागि बहुत ठुलो मद्धत गरेको छ ।

एउटा चलेको वकिललाई लोभीपापी हुन पलपलमा अवसर हुन्छ । कतिपय वकिलबाट भएका ब्ल्याकमेलका कति घटना प्रतिवेदनमार्फत बाहिर आएका पनि छन् । भन्छन्, ‘कतिपटक आग्रह पनि आउँछन् । तर, त्यसविरुद्ध म धेरै जबरजस्त मान्छे हुँ ।’

मिनेट मिनेटलाई पैसामा रुपान्तरण गर्न एउटा नामी वकिललाई कुनै आइतबार कुर्नु पर्दैन । तर, त्यो समयलाई उनी किन गीत संगीतमा खर्चिन्छन् ? यसबाट अथाह पैसा त आउँदैन । खासगरी गीत संगीतमा बढी बहकिन थाले परिवारको चिन्ता ह्वात्तै बढ्छ, कतै व्यवसाय नै छोड्ने त होइन ?

सही थाप्दै भन्छन्, ‘हो, उनीहरुको कुरा पनि ठिकै हो । मैले चाहना गर्ने हो भने मेरो व्यवसायबाट चाहे जति पैसा कमाउन सक्छु । मकहाँ मुद्धा लिएर आउनेको मात्र मुद्धा हेरें भने मलाई थाहा छ, पैसा राख्ने ठाउँ हुँदैन । तर, पैसाको लागि मेरो जीवन मैले यहाँसम्म ल्याएकै होइन । मेरा जीवनका समर्पणहरु कति छन् कति ? कुनै दिन हामी छलफल गरौंला ।’
उनमा लोभलाग्दो आत्मविश्वास छ, ‘दुखका दिन त म बिग्रिन भने सुखमा त म बिग्रने कारणै छैन । अहिले मसँग व्यक्तिगत दुख छैन । दुख छ त केवल राष्ट्रबारे ।’

उनी कुनै पनि दलसँग सम्वद्ध छैनन् । भन्छन्, ‘दलसँग मेरो असम्वद्धता स्वतन्त्रतामा सम्झौता गर्न नचाहेकोले हो । निर्भिक भएर बोल्न सकुँ, लेख्न सकुँ भनेर हो ।’

विगतमा सोल खिइएको जुत्ता लगाएर शहरका सडक नापेको एउटा जुझारु मान्छेको यो जीवन दर्शन मोहलाग्दो लाग्यो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button