विर्तामोडकी नवनिर्वाचित मेयर पवित्रालाई लीला अनमोलको पत्र

आदरणीय पवित्रा महतरा प्रसाईं ज्यू
नवनिर्वाचित मेयर, बिर्तामोड नगरपालिका

सर्वप्रथम बिर्तामोड नगरपालिकाको मेयरको रुपमा विजय प्राप्त गर्नुभएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना ! तपाईंले २०७४ सालको निर्वाचनबाट पनि उपमेयरका रुपमा निर्वाचित हुनु भई पाँच वर्ष देश र जनताको सेवा गर्ने अवसर प्राप्त गर्नुभएको भएको थियो । त्यो पाँच वर्षको हिसाब नगरौं । किनकि तपाईंले पनि राज्यको नीति तथा व्यवस्थालाई पहिलो पटक नजिकबाट नियाल्ने अवसर पाउनु भएको थियो । निर्वाचित भएको करिब दुई वर्ष त नगरको कार्यविधि बनाउन र सो कार्यविधिलाई कार्यान्वयन गर्न गराउनमै व्यस्त रहनु भयो । तपाईं पनि लोकतान्त्रिक विधि र पद्धतिलाई पालना गर्ने नयाँ जनप्रतिनिधि हुनुहुन्थ्यो । कति नीति नियमहरूमा त आफै पनि अनभिज्ञ रहनु भयो होला । राज्यको नीति नियम बुझ्नलाई नै निक्कै समय लाग्यो पक्कै । पालिकाको कानुन निर्माण र कार्यान्वयनको पक्षमा अभ्यास गर्दा गर्दै विगतका पाँचओटा वर्षहरू यस्तै कसो कसो भएर बिते ।

बिर्तामोड नगरपालिकामा समस्याहरूको उरुङखात छ, जसलाई तपाईंले नजिकबाट पहिचान गर्नु भएको छ । जनताले स्थानीय तहबाट पाउनु पर्ने सेवा सुबिधाको १५ प्रतिशत पनि पाए जस्तो लाग्दैन । झापा जिल्लाका पन्ध्रओटा पालिकामध्ये सबैभन्दा कम विकास भएको तर सबैभन्दा चर्चित पालिका बिर्तामोड हो । नगरपालिका भनेको यहाँका जनताको साझा घर हो । तपाईं पुनः नगरको प्रमुख जस्तो गरिमामय ओहदामा पुग्नु भएको छ । हामी सम्पूर्ण महिलाहरुको गौरवको विषय पनि हो । हिजो भएको केही छैन, त्यसैले गर्न बाँकी अब धेरै छ । तपाईंलाई नगरवासीले विश्वास गरेर निर्वाचित गराएका छन् । जनताको भावनालाई नभुल्नु होला । हार्नेहरुको मनोभावना र विचारलाई सम्मान गर्दै उहाँहरुसँग सहकार्य गर्नमा नचुक्नु होला । जो हार्नुभयो उहाँहरुसँग पनि राम्रा दृष्टिकोण छन् । काम गर्ने स्पिरिट छ । पालिकालाई समृद्ध बनाउने जोस छ, जाँगर छ । त्यसैले पहिलो प्राथमिकतामा उहाँहरु नै सम्झिनु होला । किनकि काम गर्छु भनेर चुनावी मैदानमा होमिनु लरतरो कुरा होइन ।

नगरमा चुनौती धेरै छन् । कार्यकर्ता भर्तीकेन्द्रभन्दा जनताको सेवा सुबिधामा अहोरात्र खटिने सच्चा, इमान्दार र पढेलेखेका व्यक्तिहरुले सेवा दिन सक्ने नगर बनाउनुहोला । विकास भनेको भौतिक उन्नति मात्र होइन, व्यक्तिलाई सबल र सक्षम बनाउन के कस्ता कार्यक्रमहरूलाई ल्याउन सकिन्छ त्यतातिर पनि सोच्नुहोला । नगरमा विगतमा हत्या हिंसाका धेरै घटना भए । खासमा महिलाहरुको सामाजिक अवस्थालाई स्वयं आफैले नजिकबाट चियाउनु भएको छ । उपप्रमुख हुँदा न्यायिक निकायको प्रमुख आफै हुनुहुन्थ्यो । त्यो बेला केही त्यस्ता घटनाहरू भए जसको अहिलेसम्म पनि सत्य तथ्य सार्वजानिक हुन सकेन । अब ती घटनाहरूको तथ्य सार्वजानिक गर्न सम्बधित निकायमा तपाईंको महल शुरु होस् । तपाईं पहुँचमा हुनुहुन्छ हामी पछाडि छौँ । पार्टी, जाति, गोत्र, रङ र धर्म नहेरी यो नगरलाई समृद्ध नगर बनाउनुहोला, जनताको त्यति नै हो अपेक्षा । राम्रो टिम छ अहिले नगरमा । नयाँ पुस्ताको आगमन भएको छ । उहाँहरूको जोस जाँगरलाई आत्मसात गर्दै सहकार्य गरेर अगाडि बढ्नुहोस्, शुभकामना छ !

म आफू स्वयं सन्चारकर्मी हुँ । विगत १९ वर्षदेखि यो क्षेत्रमा सक्रिय छु । यो क्षेत्रबाट तपाईंलाई कस्तो साथ चाहिन्छ, म तयार छु । यो नगरमा थुप्रै साहित्य साधक हुनुहुन्छ, उहाँहरुलाई नगरको बौद्धिक सम्पतिका रुपमा महसुस गर्नुहोस् । मानिसको चरित्र निर्माणमा बौद्धिकताको महत्त्व रहन्छ । म आफू पनि साहित्यकै विद्यार्थी हु । तसर्थ यो नगरमा साहित्य एकेडेमी को शुरुवात होस् । नगरको समृद्धिका लागि यो अभ्यास तपाईं शुरु गर्नुहोस् । नगरबाटै सञ्चालित भए तपाईंको कार्यकालबाट शुरु भएको इतिहास रच्नुहोस् । नगरपालिका महिला मैत्री बनोस् ।

तपाईंले मैले भन्दा अझ धेरै भोटो फटाउनु भएको छ । महिलाको उन्नति, प्रगति र समस्याको निराकरणका लागि काम गर्ने उदाहरणीय पात्र बन्नुहोस् । उदाहरणीय मेयर बन्नुहोस् । उदाहरणीय र नमुना नगर बनाउनुहोस्, तपाईंको सफल अनि अविस्मरणीय कार्यकालको लागि धेरै धेरै शुभकामना छ !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. निर्वाचित हुनु उहाहरुको नैर्सङ्गिक अधिकार हो जो मतदाताले पूरा गर्दिनुभो तर उहाहरु न पहिला न अहिले जनताको हुन र बन्न सक्नुभा छैन, सबैतिर बाघ र सिंह बनेर गर्जिराख्नुभा ६ ! तर धरोधर्म स्व. ग्यानुदाई सबैको हुनुहुन्थ्यो र येसरी गर्जिनुहुन्नथ्यो , मात्र अन्यायको बिरोध त्यो पनि भद्र भासामा गर्नुहुन्थ्यो !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button